८ मंसिर २०८१, शनिबार

वर्तमान राष्ट्रिय संकट र समाधान

अन्तरक्रियामा प्रस्तुत अवधारणापत्र                                      

0

                                                                 
                                                                 

             प्रस्तोताः सुमनसिंह सी

 

 

क) सन्दर्भ—
देशको स्वाधिनता र जनताको जिवन कहालिलाग्दो संकटको बिचबाट गुज्रिरहेको छ । यो संकटको मुख्य कारक दलाल पुंजिवादी संसदीय व्यवस्था हो । यसले बैदेशिक हस्तक्षेपलाइ आमन्त्रण गर्ने कार्य गरेको छ, साथै दलाल कमिशनखोर आर्थिक कार्यद्वारा नागरिकको जिवनलाइ सहनै नसकिने स्तरमा कष्टकर बनाएको छ । यो देशलाइ आजको यो संकट बाट मुक्त गर्नु हरेक नेपाली जनताको कार्यभार हो । यो कार्यभार पूरा नगर्ने हो भने प्रकारान्तरमा न त नेपाल भन्ने देश रहन्छ न हामीले नेपाली भन्ने गौरव नै प्राप्त गर्ने छौं । यो अन्तरकृया देशमा विद्यमान यहि गंभिर संकटबाट कसरी बाहिर निस्कने भन्ने बिषयसंग सम्बन्धित रहेको छ ।

ख) वर्तमान राष्ट्रिय संकटबारे—
मुलतः राष्ट्रिय स्वाधिनता र नागरिकहरुको जिवन संकटपूर्ण र कष्टकरमय बन्न पुगेको छ । विदेशीहरुले निर्वाधरुपमा आफ्ना स्वार्थ अनुरुपका गतिविधि गर्ने वातावरण छ । भ्रष्टाचार र कमिशनका ठुला ठुला काण्डहरु देखिएका छन् । १४ खर्व व्यापार घाटा पुगेको छ । नेपाली उद्योगी, व्यवसायीहरुको अवस्था दयनीय छ । नागरिकहरु आत्मदाह गर्ने अवस्थामा पुगेका छन् । सिमाना मिचिएको छ, नेपाल भित्रै पनि नेपालीको होइन विदेशीको हैकम र बाेलवाला चल्ने अवस्था बनेको छ । उत्पिडीत जातीहरु अझ धेरै अन्यायमा परिरहेका छन् ।
हामीले संविधानमा व्यवस्थालाई समाजवाद उन्मुख लेख्यौं । यसको मर्म अनुसार यतिबेला देशमा समाजवादतर्फ अग्रसर प्रगतिशील पुंजिवादको अभ्यास भैरहेको हुनुपर्दथ्यो । तर, यसको उल्टो देशलाई आयातमूखी दलाल अर्थतन्त्रको चंगुलमा डुवाउने कार्य भयो । जसले बैदेशिक हस्तक्षेपको आमन्त्रण, नवफासीवाद र जनजिवनको दर्दनाक अवस्था निम्त्याएको छ । देशको स्वाधिनता र जनताको जिवन विरुद्ध पैदा भएको संकट नै अहिलेको राष्ट्रिय संकट हो ।

ग) स्वाधिनताको संकट—
एमसिसी संसदबाटै पास गरेर नेपालको स्वाधिनतामाथि हावि भैरहेको अमेरिकी साम्राज्यवाद नेपालमा चौतर्फी रुपमा प्रकट भैरहेको छ । भारतीय पक्षको गतिविधि पनि सामन्य छैन । आफ्नो राष्ट्रिय सुरक्षामा नेपालमार्फत हुन सक्ने संभावित चुनौतिको मसिनो गरि आंकलन गरेको चीन नेपाल मामलामा कृयाशिल देखिन्छ । आजको विश्वमा देखापरेको चीन—अमेरीका ध्रुवीय अन्तरसंघर्ष, त्यसको विकास र नेपालमा विकसित घटनाक्रमले नेपाल शक्ति राष्ट्रहरुको युद्ध केन्द्रमा बदलिन सक्ने चुनौतिलाई बढाएको छ ।
सीमा अतिक्रमण, नेपालको सुरक्षा मामिलामाथिको अतिक्रमण, सांस्कृतिक अतिक्रण, धार्मिक अतिवाद, जातिय—क्षेत्रिय अतिवाद हुंदै नेपाल माथि चौतर्फी नियन्त्रण कायम राख्ने र नेपाली सार्वभौमसत्ता नै कब्जामा लिने हो कि भन्ने संभावनालाई समेत भारतिय पक्षका भुमिकाहरुले संसयपूर्ण बनाइरहेका छन् । यतिबेला एमसिसी पछिको अमेरिकी योजना र पछिल्ला भारतीय गतिविधिले नेपालको स्वाधिनता इतिहासकै सबैभन्दा डरलाग्दो र गंभिर संकटमा परेको स्पष्ट हुन आएको छ ।  

