आदिम साम्यवाद
मान्छेको जङ्गली अवस्था भनेको वनमान्छेभन्दा धेरै अगाडि बढेर जिउडाल सबै आजका मान्छेकै जस्तो बनेको तर राम्रा हात हतियार बनाउने र छाप्रो हाली रैथाने भएर बस्ने हालतमा नपुगेको अवस्था हो। सम्भ कि हाम्रो देशका राउटे र कुसुण्डाहरूको भन्दा पनि कता हो कता पहिलेको अवस्था । त्यस वेलाका मान्छे झरी, हिउँ, बतास, जाडो, गर्मी आदिबाट जोगिन ओढार पाए ओढार, ओढार नपाउँदा रूखकै फेंदमा बसेर निर्वाहा गर्थे।
दिनभरि उनीहरूलाई जङ्गलमा घुमेर फलफूल र कन्दमूल, बनैयाँ अन्न, मासु आदि जे पायो त्यही खोज्दै ठिक्क हुन्थ्यो । तिनीहरू जंगलका डरलाग्दा जन्तुबाट जिउ जोगाउन दश-बीस र तीस-चालीस, जति जनाको जमात भए पनि एउटै बथान परेर हिंड्थे । आफ्ना काममा तिनीहरू त्यसै भेटिएका काठ र ढुंगालाई हतियारको रूपमा प्रयोग गर्थे । ती बथानमध्ये कतिले आगो बालेर ताप्थे । कतिले त त्यही उपाय पनि जानेका थिएनन् । पहिले तिनीहरू आफै आगो पार्न जान्दैनथे । जंगलमा आफै लागेको डढेलोबाट आगो ल्याई ओढारमा जोगाएर काम चलाउँथे ।
तिनीहरूका दिमागमा आजका जस्ता गाउँ-घर, शहर-बजारका कुरा त कल्पना र सपनामा पनि आउनसकेका थिएनन्। उनीहरूको काम खालि जिउ जोगाउनु र पेट पाल्नु थियो। जिउ जोगाउन पनि साह्रै धौ धौ थियो त्यस वेला । धेरै मानिसले बाघ भालुकै आहारा र रोगको शिकार बन्नुपर्ने हुनाले जनसंख्या धेरै बढ्न सक्तैनथ्यो । उनीहरू टुटे- फुटेका दुई चार शब्दबाट अरूलाई आफ्ना मनको कुरा पोख्थे ।
धेरैजसो इशाराकै भर पर्नुपर्दथ्यो । यो कुरा धेरै पुरानो हो र ? आजको बीस पच्चीस हजार वर्ष पहिलेसम्म पृथिवीभरिका सारा मान्छेको हालत यस्तै थियो । त्यसबेला मान्छेले बनाएका ढुंगाका भद्दा हतियार खोजकर्ताहरूले भेटाएका छन् । तिनैको आधारमा त्यस जंगली युगको नाम ‘ढुंगे हतियारको पहिलो युग’ (पूर्व पाषाण काल) राखेका छन्। तर आजको दश बाह्र हजार वर्ष पहिले आइपुग्दा त मान्छेले ढुंगाका हतियारलाई पनि निकै चिल्ला र धारिला पार्न जानिसकेको थियो । त्यस वेलाका मान्छे धेरैजसो चक्मक् ढुंगाका हतियार बनाउँथे ।
चक्मक् ढुंगाको धार पनि राम्रो निस्कन सक्छ र झट्ट फुट्दैन पनि । अनि त भाला, घुएँत्रो आदि बनाएर भकाभक् शिकार पनि गर्न थाले । जंगली जन्तुबाट जिउ जोगाउन केही सजिलो हुनथाल्यो । मान्छेको समाज अलि अगाडि बढ्यो । उनीहरू सय-पचासको बथानमा हिंड्नथाले । त्यस अवस्थालाई ‘ढुंगे हतियारको पछिल्लो जुग’ (उत्तर पाषाण काल) भनिन्छ। ती दुवै ढुंगे जुगमा जीविकाको निम्ति जोडिने सम्पत्तिमा तेरो र मेरो भन्ने भावना जन्मिसकेको थिएन ।
