७ पुष २०८१, आईतवार

अल विदा सुदर्शन दाई : ‘निश्पट्ट रातमा मनहरु भक्कानिदा’

0

 ‘कहाँबाट शब्द लेख्न सुरु गरौं, हात काँप्दैछ, आँखा रसाईरहेका छन्, गहभरिएको छ, मन भक्कानिएको छ, यो निश्पट रातमा !’ तपाईका ती तस्विरहरु मेरो आँखा अगाडि झल्झल्ती घुमिरहेका छन् । अझै जेठ महिनाका ताजा तस्विर त कहिल्यै नविर्सिने गरी मेरो छातीमा टाँसिएका छन् ।  जेठ १४ गते जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, म अनि तपाईसंगै बसेर भृकुटीमण्डपमा चियाँ खाएर भलाकुसारी गरेको अहिले पनि ताजै छ ।  संगठनका बेला बखतका बैठकहरुमा तपाईका गहकिला र ओजपूर्ण भनाई तथा सुझावहरु दिएका शब्दहरु बिर्सेका छैनन् । अझै बिर्सनै नसकिने जेठ १५ गते ऐतिहासीक दिन तपाईकै थानकोटघरमा पुगेर संगै खाना खाएको तस्विर अहिले पनि झल्झल्ती देखिरहेको छु । तपाईका जनयुद्धमा सहिद भएका कान्छा छोरा सिजनराज पाण्डेकाबारे मैले सोधेका प्रश्न र तपाईले भक्कानिदै दिएका उत्तरहरु मेरो आँखा अगाडि कहिल्यै नबिर्सिने गरी ताजै छन् । तपाईले  छोराकोबारे भनेका गहकिला शब्दहरु मैले सक्दो माला बनाएर पस्किने कोशिस पनि गरे । आदरणीय अग्रज वरिष्ठ पत्रकार तथा जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य सुदर्शनराज पाण्डे दाई ! आज हामीलाई चटक्कै छोडेर कसरी जानु भयो ?  तपाईको आकस्मिक र अकल्पनीय निधनले सिंगो संगठन र म  भावविह्वल छौँ । मैले तपाईको बारेमा जति लेख्न खोजेपनि  यो निश्पट रातमा कमै हुन्छ । अझै यो बेला लेख्न सक्ने अवस्था पनि छैन । तर  तपाईको निधनले छिया–छिया भएको यो मन मुटुलाई थोरै भएपनि मलम पट्टी लगाउन केही शब्द लेख्ने कोशिस गरेको छु ।  ।
आदरणीय दाई ! तपाई भाद्र १३ गते बाराको जीतपुर सिमरा उप–महनगरपालिका वडा नम्वर १५ आफ्नै घरमा बिरामी हुनु भएछ । आफन्तको सहयोगमा हतार– हतार गर्दै त्यहाँबाट ल्याएर काठमाडौँ शिक्षण अस्पताल महाराजगन्जमा भाद्र १४ गते भर्ना गरिएछ । यो खबर सुरुमा त मलाई थाहा थिएन । पछि  संगठनका अध्यक्षमार्फत थाहा पाए ।  विस्तारै सबैतिर हजुरको बिरामीको खबर पुग्यो । तपाई धेरै अथवा  गम्भीर बिरामीको कल्पना त गरेको  थिएन  तर सन्चो हुने बिरामी होलासम्म सोचेको थिए । विस्तारै सुधार हुँदै गएको छ भन्नेसम्मको बिचमा हल्ला पनि सुनेको थिए  । तर तपाईलाई जटिल नै बन्दै गएछ । बोल्न र चिन्न सक्ने मान्छे भेन्टिलेटरसम्म पुग्नु परेछ । म पश्चिम नेपालको कोहलपुरमा थिए । संगठनका अध्यक्षले संगठनको आकस्मिक भर्चुल बैठक समेत बोलाउनु भयो  । बैठकले तपाईको शिघ्र स्वास्थ्य लाभको सामूहिक कामना गर्दै सक्दो