घ) जनजिवनमा संकट—
देश युवाहरुलाई बैदेशिक रोजगारीको नाममा पलायन गराउने, र उनीहरुबाट आएको रेमिट्यान्सको व्यापार गर्ने स्थितिमा छ । एक बर्षमै ७१ हजार नेपालीले नेपाली नागरिकता परित्याग गरेर आवसीय उदेश्यले विदेशिए, उनीहरुसंगै खर्बौ पुँजी पलायन भयो । यतिबेला नेपालमा बस्नै नसकिने स्थिति भयो भन्ने भाष्य निर्माण भएको छ । उच्च माध्यामिक शिक्षा लिइरहेका ९० प्रतिशत विद्यार्थीहरु उच्च शिक्षाको निम्ति विदेश जान चाहन्छन्, ७० प्रतिशत नेपाल फर्कन चाहदैनन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रको व्यापारिकरण र माफियाकरणको कारण यो नागरिकहरुको पंहुचमा छैन । बैंक, लघुवित्त संस्था र मिटरब्याजिको लुटपाटले सबैलाई आक्रान्त बनाएको छ । भ्रष्टाचार, कमिशनखोरी, महङ्गी, कालोबजारीको कुनै हिसाव छैन । लागुऔषध र्दुव्यसनको डंढेलो समाजमा फैलिरहेको छ । भुमाफिया र गुण्डाहरु दिनदहाडै जनताका घरहरुमा खुलेआम डोजर लगाइरहेका छन् । व्यक्ति हत्या, हिंसा, महिला माथिका अन्यायपुर्ण कृयाकलापसंगै नागरिक असुरक्षा तिब्र बनेको छ । लुटपाट, ठगि जस्ता धन्दाहरु मौलाएका छन् । दलितहरु माथिको अमानविय व्यवहार झन् बढेर गएको छ । जनजिवनका सबै क्षेत्रहरु अस्तव्यस्त र संकटग्रस्त बन्न पुगेका छन् ।  

ङ) संकटको कारक तत्व—
आजको यो संकट कसको हो ? नेता, दल वा व्यवस्थाको ? यो संकट अरु कसैको नभएर परनिर्भर दलाल अर्थतन्त्रको सेवकको रुपमा काम गरिरहेको दलाल पुँजिवादी संसदीय व्यवस्थाको संकट हो ।  दलाल पुँजीवादको आधार परनिर्भर अर्थतन्त्र हो । उत्पादन नगर्ने खाली उपभोग गर्ने मात्र यसको चरित्र रहेको हुन्छ । विश्वका विभिन्न मुलुकबाट माल वस्तु भित्र्याउने, त्यसको व्यापार गर्ने र त्यसबाट कमिसन लिएर राज्य संचालन गर्ने दलाल पुँजीवादको चरित्र रहेको हुन्छ । यसलाई बिचौलिया पुँजीवादको रुपमा पनि चित्रण गर्न सकिन्छ । आफ्नै देशको प्राकृतिक श्रोत र मानविय श्रमलाइ जोडेर मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने कुरालाई बन्देज लगाएर जव देशमा आयातित अर्थतन्त्रको बाढी चल्यो तबदेखि देश क्रमिक रुपमा परनिर्भरताको सिकार बन्दै आइरहेको छ । यहि परनिर्भरताले बैदेशिक हस्तक्षेपलाई निम्त्यायो, जनताको जिवनलाई कस्टकर बनायो । नेपालको संसदीय व्यवस्थाले यहि दलाल पुँजीवादलाई समृद्ध गर्ने कार्य गर्दै आइरहेको छ ।  

