धनगढी/ सुदुरपश्चिम प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्यले सञ्चार क्षेत्रको नीति निर्माण र आगामी आर्थिक बर्षको बजेट बिनियोजन प्रक्रियामा सरोकारवाला सबैसँग छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार धनगढीमा आयोजित आर्थिक, राजनीतिक संकट र त्यसले सञ्चारमा पारेको प्रभाव बिषयक अन्तर्कृयामा मन्तव्य राख्ने क्रममा सचिव वैद्यले यस्तो बताएका हुन् ।
जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिद्वारा आयोजित कार्यक्रममा उनले अहिलेको आर्थिक संकटले समाजका सबै क्षेत्रमा नकारात्मक प्रभाव परेको भन्दै सञ्चार क्षेत्र समेत हेर्ने जिम्मेवारी भएको आन्तरिक मन्त्रालयबाट आमसञ्चारका विद्यमान समस्या समाधान गर्न पहल गर्ने बताए। “म मन्त्रालयमा आएको थोरै समय भएको छैन , यो बर्षको बजेट बिनियोजन भैसकेको छ, अब अर्को बर्ष तपाइहरु सबै संघ-संगठन र नेपाल पत्रकार महासंघसङ्ग छलफल गरेर बजेट बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु- सचिव वैद्यले भने- तपाईहरुसङ्ग सहकार्य गरेर अगाडि जान्छौं,सबैसँग सहकार्य जरुरी छ ।”
सुदुरपश्चिमका आमसञ्चार क्षेत्रका समस्या सम्बोधन गर्न कानुनको अभाव रहेको बेला बिगत ६ बर्ष देखि प्रक्रियामा रहेको आमसञ्चार ऐन र आमसञ्चार नीति पारित गर्ने कुरामा बिलम्ब भएको स्विकार्दै सचिव वैद्यले यो छिटै पारित हुने विश्वास समेत व्यक्त गरे ।
मन्तव्यको क्रममा उनले आमसञ्चारको कारण नै विकास, सुशासन र मानवअधिकारको क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको भन्दै मन्त्रालयले विभिन्न जिल्लामा पत्रकार महासंघका हल निर्माण, लोककल्याणकारी विज्ञापन वितरण र पत्रकारहरुको क्षमता वृद्धिका लागि महासंघमार्फत कार्यक्रम गर्न लागिएको जानकारी समेत दिएका थिए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार सुदुरपश्चिमका निर्देशक हरिप्रसाद ज्ञावाली,बार एशोसियनका रमेश बिष्ट,प्रेस युनियन नेपाल सुदुरपश्चिम संयोजक मनमोहन स्वार, प्रेस चौतारीका प्रदेश संयोजक कृष्ण ओली, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी , इन्सेकका अधिकृत कृष्ण बिक लगायत लेखक, साहित्यकारहरुले धारणा राखेका थिए।
जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम संयोजक धिरज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको पत्रकार गणेश यसकेले मन्तव्यद्वारा स्वागत गरेका थिए।