त्यसैले त्यहाँ ‘तँ तँ र म म’ को लडाइँ पनि उठ्दैनथ्यो । सबैले एक मन भएर बस्नुमा, हिंड्नुमा, खानेकुरा बटुल्नुमा, बाँड-चूँड गरी खानुमा नै सबैको कल्याण थियो । त्यो एकता र सामूहिक भावना नभए बनैयाँ जन्तुबाट, अरू जंगली मान्छेकै जमातबाट र प्राकृतिक विपत्तिहरूबाट गणको सुरक्षा हुनसक्तैनथ्यो ।
त्यही साझा अवस्थालाई ध्यानमा राखेर त्यस समाजलाई ‘आदिम साम्यवाद’ या ‘प्राकृतिक साम्यवाद’ भन्ने नाम दिइएको छ।त्यसबेलाका मानिसले गाउने गीत यस्ता थिए-
“सँगै हिंडौं लरि-लरि सङ्सँगै बसौं
बाँडी खाऊँ लरि-लरि मिलेर सब बाँचौं ।” *
नारीको हैकम् (मातृसत्ता)
त्यहाँ आजको जस्तो बिहे-बारीको चलन थिएन। जमातमा भएका सबै पुरुषहरू सबैका साझा लोग्ने र सबै नारी सबैका साझा स्वास्नी हुने प्राकृतिक वाध्यता थियो । त्यसो हुँदा सो झै कुरा हो कि आफ्ना सन्तान त आमाले मात्र चिन्नसक्थे । कसको बाबु को हो कसरी पत्ता लाउनु ? यसै कारणले गर्दा नै छोरा-छोरीलाई आमाले ‘मेरो’ भन्न सक्तथे, पुरुषहरू हिस्स हुन्थे । आमा मात्र चिनिने भएपछि सन्तानको लहरो (गोत्र) पनि आमाकै नामबाट चल्थ्यो । छोरा-छोरी, नाति-नातिनी र पनाति-पनातिनीसम्म आमाकै नाम चल्नेहुनाले ती सन्तानबाट उसैले मान पाउँथी ।
अर्कातिर फल-फूल, शिकार र लडाइँहरूमा पनि आइमाईहरू जोरकातोर चल्नेहुनाले पुरुष ठूलो र नारी सानो भन्ने कुरा थिएन। त्यसैले ती जमातमा स्वभावैले नारीहरूको बढी बोलबाला हुन्थ्यो र उनीहरूकै खटन्-पटन् चल्दथ्यो। गणकी सबभन्दा बूढी र धेरै सन्तान हुने आइमाईलाई सबैले आफ्नी मुखिया मान्नैपर्थ्यो र थितिअनुसार सबैले उसको राय सल्लाहमा चल्नुपर्थ्यो यसरी त्यसबेला त आजको भन्दा उल्टो नारीको पो हैकम् थियो त । तर त्यो हैकम् आजको जस्तो सम्पत्ति, धर्म र कानूनी अधिकारको आधारमा थिएन । किनभने तबसम्म सम्पत्तिमा अलग-अलग व्यक्तिको निजी अधिकारको कुरा उठेकै थिएन ।
आजको जस्तो ‘धर्म’ पनि जन्मेको थिएन र त्यसको नाममा जात-पात र ऊँचनीचको भेदभाव पनि उब्जेको थिएन । मान्छेले डरले, खुशीले धर्ती, घाम, बतास, नदी, चन्द्रमा, आगो, बादल आदिलाई जय-जय मनाउँथ्यो तर त्यसदेखि बाहेक ‘दैब, पूर्वजन्म, परलोक’ जस्ता कुरा जन्मेका थिएनन्। ‘राजा, राज्य’ इत्यादि कुरै नजन्मेका हुनाले कानूनी अधिकार भन्ने कुरा पनि थिएन । त्यसैले समाजमा नारीको बोलबाला जन्मसिद्ध कुरा थियो। तर बोलवालाको अर्थ ‘हुकुम’ थिएन र पुरुषले सामूहिक लवाई खवाई, बसाइँ र सुरक्षाका भेदभावमा पर्नुपर्दैनथ्यो ।