च) वर्तमान राष्ट्रिय संकटको निकास नेपाली विशेषताको समाजवाद—
दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा हाम्रो पार्टीले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको प्रस्तावलाई अगाडि सा¥यो । जनसंघर्ष, राज्य दमन र प्रतिरोध हुंदै तीन बुंदे सहमतिसम्म आइपुग्दा देशमा राजनीतिक समस्याहरु छन्, यसबारे नेकपासंग छलफल गर्न र निकास निकाल्न तयार छौं भनेर सहमति गर्ने अवस्थामा राज्य पुग्यो ।
संकटहरुलाई बिस्फोटक पार्ने, त्यसमा खेल्ने, अग्रागामी रुपान्तरणलाई अवरोध गर्ने उदेश्यले तीन बुंदे सहमति विरुद्ध षड्यन्त्र गर्ने जस्ता कामहरु भइरहेका छन् । पुरातनपन्थि र यथास्थितिवादीहरुलाई संकट समाधानको नारामा जोड्ने र आफ्नो स्वार्थअनुकुलको सत्ता बनाउँदै नेपाली संस्करणका जेलेन्सकीहरु जन्माउने खतरनाक खेलमा अमेरिकी साम्राज्यवाद लागेको प्रस्टै हुन्छ । भारतपनि आफ्ना स्वार्थहरुको बल्छी बोकेर पछिपछि आइरहेको छ ।
देशको स्वाधिनताको रक्षा गर्न र जनतालाई आजको संकटको दुश्चक्रबाट बचाउन नेकपासंग तीन बुंदे सहमति गरेर राजनीतिक समस्याहरुको समाधान निकाल्न तयार बनेका दलहरुले आजको संकटको समाधानर्थ नेपाली विशेषताको समाजवादलाई आत्मसात गर्नुपर्ने ऐतिहासिक आवश्यकता बनेको छ । वर्तमान संविधानले समेत समाजवाद उन्मुख भनेर दिशानिर्देश गरेको अवस्थामा आजको संकटबाट मुलुक र जनतालाई बचाउन दलाल पुँजीवादी संसदीय व्यवस्थाको मलामी जाने कि, प्रतिगामी र यथास्थितिवादीहरुको विजयको जन्ति जाने ? यो कुरामा अग्रगामि भनिनेहरुले गम्भिर बन्न र एकाकार भएर नेपाली विशेषताको समाजवाद मा जान ढिला गर्नु हुंदैन ।
नेपाली विशेषताको समाजवाद को अन्तरवस्तु देश, जनता र रुपान्तरणको हितमा हुने गरि नीतिहरुसँग जोडिएको हुनुपर्दछ । जनताको गांस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र मनोरन्जन जस्ता आधारभुत आवश्यकतालाई सुनिश्चतता गरेको हुनुपर्दछ । प्रचुर प्राकृतिक श्रोत सम्पदा र मानवीय श्रमशक्तिको उल्लेख्य परिचालन गरेर बृहत आत्मनिर्भर राष्ट्रिय पुँजीको विकास गर्न सकेको हुनुपर्दछ । राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सक्ने । सन्तुलित बैदेशीक सम्बन्ध कायम गर्ने । उत्पीडित जनताको बिचबाट उठेका पहिचान, संस्कृति र सामाजिक मुल्य मान्यताहरुसंग जोडिएका आन्दोलनहरुको मर्मको न्यायोचित समाधान गर्ने आदि जस्ता देश र जनतालाई केन्द्रमा राखेर नेपाली बिशेषताको समाजवादले नीतिहरु निर्माण गर्ने र काम गर्न सकेको हुनु पर्दछ ।

