पूँजीवादी बजारमा उत्पादन गरिएको माल कट्ने कुरामा समयसमयमा बाधाअवरोध उत्पन्न हुन्छ । कहिलेकाहीँ उपभोक्ताको मागभन्दा मालको उत्पादन बढी हुन जान्छ र यस असन्तुलनले मालको मूल्यमा गिरावट आउँछ । माल नबिकेर गोदाममा खात लाग्छ र समाधानका लागि पूँजीपतिले उत्पादनको जुन शाखामा समस्या आएको हो, त्यहाँको उत्पादनमा कटौती गर्छ, मजदूरलाई कामबाट हटाउँछ र त्यतिले नपुगे कारखानासमेत बन्द गर्छ ।
यस्तो अवस्थालाई आर्थिक सङ्कट (Economic Crisis) भनिन्छ । मार्क्सले बेलायतमा उत्पन्न भएका पटकपटकका आर्थिक सङ्कटहरूको अध्ययन गरी त्यससम्बन्धी व्याख्या प्रस्तुत गरेका छन, जसलाई ‘व्यापार चक्रको सिद्धान्त (Theory of Trade Cycle) भनिन्छ । यसमा उनले आर्थिक सङ्कट पूँजीवादी व्यवस्थाको अपरिहार्य चरित्र हो र यो ग्रहको परिक्रमा जस्तै निरन्तर दोहोरिइरहन्छ भन्ने विचार व्यक्त गरेका छन् ।
मार्क्सको विश्लेषणअनुसार आर्थिक सङ्कट चार चरण भएर अगाडि बढ्छ- सङ्कट, मन्दी, सुधार र उभार । पहिलो चरणमा सङ्कट उत्पन्न हुँदा त्यसबारे कुनै पूर्वजानकारी हुँदैन । समाजमा आर्थिक कारोबारहरू सन्तोषजनक ढङ्गबाट चलिरहेकै देखिन्छन्, औद्योगिक उत्पादनमा निकै राम्रो वृद्धि भएको हुन्छ, व्यापारमा फाइदा देखिन्छ र शेयर बजार उकालो लागेको अवस्था हुन्छ ।
शान्त समुद्रमा निस्कने आँधीझैँ बजारमा एकाएक सङ्कट देखा पर्दछ । सबैभन्दा पहिले देखिने सङ्कटको लक्षण विक्रीमा आउने कमी हो । बजारमा मालसामानको अभाव हुँदैन, तर विक्री एकाएक घट्न जान्छ । विक्री कम भएपछि बजारमा मुद्राकोअभाव देखिन्छ । कतिपयले यसलाई मुद्रा सङ्कट ठान्दछन् र मुद्रा कारोबारमा के गडबडी भयो भनेर त्यतातिर ध्यान दिन्छन् ।
तर जड कारण मुद्राको गडबडी होइन, समाजमा मालसामानको उपभोगलाई उत्पादनले उछिन्ने समस्या हो । सङ्कटले त्यस क्षेत्रमा हमला गर्दछ. जहाँ बढी उत्पादन भएको हुन्छ । त्यहाँ समस्या उत्पन्न भएपछि सरुवा रोगले झैँ त्यसले अर्को क्षेत्रलाई असर पार्दछ ।
आर्थिक सङ्कटको दोस्रो चरण मन्दी (Depression) हो । यो भनेको माल नबिकेर गोदाममा थुप्रिने अवस्था हो । मालसामान नबिक्दा मूल्य घटाइन्छ । तर मूल्य घटाइए पनि माल बिक्ने कुरा हुँदैन । बजारहरू सुनसान हुन्छन्, व्यापार ठप्प हुन्छ, कारखानाहरू बन्द हुन्छन्, उद्योगहरू डुब्न थाल्छन् र बजारमा उधारो नपत्याउने अवस्था उत्पन्न हुन्छ । पूँजीपतिहरू समस्याबाट छुटकारा पाउने उपायको खोजीमा लाग्छन् । तिनीहरू त्यतिखेर उत्पादन घटाउन र मजदूर हरूको सङ्ख्यामा कटौती गर्न पुग्छन् ।