हामीले त्यस अवस्थाका कैयौं चिन्हहरू पुराणहरूमा पनि भेटाउन सक्तछौं। देवी भागवतमा हामीले जति देवीहरूका नाम सुन्दछौं, तिनीहरूमध्ये धेरैजसोका लोग्नेको नाम भेटिंदैन। दुर्गा, शैलपुत्री, चन्द्रघण्टा, काली, महाकाली, सिद्धिदात्री आदि देवीहरूलाई पुरुष (देवता) हरूले, ‘जगत् जननी’ भनेर पुकारेका छन्, ‘फलानाकी स्वास्नी’ भनेर हैन । त्यसरी नै आदित्यहरूलाई आदितिका सन्तान, दानवलाई दनुका र दैत्यलाई दितिका सन्तान भनेर आइमाईकै नामबाट बंश चलेको देखिन्छ । नारीलाई कहीं पनि ‘अबला’, ‘नामर्द’, ‘बुद्धिहीन’ नभनी ‘शक्तिरूपा’, ‘बुद्धिरूपा’ आदि भनिएको छ ।
देवीभागवतमा इन्द्र, ब्रह्मा, विष्णु आदि सारा देवताले देवीको जसरी मरी-मरी स्तुति गरेर आफ्नो रक्षा गर्न प्रार्थना गरेका छन् त्यसबाट नै प्राचीन समाजमा नारीको महत्त्वपूर्ण स्थान रहेको प्रष्ट हुन्छ। हाम्रो समाजमा आज सबैजसो जातिमा ‘माता’ र ‘दुर्गा’को पूजा गर्ने चलन छ। यो त्यसै जमानाको नारीको सम्मानको अवशेष (बाँकी-टाँकी रूप) हो।
मान्छे अगाडि बढ्दैगयो
ती जंगली मान्छेले चकमक ढुंगाका हतियार बनाउँदा बनाउँदै अचानक झुलो र चक्मकबाट आगो पार्ने तरीका निकाले। उनीहरूले रूखका हाँगा रगडिएर आगो परेको देखी काठ रगडेर पनि आगो पार्न सिके । पुराणहरूमा ‘अंगिरस’ भन्ने ऋषिले पहिलो पटक आगो पार्ने तरीका निकालेको कुरा लेखिएको छ । यो आजको दश हजार वर्ष पहिलेको कुरा हो । त्यसभन्दा अघि उनीहरूले जंगलमा आफै सल्केको आगो ल्याएर धुनी लगाउन जानेका थिए, आफै आगो पार्न जानेका थिएनन् । त्यसैताक ती जंगलीहरूले अनेक प्रयोग गर्दागर्दै गुलेली (धनु) बनाएर टाढैबाट काँड हानी शिकार गर्ने तरीका पनि निकाले।
यी दुइटा खोज मानव समाजलाई अघि बढाउन ठूला साधन बन्नपुगे । धनु- काँडको निशानाले टाढैबाट शिकार मार्नु, आगामा पोलेर मासु खानु, पशुका छाला काढेर ओढ्नु, अनि त जीवन धेरै सुरक्षित जस्तो लाग्नथाल्यो । पाकेको मासु लगातार खान पाउँदा मान्छेको शरीर मात्र हैन, बुद्धि पनि फस्टिंदै जानथाल्यो । तिनीहरूले आगो र ढुंगे हतियारको सहाराले मुढा कपेर डुंगा बनाई नदी र समुद्रमा घुम्ने तरीका पनि निकाले। विस्तार-विस्तार बाखा, भेडा, गाई, भैंसी, घोडा जस्ता जंगली पशु छोपेर पाल्न पनि थाले। कुकुर जंगली मान्छेको सबभन्दा पहिलो र पक्का साथी हुनपुग्यो । अनि के थियो र, पशु पाल्दापाल्दै तिनका बथानै बन्नथाले । अबभने आफ्नो मनमानी ढंगले जंगलमा घुम्ने मान्छे पशुहरू चराउने र तिनको रक्षा गर्ने काममा बाँधिनथाले ।
