काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।
कम्युनिस्ट पार्टीका नेता तथा महिला आन्दोलनकी समेत नेता क्लारा जेटकिन (१८५७–१९३३, जर्मन) ले सन् १९१०मा कोपेनहेगनमा भएको श्रमिक महिला सम्मेलनमा श्रमिक महिला दिवस मनाउने प्रस्ताव गरेकी थिइन् । सो अन्तर्राष्ट्रिय सम्मेलनमा १७ वटा देशका १ सय प्रतिनिधिहरु संलग्न थिए । यसको प्रारम्भ भने अमेरिकाको न्यूयोर्कबाट भएको हो । सन् १९०८मा न्यूयोर्कमा ८ घण्टा काम, पुरुषसरह पारिश्रमिक र मतदानको अधिकार माग गर्दै विरोध प्रदर्शन भयो । जसमा १५ हजारभन्दा धेरै महिला सहभागी भएका थिए । त्यसको १ वर्षपछि सामाजिक
जनवादी पार्टी अमेरिकाले नारी दिवस मनाउने निर्णय ग¥यो । त्यसरी नारी दिवस सबैभन्दा पहिले अमेरिकी कम्युनिस्टहरुले मनाउन प्रारम्भ गरेका हुन् । त्यसपछि १९११मा डेनमार्क, अस्ट्रिया, जर्मनी र स्विजरल्याण्डमा नारी दिवस मनाइयो । सन् १९१७मा रुसमा लेनिनको नेतृत्वमा जार सरकारको विरुद्ध ‘शान्ति र रोटी’ माग गर्दै सङ्घर्ष शुरुभयो । त्यसको समर्थन गर्दै महिलाहरु हड्ताल र प्रदर्शनमा उत्रिए । त्यसक्रममा रुसी महिलाले ठूलो बलिदान गरे । जारको सत्ता ढलेपछि ती बहादुर महिलाले बलिदान गरेको दिनको स्मरणमा ८ मार्चलाई नै श्रमिक महिला दिवसको मान्यता दियो । तर ‘श्रमिक’ पदावली राखिएन । त्यसलाई कतिपयले श्रमिक महिला दिवसको सारतत्व मार्ने र चाडपर्वमा झार्ने चालबाजीको रुपमा पनि व्याख्या गरेका छन् । संयुक्त राष्ट्र संघले १९७५मा पहिलो पटक यो दिवसको नारा ‘विगतलाई उत्सवको रुपमा र भविष्यको योजना निर्माण गरौं’ राखेको थियो । सन् १९१०बाट शुरु भएको महिला आन्दोलनलाई १९९३मा ‘भियना घोषणापत्र’ जारी गरेर संयुक्त राष्ट्र सङ्घले गुणात्मकता प्रदान गरेको थियो। १९९५मा चीनको राजधानी बेइजिङमा अन्तर्राष्ट्रिय महिला सम्मेलनको चौथो वार्षिकोत्सव मनाइएको थियो । त्यसको विश्वव्यापी दबावको कारण २०५८ फागुन २३ (७ मार्च २००२)मा नेपालमा राष्ट्रिय महिला आयोग गठन भयो । तर सरकारको बेवास्ताको कारण कामकाजी भएन । गठन भएको १४ वर्षसम्म काम नगर्ने, तर अन्तर्राष्ट्रिय जगत र अधिकारकर्मीलाई काम भइरहेको छ भन्दै टार्दै गरियो। २०७२ सालमा बल्ल महिला आयोगले संवैधानिक मान्यता पायो।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस–२०७९, फागुन २४ (२०२३ मार्च ८)को नारा ‘लैङ्गिक समानताको लागि नविन प्रविधि (Innovation and Technology for Gender Equality) रहेको छ । महिला र पुरुषबिच समानताको लागि विश्वका सबै परिवर्तन तथा गतिमयतासँग महिलाको पहुँच हुनुपर्ने, प्रविधिमा महिलाको पहुँच हुनुपर्ने रहेको छ । महिला दिवसलाई मध्यम वर्गका महिलाहरुले चाडपर्व र मतपत्रमा सीमित गर्न खोजेका छन् । यसलाई घरानाका सञ्चारले विज्ञापनको साधन बनाउने र पुँजीपति वर्गले नाफा कमाउने अवसर बनाउँदैछ । तसर्थ श्रमिक तथा भुइँतहका महिलाले पुँजीवादी सत्ता र पितृसत्ताको विरुद्ध लड्ने मञ्च बनाउनु पर्ने आवश्यकता छ । त्यसैले उनीहरुले यसलाई ‘श्रमिक महिला दिवस’ भन्ने गरेका छन् । संयुक्त राज्य अमेरिकाका वामपन्थी श्रमिक महिलाहरुले स्थापना गरेको र क्लारा जेटकिनजस्ता कम्युनिस्ट नेतृत्व तथा जर्मन कम्युनिस्ट पार्टीकी केन्द्रीय नेताले लोकप्रिय बनाएको महिला आन्दोलनले थप विकास गर्नुपर्ने देखिन्छ । श्रमिक महिला दिवसको ११३ वर्ष, नेपालमा महिला आयोग बनेको २१ वर्ष बितेको छ । नेपाल प्रहरीको आ.व. २०७८/०७९को प्रतिवेदन अनुसार २१,३११ जना बलात्कृत भएका छन् । जबकि २०६९/०७०मा त्यो संख्या ३,१७० थियो । प्रहरीको प्रतिवेदन अनुसार १० वर्षमा महिला बलात्कृतको
संख्यामा ७ गुणा वृद्धि भएको छ । प्रहरीको प्रतिवेदन हेर्दा महिला आयोग, नेपाल प्रहरी, महिला इकाई र संविधानको धारा ३८को व्यवस्था तथा ती संस्थामा भएको करोडौंको सरकारी बजेट र जनशक्तिको लगानी ‘बालुवामा पानी’ सरह भएको छ । माथि उल्लिखित सामान्य चित्रले संसदीय व्यवस्था महिलाको रक्षा र स्वतन्त्रता दिन असफल रहेको देखाउँछ ।
सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्लनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमामान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रूपमा ८ मार्चलाई लिने गरिन्छ ।
साेही दिनलाई स्मरण गर्दै आज नेपालमा पनि विभिन्न महिला संगठनले मनाउँदै आएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले देशव्यापी विविध कार्यक्रम गरि मनाउने भएको छ ।