उत्पादन घटाउने मात्र होइन, नबिकेका माल जमीनमा गाड्न र समुद्रमा फ्याँक्न पुग्छन् । फ्याँकिने मालसामानहरू अभावग्रस्त जनतामा वितरण गरिँदैन, किनकि त्यसो गर्दा बजारमा सामान किन्नेको कमी हुन्छ । लगानी घटाउने, माल नष्ट गर्ने र मूल्य घटाउने जस्ता सुधारहरू गर्दा पनि केही नलागेपछि कमजोर हालतका पूँजीपतिहरू कारखाना बन्द गर्न बाध्य हुन्छन् । मजदूरको काम खोसिन्छ र उनीहरू बेरोजगारमाथि झन् बढी बेरोजगार बन्न पुग्छन् ।
बेरोजगारीको वृद्धि भनेको दरिद्रता र गरीबीको वृद्धि हो । भण्डारमा भएको माल घटाएपछि र बजारमा प्रतिस्पर्धीको सङ्ख्यामा कमी आएपछि बजारमा अलिअलि सुधार हुन थाल्छ र आर्थिक सङ्कट सुधार (Recovery) को तेस्रो चरणमा प्रवेश गर्दछ । रोगबाट थला परेर ओछ्यान परेको बिरामी तङ्ग्रिएपछि धङ्घङाउँदै हिँडे उद्योगहरू मन्द गतिमा चल्न थाल्छन् । नयाँ प्रविधि प्रयोग गरेर तिनले उत्पादन बढाउँदै जान्छन् र मजदुरको सङख्या फेरि थप्दै रोजगारीमा वृद्धि गर्दछन् । केही समयपछि बजारमा मालको मूल्य बिस्तारै बढ्छ ।
त्यसपछि फेरि ११४ नाफामा क्रमशः वृद्धिहुदै जान्छ । पूँजीपतिमा बिस्तारै आशा पलाउन थाल्छ र तिनले पुनः प्रविधिमा सुधार गद, मजदूर भर्ती गर्दै उत्पादन बढाउन थाल्छन् । यसरी पूर्ण समृद्धि (Boom) को चौथो चरण हासिलहुन्छ ।
तर विकासको एउटा अवस्थामा पुगेपछि दोस्रो आर्थिक सङकटले फेरि आक्रमण गर्दछ । आर्थिक सङ्कट पूँजीवादको जन्मजात चरित्र भएकाले पुरानाको अन्त्यसँगै नयाँले जन्म लिइरहन्छ । जति पूँजीवादको क्षेत्र विस्तारित हुँदै जान्छ आर्थिक सङ्कटको प्रभाव उत्ति नै विस्तृत हुँदै जान्छ । आर्थिक सङ्कट एक प्रकारको भुइँचालो हो । यो उत्पन्न हुँदा समाजमा चारैतिर खैलाबैला मच्चिन्छ, सम्पूर्ण पूँजीवादी व्यवस्था डगमगाउन थाल्दछ र पूँजीपतिहरूबीच डरलाग्दो खिचातानी शुरू हुन्छ ।
फलानो उद्योग डुब्दै छ भन्ने हल्ला चारैतिर फैलिन्छ । पूँजी डुब्ने डरले सबैले आ-आफ्ना लगानी भिक्न खोज्दछन् । बैङ्कले आफ्नो ऋण फिर्ता गर्न खोज्दछ भने बचतकर्ताले बचत झिक्न खोज्दछ । यस्तो अवस्थामा कमजोर उत्पादकले चल्ती पूँजी गुमाउँछ र टाट पल्टिन्छ । एउटा उद्योगको अथवा आर्थिक व्यवसायको अर्कोसँग सम्बन्ध जोडिएको हुन्छ । एउटा ढलेपछि त्यसले अर्कालाई पनि ढलाउँछ । उदाहरणका लागि कपडा उद्योगको यसलाई कच्चा पदार्थ आपूर्ति गर्ने कपास उद्योगसँग सम्बन्ध हुन्छ ।