पहिलेका घुमन्ते मान्छेहरू जंगलमा घुम्दाघुम्दै अचानक अरू जमातका मान्छेसँग जम्का भेटभए बिनसित्तैं लडाइँ गर्थे, मारामार पनि भैरहन्थ्यो तर तिनीहरूलाई ‘यो हाम्रो जंगल र तिम्रो जंगल’ भनेर घेरा हाल्ने खाँचो थिएन। पछि पाल्तु पशुका बथान बढ्नाले पशु चराउने राम्रा-राम्रा जंगल र मैदान, पानीको सुविधा आदि पाइ-पहनको खाँचो पर्नथाल्यो । त्यसै खाँचोले “यो हाम्रो जङ्गल हो” भन्ने भावना जन्मायो । मान्छेले जमीनमा आंशिक अधिकार जमाउन थालेको यो पहिलो लक्षण थियो ।
तिनै पशुका बथान र हाम्रो जंगल भन्ने भावना लडाइँ बढाउने कारण हुनथाले। अर्को जमातका मान्छे अर्काका जंगलमा फल-कन्दमूल खोज्न, शिकार खेल्न आउँदा र उसका पशुहरू चर्न आउँदा दुई जमातमा लडाइँ पर्नथाल्यो। लडाइँले रगत्को साटो फेर्ने र लूटपाट गर्ने भावना बढायो। अनि जसले सक्यो उसले अर्काका बथानमा हमला गर्ने, मान्छे मार्ने वा भगाउने, पशु र हात हतियार लुट्ने होड गर्नथाले।
यसरी एकातिर लडाइँ बढ्दै जानथाल्यो भने अर्कातिर गणभित्रै पनि पशु चराउने, लुगा बनाउने, खाना तयार गर्नेआदि कामहरूले बाँडफाँड र अलग-अलग जिम्मेदारी खटिन थाल्यो । सुत्केरी हुने र नानीहरूको स्याहार-सुसार गर्ने समस्याले नारीहरूलाई घर-धन्दातिरको काम लिन अलि सजिलो पर्थ्यो। शिकार गर्ने, पशु चराउने, लडाइँ गर्ने आदि काम विस्तारै लोग्ने मान्छेहरूलाई पर्दैगयो ।
तर घर-धन्दामा पुरुषले हेर्दैनहेर्ने र बाहिरका काममा आइमाई जानैनहुने कुनै छेकबार थिएन। त्यस अवस्थामा घरकी नेता नारी र बाहिरको नेता, विशेष गरी युद्धको नेता पुरुष हुनथाल्यो । यसरी पुरुषले बाहिरको नेतृत्व फेला पारेता पनि गणभित्र वास्तविक नेतृत्व नारीकै हुन्थ्यो, किनभने त्यसबेला पनि आमाको उत्तराधिकार छोरीहरूले नै पाउँथे ।
शाखा-सन्तान, कुल-गोत्र, जेठी, माइली र कान्छीकै नामबाट चल्थे। त्यस जुगमा पहिलेभन्दा जीवनका सुविधा बढेका हुनाले गणमा जनसंख्या पनि बढ्नथाल्यो ।यसरी जीवनको रहन-सहनमा आएको फेर-बदलले समाजको बनावटमा पनि असर पार्नथाल्यो ।
