२५ बैशाख २०८१, मंगलवार

हिन्दु चतुर्वर्ण व्यवस्था :एक ऐतिहासिक बहस

0

जात-पातको दोष-निवारण : महात्मा गान्धी

डा. अम्बेडकरको अभियोग
                                     १
१.१पाठकहरूलाई यो थाहा होला कि डा. अम्बेडकरले लाहौरको जात-पात तोडक मण्डलको वार्षिक सम्मेलनको अध्यक्षता विगत मई माहिनामा गर्नु थियो। तर स्वागत समितिलाई डा. अम्बेडकरको भाषण अस्वीकार्य हुँदा सम्मेलनको आयोजन नै स्थगित गरिदिएको थियो। आफ्नो रोजाइको अध्यक्षको भाषण आपत्तिजनक पाउँदा त्यसलाई स्वागत समितिद्वारा अस्वीकार गरिनु कहाँसम्म न्यायसङ्गत हो जब कि त्यस भाषणमा प्रश्न उठाउन सक्ने स्वतन्त्र प्रावधान थियो नै।

समिति जात-पात अनि हिन्दु धर्म-ग्रन्थहरूबारे डा. अम्बेडकरको दृष्टिकोणदेखि परिचित थियो।’ समितिलाई थाहा थियो कि डा. अम्बेडकरले खुल्ला रूपमा हिन्दु धर्म त्याग्ने निर्णय गरिसकेका थिए। डा. अम्बेडकरसँग समितिले भाषणलाई छोट्याउने अपेक्षा नै गर्नु हुँदैन थियो। समितिले जनतालाई एकजना यस्ता व्यक्तिको विचार सुन्नदेखि वञ्चित गर्यो जसले समाजमा एउटा अद्वितीय स्थान बनाइसकेका थिए। चाहे उनले भविष्यमा कुनै पनि आवरणमा आफैलाई ढाकून्, डा. अम्बेडकरले स्वयंलाई भुल्ने अवसर दिने छैन।

१.२स्वागत समितिले डा. अम्बेडकरलाई पराजित गर्न सकेन। उनले यस भाषणलाई आफ्नै खर्चमा प्रकाशित गरेर प्रत्युत्तर दिइसकेका छन्। उनले प्रकाशित भाषणको मूल्य आठ आना राखेका थिए। मेरो सुझाउ छ कि यसको मूल्य घटाएर दुई आना नभए पनि चार आना गरियोस्।

१.३कुनै पनि सुधारकले यस भाषणको उपेक्षा गर्न सक्दैनन्। रूढिवादीहरू यो भाषण पढेर लाभान्वित हुनेछन्। यसको तात्पर्य यो होइन कि भाषणमा आपत्ति उठाउने अवसर खुल्ला छैन। डा. अम्बेडकर हिन्दु धर्मका लागि एउटा चुनौती हो। एकजना हिन्दुको रूपमा उनको पालन पोषण भयो, एकजना हिन्दु राजाद्वारा शिक्षा आर्जन भयो तर उनी तथाकथित सवर्णलाई घृणा गर्छन् किनकि तिनीहरूले उनीसँग एवं उनका मानिसहरूसँग यति दुर्व्यवहार गरे जसको कारण डा. अम्बेडकरले त्यही धर्मलाई त्याग्ने निर्णय गरे, जुन धर्म सबैको सामूहिक धरोहर हो। उनले आफ्नो घृणालाई हिन्दु धर्म पालन गर्नेहरूको एउटा भाग विरुद्ध मोडिदिए ।

१.४यसमा आश्चर्य मान्नु पर्ने कुरो छैन। अन्तत कुनै व्यवस्था वा संस्थाको परख त्यसको प्रतिनिधिहरूको व्यवहारले गर्न सकिन्छ। यस अतिरिक्त डा. अम्बेडकरले देखे कि सवर्ण हिन्दुहरूको बहुमतले आफ्नो सह-धर्मावलम्बीहरूसँग, उनीहरूलाई अछुत ठानेर धर्मशास्त्रीय आधारमा अमानवीय व्यवहार गयो अनि उनले शोध कार्य गरे।

तब छुवाछुत अनि त्यसको उपलक्षणहरूलाई मान्नेहरू विरुद्ध व्यापक प्रमाण उनले पाए। भाषणको लेखकले आफ्नो कथनको समर्थनमा अध्याय अनि श्लोकको प्रमाण दिँदै तीनवटा आरोप लगाए – प्रथम, अमानवीय व्यवहार गर्नु, दोस्रो, अत्याचार गर्नेहरूले निर्लज्जतापूर्वक त्यसलाई सही बताए अनि तेस्रो, यो भन्नु कि धर्मशास्त्रहरूमा यस्ता व्यवहारलाई उचित ठानिएको छ।

१.५कुनै पनि हिन्दु जसले आफ्नो आस्थालाई जीवनभन्दा अधिक ठान्छन्, उनी दोषारोपणको महत्त्वलाई सामान्य रूपमा देख्न सक्दैनन्। डा. अम्बेडकर (यो अमानवीय व्यवहार) घृणा गर्ने एकलै व्यक्ति होइनन्। तर उनी यसको सर्वाधिक दृढ प्रतिज्ञ प्रतिवादक हुन् तथा यसको प्रतिपादन गर्नेहरूमा सबैभन्दा योग्य व्यक्ति हुन्। भगवानलाई धन्यवाद छ कि अघिलो पङ्क्तिको नेतृत्वमा उनी एकलै छन् र पनि उनी थोरै अल्पङ्ख्यकहरूको प्रतिनिधित्व गर्दैछन्।

तर जे पनि उनी भन्छन् त्यो केही कम वा ज्यादा जोरले दलित वर्गका नेताहरूले दोहोर्याउँछन्। उदाहरणका लागि, रायबहादुर एम. सी. राजा तथा दीवान बहादुर श्रीनिवासनले केवल हिन्द धर्म त्याग्ने धम्की दिन्छन् तर हरिजनहरूको ठूलो वर्गले लज्जाजनक प्रताडनाको क्षतिपूर्तिका लागि
यसलाई – परोपकारी रूपमा पाउँछन्।

१.६म यो भन्दिनँ कि यो तथ्य ध्यान दिने योग्यको छैन किनकि कैयौँ नेताहरू डा. अम्बेडकरको कथनको अवहेलना गर्दै हिन्द बनिरहेका छन्। सवर्णले आफ्नो मान्यता तथा व्यवहारलाई सहीगर्नु पर्नेछ। सवर्णमा जुन विद्वान छ तथा प्रभावशाली छ, उनले धर्मशास्त्रको अधिकृत तथा सही व्याख्या गर्नु पर्दछ। डा. अम्बेडकरको अभियोग-पत्रले जुन प्रश्न उठायो त्यो यसप्रकार छः (१) धर्मशास्त्र के हो?

(२) के छापिएको मूल पाठलाई धर्मशास्त्रको अङ्गभूत हिस्सा मानिन्छ वा यसको कुनै पनि हिस्सालाई अनधिकृत रूपमा अस्वीकृत मानिन्छ?
(३) छुवाछुत, जातपात, प्रतिष्ठाको समानता, रोटी-बेटीको सम्बन्धको प्रश्नमा धर्मशास्त्रको मान्य वा परिशोधित अंशको के उत्तर दिइनेछ? (यी जम्मै प्रश्नहरूको डा. अम्बेडकरले आफ्नो भाषणमा विशद विवेचन गरेका छन्)।
यी प्रश्नहरूको उत्तर तथा डा. अम्बेडकरको शोधपूर्ण भाषणमा निहित त्रुटिहरूमा म आफ्नो वक्तव्य अघिलो अङ्कमा दिनेछु।

डा. अम्बेडकरको अभियोग
                                   २

२.१‘रामायण’, र ‘महाभारत’ सहित वेद, उपनिषद्, स्मृतिया अनि पुराण हिन्दु धर्मशास्त्र हुन्। तर यो नै अन्तिम सूची होइन। प्रत्येक युग अनि पिँढीले यस सूचीमा केही न केही जोडेका छन्। यसबाट निष्कर्ष निस्किन्छ जुन जुन छापियो वा हातले लेखियो, त्यो धर्मशास्त्र होइन। उदाहरणका लागि, स्मृतिहरूमा धेरै कुरा छन् तर त्यसलाई ईश्वरको वाणीको रूपमा स्वीकार गर्न सकिँदैन। यसप्रकार कैयौँ उदाहरणहरू जुन डा. अम्बेडकरले स्मृतिहरूबाट दिए, त्यसलाई अधिकृत ठहर गर्न सकिन्न।

सही धर्म ग्रन्थ त्यसैलाई भन्न सकिन्छ जुन शाश्वत छ तथा अन्तःकरणलाई हुँदछ अर्थात् ती मानिसहरूको हृदयलाई आकर्षित गर्दछ जससँग बुझ्न सक्ने क्षमताको भरपुर ज्ञान छ। त्यसलाई ईश्वरको वाणी मान्न सकिन्न जुन तर्कको परीक्षणमा टिक्न सक्दैन वा जसलाई आध्यात्मिक प्रयोगमा ल्याउँदैनौँ। यदि तपाईंसँग धर्मग्रन्थको परिशोधित संस्करण भए तापनि तपाईंलाई त्यसको टीकाको आवश्यकता पर्नेछ। सबैभन्दा राम्रा टीकाकार को हुन्? आवश्यक रूपमा विद्वान हुन सक्दैन। तर पनि विद्वता आवश्यक छ। तर धर्म विद्वतामा चल्दैन। धर्म साधु-सन्तहरू अनि उनको जीवन एवं कथनमा चल्दछ। साधु-सन्तहरूको सञ्चित अनुभवलाई मानिस स्वीकार्छन्। उनीहरूले युगौँसम्म प्रेरणा पाउँछन् जब कि धर्मग्रन्थको सबैभन्दा राम्रा विद्वान टीकाकारहरूलाई मानिस भुलिदिन्छन्।