कपडा उद्योगले सञ्चालनका लागि बैङ्कबाट ऋण लिएको छ भने त्योसँग पनि सम्बन्ध जोडिएको हुन्छ । यदि कपडा उद्योग सङ्कटमा फस्यो भने त्यसले कपास उद्योग र बैङ्क दुवैलाई असर पार्दछ । अर्कोतिर यही मौकाको फाइदा उठाउँदै केही ठूला उद्योगले सानालाई सस्तोमा आफ्नो स्वामित्वमा लिन्छन् । पूँजीवादी समाजमा प्रत्येक सङ्कटपछि बलवान् पूँजीपतिको हातमा पूँजीको एकत्रीकरण हुन्छ ।
आर्थिक सङ्कटले पूँजीवादी व्यवस्थालाई खलबल्याएका कारण समाजमा वर्गीय अन्तर्विरोध चर्कन थाल्छ । सङ्कटले सृजना गरेको बेरोजगारी, अस्थिरता आदि विषयलाई लिएर मजदूरहरू सङ्घर्षमा उत्रिन्छन् ।
बेलायतमा सबैभन्दा पहिले आर्थिक सङ्कट सन् १७८८ मा कपडा उद्योगमा देखा पर्यो । त्यसपछि सन् १७०० को आखिरी दशक र सन् १८०० को शुरूवाततिर समयसमयमा सङ्कटहरू देखा पर्दै गरे । प्रारम्भमा सङ्कटको प्रभावकारिता सीमित भए पनि पूँजीवादको विस्तारसँगै त्यसको तीव्रता बढ्दै गयो । परिणामस्वरूप सन् १८२५ को सङ्कट विगतका सङ्कटहरूभन्दा बढी भीषण हुन गयो ।
पूँजीवादी अर्थशास्त्रीहरूको सहयोगमा सरकारले त्यसपछि आर्थिक व्यवस्थापनमा सुधार गरेकाले सन् १८२६ देखि सन् १९४७ सम्मका सङ्कटहरू सामान्य चरित्रका हुन गए । पछि बेलायत र पश्चिमी मुलुकहरूबीचको आर्थिक सम्बन्धको विस्तार र रेलवे मार्गको थालनीका कारण पूँजीवादी उत्पादन पद्धतिको क्षेत्र व्यापक हुँदै गयो र आर्थिक सङ्कटको तीव्रतामा पनि वृद्धि हुँदै गयो (Leming, 2016 : 181) ।
विगतमा शास्त्रीय अर्थशास्त्रीहरूले सङ्कटलाई हल्काफुल्का ढङ्गमा लिए ।
पूँजीवाद व्यवस्थित रूपमा अघि बढ्ने व्यवस्था हो भन्ने एडम स्मिथको विचारलाई तिनले ग्रहण गरिरहे । रिकार्डोले ‘सीमान्त उत्पादकत्वको ह्रास नियम’ (The Law of Diminishing Mariginal Productivity) अनुसार नाफाको दर घट्दै जाने भएकाले पूँजीपतिहरूले नै स्वतः उत्पादन घटाउँछन् र सङ्कट खासै चिन्ताको विषय हुँदैन भन्ने विचार अघि सारे । माल्थसले कम आमदानी हुने मजदूरहरूले भन्दा उत्पादक वर्गले खर्च गर्नमा कन्जुस्याइँ गरेकाले सङ्कट उत्पन्न भएको हो र यस कुरामा सुधार गरे सङ्कटले खासै प्रभाव पार्दैन भन्ने हल्काफुल्का कुरा गरे ।
से नामका अर्थशास्त्रीले ‘जुन व्यक्तिले उत्पादन गरी बजारमा बेच्दछन्, तिनले खरिद पनि गर्ने हुनाले बजारमा मालसामानको मागमा कमी आउँदैन’ भन्ने तर्क अघि सारे । ‘सेको नियम’ (Say’s Law) का आडमा शास्त्रीय अर्थशास्त्रीहरूले यदि पूँजीपतिले माल बेच्दछन् र श्रमिकले श्रमशक्ति बेच्दछन् भने तिनले बेचेको मालबाट आफ्नो आवश्यकताका लागि माल किन्दछन् र समाजमा कुनै प्रकारको आर्थिक अवरोध आउँदैन भन्ने विचार अघि सारिरहे(Easterling, 2003 : 8 ) ।