छ) निकासको निम्ति ध्रुवीकरण, संयुक्त मोर्चा, एकता हुंदै बृहत आन्दोलन निर्माणको पहल-
वर्तमान संकटको कारक दलाल पुंजीपतिको हातबाट सत्ता खोसेर जनताको सत्ता निर्माण गर्नु आजको आवश्यकता हो । नेपाली बिशेषताको समाजवाद स्थापनाको निम्ति चार मित्र शक्ति — कम्युनिष्ट, समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त । चार मित्र वर्ग— मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पुंजीपति वर्ग । र पांच मित्र समुदाय— खसआर्य, जनजाति, मधेशी, श्रमिक समुदाय र मुश्लिम । हाम्रो पार्टीले उल्लेखित मित्र शक्ति, मित्र वर्ग, मित्र समुदाय लाइ देशलाइ आजको संकटबाट मुक्त गरेर अगाडि बढाउन एकाकार हुन अपिल गरेको छ ।
साम्राज्यवाद आगनमा परेड खेल्न थालेपछि मित्र शक्तिहरु बिच ध्रुवीकरण, संयुक्त मोर्चा, एकता गर्दै राष्ट्रिय स्वाधिनताको रक्षार्थ र नेपाली बिशेषताको समाजवादको लागि बृहत आन्दोलनको सृजना गर्नु पर्ने यतिबेलाको आवश्यकता बनेको छ । यहि आवश्यकतालाई बोध गरेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी— नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी सहितको समाजवादी मोर्चा,नेपाल बनेको छ । सडक संघर्षमा रहेका कम्युनिष्ट त्रान्तिकारी शक्तीहरुसंग सहकार्य र मोर्चाबन्दिका प्रयत्न भैहेका छन् । संसदमै प्रतिनिधत्व गरिरहेका कम्युनिष्ट, वामपन्थि शक्तिहरुसंग पनि छलफल र संवाद भैरहेका छन् । नेपालका लोकतान्त्रिक र देशभक्त शक्तिहरुसंगको संवाद पनि अगाडि बढेको स्थिति छ ।
संभवत वर्तमान संकटको भयानक चित्रलाई सबै अग्रगामी एजेण्डा बोक्ने दल र नेताहरुले अनुभूति गरेकै छन् र आ—आफ्नो स्थानबाट सबैले केहि न केहि सोचिरहेकै पाइन्छ । हाम्रो पार्टी अग्रगामी शक्तिहरुलाई एकै ठाउँमा उभ्याउने र देशलाई निकासतर्फ लैजान चौतर्फी मोर्चाहरुबाट प्रयत्नशिल छ ।  राष्ट्रिय स्वाधिनताको मामला इतिहासमै सबैभन्दा धेरै संकटग्रस्त बनेको यो समय यो मुलुकको रक्षार्थ अग्रागामी शक्तिहरु र देशभक्तहरु एकठाउँमा आउनु पर्ने आवश्यकता पैदा भएको छ । जनताको जिवनमा देखिएको सहनै नसकिने संकटलाई समेत समाधान गर्न अग्रगामीहरु एक ठाउँमा आउन ढिला गर्नै नहुने अवस्था छ । अग्रगामी शक्तिहरुलाई एक गर्दै, बृहत आन्दोलनको निर्माण गर्ने जिम्मेवारी पूरा गर्न बिलम्ब नगरौं ।  

ज) अग्रगामी निकास विरुद्धको षड्यन्त्र ३ बुंदे कार्यन्वयनमा अवरोध-
देश संकटमा परेको समय आवश्यकता एकातिर छ तर राज्यको एक अङ्ग अदालत नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड लगायत पार्टीका नेता कार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गर्छ । तत्कालिन केपि ओली नेतृत्वको सरकारसंग २१ फागुन २०७७ मा भएको तीन बुंदे सहमति यस्तो छ—
१) दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२) नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३) नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