जीविकाको मुख्य आर्जनमा र बाहिरी हान-मारका काममा पुरुषको मिहिनेत र जिम्मेदारी बढेकोले पुरुषमा पनि हैकमको भावना बढ्नथाल्यो । अर्कातिर गणमा जनसंख्या बढेकोले पुरानो समूह विवाहको परम्परा नारीका निम्ति बोझिलो हुनथाल्यो। हान-मारका काममा तन्नेरी तरुनीहरू मात्र बाहिर निस्कने, बूढाबूढी घरमै बस्ने हुँदा विस्तार-विस्तार आ-आफ्नो पुस्तामा मात्र विवाह चलाउने भावना बढ्नथाल्यो । यस्तो स्थितिले पुरानो समूह-विवाह भत्कँदै गयो र त्यसको ठाउँमा आ- आफ्ना पुस्ताका दौंतरीहरूका बीच मात्र विवाह हुनसक्ने चलन चल्यो । अर्थात् विवाहको क्षेत्र अलि साँगुरिन थाल्यो ।
मान्छेले पशु पाल्ने जुगमा केही महिना एकै ठाउँ बस्नुपर्दा बनैयाँ अन्नहरूको महत्त्व बुझ्नथाले । सुरुसुरुमा त भोक लाग्दा जंगली कोदो, जौ, गहुँ र धानका बाला सोरकेर चबाइन्थ्यो होला र मकैका फुटुंग्रा कोपरिन्थ्यो होला, तर पछि आँगनको वरंपर फलेका अथवा पशुको गोबरबाट उम्रेर झांगिएका अन्नहरूले मानिसलाई एक त ती बिरुवा रोपेर आहार फलाउने ज्ञान दिनथाले भने अर्कातिर गोबरका मलको महत्त्व पनि थाहा हुनथाल्यो । मान्छेले क्रमशः खेती-पातीतिर पाइला चाल्यो र खेती र फल-फूलका बिरुवाहरूले मान्छेलाई झन् रैथाने पार्दैलगे। उसलाई जंगल र जमीन ‘हाम्रो’ भनेर तोक्न झन् जरुरी हुन थाल्यो ।
खेती-पातीतिर बढेको मान्छेको पाइला एउटा जुगलाई नै नाघ्ने पाइला थियो । त्यसपछि खेतीको निम्ति जंगल फाँड्नुपर्ने भयो, जमीन खन्नुपर्ने भयो, धेरै र ठुल्ठुला टहरा बनाउनुपर्ने भयो। बलिया हात-हतियार चाहियो। जमीनमाथिको कब्जा र रैथाने बासले गर्दा अरू घुमन्ते गणसँग लडाइँ झन् बढ्नथाले। बलिया शस्त्र-अस्त्र चाहियो । बढेका कामका निम्ति ढुंगा र हाडका हतियारले काम चल्न छोड्यो । यसै समस्याको समाधानको खोजमा मान्छेले बुद्धि र बर्कत लगायो। अनेकौं थरी ढुंगा ल्याएर थिचथाच, घोटघाट र पोलपाल गर्दागर्दै आखिरमा ‘तामो’ पत्ता लाग्यो। तामाका धारिला हतियार बने ।
तामाले खेतीका जुगको दहिलो खोलिदियो । जंगल फाँड्ने, गोठ हाल्ने, जमीन खन्ने, शिकार काट्ने, छाला काड्ने, पटुवा काडेर लुगा बुन्ने र अरू अनेकौं कामका औजार बने र तामाले नयाँ उत्पादनहरू बढायो। यसले गर्दा मान्छेको रहन-सहन नै अर्कै बन्यो, जुगै फेरियो। त्यस जुगलाई ‘तामाको जुग’ पनि भनिन्छ। त्यो जुग आजको छ सात हजार वर्ष पहिले थियो ।
त्यस जुगमा गण-गण र गोत्र-गोत्रहरूका बीचमा लूटपाटको निम्ति यति लडाइँ हुन्थे कि भनेर साध्य छैन। उत्पादन जति बढे, लडाइँ पनि त्यति नै बढे ।