२.२जात-पातको धर्मसँग कुनै सरोकार छैन। जात एउटा रीति-रिवाज हो जसको उद्गमलाई म जान्दिनँ र न नै आफ्नो आध्यात्मिक क्षुधाको सन्तुष्टिका लागि जान्न चाहन्छु । म जान्दिनँ कि जात आध्यात्मिक वा राष्ट्रिय विकासका लागि हानिकारक छ। वर्ण अनि आश्रम व्यवस्था यस्तो संस्थाहरू हो जसलाई जात-पातसँग कुनै सरोकार छैन। वर्ण व्यवस्थाको नियमले पैतृक धन्धा अपनाएर हामीले आफ्नो रोजी-रोटी आर्जन गर्नुपर्ने कुरा सिकाउँछ। यसले हाम्रो अधिकार मात्र होइन तर कर्तव्यलाई पनि परिभाषित गर्दछ।

वर्ण-व्यवस्था अवश्य नै व्यवसायको सन्दर्भमा बनिएको हो जुन केवल मानवताको कल्याणका लागि हो र कुनै अन्यका लागि होइन। यसको अर्थ यो पनि हो कि कुनै पनि व्यवसाय न त अत्यधिक रूपले तल्लो स्तरको छ न त अत्यधिक रूपमा माथिलो स्तरको छ। सबै व्यवसाय राम्रो विधि-सम्मत तथा स्तरमा नितान्तै एक समान छन्। ब्राह्मणको आध्यात्मिक शिक्षकको व्यवसाय तथा सफाई गर्नेहरूको व्यवसाय एक समान छ, जुन भगवानको समक्ष एकै खाले पुण्यको काम हो अनि एउटै समयमा पूर्ण काम गरेमा समान पारिश्रमिकको अधिकारी छ। दुवैलाई जीवनयापनको अधिकार छ अरू केही होइन। आज पनि गाउँहरूमा यस्तै विधि-सम्मत स्वस्थ परम्परा जारी छ।

२.३- छ सयको जनसङ्ख्या भएको गाउँमा बस्दा मैले देखें कि ब्राह्मणसहित विभिन्न व्यवसायमा रहेका मानिसहरूमा कुनै असमानता छैन। मैले देखेँ आजको दुष्ट समयमा पनि ब्राह्मणलाई सबैले हातले भीख दिइरहेका थिए। त्यसको सट्टा ब्राह्मणसँग जुनै पनि आध्यात्मिक खजाना छ, उनी त्यो बाँटिदिन्थे। वर्ण-व्यवस्थाको विकृत स्वरूपको जाँच गर्नु गलत अनि अनुचित हुनेछ जब त्यसको नियमको उल्लङ्घन हुँदछ। कुनै वर्णमा रहेर श्रेष्ठताको दाबी झुटो हुनेछ अनि यस कानुनलाई नकारात्मक मानिन्छ। वर्ण-व्यवस्थाको कानुनमा छुवाछुतको मान्यता निहित छैन? (हिन्दु धर्मको सार छ सत्य नै ईश्वर तथा अहिंसा मानव परिवारहरूको
कानुन हो)।

२.४मलाई थाहा छ हिन्दु धर्मको मेरो यस व्याख्यालाई डा. अम्बेडकरबाहेक अन्य मानिसहरूले पनि प्रतिवाद गर्नेछन्। त्यसले मेरो स्थितिमा कुनै प्रभाव पर्दैन। यसै व्याख्याको आधारमा लगभग आधी शताब्दीसम्म बाँचेको छ तथा मैले सकेसम्म यी नै मान्यताहरूलाई जीवनमा
उतार्ने प्रयास गरेको छु।

२.५मेरो विचारमा डा. अम्बेडकरले आफ्नो भाषणमा सन्देहपूर्ण प्रामाणिकता अनि मूल्य तथा भ्रष्ट हिन्दुहरूको शोचनीय मिथ्या निरूपणलाई, जुन धर्मको सही उदाहरण होइनन्, चयन गरेर गम्भीर भुल गरे। जुन मानकहरूलाई डा. अम्बेडकरले अपनाए त्यसले त प्रत्येक विद्यमान
धर्महरू सम्भवतः असफल हुनेछन्।

२.६आफ्नो योग्यतापूर्ण भाषणमा डाक्टरले आफ्नो मुद्दालाई अत्यधिक सिद्ध गर्ने प्रयास गरे। के चैतन्य, ज्ञानदेव, तुकाराम, तिरुवल्लूवर, रामकृष्ण परमहंस, राजा राममोहन राय, महर्षि देवेन्द्र- नाथ टैगोर, विवेकानन्द वा अन्य विद्वानहरूद्वारा लेखिएको धर्म सम्पूर्ण रूपले गुणरहित छन् जस्तो कि डा. अम्बेडकरले आफ्नो भाषणमा भनेका छन्? कुनै धर्मलाई त्यसको सर्वाधिक खराब उदाहरणबाट होइन तर सर्वाधिक राम्रो परिणामबाट जाँच्नु पर्दछ। यदि हामी यसलाई सुधार्न पाउँदैनौँ भने केवल यस प्रकारको मानकको आकाङ्क्षा मात्र गर्न सकिन्छ।

सन्तरामद्वारा गान्धीलाई उत्तर
वर्ण वनाम जात
                                  ३
३.१श्री सन्त रामजीले, जात-पात तोडक मण्डल, लाहौर, इच्छा व्यक्त गरे कि उनको निम्नलिखित व्यक्तव्य प्रकाशित गरियोस्।

३.२“मैले डा. अम्बेडकर अनि जात-पात तोडक मण्डल, लाहौरबारे तपाईंको टिप्पणी पढें। यस सम्बन्धमा म निवेदन गर्न चाहन्छु-

हामीले डा. अम्बेडकरलाई आफ्नो सम्मेलनको अध्यक्षता गर्नका निम्ति बोलाएका थिएनौँ किनकि उनी दलित वर्गका हुन् र हामी छुत-अछुतमा भेद गर्दैनौँ। यसको विपरीत हामीले डा. अम्बेडकरको चयन यसकारण गर्यौ कि हिन्दु समाजको गम्भीर बिमारीको लक्षण उनको अनि हाम्रो एक जस्तै छ अर्थात् उनको पनि यही मत थियो कि हिन्दुहरूमा विघटन अनि पतनको मूल कारण जात व्यवस्था हो। डाक्टरको डाक्टरेटको थेसिस विषय पनि जात व्यवस्था थियो। उनले यस विषयमा सम्पूर्ण रूपले अध्ययन गरेका थिए।

हाम्रो सम्मेलनको उद्देश्य जात व्यवस्था समाप्त गर्नका निम्ति हिन्दुहरूलाई राजी गराउनु थियो। तर एउटा गैर-हिन्दुको सामाजिक अनि धार्मिक मामिलामा सलाह-सुझाउले कुनै प्रभाव पार्न सक्दैन। डाक्टर आफ्नो भाषणको पूरक भागमा यो कुरो भन्नुमा अडिग रहे कि हिन्दुको रूपमा उनको यो अन्तिम भाषण हो। जुन सम्मेलनको हितमा अप्रासागिक अनि घातक सिद्ध थियो।

यसैले हामीले उनीसँग निवेदन गरेका थियौँ कि उनले आफ्नो भाषणबाट त्यो वाक्य निकालिदिऊन् किनकि त्यो कुरा भन्नलाई उनले कुनै अन्य अवसर पनि पाउन सक्ने थिए। तर उनले यसो गर्न अस्वीकार गरे। यस्तै स्थितिमा हामीले देख्यौँ कि केवल सम्मेलनको देखावटी गर्नुमा कुनै प्रयोजन छैन। यीबाहेक उनको भाषणको म प्रंशसा गर्दछ किनकि यस विषयमा यो भाषण सर्वाधिक विद्वतापूर्ण थेसिस हो जसको अन्य भारतीय भाषाहरूमा अनुवाद हुनु पर्दछ ।

३.३“साथै, म यसतर्फ तपाईंको ध्यान आकर्षित गर्न चाहन्छु कि जात अनि वर्णमा दार्शनिक अन्तर बताउनु भयो त्यो यति अधिक सूक्ष्म छ जुन आम मान्छेको सक्दैन किनकि व्यावहारिक दृष्टिमा जात अनि वर्ण एउटै हो साथै दुवैको कृत्य एक समान छ। अर्थात् अन्तर्जातीय विवाह अनि सहभोजमा रोक। तपाईंको वर्ण-व्यवस्थाको सिद्धान्त वर्तमानमा अव्यावहारिक छ अनि निकट भविष्यमा यसको पुनरुत्थानको कुनै अपेक्षा रहन्न।

केवल हिन्दु जात-पातको गुलाम हो तथा यसलाई उनीहरू नष्ट गर्न चहाँदैनन्। अत: जब तपाईं काल्पनिक वर्ण व्यवस्थाको वकालत गर्नुहुन्छ तब उनीहरूले जात-पातसँग टाँसिने न्यायसङ्गत प्राप्त गर्दछ। यसप्रकार तपाईँ वर्ण भेदको उपयोगिताबाट समाज सुधारलाई क्षति पुर्याउँदै हुनुहुन्छ किनकि यसले हाम्रो बाटोमा पर्खाल खडा गर्दैछ। वर्ण-व्यवस्थाको जरामा आक्रमण नगरी छुवाछुत मेटाउने प्रयास गर्नु रोगको बाहिरी लक्ष्णहरूको उपचार गर्न वा पानीको सतहमा रेखा खिँच्नु झैँ हो।