आर्थिक सङ्कटबारे शास्त्रीय अर्थशास्त्रीका सम्पूर्ण भनाइहरूको खण्डन गर्दै मार्क्सले के कुरा अघि सारेका छन् भने पूँजीपतिहरूले कमाएको नाफालाई खर्च गर्नभन्दा लगानी गर्नपट्टि नै बढी ध्यान दिन्छन् । अत्यधिक नाफाको लोभले पुनरुत्पादनमा लाग्ने क्रममा तिनले कारखानाको आकार बढाउँदै जान्छन्, उन्नत प्रविधियुक्त मेसिन थप्दै जान्छन्, थप मजदूर भर्ती गर्दै जान्छन्, भरमार विज्ञापन गर्दै जान्छन् र अझ बढी अतिरिक्त मूल्य हडप्ने प्रयास गर्दछन् ।
कतिपय पूँजीपतिले ऋण लिएर उद्योग सञ्चालन गर्ने हुनाले उनीहरूले कमाएको केही प्रतिशत रकम त बैङ्क र साहूलाई तिर्नमा खर्च हुन्छ । जहाँसम्म मध्यम वर्ग, साना उत्पादक, किसान आदिको सवाल हो, तिनमा पनि बचतको अभिलाषा प्रबल हुन्छ र मालसामान खपत गर्ने कुरामा तिनले कन्जुस्याइँ गर्छन् । तिनले आफ्ना र परिवारका न्यूनतम आवश्यकतालाई समेत कटौती गर्छन् ।
तिनमा बचतको भोक यति चर्को हुन्छ कि खाने र लाउने कुरामा मात्र होइन बिरामी पर्दासमेत उपचार गर्न पनि हेलचेक्य्राइँ गर्दछन् (कुमार, २०१५ : ९६) ।
आर्थिक सङ्कट उत्पन्न हुनुमा विभिन्न कारणले भूमिका खेल्छन् भन्ने कुराको व्याख्या मार्क्सले गरेका छन् । उनको भनाइअनुसार एउटा प्रमुख कारण पूँजीवादी उत्पादन पद्धतिको योजनाविहीन आर्थिक क्रियाकलाप हो ।
पूँजीवादी अर्थतन्त्र बजार संयन्त्रबाट चल्ने भएकाले उत्पादकहरू अज्ञात बजारमा हाम फाल्छन् । उनीहरू व्यक्तिगतढङ्गबाट आ-आफ्नो सुरमा चल्दछन् र कसले के कति माल उत्पादन गरेको छ भन्नेबारे मेसो पाउँदैनन् । उनीहरू आफ्नो कारखानाको योजना बनाउन त सक्छन्, तर सामाजिक मागको ख्याल राख्न सक्दैनन् । नाफा र स्वार्थका कारण अर्थ व्यवस्थापनका विभिन्न क्षेत्रबीच तालमेल र सन्तुलन कायम हुँदैन । प्रायजसो अवस्थामा धेरै पूँजीपतिहरू एउटै माल उत्पादन गर्न पुग्छन् ।
मार्क्स भन्दछन्, “पूँजीपतिको उद्देश्य मानिसको आवश्यकता पूर्ति गर्ने नभएर नाफा आर्जन गर्ने भएकाले मानिसका सीमित आवश्यकता र पूँजीपतिको असीमित नाफा यी दुईविपरीत तत्त्वबीच गहिरो धाँजा (Rift) उत्पन्न हुन जान्छ (Easterling, 2003: 7)। परिणामस्वरूप बजारमा मानिसलाई आवश्यक नपरेका माल सामानको ओइरो लाग्छ र उत्पादनले बजार पाउँदैन । अर्कोतिर उपभोक्ताले आवश्यकताका वस्तु पाएका हुँदैनन् । यसकारण बढी उत्पादनलाई आवश्यकताभन्दा बढीको उत्पादन नठानी अनावश्यक वस्तुको बढी उत्पादनका अर्थमा बुझ्नुपर्दछ ।