आर्थिक सहयोग गर्ने निर्णय पनि गर्यौ  । यसमा संगठनको तर्फबाट सक्दो सहयोग गर्ने कोशिस पनि गर्यौ । संगठनका अध्यक्ष शेरवहादुर जीले बेला–बेला अस्पताल पुगेर बिरामी र आफन्तहरुसंग भेटघाट गर्ने संगठन र पार्टीसम्म खबर अपडेट गराउने काम समेत गरिरहनु भएको थियो नै । तपाईको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि पार्टी महासचिव विप्लव सी समेत तपाईलाई भेट्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । तर तपाईको अस्पतालको रिर्पोट राम्रो थिएन । तपाईलाई जापानीज इन्सफलाईटिसको संक्रमणले अन्तीमसम्म पुर्याएको रहेछ  । चाहेर पनि, अन्तीमसम्म कोशिस गर्दा पनि तपाईलाई बचाउन डाक्टरहरु नै असफल भए  । घरपरिवार, सिंगो संगठन, पार्टी  पनि असफल भयो  ।  मेरो जीवित भेट गर्ने आसा पनि असफल भयो । म भाद्र २६ गते काठमाडौँ मात्र के पुगेको थिए, २७ गते हजुर विदा भएको खबर पाए   । तपाईको दाहसंस्कार स्थलसम्म पुगेर पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली दिने मौका त पाए  तर  जीवनशील पक्ष भेटाउन नसकेकोमा निकै दुखी छु  । आदरणीय दाई क्षमा चाहन्छु  !
भाद्र २७ गते दिउसो ४ बजेको थियो । वरिष्ठ पत्रकार आदरणीय दाई पाण्डेकै बारेमा कुरा हुँदै थियो । संगठनका अध्यक्ष, म र केही साथीहरु भृकुटीमण्डपमा थियौँ । एक्कासी अध्यक्ष शेरबहादुरको नम्बरमा फोन गयो । फोन पनि हजुरका जेठा छोराले गर्नु भएको थियो  । उहाँले भन्दै हुनुहुन्थ्यो  ‘बुवाको निधन भईसक्यो, पशुपति जान लागेका छौ !’ म आकासबाट खसेझै भए । भेट गरौंला सोचेर काठमाडौँ पुगेपनि  खबर नराम्रो सुने  । अँह ! होइन होला । मैले उहाँको निधनको विश्वास गर्न सकिन । किनकि मेरो आँखा अगाडि उहाँका तस्विर नाँचिरहेका थिए । उहाँको बोलेका मिठा शब्दहरु कानमा गुञ्जिरहेका थिए । त्यसैले पनि होला ..।
हतार–हतार गर्दै संगठनका अध्यक्ष शेरबहादुर जी र म पशुपति आर्यघाटतिर गयौं । संगठनका सचिवालय सदस्य शोभराज बराल, साहस भट्ट लगायतका आउन सक्ने साथीहरुलाई अध्यक्षले खबर गर्नु भयो । अध्यक्षको मोबाइलले पनि धोका दिदै थियो । चार्ज सकिएको थियो । पशुपति आर्यघाटमै दुईपटक माेबाइल चार्ज गर्नु पर्यो । शव  आर्यघाटमै पुगेको थिएन । अस्पतालबाट ल्याउने तयारी हुँदै थियो  । पार्टीको झण्डा ल्याएर आउन पत्रकार शोभराजलाई अध्यक्षको निर्देशन अनुसार मैले खबर गरेको थिए । सबै साथीहरु  पुग्दै थिए ।