हाम्रा पुराणहरू तिनै लडाइँका कथाले भरिएका छन्। पुराणमा देव, दानव, दैत्य, राक्षस, असुर आदि जुन नाम हामीले सुन्दछौं ती मान्छेका अलग-अलग गण-गोत्र या कविला नै थिए । तिनीहरूको लडाइँका जुन सैकडौं कथा हामीले सुनेका छौं, ती जङ्गल, जमीन र उत्पादनकै लूटपाटका लडाइँ थिए।
लडाइँका दौडादौडले गर्दा मान्छेले घोडा पाल्न र चढ्न सिक्यो । घोडा लडाइँको ठूलो सहयोगी जन्तु सावित भयो । त्यसताक मान्छे काट्नु त मुला काटे बराबर थियो । दुइटा गणको बीचमा लडाइँ पर्दा जित्ने गणले हरूवा गणका गाई बस्तु, हात-हतियार, अन्न-छाला आदि जे पायो त्यही हड्पन्थ्यो । शत्रुहरू धेरैजसो लडाइँमा मारिन्थे र केही पक्डिन्थे पनि। तर ती पक्डिएकालाई आफ्नो बथानमा मिसाई खाने मुख थपेर केही फाइदा थिएन। किनभने पशुका बथान जति ठूला भए तापनि खाने मान्छेका बथान पनि साना थिएनन्।
खेती-पाती त भर्खर खोरियाकै रूपमा थियो । त्यसै भएर पक्डिएका शत्रुहरूलाई गणका प्राकृतिक देवता-घाम, पानी, आगो, वायु, जून आदि र मृत्यु, वर्षा, भुइंचालो जस्ता ‘रहस्यमय’ शक्तिलाई भोग (बलि) दिइन्थ्यो । त्यसलाई ‘नरबलि’ भनिन्थ्यो। त्यसताक नरबलि दिने चलन निकै थियो । हामीले पुराणका निकै पछिल्लो कालका कथामा पनि जडभरतलाई भद्रकालीमा बलि दिन लगेको, हरिश्चन्द्र राजालाई जलोदर रोग हुँदा बलिको निम्ति माइलो छोरा भेटिएको आदि कुरा भेटाउँछौं ।
त्यस बेला कुनै कुनै गणका मान्छेले बलि दिएका मान्छेको या लडाइँमा मारिएका शत्रुहरूको रगत र मासु पनि खान्थे। जस्तो कि हामीले देवीभागवत या मार्कण्डेय पुराणमा देवीहरूले दैत्यहरूको रगत तन्काएको, मासु खाएको कुरा भेटाउँछौं।* तर जित्ने गणहरूमा मान्छे थोरै रहेछन् भने पक्डेर ल्याएका मान्छेलाई गणमा मिसाई आफ्नो समूहका सदस्य पनि बनाइन्थ्यो। यसरी मिसाउँदा धेरैजसो लोग्नेमान्छे र बूढाबूढीहरूलाई काटिन्थ्यो र तरुनी आइमाईहरूलाई राखिन्थ्यो । किनभने गणभित्र विवाहको चलनमा थोरै फेरबदल भए तापनि नारीको बोलवाला नघटेको हुनाले लडाइँमा नाइके बन्ने लोग्नेमान्छेहरूमा अर्को गणका राम्रा-राम्रा तरुनीहरूलाई आफ्नो हैकम् मान्ने छुट्टै स्वास्नी बनाउने झोंक बढ्दैगएको थियो।
तर त्यत्रो बगालमा छुट्टै स्वास्नीको अर्थ आज झैं एकदम अधीनमा रहने निजी स्वास्नी त हुनसक्तैनथ्यो । यतिसम्म भने हुनसक्थ्यो कि ती स्वास्नी मान्छेहरू अरूतिर भन्दा नाइकेहरूतिर बढी भुकुन् । जेहोस् एउटा गणका मानिस अर्को गणमा मिसिने चलनले एउटा नयाँ कुराको अनुभव हुँदैगयो । त्यो के भने, आफ्नै बगालका चोखा सन्तानभन्दा दुई बगालको रगत मिसिएर जन्मेका ठिमाहा सन्तान बढी बलिया-बाङ्गा र बुद्धिमा पनि चंख देखिनथाले। एकातिर यस्तो अनुभव सैकडौं वर्षसम्म थपिंदैगयो भने अर्कातिर खेती-पातीबाट बढी उब्जा गर्ने तौर-तरीकाको ज्ञान पनि मान्छेले थप्दैगयो ।