ब्राह्मण मानिसले हृदयको कुनै पनि कुनाबाट तथाकथित छुत-अछुत शुद्रलाई सामाजिक समानता दिन चाहँदैनन्, यसैले उनी जात-पात तोड्ने तथा छुवाछुतलाई मेटाउन उदारता अस्वीकार गर्छन्, जसको साधारण अर्थ हो उनी यस मुद्दादेखि बाँच्न चाहन्छन्। छुवाछुत मेटाउनका निम्ति शास्त्रको सहयोग लिनुको अर्थ हो फोहोर सफा गर्नु।

श्री सन्त रामजीको पत्रको प्रथम अनुच्छेदले अन्तिम अनुच्छेदलाई खण्डन गर्दछ। यदि मण्डल शास्त्रको सहयोग लिन अस्वीकार गर्दछ भने उनी वास्तवमै त्यही गरिरहेको छ जुन डा. अम्बेडकर गरिरहेका छन्। अर्थात् हिन्दु नभएसम्म कसरी उनी डा. अम्बेडकरको भाषणमा आपत्ति उठाउन सक्छन् जसमा उनले भनेका छन् कि- हिन्दुको रूपमा उनको यो अन्तिम भाषण हो? स्थिति पूर्ण रूपले अतर्क-सङ्गत हुँदछ। विशेष रूपमा जब मण्डलको प्रवक्ता बन्ने दाबी गर्दै श्री सन्त राम डा. अम्बेडकरको भाषणको तर्कहरूको मुग्धकण्ठले प्रंशसा गर्छन्।

३.५यहाँ सोध्न उचित हुँदछ कि यदि शास्त्रलाई अस्वीकार गर्दछ भने मण्डलले कुन कुरामा विश्वास राख्दछ। कुरानलाई अस्वीकार गरेर कोही मुसलमान बन्न सक्छन्? अनि बाइबललाई अस्वीकार गर्दै कोही इसाई कसरी बन्न सक्छ? यदि जात अनि वर्ण एक अर्काको पर्याय हो अनि शास्त्रहरूको अङ्गभूत हिस्सा हो जसमा हिन्दु धर्मको परिभाषा निहित छ तब म बुझ्दिनँ कि जात अर्थात् वर्ण अस्वीकार गर्नेलाई कसरी हिन्दु भन्न सकिन्छ?

३.६श्री सन्त राम शास्त्रहरूलाई फोहोर ठान्छन्। जहाँसम्म मलाई थाहा छ डा. अम्बेडकरले शास्त्रलाई यस्तो विलक्षण नाम दिएनन्। मेरो अर्थ निश्चित रूपले यो हो कि यदि शास्त्र छुवाछुतको समर्थन गर्छ भने म तपाईंलाई हिन्दु भन्न चाहन्नँ। यसै प्रकार यदि शास्त्रले जात-पातको समर्थन गर्छ भने म स्वयंलाई हिन्दु भन्ने वा हुन दिन्नँ किनकि सहभोज अनि अन्तर्जातीय विवाहसँग मलाई कुनै प्रकारको सङ्कोच छैन।

म शास्त्र अनि त्यसको व्याख्याबारे आफ्नो स्थितिलाई दोहोर्याउन चाहन्नँ। म श्री सन्त रामलाई साहसिक सुझाउ दिन चाहन्छु कि यो नै तर्कपूर्ण, सही अनि नैतिक रक्षात्मक स्थिति हो र हिन्दु परम्परामा यसलाई उचित प्रामाणिक सिद्ध गर्ने आधार पर्याप्त छ।

डा. भीमराव अम्बेडकरद्वारा महात्मालाई उत्तर
                                १
१.१म महात्माप्रति नितान्तै आभारी छ। उनले जातबारे जात-पात तोडक मण्डलका लागि लेखिएको मेरो भाषणमाथि आफ्नो समाचार-पत्र ‘हरिजन’ मा विचार व्यक्त गरेर मलाई सम्मानित गरे । मेरो भाषणमाथि उनको पुनरावलोकनको परिशीलनबाट थाहा पाइन्छ महात्मा जातबारे मैले व्यक्त गरेका विचारहरूसँग पूर्ण रूपले असहमत छन्। जबसम्म उत्तर दिनुपर्ने बाध्यता मलाई आउँदैन तबसम्म म आफ्नो विरोधीहरूको वाद-विवादमा फँस्न चाहन्न। यदि मेरो विरोधी क्षुद्र अनि अज्ञात व्यक्ति हो भने म उनको पछि परिरहन्न। तर मेरो विपक्षी स्वयं महात्मा छन्, यसैले म ठान्दछु मेलै ती मुद्दाहरूको प्रत्युत्तर दिने प्रयास अवश्य गर्नु पर्दछ, जुन उनले उठाएका छन्।

१.२यद्यपि म आभारी छु, उनले मेरो सम्मान गरे, मलाई यस कुरामा आश्चर्य छ महात्माले ममाथि आरोप लगाएका छन् कि मैले भाषण नदिए पनि भाषण यसकारण प्रकाशित गरेको छु किनकि मेरो प्रचार होस् अनि मानिसले मलाई ‘नभुलून्’। महात्मा चाहे जे सुकै भनून्, भाषण प्रकाशित गर्ने मेरो उद्देश्य केवल यो थियो कि हिन्दुहरूले चिन्तन गरून् अनि आफ्नो स्थितिबारे बुझून्। म भन्न चाहन्छु म आफ्नो प्रचारको भोगी छुइनँ किनकि मेरो इच्छा अनि आवश्यकताभन्दा अधिक मेरो प्रसिद्धि अघिदेखि नै छ। यदि यो मान्यौँ भने पनि कि प्रसिद्धि पाउने उद्देश्यले नै मैले • भाषण प्रकाशन गरेको हूँ। तर पनि कसले मलाई ढुङ्गा हान्न सक्छ? निश्चित रूपले उनीहरू सक्दैनन् जुन महात्मा झैँ ऐनाको घरमा बस्छन्।

                                   २
२.१प्रयोजनबाहेक भाषणमा उठाइएका प्रश्नहरूबारे महात्मालाई के भन्नु छ? प्रथम कुरो हो जुन

कोही मेरो भाषण पढ्छन् उनलाई ज्ञात हुनेछ महात्माले मेलै उठाएका मुद्दाहरूलाई पूर्ण रूपले अदेखा गरेका छन् अनि उनले जुन मुद्दा उठाएका छन् त्यो मुद्दा मेरो भाषणबाट उत्पन्न हुँदैन, जसलाई उनले हिन्दुहरूका लागि मेरो अभियोग-पत्र भन्नमा आनन्द अनुभव गरेका छन्। मैले आफ्नो भाषणमा उठाएको प्रमुख मुद्दाहरूलाई निम्नलिखित रूपमा सूचीबद्ध गर्न सकिन्छ।

२.२(१) जात-पातले हिन्दुहरूलाई ध्वंश गरेको छ। (२) हिन्दु समाजलाई चातुर्वर्ण्यको आधारमा पुनर्गठित गर्नु असम्भव छ किनकि वर्ण व्यवस्था चुहुने भाँडो झैँ हो वा त्यो व्यक्ति जस्तै छ जुन नाकको आडमा कुदिरहेको छ। यो आफ्नो गुणहरूको कारण आफूलाई कायम राख्नमा अक्षम छ तथा यसमा जात व्यवस्थाको रूपमा विकृत हुने प्रवृत्ति अन्तर्निहित छ।

जबकि वर्णको उल्लङ्घन गर्दा कानुनी रोक लगाउँदैन। (३) चातुर्वर्ण्यको आधारमा हिन्दु समाजलाई पुनर्गठित गर्नु हानिकारक छ किनकि वर्ण व्यवस्थाले ज्ञान प्राप्त गर्ने अवसरदेखि वञ्चित गरेर मानिसलाई निम्न कोटीको बनाइदिन्छ तथा अस्त्र धारण गर्नदेखि वञ्चित गरेर उनलाई दुर्बल बनाउँछ। (४) हिन्दु समाजलाई यस्तो धर्मको आधारमा पुनर्गठित गर्नु पर्दछ जसमा स्वतन्त्रता, समानता अनि भ्रातृत्वको सिद्धान्तलाई मान्यता दिइन्छ। (५) यो लक्ष्य प्राप्त गर्नलाई जात अनि वर्णको धार्मिक पवित्रताको भावनालाई नष्ट गरिनु पर्नेछ। (६) जात अनि वर्णको पवित्रता केवल त्यति बेला नष्ट हुन सक्दछ जब शास्त्रको दिव्य सत्तालाई अलग गरिन्छ।

२.३यस्तो देखियो कि महात्माद्वारा उठाइएका प्रश्नहरू मुद्दादेखि नितान्तै अलग छन् जसले गर्दा भाषणको मुख्य तर्क त्यसमा हरायो।
                                    ३
३.१महात्माद्वारा उठाइएका प्रश्नहरूको सारलाई म जाँच्न चाहन्छु। महात्माले प्रथम प्रश्न उठाएका छन् मैले उद्धृत गरेको उदाहरणहरूको कुनै प्रामाणिकता छैन। म स्वीकार गर्दछु म यस विषयको विशेषज्ञ होइन। तर म भन्न चाहन्छु जुन उदाहरण मैले उद्धृत गरेको थिएँ ती श्री तिलकको लेखहरूबाट लिएको हूँ, जुन संस्कृत भाषा अनि हिन्दु शास्त्रहरूको विद्वान थिए। उनले दोस्रो कुरो यो भनेका छन् शास्त्रको व्याख्या विद्वानद्वावा होइन तर सन्तद्वारा गरिनु पर्दछ अनि जस्तै सन्तहरूले बुझाएका छन् -शास्त्र जात-पात अनि छुवाछुतको समर्थन गर्दैन।