त्रिवि शिक्षण अस्पतालमा निधन भएका आदरणीय दाईको शव पनि पुग्दै थियो । साँझ पर्दै थियो । पशुपतिका बाँदरहरुको चक्चकी पनि बढेको थियो । कोटीहोमका हल्लाहरु पनि जोडले गुञ्जिदै थिए । मान्छेहरुको भिड थियो । ठाउँ –ठाउँमा लासहरु जलिरहेका थिए । त्यहाँ कुनै मान्छेको भौतिक शरीरको प्रभाव थिएन ।  भावनाका छालहरु समेत उर्लिरहेका थिए । मनपनि छट्पटिरहेको थियो । मेरो मनमा प्रश्नहरु उब्जिरहेका थिए । के सुदर्शन दाई  साँच्चै हामी सामु हुनु हुन्न त होला ? उहाँले बाेल्नु हुन्न त होला  ? के उहाँको निधन भएकै होला त ?  दोधारमा थिए म, एकमनले निश्चय नै होला भन्दै थियो भने अर्कोमनले  होइन होला भन्दै थियो ।  तर जे जसो भएपनि विज्ञानको नियम थियो । जन्मिनु  र मर्नु मात्र ढिलो चाँडाेको समय  थियो । मृत्यु पनि भौतिक त सबैको हुन्छ नै तर विचारमा पनि हो वा होइन त्यो निकै महत्वको  विषय थियो ।  धेरैका मृत्युहरु प्वाख भन्दा हलुङ्गा छन् भने केही योद्धाका मृत्युहरु सगरमाथा भन्दा गहुँ छन् । आखिर उहाँको मृत्यु गहुँर्ङगाे थियो । उहाँको भौतिक रुपमा मृत्यु भएपनि विचारमा मृत्यु भएको थिएन । उहाँको क्रान्तिकारी विचार अझै स्पातिलो हुँदै थियो ।
रात  छिप्दै थियो । चारैतिर निश्पट रात थियो । आँखामा अतितका तस्विर आइरहेका थिए । चियाँ गफका भलाकुसारी थिए, दर्जनौ बैठकमा सहभागी भएका यादहरु थिए । अग्रज र पाको उमेरका ६७ बर्षिय पत्रकार सुदर्शनराज पाण्डे गुमाउदा ! यसको पिडाबाेधको सीमा थिएन, मन भक्कानिएको थियो । सायद ! अध्यक्षको मनपनि भक्कानिएकै थियो होला । उहाँले व्यक्त गर्नु भएन ।  दाईको  निधनको कुरा अझै मनबाटै मलाई विश्वास लागेको थिएन । शवको प्रतिक्षामा बस्दा–बस्दै साँझको ६ बजिसकेको थियो । हाम्रो अगाडि एउटा शववाहन गाडी आईपुग्यो । त्यही गाडीमा आदरणीय दाईको शव ल्याएको रहेछ । त्यो दृश्य, त्यो अवस्था, यहाँ वर्णन गर्न निकै कठिन छ ।
हो, मृत्यु कहिल्यै पनि सुखद हुँदैन । यसले पीडा बोकेर आएको हुन्छ । रोदन र बेदना बाेकेको हुन्छ । यो कुरा हामी सबैलाई थाहा छ । सायद ! त्यही भएर पनि सहभागीहरुका पीडा असीमित थिए ।  आदरणीय दाई सुदर्शनराज पाण्डेको भौतिक शरीर केबल ढुङगा बराबर थियो । त्यो निर्जिव वस्तुमा परिणत भएको थियो । त्यो कसैलाई चिन्दैन थियो ।  के छ  कमरेड ! के छ हाल खबर ? भेटिदा बित्तिकै  व्यक्त गर्ने उहाँका लोकप्रिय शब्दहरु अब उहाँको  मुखबाट  आउदैन थिए ।  तैपनि उहाँ बाेल्नु हुन्छ कि ?  बाेल्नु हुन्छ की ?  जस्तो झिनो आसाको त्यान्द्रो मेरो मनमा बाँकी थियो । अहँ ! त्यो त्यान्द्रो –त्यान्द्रोमै सीमित रहयो । उहाँ चिरनिन्द्रामा हुनुहुन्थ्यो । अब उठ्न सक्ने, बाेल्न सक्ने आसा गर्नु व्यर्थ थियो । त्यो विज्ञानको नियम विपरित थियो ।