अदालत नेकपालाई जनताबाट अलग्याउने र अग्रगामी निकासको धारालाई कमजोर पार्ने साम्राज्यवादी षड्यन्त्रको मतियारी गर्ने ठाउँमा पुगेको छ । जनयुद्धकालिन मुद्धा समेत ब्युताउने र जनताको बिचमा भ्रम पैदा गर्ने षड्यन्त्र सुरु भएका छन् । माओवादीमाथि मात्र होइन एमाले विरुद्ध पनि सामाजिक अभियान्ताको खोल ओडेका केहि व्यक्तिहरु निरन्तर लागिरहेका छन् । केपि ओली र एमालेको तेजोबध गर्ने काम भइनै रहेको छ ।
देशभक्तहरुमाथि पनि तिब्र हमला छ । देशभक्त र राजाको मुखुण्डो लगाएर गतिविधी गरिरहेका साम्राज्यवादका केहिथान गोटीहरु सच्चा देशभक्तहरुलाई भ्रमित गर्न कतिपय सन्दर्भमा सफल देखिएका छन् । हमला कसरी कहाँ भइरहेको छ भन्ने विषयलाई सबैले ध्यान दिन जरुरी छ । हाम्रो पार्टीमाथि सुरु गरिएको हमला नेपालको अग्रगमनको यात्रा विरुद्धको हमला हो । स्वाधिनताको संघर्षलाई कमजोर पार्ने प्रयत्न स्वरुप भएको हमला हो । यो किमार्थ स्विकार्य छैन, र स्विकार्य हुनु हुंदैन । साच्चिकै अदालतले आफ्नो काम गर्ने हो भने नेकपासंग भएको तीन बुंदे सहमति कार्यन्वयन गर्न सरकारलाई आदेश गर्नु पर्छ । उक्त सहमतिलाई कार्यन्वयन गर्ने हो भने राजनीतिक समस्याहरुको समाधानार्थ वातावरण बन्न सक्छ । साम्राज्यवाद यहि वातावरण बिथोल्न चाहन्छ । यतिबेला बिदेशीको हण्डि खाएर देश विरुद्ध गद्धारी गरिरहेका सबै क्षेत्रमा रहेका केहि थान नामुद दलालहरुलाई नाङ्गेझार पारेर देशलाई अग्रगमनतर्फ लैजानुको विकल्प छैन ।

निष्कर्ष
माथि हामीले वर्तमान राष्ट्रिय संटक र यसबारे धेरै छलफल गरेका छौं । हाम्रो पार्टी यि सबै संकटहरुको समाधान समयमै दिन सक्नु पर्ने र सकिएन भने देश गंभिर दुर्घटनामा फस्ने बुझाइमा रहेको छ । अमेरिका — चीन, रुस ध्रुवीकरणको प्रभाव नेपालमा पर्न थालेको छ । एमसिसि/एसपिपी हुंदै आफ्नो सैन्य अखडा खडा गर्ने योजनामा रहेको अमेरिकाको चलखेल नेपालमा चौतर्फी रुपमा बढेको छ । एमसिसी कम्युनिष्ट र देशभक्तहरुको कत्लेआम गर्न, नेपालको प्राकृतिक श्रोत कब्जा गर्न र नेपालमार्फत चीन विरुद्ध षड्यन्त्र गर्न आएको छ । यसो हुन थालेपछि चीन पनि नेपालमा सकृय बनेको छ । यसले नेपाललाई दुई शक्ति राष्ट्रहरुको युद्ध केन्द्र बनाउन सक्ने संभावनालाई नजिक लग्दै गएको छ । भारतीय पक्षको नेपाल स्वार्थ पनि डरलाग्दो छ । जनताको जिवन कष्टकर बनेको छ । यस्तो अवस्थामा प्रतिगामी, पुरातनपन्थि चलखेल, यथास्थितिवादीहरुको चलखेललाई पूर्ण रुपमा निस्तेज गर्न सचेत पहल लिन जरुरी भएको छ । नेपाल र नेपालीमाथि भएका सबै खाले षड्यन्त्रलाई परास्त गर्न अग्रगामी शक्तिहरुको बृहत मोर्चा निर्माण गर्न र नेपाली विशेषताको समाजवादमा जान आवश्यक भएको छ । यसको निम्ति हाम्रो पार्टी सबै मोर्चा खोल्न र सबै मोर्चाबाट लड्न तयार छ । सबै कम्युनिष्ट, वामपन्थि, सच्चा लोकतन्त्रवादी, देशभक्त, अग्रगामी शक्तिहरु एकाकार होऔं र तयार बनौं । नेपालीहरुको सुखद जिवन धेरै टाढा छैन ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।