प्रथम प्रश्नको प्रसङ्गमा म महात्मालाई सोध्न चाहन्छु – यसले कसैलाई के लाभ अनि हानि हुँदछ यदि गद्यांश अन्तर्वेशित छ अनि सन्तहरूद्वारा त्यसको व्याख्या अलग अलग ढङ्गमा गरिन्छ भने। आम मानिस वास्तविक मूलपाठ अनि अन्तर्वेशित मूलपाठमा अन्तर छुट्याउन सक्दैनन्। आम मानिस यो पनि जान्दैनन् कि शास्त्रहरूको मूलपाठ के हो। शास्त्रमा के लेखेको छ? त्यो पनि आम मानिस बुझ्दैनन्। उनीहरूलाई जे भनिन्छ त्यसैमा विश्वास गर्छन् र उनीहरूलाई भनिएको छ – शास्त्रमा जात-पात अनि छुवाछुतको प्रथालाई धार्मिक कर्तव्य मानिन्छ।

३.३जहाँसम्म सन्तहरूको प्रश्न छ, त्यसबारे यो स्वीकार गर्नु पर्दछ- विद्वानहरूको तुलनामा सन्तहरूको उपदेश जति नै अलग अनि उच्च होस् त्यो शोचनीय रूपले निष्प्रभावी रहेको छ। त्यो दुईवटा कारणहरूले निष्प्रभावी रहेको छ। प्रथममा, कुनै पनि सन्तले जात-व्यवस्थामाथि कुनै प्रकारको आक्रमण गरेका छैनन्। यसको विपरीत उनीहरू जात-पात व्यवस्थाको खाँटी विश्वासी हुन्। उनीहरूमा अधिकांश त्यही जातको भएर बाँचेका छन् अनि मरेका पनि छन् जुन जातबाट उनी थिए ।

ज्ञानदेव ब्राह्मणको रूपमा आफ्नो प्रतिष्ठासँग यति बलियो रूपमा जोडिएका थिए जब ब्राह्मणहरूले उनलाई समाजमा अस्वीकार गरे तब उनले ब्राह्मण पदको मान्यता प्राप्त गर्न आकाश-पाताल एक गरिदिएका थिए।

३.४सन्त एकनाथ जुन अछुतहरूलाई छुने तथा उनीहरूसँग भोजन गर्ने साहस देखाउने धर्मात्मा बनेका छन्। उनले यस्तो यसकारण गरेनन् किनकि उनी जात-पात अनि छुवाछुत विरुद्ध थिए । जबकि उनको मान्यता यो थियो – प्रदूषणलाई पवित्र गङ्गा नदीमा (अन्त्याजाचा विटाल ज्यासी। गङ्गास्नाने शुद्धत्व त्यासी। एकनाथी भागवत’, अ. २८, ओ १९१) स्नान गरेर सकिन्छ। जहाँसम्म मेरो अध्ययन छ कुनै पनि सन्तले जात-पात अनि छुवाछुत विरुद्ध कुनै अभियान चलाएनन्।

मनुष्यहरूबीच चलिरहेको सङ्घर्षदेखि उनीहरू चिन्तित थिएनन्। उनीहरू मनुष्य अनि ईश्वर बीचको सम्बन्धका लागि मात्र चिन्तित थिए। उनीहरूले यो शिक्षा दिएनन् कि सम्पूर्ण मनुष्य बराबर हुन्। यो एउटा नितान्तै अलग अनि एकदमै अहानिकर प्रस्ताव हो जुन शिक्षा दिनमा कसैलाई पनि कुनै समस्या हुँदैन वा जुन स्वीकार्नुमा कुनै जोखिम पनि छैन।

३.५दोस्रो कारण यो छ – सन्तहरूको शिक्षा प्रभावहीन रहेको छ किनकि मानिसलाई पढाएको थियो।सन्तले जातको बन्धन तोड्न सक्दछन्, तर आम मानिस त्यो बन्धन तोड्न सक्दैनन्। यसैले सन्त अनुसरणयोग्य उदाहरण भएन। उनीहरू सम्मानयोग्य धर्मपरायण व्यक्ति बनिरहे। मानिस जात अनि छुवाछुतमा पक्का विश्वास गर्दछन्। यो दर्शाउँछ कि शास्त्रको शिक्षाहरू विरुद्ध धर्मपरायण जीवन तथा आदर्शपूर्ण उपदेशहरूको उनीहरूमा कुनै प्रभाव परेन। यसप्रकार यस कुराले कुनै सान्तवना पाउँदैन कि सन्त एकजना महात्मा हुन् जसले शास्त्रहरूलाई केही वौद्धिक अनि धेरै अज्ञान्तापूर्ण रूपले अलग ढङ्गमा बुझ्दछन्।

३.६आम मानिस शास्त्रबारे गलत विचार राख्दछन्, त्यही तथ्यलाई नै ध्यानमा राख्नु पर्दछ। शास्त्रको सत्तालाई समाप्त नगरी कसरी व्यवहार गर्ने जसले आज पनि मानिसको आचरणलाई सञ्चालित गर्दछ? यस प्रश्नमा महात्माले विचार गरेनन्। तर शास्त्रको जडबाट मुक्त गराउने जुन प्रभावशाली योजना महात्माले बताए, उनले यो स्वीकार गर्नु पर्दछ – कुनै सन्तको धर्मपरायण जीवनले उनी स्वयं माथि उठ्न सक्छन् तर सन्त अनि महात्माप्रति आम मानिसको यो नै मनोवृत्ति छ कि मानिसहरूले सन्त-महात्माहरूलाई सम्मान त गर्दछन् तर अनुसरण गर्दैनन्। यसभन्दा धेर कसैले पनि केही गर्न सक्दैनन्।
                                   ४

४.१तेस्रो प्रश्न महात्माले उठाएका छन् चैतन्य, ज्ञानदेव, तुकाराम, तिरुवल्लूवर, रामकृष्ण परमहंस इत्यादिद्वारा ज्ञापित धर्म गुणरहित हुन सक्दैन। जस्तो मैले भनेको छु र यो पनि कि कुनै पनि धर्मलाई सर्वाधिक खराब उदाहरणले होइन तर सर्वाधिक राम्रो परिणामले परीक्षण गर्नुपर्छ। म यस वक्तव्यको प्रत्येक शब्दहरूसँग सहमत छु। तर मैले वास्तवमै बुझ्न सकिनँ महात्मा यस भनाइबाट के सिद्ध गर्न चाहन्छन्। यो सत्य हो धर्मलाई सर्वाधिक खराब नमुनाले होइन तर सबैभन्दा राम्रो तथ्यले जाँच्नु पर्दछ। तर के मामिला यति मै सकिन्छ त? म भन्छु, सकिँदैन।

४.२प्रश्न अझै पनि उठ्दछ सर्वाधिक खराब यति धेरै किन छ र सर्वाधिक सबल पक्ष यति थोरै किन? मेरो दिमागमा यसको दुईवटा कल्पनीय उत्तर छ : (१) आफ्नो केही मूल दुराग्रहको कारण सर्वाधिक खराब छ, जुन नैतिक रूपमा शिक्षणीय छैन, यसकारण धर्मको आदर्श टाढा- टाढासम्म पुग्न अक्षम छ, (२) धर्मको आदर्श पूर्ण रूपले गलत आदर्श हो जसले अधिकांश मानिसको जीवनमा गलत नैतिक मोड दिएको छ र गलत आदर्श हुँदाहुँदै पनि सबैभन्दा राम्रा मानिस बनून् – वास्तवमा गलत मोडलाई सही दिशातर्फ घुमाइदिएको छ।

४.३यी दुवै स्पष्टीकरणहरूमा म प्रथमलाई स्वीकार गर्न तयार छुइनँ अनि मलाई विश्वास छ महात्मा पनि यस विपरीत जान प्रयास गर्दैनन्। मेरो विचारमा दोस्रो स्पष्टीकरण नै तर्कपूर्ण अनि उचित छ जबसम्म महात्मासँग तेस्रो विकल्प यो बुझ्नका लागि हुँदैन कि सर्वाधिक खराब यति धेरै किन छ र सर्वाधिक राम्रो यति थोरै किन छ? यदि दोस्रो स्पष्टीकरण नै एकमात्र स्पष्टीकरण हो तब स्पष्ट रूपले महात्माको यस कथनले – धर्मको परीक्षण त्यसको सर्वाधिक राम्रो गुणहरूले हुन्छ, हामीलाई कतै पनि पुर्याउँदैन, यसबाहेक पनि ती तमाम मानिसहरूप्रति दया लाग्छ जुन गलत भए किनकि उनीहरू गलत आदर्शको पूजा गर्न बाध्य छन्।

                                  ५
५.१महात्माले तर्क दिएका छन् कि यदि सन्तहरूको उदाहरणलाई अपनायौ भने हिन्दु धर्म सहनीय हुनेछ। * महात्माको यो तर्क पनि अन्य कारणले गलत सिद्ध हुँदछ। चैतन्य जस्ता सुविख्यात सन्तको नाम लिएर बृहत अनि सबैभन्दा सरल ढङ्गमा महात्मा सुझाउ दिन चाहन्छन् कि ढाँचामा मूलभूत परिवर्तन नगरी नै हिन्दु समाज सहनीय अनि आनन्दमय हुन सक्दछ। यदि ठूलो जातको हिन्दुहरूलाई यसका लागि राजी गरियो कि उनी सानो जातको हिन्दुसँग व्यवहार गर्ने समय उच्च स्तरको नैतिकता अपनाइयोस्। म यस विचारधाराको पूर्ण रूपले विरोधी हूँ।