टाढा-टाढासम्म जंगल फाँडिदै र पोलिंदै गए। जंगली जन्तुबाट डर घट्दैगयो । अब मान्छेलाई पहिले झैं एकै ठाउँ घिरिप्प भएर झोंत्तिनुपर्ने बाध्यता रहेन । एकेक आमाका एकेक लहरा (गोत्र) अलग-अलग गोठहरूमा बाँडिएर बस्नथाले। विभिन्न ठाउँमा स- साना जंगली बस्ती देखापरे ।
खेतीको विकासले मिहिनेत (श्रम) को महत्त्व झन् बढायो । किनभने अबको मिहिनेत जंगली जुगका फलफूलमा जस्तो कुहेर जाँदैनथ्यो बरु भकारीमा जम्मा भई धेरै दिनका निम्ति संग्लेर बस्थ्यो ।
मान्छेले के बुझ्नथाल्यो भने मिहिनेत गर्नसके ‘पृथ्वी आमा’ ले जति पनि खाने कुरा दिन्छिन् र जति मान्छे पनि पालिन सकिन्छ । यस अवस्थाले गर्दा लडाइँमा पक्डिएका मान्छेलाई मार्ने या ‘नरबलि’ दिने चलन बन्द गरी तिनीहरूलाई खेती-पातीमा जोताएमा फाइदा हुने कुरा अनुभव हुनथाल्यो । लडाइँमा पक्डिएका मान्छेलाई गणमा धमाधम भित्र्याउन थालियो । जबसम्म खेती-पातीमा पुरुषको मिहिनेत बढ्दैजानाले उनीहरूको फूर्ति पनि चढ्दैगएको थियो ।
लडाइँका नाइकेहरूको पनि धाक-धक्कू बढ्दैगएको थियो ।
यस नयाँ परिस्थितिले पुस्ता विबाहलाई सजिलै भत्काइदियो र एउटै आमाका सन्तानका बीच बिहे नगरी अरू ठूली, सानी आमाहरूका भाइ-बहिनीहरू साटासाट गरेर विबाह हुनथाल्यो। पछि त्यसमा पनि रोक लाग्दै गएर बजै र जिजूबजैका सन्तानका बीच पनि बिहेबारीमा रोक लाग्दैगयो । दुई-तीन पुस्ताका दिदी-बहिनी र दाजु-भाइका बीच त आज पनि कुनै-कुनै जातिमा बिहाबारी चल्दैछ। मुसलमानहरूमा यसका अवशेष भेटिन्छन् । मगर, गुरुङहरूमा अझै पनि मामा-चेली-फूपूचेलीमा विबाहको ‘हक’ लाग्दैछ ।
त्यति हुँदाहुँदै पनि निकै पछिसम्म आज जस्तो ‘अलग-अलग लोग्ने र स्वास्नी’ को चलन हुनसकेन । रगत्-सम्बन्धमा जति परसम्म रोक लाग्दैगएता पनि उत्तराधिकार नारीकै चल्नेहुनाले एउटा गोत्रका जम्मै केटाहरू अर्का गोत्रमा जानुपर्थ्यो र त्यहाँका सबै केटीहरूसित साझा पति-पत्नी नै भएर बस्नुपर्थ्यो। महाभारतका कुन्ती र द्रौपदीका पाँच-पाँचवटा लोग्ने भएका कुराले त्यसै जमानाका पुच्छारको झल्को दिनखोज्दछ ।
यसरी हामी मानव समाजको सुरुमा नारीलाई समाजकी नेताको रूपमा पाउँछौं।
(नारी- बन्धन र मुक्ति पृ १२-१७, एसिया पब्लिकेसन्स प्रा लि २०३३)