३० आश्विन २०८१, बुधबार

नेपालगन्जमा मध्यपश्चिम नामको सहकारीको ठगी धन्दाः ‘३० लाख ऋण लगानी, ८५ लाखको तमसुक’

0

बाँके । नेपालगन्ज उप–महानगरपालिका वडा नम्वर १७ सदरलाईनमा कार्यालय रहेको मध्यपश्चिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक सोझो महिलामाथि ३० लाख ऋण लगानी गरेर ८५ लाखको तमसुक बनाएको रहस्य बाहिरीएको छ ।
सहकारीको कार्यालय राखिएको घरकै घरभेटी ‘उपमा टण्डन’लाई २०८० सालको असार ५ गते ३० लाख ऋण लगानी गरेकोमा सहकारीले झुक्याएर थप ५५ लाखको अर्को तमसुक बनाएर ठाडो ठगी धन्दा गरेको रहस्य वाहिरिएको हो ।
सहकारीले उपमाको नाममा असार ५ गते ३० लाख ऋण लिएको पहिलो तमसुक गरेको छ । यस्तै ५५ लाख ऋण पनि त्यही दिन लिएको अर्को तमसुक पनि छुट्टै गरेको छ । पीडित उपमा र उनका छोराले भने खाली पेपरमा हस्ताक्षेर गर्न लगाएर अर्को तमसुक खडा गरेको आरोप लगाएका छन ।
सहकारीले घरभेटी उपमा टण्डनको नाममा रहेको करोडौ मुल्यपर्ने कित्ता नम्वर ९,३ र ३० को ३९३.५७ वर्गमिटरको जग्गा र सुविधासम्पन्न २ तले घर हड्प्ने नियतले थप ५५ लाखको नक्कली ऋणको तमसुक बनाएको उपमा टण्डनका जेठा छोरा जयन्त कुमार टण्डनले दाबी गरेका छन् ।
उनले आमा बिरामी भएर उठन नसक्ने हुँदा पनि सहकारीमा आफ्नै बचत गरेको रकम उपचारका लागि माग्दा पनि फिर्ता नदिएको दुखेसो पोखेका छन् । जयन्तले आफूले लिएको ऋण तिर्न तयार भएपनि नलिएको ऋण भिराएर तिर्न उर्दि गरेर घरजग्गा लिलाममा लगाएको भन्दै न्यायको लागि अपिल गरेका छन् ।
सहकारीले ऋण लिएको एक वर्ष भित्रै एक स्थानीय पत्रिकामा घर जग्गा लिलामको सूचना पनि प्रकाशित छ । कानुनी रुपमा सबै नक्कली काजजातहरु खडा गरी घर जग्गा हड्प्ने उद्देश्यले विभिन्न प्रयासहरु गरिएको स्थानीयवासी सुरज कुमार पटहरले बताए ।
तर पीडित उपमा दण्डनले सहकारीको सो रबैया विरुद्ध उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा घर जग्गा लिलाम हुनबाट रोक्न प्रमादेशको आदेश माग गर्दै हालेको उजुरीले तत्कालका लागि अदालतले स्टेअडर जारी गरेको छ । उच्च अदालतका न्यायधिस पुनम सिंह चन्दको एकल इजलासले यही असोज १५ गते घर जग्गा लिलाम विक्रि रोक्न विपक्षका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको अन्तरितम आदेशमा भनिएको छ ‘निवेदकले अन्तरिम आदेश माग गरेको विषय तर्फ हेर्दा प्रस्तुत निवेदनको प्रकृति,अवस्था र गाम्भिर्यता समेतवाट विपक्षीयको लेखित जवाफ परेपछि पुर्नविचार हुने गरी हाल निवेदनमा उल्लेखित विपक्षीयवाट मिति २०८१ भदौ १३ मा प्रकाशित सूचना वमोजिम निवेदकको घर जग्गा लिलाम नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ वमोजिम विपक्षीयहरुका नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’
अदालतको यो आदेशपछि तत्कालका लागि टण्डन परिवारको घर जग्गा लिलाम हुन रोकिएपनि समस्या भने समाधान भएको छैन ।
पीडित उपमाका छोरा जयन्तले अदालती प्रक्रियावाट मात्र नभएर यसवारे केही सहयोग गर्न नेकपा बाँकेलाई निवेदन दिएका छन । नेपाल कम्युनिष्ट पार्टी बाँकेले यो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
बुधबार यस विषयमा बुझविस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी बाँकेका इन्चार्ज रक्तिम, सेक्रेटरी कल्पना सहितको टोली सहकारीको कार्यालयमा पुगेर प्रारम्भिक बुझविस्तार गरेको छ । टोलीले पीडित उपमाको स्वास्थ्य अवस्थावारे समेत जानकारी लिएको छ ।
उपमा मधुमेह रोगले थला परेकी छन । उठन र बोल्न पनि कठिन छ । यो बेला मानवीयता समेत गुमाएर सहकारीले घर जग्गा कव्जा गर्ने नियत बनाएर फसाएको पीडित परिवारको दुखेसो छ । नेकपाको टोलीले याथशिघ्र सहकारीलाई समस्याको समाधान दिन आग्रह गरेको छ । यदि समस्या समाधानमा गम्भीर नभए पार्टीले कुनै पनि मुल्यमा पीडितलाई न्याय दिएर छोड्ने प्रतिबद्धता जनाएको छ ।
सहकारीका कोषाध्यक्ष रहेका छविलाल यादवले सहकारीका अध्यक्ष सहितको टिम वोलाएर छलफल गरी समस्याको समाधान खोज्न आफू तयार भएको नेकपाको टोलीसंग बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।