५.२म त्यो ठूलो जातको हिन्दुको सम्मान
सम्मान गर्दछु जुन आफ्नो जीवनमा उच्च सामाजिक आदर्श
अपनाउने प्रयास गर्दछन्। जस्ता मानिसहरूबिना भारतमा बस्न आजको स्थितिभन्दा पनि अधिक भद्दा अनि आनन्दरहित हुनेछ। तरै पनि जुन यस कुरामाथि निर्भर छन् उनले ठूलो जातको हिन्दुलाई एकजना राम्रो व्यक्ति बनाउने छन् तथा व्यक्तिगत चरित्र सुधार्ने छन्। मेरो विचारमा उनी आफ्नो ऊर्जा नष्ट गरिरहेका हुनेछन् अनि एउटा भ्रम पालेर बसेका के व्यक्तिगत चरित्रले शास्त्र बनाउनेलाई एकजना राम्रो मान्छे बनाउन सक्छ? अर्थात् फैलाउँदैन, के यो सम्भव छ? यदि यस्तो हुन सक्दैन भने तपाईं कसरी ठान्नु हुन्छ, कि जातको जुन व्यक्ति बम बिक्री गर्छन्। उनले यस्तो बम बनाऊन् जुन पड्किने छैन र ग्यासले विष
हुन्छन्।

चेतनाले भरिएको व्यक्ति आफ्नो व्यक्तिगत चरित्रको कारण राम्रा व्यक्ति बन्न सक्छन् अर्थात् ती व्यक्ति आफ्ना साथीहरूसँग मित्रता तथा समान व्यवहार गर्छन्? सत्य कुरो यो हो उनी आफ्नो साथीहरूलाई जातको आधारमा उच्च नीच ठान्नेछन्। कुनै पनि स्थितिमा उनी आफ्ना जातका व्यक्तिसित जस्तो व्यवहार गर्छन् अन्यसँग त्यही व्यवहार गर्दैनन्। उनीबाट यो आशा गर्न सकिँदैन कि उनी आफ्ना साथीहरूसँग आफन्तजन जस्तै व्यवहार गर्छन् र उनीहरूलाई समान ठान्छन्।

५.३सत्य यो हो हिन्दु आफ्नो जातदेखि बाहिरका व्यक्तिलाई पराया ठान्छन्, उनीसँग भेदभाव गरेर पनि दण्ड मुक्त रहन्छन् अनि लाजविहीन उनीसँग धोका गर्न सक्दछन् वा दाउपेच खेल्न सक्छन्। भन्नुको अर्थ भ्रष्ट अनि कुसंस्कारी हिन्दु भेट्न सकिन्छ। तर एकजना राम्रा हिन्दु पाउन सकिन्न। यसकारण यस्तो होइन कि उनको व्यक्तिगत चरित्रमा कुनै कमी छ। वास्तवमा आफ्ना साथीहरूसँग उनको सम्बन्धको आधार नै गलत छ। सबैभन्दा राम्रा व्यक्तिलाई पनि सदाचारी मान्न सकिन्न। यदि उनका साथीहरूसँग उनको सम्बन्धको आधार नै मूलभूत रूपले गलत छ। एकजना दासका लागि उनको मालिक भ्रष्ट अनि नराम्रो हुन सक्दछ। तर मालिक राम्रो हुन सक्दैन। राम्रो व्यक्ति मालिक हुन सक्दैन अनि मालिक राम्रो व्यक्ति हुन सक्दैन।

५.४यो नै उच्च जात अनि नीच जातको सम्बन्धबीच लागू हुँदछ। अन्य उच्च जातका मानिसहरूको तुलनामा नीच जातको व्यक्तिका लागि उच्च जातको व्यक्ति राम्रो वा नराम्रो हुन सक्छन्। उच्च जातको व्यक्ति राम्रो हुन सक्दैन, जबसम्म उनीसँग उच्च जातिको भेद गर्नका लागि सानो जाति हुँदछ। सानो जातिका लागि यो राम्रो होइन कि उनको चेतनामा यो कुरो बसेको छ उनी माथि ठूलो जाति छ। मैले आफ्नो भाषणमा तर्क दिएको थिएँ वर्ण अनि जातिमा आधारित समाज एउटा यस्तो समाज हो जुन गलत सम्बन्धमा आधारित छ। मैले आशा गरेको थिएँ महात्माले मेरो तर्कलाई ध्वस्त गरिदिनेछन्। तर यस्तो गर्नको सट्टा उनले पृष्ठभूमि नबताई केवल चातुर्वर्ण्यमाथि आफ्ना विश्वास दोहोर्याए ।

                                      ६
६.१महात्मा जुन उपदेश दिन्छन् के त्यसै अनुसार व्यवहार पनि गर्छन्? जुन बहस व्यापक रूपमा प्रयोग हुँदछ त्यसमा व्यक्तिगत उल्लेख सार्थक हुँदैन। तर जब कसैले कुनै सिद्धान्तको उपदेश दिँदछ अनि धार्मिक सिद्धान्त मानेर त्यसलाई धारण गर्दछन्। व्यावहारिक प्रयोगको असफलताको कारण हुन सक्छ आदर्श अधिक मात्रामा उच्च छ। त्यसलाई प्राप्त गर्न सम्भव छैन। व्यवहार गर्नमा असफलताको कारण व्यक्तिको अन्तर्जातीय पाखण्ड पनि हुन सक्दछ ।

कुनै पनि स्थितिमा उनले आफ्नो व्यवहारलाई परीक्षणका लागि खोलेर राखिदिए। मलाई दोष नदियोस्, यदि म सोध्दछु के तपाईंले आदर्शलाई आफ्नो जीवनमा प्रयोग गर्ने कतिसम्म प्रयास गर्नुभयो?

६.२महात्मा जन्मजात बनिया हुन्। उनका पुर्खाहरूले मन्त्री पद पाउन व्यापार गर्न छोडेका थिए जुन चाहिँ ब्राह्मणको पेशा हो। आफ्नो जीवनमा महात्मा बन्नअघि जब पेशा चयन गर्ने अवसर आयो तब उनले तराजुको सट्टा वकालतलाई प्राथमिकता दिए। वकालत परित्याग गरेर उनी आधा सन्त अनि आधा राजनीतिज्ञ बने। उनले व्यापार पेशालाई छोएनन् पनि जुन उनको पैतृक पेशा हो।

६.३उनको सानो छोरो – म केवल त्यो छोराको कुरा गरिरहेको छु जुन आफ्नो बाबुको अनुयायी हुन् – जुन वैश्यको घरमा जन्मे तर उनले एकजना ब्राह्मण केटीसँग विवाह गरे तथा जसले एकजना ठूलो पुँजीपतिको समाचार-पत्रमा नोकरी चयन गरे। यस्तो जानकारी कतै पनि छैन -महात्माले पैतृक पेशा नअपनाउनका लागि कुनै दिन त्यस पेशाको निन्दा गरे। कुनै आदर्शलाई त्यसको सर्वाधिक खराब नमुनाबाट परीक्षण गर्नु गलत हुन्छ अनि यो उदारता हुँदैन।

तर निःसन्देह महात्मासँग यसभन्दा राम्रो नमुना छैन र यदि उनी यस आदर्शलाई अपनाउनमा असफल हुन्छन् भने यो आदर्श एउटा असम्भव आदर्श हो जुन व्यक्तिको व्यावहारिक मूल प्रवृत्तिहरूको नितान्तै विपरीत छ।

६.४कार्लाइलको विद्यार्थी जान्दछन् कुनै विषयमा चिन्तन गर्नअघि उनी त्यसबारे कुरा गर्दथे । के जात-पातको मामिलामा महात्मासँग यस्तो त भएको छैन। अन्यथा जुन प्रश्न मेरो मनमा आउँछ त्यो उनीबाट छुट्टिदैन। कुनै पनि पेशा कहिले पैतृक पेशा बन्न जान्छ जसलाई अपनाउन व्यक्तिका लागि बाध्यकारी बन्दछ? क्षमता अनुकूल र लाभकारी नभए तापनि व्यक्तिले आफ्नो पैतृक पेशा नै अपनाउन पर्दछ?