जनतालाई मालसामानको आवश्यकता नहुने होइन, उनीहरू अभावमा नै बाँचिरहेका हुन्छन् । तर निचोरिएर तिनले क्रयशक्ति गुमाएका हुनाले माल सस्तो भएको अवस्थामा पनि खरिद गर्ने क्षमता राख्दैनन् । यस कुरालाई ढाकछोप गर्न पूँजीपतिहरू सङ्कट उत्पन्न हुनाको कारण आवश्यकताभन्दा ‘बढी उत्पादन’ (Over Production) हो भन्दछन् जुन झूटो हो । अभावमा बाँचिरहेका जनतालाई मालसामान आवश्यक नहुने कुरा हुँदैन । उत्पादनको वृद्धिसँगसँगै उपभोक्ताको आर्थिकस्तर बढ्यो भने उनीहरूले मालसामान खपत नगर्ने कुरा आउँदैन ।
तर अत्यधिक मेसिनको प्रयोग गरी मजदूरको सङ्ख्या घटाउने र ज्यालामा कटौती गर्ने कुराले समाजमा बेरोजगरी उत्पन्न हुन्छ र तल्लो तहको जनसमुदायले क्रयशक्ति गुमाउँछ । बजारमा माल नबिक्नुको अर्थ जनतालाई मालसामान आवश्यक नभएर होइन, खरिद गर्न नसकेर हो । पूँजीपतिका निम्ति अधिक उत्पादन भई अन्न बिकेको अवस्थामा गरीबले आधा पेट खाएर जीवन गुजार्नुपरेको हुन्छ ।
पूँजीपतिका निम्तिअधिक उत्पादन भई कोइला गोदाममा थुप्रिएको अवस्थामा कोइला उत्पादन गर्ने मजदूरले कोठा तताउन कोइला नपाई ठण्डीका रात कठ्याङ्ग्रिएर काटेका हुन्छन् । त्यसैले सङ्कटको अवस्थामा देखिने अधिक उत्पादनलाई उपभोक्ताको क्रयशक्ति नभएका कारण उत्पन्न समस्याको अर्थमा बुझ्नुपर्दछ ।
मार्क्सको समयमा पूँजीवादी सङ्कटलाई बुर्जुवा अर्थशास्त्रीहरूले अस्थायी एवं स्वाभाविक परिघटनाका रूपमा लिएका थिए । उनीहरू यो उत्पन्न भए पनि अर्थव्यवस्था केही समयपछि स्वतः उत्पादनको पूर्वावस्थामा फर्किन्छ भन्ने विश्वासमा थिए । तर मार्क्सले सङ्कटलाई इन्द्वात्मक ढङ्गले व्याख्या गरी यसका दुवै सकारात्मक र नकारात्मक पक्षहरू प्रस्तुत गरिदिए । उनले के क्रा अघि सारेका छन् भने आर्थिक सङ्कटले पूँजीवादका अन्तर्विरोधहरू समयसमयमा सतहमा उतारेर पूँजीपतिहरूलाई सजग गराएको पनि छ ।
प्रत्येक सङ्कटपछि पूजीवादी अर्थशास्त्रीहरू यसबाट बच्ने उपायको खोजीमा लागेका छन् । उनीहरू तत्कालीनअ सुधारका कार्यहरूका साथै दीर्घकालीन रूपमा सदाका लागि छुटकारा पाउने उपायतर्फ सोच्दै छन् । तर पूँजीवादको मूल सिद्धान्त नाफा भएकाले आर्थिक सङ्कटले पूँजीवादलाई जर्जर बनाउँछ र यसबाट बारम्बार प्रताडित मजदूरहरूले एक दिन त्यसको चिहान नखनी छोड्दैनन् ।
(मार्क्सवादी राजनीतिक अर्थशास्त्र पृ११३-११९, जागरण बुक हाउस, २०७६ बैशाख )