६ जेष्ठ २०८१, आईतवार

हामीले राजनीतिक अधिकारको पैरवी गर्‍यौं, अब आर्थिक  सांस्कृतिक अधिकारको पैरवी जरुरी

0

धनगढी/ राष्ट्रिय मानवअधिकार आयोग, सुदुरपश्चिमका निर्देशक हरिप्रसाद ज्ञवालीले पत्रकार, नागरिक समाज र अधिकारकर्मीहरुले विगतमा जसरी नागरिकको राजनीतिक अधिकारको पैरवी गरे, त्यसअनुसार आर्थिक अधिकार, सामाजिक र सांस्कृतिक रुपान्तरणको अभियान अगाडि लिन नसक्दा अहिले देशमा संकट आएको टिप्पणी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित वर्तमान आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको प्रभाव विषयक अन्तरकृयामा आफ्नो धारणा राख्ने क्रममा निर्देशक ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् ।

“विगतमा हामीहरुले नागरिकको राजनीतिक अधिकार स्थापित गर्न व्यवस्था परिवर्तनको अभियानमा योगदान गर्‍यौं , मिडियाकर्मी, मानवअधिकारवादी र सामाजिक अभियान्ताहरुले राजनीतिक अधिकारका लागि पैरवी गर्‍यौं तर उनीहरुको त्यहीअनुसार आर्थिक अधिकार र पहुँच स्थापित भएन, राजनीतिक परिवर्तनसङ्गै सामाजिक र सांस्कृतिक रुपान्तरणमा पनि समाज अगाडि बढ्न सकेन ” ज्ञवालीले थपे-“आर्थिक सामाजिक मुद्दालाई जसरी ध्यान दिनुपर्थ्यो, त्यो हुन नसकेपछि नै अहिले संकटको अवस्था देखिएको हो।”

राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय निर्देशक  ज्ञवालीले सुशासन, मानवअधिकारको प्रवर्द्धन र उत्तरदायी राज्यका लागि मिडियाको महत्त्वपूर्ण भुमिका हुने र मिडिया जहिल्यै राज्यको आलोचक भएकोले राज्यले मिडिया व्यवस्थापनमा उदासिनता प्रकट गरिरहेको भन्दै विगतमा पनि नागरिकहरु नै आफुहरुको व्याकवोन रहेको स्मरण गरे ।

अन्तर्कृयामा बोल्ने क्रममा उनले कैलालीको अत्तरियामा रहेका  १० परिवार वादी समुदायका व्यक्तिहरु भुमिहिन रहेको भन्ने कुरा राज्यका निकायले नै प्रमाणित गरेको बर्षौ भैसक्यो तर सुदुरपश्चिम प्रदेश सरकार र गोदावरी नगरपालिकाले दुई दुई पटक नीति तथा कार्यक्रम ल्याइसक्यो तर त्यो समस्या अझै समाधान भएको छैन, यस्तो बेला सञ्चारमाध्यमहरुले मुख्यमन्त्री कमल शाह रहन्छन् कि अरु कोही आउँछ भनेर चर्चा गर्छन् यसले ती वादी समुदायलाई के अर्थ राख्छ, के फरक पार्छ यो महत्त्वपूर्ण कुरा हो त्यसैले नागरिकका सवालहरुलाई सञ्चारमाध्यमहरुले स्थान दिनुपर्ने भन्दै आफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार सुदुरपश्चिमका निर्देशक हरिप्रसाद ज्ञावाली,बार एशोसियनका रमेश बिष्ट,प्रेस युनियन नेपाल सुदुरपश्चिम संयोजक मनमोहन स्वार, प्रेस चौतारीका प्रदेश संयोजक कृष्ण ओली, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, इन्सेकका अधिकृत कृष्ण विक लगायत लेखक, साहित्यकारहरुले धारणा राखेका थिए।

जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम संयोजक धिरज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको पत्रकार गणेश एसकेले मन्तव्यद्वारा स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।