के व्यक्तिलाई आफ्नो पैतृक पेशा नै अपनाउनु पर्दछ त्यो अनैतिक पेशा नै किन नहोस्? यदि प्रत्येकले आफ्ना पैतृक पेशा नै गर्नुपर्ने हो भने यसको अर्थ हुन्छ कुनै व्यक्तिले दलाल पेशा यसकारण गर्नु पर्दछ किनकि उनको बाजे दलाल थिए अनि कुनै औरतले यसकराण वेश्या पेशा अपनाउनु पर्नेछ किनकि उनकी बोजू एकजना वेश्या थिइन्। के महात्मा आफ्नो सिद्धान्तको यस तार्किक परिणामलाई स्वीकार गर्न तयार छन्? मेरा लागि पैतृक पेशा अपनाउने आदर्श केवल असम्भव मात्र होइन तर अव्यावहारिक आदर्श पनि हो। यसबाहेक नैतिक रूपले पनि यो अनिश्चित आदर्श हो।
                              ७

७.१महात्माले जीवनभरि ब्राह्मण बनिरहनुमा महान उत्कर्ष देख्छन्। यस तथ्यलाई छोडिदियौँ भने पनि यस्ता कैयौँ ब्राह्मण छन् जुन जीवनभरि ब्राह्मण बनिरहन चाहँदैनन्। हामी ती ब्राह्मणहरूबारे भन्नु जुन आफ्नो पुरोहिताई पैतृक पेशा अपनाउँछन्? के उनी पैतृक पेशा अपनाउने सिद्धान्तको कारणले यस्तो गर्छन् वा आर्थिक लाभको उद्देश्यले यसो गर्दछन् ? महात्मा यी प्रश्नहरूसँग चिन्तित प्रतीत हुँदैनन्।

उनी यस कुरासँग सन्तुष्ट छन् कि “साचो ब्राह्मण उनी हुन् जुन सित्थैमा उनलाई दिइएको भिक्षामा जिउँछन् अनि जति पनि उनीसँग आध्यात्मिक खजाना छ त्यसलाई उनी सित्थैमा वितरण गर्छन्। ” पुस्तैनी ब्राह्मण पुजारी महात्मालाई आध्यात्मिक खजाना लिएर हिँड्ने प्रतीत हुँदछ।
७.२तर पुस्तैनी ब्राह्मणको अन्य चित्र पनि कोर्न सकिन्छ । कुनै ब्राह्मण विष्णुको पुजारी हुन सक्छन् जुन प्रेमको देवता हुन्। उनी शङ्करको पुजारी पनि हुन सक्छन् जुन विनाशको देवता हुन्। उनी बुद्धगयामा पनि पुजारी हुन सक्छन् अनि बुद्धको पूजा गर्न सक्छन् जुन मानवताको महानतम् शिक्षक हुन्, जसले सबैभन्दा श्रेष्ठ सिद्धान्त ‘प्रेम’-को पाठ सिकाए।

उनी ‘काली’को पुजारी पनि हुन सक्छन् जुन यस्तो देवी हुन् जसको रगतको तिर्खा मेटाउन प्रत्येक दिन एउटा पशुको बलि दिनु पर्दछ। उनी राम मन्दिरको पुजारी पनि होलान् जुन ‘क्षत्रीय’ भगवान हुन्। उनी परशुराम मन्दिरको पुजारी पनि हुन सक्छन् जुन यस्तो भगवान हुन् जसले क्षत्रीयहरूको नाश गर्नलाई अवतार लिएका थिए। उनी ब्रह्माको पुजारी पनि हुन सक्छन् जसले संसारको रचना गरे। उनी पीरको पुजारी पनि हुन सक्छन् जसको भगवान अल्लाले संसारमाथि ब्रह्माको आध्यात्मिक प्रभुत्वको दाबीलाई सहन गर्दैनन्। कसैले पनि यो भन्न सक्दैनन् कि जीवनको यो चित्र सही होइन ।

७.३यदि यो सही चित्र हो भने कसैले पनि जान्दैनन् ती देवी देवताहरूप्रति भक्तिलाई धारण गर्नेबारे के भन्ने, उनको लक्षण यति धेरै विरोधाभाषी छ- कुनै इमानदार व्यक्ति ती जम्मैको भक्त हुन सक्दैनन्। हिन्दुहरू यस असाधारण तथ्यलाई आफ्नो धर्मको महानतम सदगुण ठान्दछन् – जस्तै यसको उदारता, यसको सहनशीलताको भावना।

यस सहज दृष्टिकोण विपरीत भन्न सकिन्छ कि सहनशीलता अनि उदारता वास्तवमा उदासीन वा शिथिल सिद्धान्त निरपेक्षताबाहेक अधिक प्रशंसानीय छैन। यी दुवै प्रवृत्तिहरूमा सतही रूपमा भेद छुट्याउनु कठिन छ। तर अत्यावश्यक रूपले वास्तविक गुणहरूमा यो यति अधिक भिन्न छ। गम्भीर जाँच गर्नेहरूले एक-अर्कालाई एउटै मान्ने त्रुटि गर्न सक्दैनन्।

७.४एकजना व्यक्ति जुन धेरैवटा देवी-देवताहरूको सम्मान गर्छन्। उनलाई सहनशील भावनाको प्रमाण मान्न सकिन्छ। तर के यो समय अनुकूल चल्ने इच्छाबाट उत्पन्न भएको पाखण्डको प्रमाण होइन र? मेरो धारणामा यो केवल पाखण्ड हो। यदि यो दृष्टिकोण सही आधारमा स्थापित छ भने कसैले पनि सोध्न सक्छन्: त्यो व्यक्तिसँग कुन चाहिँ आध्यात्मिक खजाना छ, जो कुनै पनि देवी-देवताका पूजा-आराधना गर्न तयार छन्? यस्ता व्यक्ति केवल आध्यात्मिक खजानाबाट मात्र भ्रष्ट हुँदैनन् तर पुजारी जस्ता महान पेशालाई कुनै आस्था अनि विश्वासबिना यसकारण अपनाउँछन् किनकि साधारणतः त्यो पैतृक पेशा हो, जुन एउटा मसिनी प्रक्रियाअन्तर्गत पुस्तौँदेखि अपनाउँदै आइरहेको हो। यो सद्गुणहरूको संरक्षण होइन यो वास्तवमा एउटा महान पेशाको दुरुपयोग हो जुन धर्मको सेवाबाहेक अरू केही होइन ।

                          ८
८.१प्रत्येक व्यक्तिले आफ्नो पैतृक पेशा अपनाउनुपर्छ भन्ने सिद्धान्तलाई किन महात्माले आत्मासाथ गरिरहेका छन्। उनले यसको कारण बताएका छैनन्। तर कुनै न कुनै कारण पर्यो। यद्यपि उनलाई सार्वजनिक रूपमा भन्ने चिन्ता छैन। वर्षौंअघि उनले आफ्नो हुनु समाचार पत्र ‘यङ इण्डिया’मा जाति वनाम वर्ग विषयमा लेख्दै भनेका थिए – जाति व्यवस्था, वर्ण व्यवस्था भन्दा राम्रो छ किनकि जातिद्वारा समाजमा स्थिरता ल्याउन सबैभन्दा उत्तम अनि सम्भावित सामञ्जस्य स्थापित गर्न सकिन्छ। यदि यसकारण महात्मा प्रत्येक व्यक्तिलेआफ्नो पैतृक पेशा अपनाउनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्छन् भने तब उनी सामाजिक जीवनको मिथ्या विचारलाई स्वीकृति दिइरहेका छन्।

८.२प्रत्येक व्यक्ति सामाजिक स्थिरता चाहन्छ र व्यक्ति अनि वर्गको सम्बन्धमा केही सामञ्जस्य स्थापित हुनु नै पर्दछ जसले गर्दा समाजमा स्थिरता कायम हुन सक्दछ। मलाई पूर्ण विश्वास छ दुईवटा कुरा कसैले पनि चाहँदैन। प्रथमत, कसैले पनि चाहँदैन त्यो हो निश्चल सम्बन्ध जसलाई परिवर्तन गर्न सकिन्न। जुन सार्वकालिक रूपले स्थिर रहन्छ। स्थायित्व पनि आवश्यक छ तर त्यस परिवर्तनको मूल्यमा हुनु हुँदैन किनकि परिवर्तन अवश्यम्भावी छ। दोस्रो, कसैले पनि चाहँदैन त्यो हो केवल सामञ्जस्य। सामञ्जस्यको पनि आवश्यकता छ। तर त्यो सामाजिक न्यायको बलि चढाएर गरिनु हुन्न।

८.३के यो भन्न सकिन्छ – जातिको आधारमा सामञ्जस्य अर्थात् आफ्नो पैतृक व्यवसायको आधारमा सामञ्जस्य हुँदा यी दुवै नराम्रोपनहरूदेखि बाँच्न सम्भव छ? म ठान्दछु यो असम्भव छ। मलाई कुनै सन्देह छैन कि सर्वाधिक राम्रो सामञ्जस्यको कुरा मात्र होइन यो सबैभन्दा खराब प्रकारको सामञ्जस्य हो किनकि यसले सामाजिक सामञ्जस्यको दुवै सिद्धान्तहरू जस्तै धारा प्रवाहिकता अनि समानताको उल्लङ्घन गर्दछ।

                               ९
९.१केही मानिस ठान्छन् महात्माले निक्कै प्रगति गरे किनकि अहिले उनी केवल वर्णमा विश्वास गर्छन् अनि जातिमा विश्वास गर्दैनन्। यो पनि सत्य हो एउटा समय थियो जब महात्मा पूर्ण रूपले कुलीन सनातनी हिन्दु थिए। उनी वेद, उपनिषद, पुराण अनि जुनै पनि हिन्दु ग्रन्थ छन्, त्यसमा विश्वास गर्थे। यसैले अवतार अनि पुनर्जन्ममा पनि विश्वास गर्दथे। उनी जातिमा विश्वास गर्थे अनि पूर्ण शक्तिको साथ रूढिवादीले झैँ यसको समर्थन गर्थे। महात्माले सहभोज, सहपान अनि अन्तर्जातीय विवाह मागको निन्दा गरे र भनेका थिए – सहभोजको विरोध गर्नु पर्दछ किनकि यसले धेरै सीमासम्म “इच्छा शक्ति उत्पन्न गर्ने अनि सामाजिक शुद्धता कायम राख्नमा सहयोग प्राप्त हुँदछ।