शवलाई चितामा राखेर जलाउने तयारी हुँदै थियो । फुलका माला अनि पुष्पगुच्छाहरुले पार्थिव शरीरमा ढपक्कै ढाक्दै गयो । सहभागीहरुले श्रद्धाञ्जली दिन थाले ।  पुष्पगुच्छाहरु चढाउन थाले । भावनाको सागर बढ्दै थियो । सबैका मनहरु पिरलिएका थिए । आँखा रसाएका थिए । त्यो कुनै दाग विनाको चन्द्रमुखी अनुहार सबै सामु मस्तनिद्रामा थियो । केही छिनमा जल्दै थियो । ४० बर्षिय पत्रकारिताको क्रान्तिकारी कदम थियो । जेल नेल हिरासत भोगेको भौतिक शरीर थियो । समाजमा पुर्याएका सयौँ योग्दानहरु  थिए । हुन त उहाँका योगदान र सेवाहरु मरेका थिएनन्, अरु थप स्थापित हुँदै थिए । मात्र जीवित भौतिक शरीर विना बाँकी योगदान अपूर्ण हुँदै थिए  । जहाँ भौतिक शरीर नै सदा– सदाको लागि खरानी हुदै थियो । केवल विचार र आस्था मात्र हामी सबैसंग थियो ।  हजारौं –हजारको न्यानो माया मरेको थिएन । उहाँ मिठास बाेली, मायालु स्वभाव र सबैसंगको मित्रताले धनी हुनुहुन्थ्यो । मैले मनमनै सोच्दै थिए ‘उहाँ भौतिक रुपमा हामीसंग विदाई भएपनि विचारले कहिल्यै टाढा हुनु हुने छैन । उहाँको विचार कसैले खोसेर जलाउन सक्ने पनि छैन । जन्म र मृत्यु सवैको अनिवार्य हो ।’
पशुपति आर्यघाटको दृश्य भावुक थियो । उता फोटो खिच्नेहरुको पनि ताँती नै थियो । पशुपति आर्यघाटको खोलापारी कोटी होमको भजनकृतन चर्कीदै थियो । स्वदेशी तथा विदेशी नागरिकहरुको भीड पनि उस्तै थियो । निश्पट्ट रातमा विजुलीहरु चिमचिम बलिरहेका थिए । यी पनि शोकाकुल थिए । हामी सबैका मनहरु उज्याला थिएनन् । बाहिर विजुलीको उज्यालो भएपनि चारैतिर अध्यारो जस्तै थियो । स्ट्रेचरमा शव राखेर दाहसंस्कार स्थलत लगिएको थियो । सहभागी सबैले श्रद्धाञ्जली दिने काम  भयो ।  मैले पनि पुष्पगुच्छा लिएर अन्तीम श्रद्धाञ्जली दिए । १ मिनेट सामूहिक गहिरो शोक सहित  श्रद्धाञ्जली दियौँ ।   जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले पार्टी र संगठनको तर्फबाट आदरणीय दाईको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको हसिया हतौडा अंकित रातो झण्डा ओढाउनु भयो । अनि उहाँले आदरणीय दाईसंगका सहकार्यलाई सम्झिदै  संक्षिप्त शोक मन्तव्य व्यक्त गर्नु भयो । त्यसक्रममा अध्यक्ष विश्वकर्मा भावविह्वल हुँदै भन्दै हुनुहुन्थ्यो “सुदर्शनराज पाण्डे हामी सबैको पत्रकार हो । उहाँ पत्रकार मात्र होइन जनताको नेता हो । जनताको सेवक हो । उहाँ भौतिक रुपले हामीसंग मरेको भएपनि वैचारिक रुपले मरेको होईन बाँचेको हो । उहाँ हजारौ पत्रकार र जनताका बिचमा बाँच्नु भएको छ, उहाँको कलमबाट गणतन्त्रसम्म आयो, समाजवादका लागि योगदान दिएको छ, उहाँ वामपन्थी, एक कुशल क्रान्तिकारी विचार बोक्ने प्रगतिशील धारको अगुवाई गर्ने पत्रकार हो ।”