९.२यो राम्रो कुरा हो उनले पाखण्डपूर्ण मुर्खता परित्याग गरे र स्वीकार गरे “जात-पात आध्यात्मिक अनि राष्ट्रिय विकास, दुवैका लागि हानिकारक छ” अनि हुन सक्छ उनको छोराको गैर-जातीय विवाह हुनु तिनै विचारहरूको परिवर्तनको देन हो। तर के साँच्चै महात्माले प्रगति गरे त? वर्णको प्रकृति के हो जसलाई महात्मा आत्मासाथ गर्छन्? के यो त्यही वेदहरूको धारणा हो जसलाई दयानन्द सरस्वती अनि उनका अनुयायीहरू आर्यसमाजीहरूले प्रतिपादन गरेका थिए? वेदमा वर्णको धारणाको सारांश यो हो – व्यक्तिले त्यो पेशा अपनाऊन् जुन उसको स्वाभाविक योग्यताका लागि उपयुक्त हुँदछ। महात्माको वर्णको धारणाको सार यो छ- व्यक्तिले पैतृक पेशा नै अपनाउनु पर्दछ चाहे उनी त्यसको स्वाभाविक योग्यता अनुरूप होस् वा नहोस्।

९.३जाति र वर्णको अन्तर छ महात्माले बुझेका छैनन्। म त यी दुवैमा कुनै अन्तर पाउदिनँ। जुन परिभाषा महात्माले दिएका छन् त्यसमा म कुनै अन्तर पाउदिनँ। जुन परिभाषा महात्माले दिएका छन् त्यसअनुसार त वर्ण नै जातिको अर्को नाम हो। यसको सोझै कारण हो दुवैको सार एउटै अर्थात पैतृक पेशा अनपाउनु हो। प्रगति गर्नु त टाढाको कुरा महात्माले अवनति नै गरे। वर्णको वैदिक धारणाको व्याख्या गरेर उनले जुन उत्कृष्ट काम गरेका थिए त्यसलाई पनि वास्तवमा हास्यास्पद बनाइदिए। यद्यपि म वैदिक वर्ण व्यवस्थालाई अस्वीकार गर्दछु जसको कारणहरू मैले आफ्नो भाषणमा बताइसकेको छु।

तर म यो स्वीकार गर्दछु कि स्वामी दयानन्द वा अन्य केही मानिसहरूले वर्णको वैदिक सिद्धान्तको जुन व्याख्या गरेका छन् त्यो बुद्धिमत्तापूर्ण छ र घृणास्पद छैन। कुनै पनि व्यक्तिलाई समाजमा स्थान निश्चित गर्ने निर्धारक तत्त्व नै ‘जन्म’ हो भन्ने व्याख्या म स्वीकार गर्दिनँ। त्यसले केवल योग्यतालाई मान्यता दिएको छ ।

९.४वर्णबारे महात्माको विचारले केवल वैदिक वर्णलाई मुर्खतापूर्ण बनाउँदैन तर घृणास्पद बनाउँदछ। वर्ण अनि जाति, दुवै अलग-अलग धारणाहरू हुन्। वर्ण यस सिद्धान्तमा टिकेको छ – प्रत्येकलाई उनको योग्यताअनुसार, जबकि जातिको सिद्धान्त छ – प्रत्येकलाई उनको जन्मअनुसार। दुवैमा यति नै अन्तर छ जतिको अमृत अनि विषमा। वास्तवमा दुवै विपरीत छन्। यदि महात्माले विश्वास गर्दछन्, जुन उनले अवश्य गर्छन् नै, प्रत्येकले आफ्नो पैतृक पेशा अपनाउनु पर्दछ तब निश्चित रूपले उनी जात-पातको वकालत गर्दैछन् तथा यसलाई वर्ण व्यवस्था भन्दै केवल पारिभाषित झुटो मात्र बोलेनन् तर नितान्तै नराम्रो अनि हैरान बनाउने थरीको भ्रम फैलाइरहेका छन् ।

९.५मेरो विचारमा जम्मै भ्रमहरू यसले गर्दा भयो किनभने महात्माको धारणा निश्चित अनि स्पष्ट छैन। वर्ण के हो अनि जाति के हो तथा हिन्दुवादको संरक्षणका लागि यीमध्ये कुन आवश्यक छ? त्यसबारे महात्मा स्पष्ट छैनन्। उनले भनेका छन् र आशा पनि गर्छन् कि जाति हिन्दु धर्मको सार होइन। आफ्नो विचार परिवर्तन गर्नलाई उनी कुनै रहस्यवादी कारण खोज्ने छैनन्। के उनी वर्णलाई हिन्दु धर्मको सार मान्दछन्? अहिले पनि कुनै सुनिश्चित उत्तर दिन सक्दैनन्।

९.६उनको लेख डा. आम्बेडकरको अभ्यारोपण’ पढ्नेहरूले पनि भन्नेछन् ‘होइन’। आफ्नो लेखमा उनी यो बताउँदैनन् कि वर्णको धर्म सिद्धान्त हिन्दुवादी पन्थको एउटा आवश्यक हिस्सा हो । वर्णलाई हिन्दु धर्मको सार भन्नुको सट्टा उनी भन्छन् “हिन्दु धर्मको सार यस कथनमा निहित छ कि एक मात्र केवल एक सत्य नै ईश्वर हो अनि अहिंसा मानव परिवारको एउटा कानुन, यसको सुस्पष्ट स्वीकृति हो। “
९.७तर श्री सन्त रामको पत्रको उत्तरमा लेखिएको लेख पढ्नेहरूले भन्नेछ ‘सही हो’।

त्यस लेखमा उनले भनेका छन् एकजना मुसलमान कसरी मुसलमान रहन सक्छन् यदि उनी कुरानलाई अस्वीकार गर्दछ भने वा एकजना इसाई कसरी इसाई रहन सक्छन् यदि उनी बाइबललाई अस्वीकार गर्छन् भने? यदि जाति र वर्ण विनिमय शब्द हो अनि यदि वर्ण शास्त्रको अङ्गभूत भाग हो जसले हिन्दु धर्मलाई परिभाषित गर्दछ तब म बुझ्दिनँ जाति अर्थात् वर्णलाई अस्वीकार गर्नेहरू स्वयंलाई हिन्दु कसरी भन्न सक्छन्?” त्यसो भए यो छलकपट किन? महात्मा किन आनाकानी गरिरहेका छन्? उनी कसलाई खुशी पार्न चाहनुहुन्छ? के सन्त सत्यको अर्थ बुझ्नमा असफल छन्? वा के राजनीतिज्ञ सन्तको बाटोमा ढुङ्गा बनिरहेको छ?

९.८महात्माको भ्रमको वास्तविक कारण के यी दुवै साधनहरूबाट थाहा लगाउन सकिन्छ। प्रथम, महात्माको स्वभाव। उनी प्रत्येक कुरामा नानी जस्तै सरलता अनि नानी जस्तै स्वयंलाई धोका दिने स्वभावका छन्। नानी झैँ उनी कुनै पनि कुरामा, जुन उनी चाहन्छन्, विश्वास गर्न थाल्छन्। यसैले हामीले प्रतीक्षा गर्नु पर्दछ कि उनले जुन प्रकारले जातिमा विश्वास गर्न छोडे त्यसरी नै उनी वर्णमा विश्वास गर्न छोड्ने छन्।

९.९दोस्रो, साधन उनको महात्मा अनि राजनीतिज्ञको दोहोरो भूमिका हो। महात्माको रूपमा सम्भवतः उनी राजनीतिलाई आध्यात्मिकीकरण गर्ने प्रयास गरिरहेका छन्। यसमा उनी सफल भएको होस् वा नभएको होस्, राजनीतिले उनको व्यापारीकरण गरिदिएको छ। राजनीतिज्ञले यो बुझ्नु आवश्यक छ -समाजले पूर्ण सत्यलाई सहन गर्न सक्दैन अनि समाजलाई पूर्ण सत्य भन्नु हुँदैन।

यदि उनी पूर्ण सत्य भनिरहेका छन् भने तब यो उनको राजनीतिका लागि नराम्रो हुनेछ । महात्मा सधैँ किन जाति अनि वर्णको समर्थन गर्दछन् किनकि उनलाई डर छ यदि उनले त्यसको विरोध गरे तब उनले राजनीतिमा आफ्नो स्थान हराउनेछन्। उनको भ्रान्तिको कुनै पनि कारण होस्, महात्माले यो भन्नुपर्ने हो कि उनी आफैले आफैलाई धोका दिइरहेका छन् तथा वर्णको नाममा जातिको उपदेश दिएर मानिसलाई धोका दिइरहेका छन्।
                                  १०
१०.१महात्मा भन्छन् हिन्दु अनि हिन्दु धर्मको जाँच गर्नलाई जुन मानक मैले अपनाएको छु त्यस मानकको आधारमा प्रत्येक वर्तमान धर्म असफल हुनेछ। यो गुनासो हुनै सक्छ – मेरो मानक स्तरीय छ अनि यो सत्य हुन सक्छ। तर प्रश्न यो हो कि मानक स्तरीय छ वा छैन? प्रश्न हो मानक लागू गर्नेलाई उचित छ वा छैन? कुनै अन्य मानकको केही अर्थ छैन यदि त्यसले भन्दछ कि धर्म आवश्यक रूपमा मानिसको कल्याणका लागि हो।

१०.२अब म भन्नेछु – हिन्दु तथा हिन्दु धर्मलाई जाँच्न जुन मानक मैले लागू गरे त्यो सबैभन्दा अधिक उपयुक्त छ अनि यसभन्दा राम्रो मानक म जान्दिनँ। यो निष्कर्ष सत्य हुन सक्दछ यदि मेरो मानक लागू गरिए तब प्रत्येक वर्तमान धर्म असफल हुनेछ। तर यो तथ्य हिन्दु अनि हिन्दु धर्मको हिमायती महात्मालाई प्रोत्साहन वा अधिक आधार दिँदैन। एकजना पागल मानिस भएमा अर्का पागल मानिसलाई प्रोत्साहन होस् वा एकजना अपराधी हुनाले अर्को अपराधीलाई प्रोत्साहन होस् ।

१०.३म महात्मालाई आश्वासन दिन चाहन्छु कि यो केवल हिन्दु अनि हिन्दु धर्मको असफलता होइन जसले मेरो मनमा घृणा र अवमाननाको भावना भरिदियो, जुन कुराको मलाई आरोप लगाइएकोछ। म मान्दछु यो विश्व एउटा अपूर्ण विश्व हो अनि जुन कोही यहाँ जिउन चाहन्छन्, उनले अपूर्णतालाई सहन गर्नु पर्दछ।

१०.४तर जब म समाजको अपूर्णता तथा कमी-कमजोरीहरूमा जिउन तयार छु, जहाँ कठिनाइपूर्ण अघि बढ्नु मेरो नियति हो तब म अनुभव गर्दछु त्यस समाजमा जिउनका निम्ति म सहमत हुदिनँ जसले गलत आदर्शहरूलाई सञ्चित गरेर राखेको छ वा एउटा यस्तो समाज जसको आदर्श सही छ तर उसले आफ्नो सामाजिक जीवनलाई ती आदर्शहरू अनुरूप ढाल्न चहाँदैन। यदि मभित्र हिन्दु अनि हिन्दु धर्मदेखि घृणा उत्पन्न हुँदछ भने त्यो यसकारण हो किनकि मलाई विश्वास छ त्यसले गलत सिद्धान्तहरू अनि गलत सामाजिक जीवनलाई पोषण गर्दछ। हिन्दु अनि हिन्दु धर्मसँग मेरो झगडा उसको सामाजिक आचरणको अपूर्णतासँग होइन । यो धेरै मौलिक छ। यो झगडा उसको सिद्धान्तहरूसित हो ।

                                 ११

११.१मलाई प्रतीत हुँदछ हिन्दु समाजलाई नैतिक पुनरुद्धारको आवश्यकता छ। यसलाई ढिलो गर्न जोखिमपूर्ण हुनेछ। प्रश्न यो छ यस नैतिक पुनरुद्धारलाई कसले निर्धारित अनि नियन्त्रित गर्न सक्छ? स्पष्ट रूपले ती मानिसहरू जसले आफ्नो बौद्धिक पुनरुद्धार गरिसकेका छन् र ती जुन यति इमान्दार छन् कि बौद्धिक उद्धारबाट उत्पन्न भएको दृढ विश्वासलाई देखाउने आँट गर्छन्।

यस मानकबाट जाँच्दा थाहा पाइन्छ सम्मानित हिन्दु नेता, मेरो विचारमा यस कार्यका लागि नितान्तै अयोग्य छन्। यो भन्नु असम्भव छ -उनले प्रारम्भिक रूपले पनि बौद्धिक पुनरुद्धार गरिसकेका छन्। यदि उनले आफ्नो बौद्धिक पुनरुद्धार गरेका छन् भने पनि उनी न त अशिक्षित बहुसङ्ख्या झैँ स्वयंलाई धोका दिन सक्छन् र न नै उनी आदिम अज्ञानको लाभ उठाउन सक्छ, जस्तो कि आज-भोलि देखिरहेका छौँ।

११.२छिन्नभिन्न भइरहेको हिन्दु समाज देख्दादेख्दै पनि यी नेतागण लज्जास्पद रूपमा पुरानो सिद्धान्तहरूको गुणगान गर्छन् जसको हरेक अवस्थामा वर्तमानसँग सम्बन्ध समाप्त भइसकेको छ। जुन आरम्भका दिनहरूमा जति उपयुक्त थियो। उनीहरू हालमा मार्गदर्शकको सट्टा एउटा चेताउनी बनिसकेको छ। उनीहरू प्रारम्भिक सिद्धान्तहरूप्रति अहिले पनि रहस्यपूर्ण सम्मान राख्दछन् जसले उनलाई केवल अनिच्छुक मात्र होइन तर समाजको आधार जाँच्नमा विरोधी बनाउँछ।

हिन्दुहरू वास्तवमा आफ्नो मान्यता निर्माणमा अविश्वासनीय रूपले ध्यान दिँदैनन्। यस्तै अवस्था हिन्दु नेताहरूको छ। खराब कुरा त यो हो कसैले उनको सङ्गति छोड्ने प्रस्ताव गर्दछन् भने उनी आफ्नो मान्यताहरूका लागि अवैध भावावेषले उग्र हुँदछन्।

११.३महात्मा कुनै अपवाद होइनन्। यस्तो लाग्दछ महात्मा चिन्तनमा विश्वास गर्दैनन्। उनी सन्तहरूको अनुसरण गर्नुमा प्राथमिकता दिन्छन्। एकजना रूढिवादी झैँ उनी पवित्र धारणामा श्रद्धा राख्दछन्। उनलाई डर छ- यदि एकचोटि उनीहरूले चिन्तन गर्न थाले कैयौँ आदर्श अनि मान्यताहरू (जसलाई महात्माले आत्मासाथ गरेका छन्) त्यो सत्यानाश हुनेछ। प्रत्येकलाई उनीमाथि सहानुभूति हुनु पर्दछ। स्वतन्त्र सोचको प्रत्येक कार्यले स्पष्ट रूपमा विश्वको केही भागलाई सङ्कटमा हालिदिएको छ।

११.४तर यो पनि त्यति नै सत्य छ, कारण सन्तहरूमा निर्भर रहेर मात्र हामीले सत्यलाई बुझ्न सक्दैनौँ। अन्तत, सन्त पनि मनुष्य हुन्। जस्तो कि, लार्ड बेलफोरले भनेका थिए, “सुङ्गुरको थुतुनो भन्दा अधिक मनुष्यको दिमाग सत्यको पता लगाउने उपकरण होइन। ” जहाँसम्म उनी सोच्दछन्, मलाई लाग्छ हिन्दुहरूको पुरातन ढाँचाका लागि समर्थन बटुल्न हेतु नै उनले बुद्धिको दुरुपयोग गरिरहेको प्रतीत हुँदछ। उनी त्यसैले सबैभन्दा प्रभावशाली समर्थक बने र हिन्दुहरूको सबैभन्दा ठूलो शत्रु बने।

११.५महात्मा भन्दा छुट्टै यस्ता हिन्दु नेताहरू पनि छन्। जो केवल विश्वास अनि अनुसरण गर्नमा मात्र सन्तुष्ट छैनन्। उनीहरू चिन्तन गर्ने हिम्मत गर्छन् र आफ्नो चिन्तनको परिणामअनुसार कार्य गर्दछन्। तर दुर्भाग्यवश उनीहरू बेइमान मानिस हुन् वा जब मानिसलाई सही मार्गदर्शन दिनुपर्ने प्रश्न उठ्दछ, तब उनीहरू उदासीन बन्न जान्छन्। लगभग सबै ब्राह्मणहरूले जातिको नियम उल्लङ्घन गरेका छन्।

जुत्ता बेच्ने ब्राह्मणहरूको सङ्ख्या उनीहरूभन्दा अधिक छन् जसले पुरोहिताई छोडे। उनीहरूले केवल यस्ता व्यवसाय मात्र अपनाएनन्, जुन उनीहरूका निम्ति शास्त्रद्वारा वर्जित छ। तर यस्ता कति ब्राह्मण छन्। जो दैनिक जातिको नियम तोड्छन्। जसले जाति अनि शास्त्र विरुद्ध उपदेश दिन्छन्?

११.६उनको मूल प्रवृत्ति, नैतिक विवेक र उनको दृढ धारणाको समर्थन गर्न सक्दैन। तर यस्ता सयौँ छन्। जसले दैनिक जातिलाई तोड्छन् तथा शास्त्रलाई खुट्टाले कुल्चन्छन्। तर उनीहरू जातिको सिद्धान्त अनि शास्त्रको पवित्रताको कट्टर समर्थक हुन्। त्यसो भए ! यो दोगलापन किन? किनकि उनीहरू अनुभव गर्छन् -यदि जातको जुवा मानिसले निकालेर फ्याँके ब्राह्मण वर्णको सत्ता अनि सम्मानका लागि सङ्कट उत्पन्न हुनेछ। बुद्धिजीवी वर्गको यस बेइमानीले आम जनता, उनीहरूकै वैचारिक फलदेखि वञ्चित हुँदछन्। यो एउटा लज्जाजनक तथ्य हो।

११.७मैथ्यु आर्नोल्डको भनाइ छ “हिन्दुले दुईवटा जगतमा विचार गरिरहेको छ- “एउटा हो मृत जगत र अर्को शक्ति रहित जन्मिने जगत। ” उनीहरूले के गर्नुपर्ने हो? महात्माले जसलाई मार्गदर्शनको अपील गर्छन् उनीहरू चिन्तनमा विश्वास गर्दैनन्, जो अनुभवको परीक्षणमा असफल रहन्छन्। उनीहरूले मार्गदर्शन गर्न सक्दैनन्।

जुन बुद्धिजीवी वर्गप्रति मानिसहरू मार्गदर्शनको अपेक्षा गरिरहेका छन्, उनीहरू अधिक बेइमान छन् वा उदासीन छन्। यसैले सही दिशातर्फ जाने शिक्षा उनीहरूले प्राप्त गर्न सकेका छैनन्। यस त्रासदीपूर्ण स्थितिमा हामी विलापपूर्ण भावमा भन्न चाहन्छौँ – ऐ हिन्दुहरू, तिमीहरूका नेतागण यस्ता छन्।

(जात उन्मुलन बी आर अम्बेडकर पृ२३४-२५६, लालिगुरास प्रकाशन दार्जीलिङ , अनु: छेवाङ योञ्जन)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।