त्यति भन्दै अध्यक्ष विश्वकर्मा भावुक हुनु भयो सहभागी पनि भए  उहाँले फेरी भन्नु भयो “जनयुद्धका बेला उहाँका कान्छा छोरा सिजनराज पाण्डे सहिद समेत हुनु भएको छ, उहाँ सहिद परिवार पनि हो, उहाँ धेरैपटक जनयुद्धका बेला पक्राउ गर्नु भयो, राज्यले दु:ख दियो, तर पनि क्रान्तिकारी कम्युनिष्ट भन्न छोड्नु भएन, उहाँको समाज परिवर्तनको योगदान सामान्य छैन, उहाँ हामी सामु अजम्बरी हुनुहुन्छ ।”
अध्यक्ष विश्वकर्माले यसो भनिरहदा सहभागीहरु अझै भावुक थिए । सबैको आँखाहरु थप रसाएका थिए । उहाँले फेरी अन्तीममा भन्नु भयो “हामीसामु सुदर्शनराज पाण्डेको अधुरो सपना पूरा गर्ने दायित्व छ, उहाँको र छोराको स्मृतिग्रन्थ निकाल्ने छौँ, सुदर्शन दाईको सपना छोराको स्मृृतिग्रन्थ निकाल्ने थियो ।  त्यो परिवारका सदस्यसंगको सर–सल्लाहमा संगठनले निकाल्ने छ ।” यो भनाईले भावनाका छालहहरुमा थोरै मलम पट्टि हुँदै थियो । शोकलाई शक्तिमा बदल्ने साहस पैदा हुँदै थियो । केही आसाका किरण फैलिएका थिए । तर पनि दृश्य भावनामै थियो । सुदर्शनराज पाण्डेको बहिनी विजया पाण्डेले भावुक हुँदै दाईलाई सम्झिरहनु भएको थियो  । भाईहरु, छोरा, बुहारी, आफन्तहरुले समाजसेवी व्यक्तित्व मात्र होइन घरको सदस्य गुमाएकोमा थप भावुक थिए । करिव–करिव रातीको ८ बज्दै थियो । आदरणीय दाई सुदर्शनराज पाण्डेको पार्थिव शरीरलाई अब चितामा राखियो । उहाँका जेठा छोरा सुरजराज पाण्डेले दागबत्ति दिदै चितामा आगो लगाउनु भयो । आगो दन्किन थाल्यो । भौतिक शरीर खरानी हुँदै थियो । मेरो मनमा पीडाबोधको भारी थियो । सहभागी सबैको मनमा पनि यस्तै थियो होला । नचाहदा –नचाहदै भौतिक शरीर खरानीमा परिणत भयो । भौतिक शरीर खरानी भएपनि तर आदरणीय दाईको विचार भने खरानी भएको थिएन । त्यो आगोसंगै चम्कीरहेको थियो । वर्गदुश्मनसंग आगो जस्तै भएर झम्टिने कसम खादै थियो । सहिद सिजनराज पाण्डे लगायतका सबै सहिदहरुको अधुरो सपना पूरा गर्ने दायित्व बाेक्दै थियो । त्यो दायित्वको भारी हाम्रो काँधमा पनि थियो । एउटा महान आदर्श पत्रकार क्रान्तिकारी विचार बोकेका आदरणीय दाई पाण्डेको विचारलाई हामी बाँचेकाहरुले आत्मासात गरौं ।  यही नै आदरणीय दाई सुदर्शनराज पाण्डेप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।  आदरणीय दाईप्रति फेरी  पनि  हार्दिक श्रद्धासुमन !
(पत्रकार सुदर्शनराज पाण्डेको निधन भएपछि २०८१ भाद्र २७ गते राति)

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।