७ माघ २०८१, सोमबार

पद, पैसा र कुर्सीका लागि अरु पार्टीहरु देश बेच्न तयार छन् : विप्लव सी

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पद, पैसा र कुर्सीका लागि अरु संसदवादी पार्टीहरु देश बेच्न तयार भएको खुलासा गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दियाको संयुक्त राजनीतिक कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शुक्रबार जिल्लाको बाँसगढीमा सम्बाेधन गर्दै महासचिव विप्लव सीले पद, पैसा र कुर्सीका लागि अरु संसदवादी पार्टीहरु देश बेच्न तयार भएको खुलासा गरेका हुन् ।
उनले संसदवादी पार्टीहरुको यस्तो कुकर्म भनेको आफ्नो आमालाई बेच्न खाेज्नु भएको बताए । उनले भने ‘नेपाललाई कुनै पनि बेला पद, पैसा र कुर्सीका लागि संसदवादी पार्टीका नेताहरु बेच्न तयार छन्, एमसीसी गरेका छन्, एसपीपी गर्ने षड्यन्त्र गरिरहेका छन्, नेपालको सार्वभौम अधिकारलाई विदेशीको हातमा सुम्पने दलालहरुको कुनैपनि भर गर्ने अवस्था छैन ।’
उनले नेपालको प्रमुख समस्या भनेको दलाल पुँजीवाद भएको दाबी गर्दै नेपालमा दलाल पुँजीवाद र नेपाली जनताबिचको अन्तरविरोध प्रधान अन्तरविरोध बनेको बताए ।
‘नेपालका दलालहरुलाई देश र जनताको कुनै मतलव छैन, उनीहरुलाई केवल पद,पैसा र कुर्सी भए पुग्छ’ महासचिव विप्लवले भने, ‘नेकपाको संघर्षले अमेरिकी साम्राज्यवाद उदाङ्गिएको छ, अमेरिकाले एमसीसीमार्फत नेपालमा सेना ल्याउन चाहन्थ्यो, हाम्रो संघर्षकै कारण रोकिएको छ, संघर्ष अझै जारी छ, भर्खरै लफ्सीफेदीमा हाम्रा १७ जना कार्यकर्ता पक्राउ गरेको छ, यो साम्राज्यवादको दलाल सरकार भएर हो ।’
उनले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको ठोकुवा गर्दै नेपालमा अवस्था होइन व्यवस्था नै परिवर्तन गर्नुको विकल्प नभएको टिप्पणी गरे ।
महासचिव विप्लवले नेपालमा पछाडि फर्केर होइन अगाडि बढेर नेपाली विशेषताको समाजवादको बाटोबाट अग्रगामी निकास खोज्नु पर्ने बताए ।
महासचिव विप्लवले नेपाली विशेषताको समाजवादमा जाने जुनसुकै शक्तिसंग सहकार्य गर्न नेकपा तयार भएको भनाई राखे ।
उनले नेकपा ०८४ को चुनावलाई क्रान्तिको एउटा मोर्चाको रुपमा उपयोग गर्न तयार भएको बताउदै चुनावमा जाने वातावरण बनाउन सरकारलाई तीन बुँदे सहमति कार्यन्वयन गर्न आग्रह गरे ।
‘हामी कुनै हिंसात्मक युद्ध चाहदैनौ, शान्तिप्रिय भनेका सबभन्दा कम्युनिष्टहरु हुन्, हाम्रो पार्टी शान्तिपूर्ण रुपमा नेपालमा समाजवाद ल्याउन चाहन्छ’ महासचिव विप्लवले भने ।
उनले यदि सरकारमा हुनेहरुले दमन गरे, जनतालाई अधिकार दिन तयार नभए नेकपा चुप लागेर नवस्ने पनि चेतावनी पनि दिए ।
उनले नेकपाको राजनीतिक कार्यदिशा, कार्यक्रम र योजना मुलत अहिलेसम्म सफल हुँदै आएको दावी गर्दै नेकपाको एजेण्डामा देश अगाडि बढेको जिकिर गरे ।
नेकपाका स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेशका इन्चार्ज सन्तोष सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले दिएका थिए भने संचालन नेकपाका बाँके जिल्ला इन्चार्ज रक्तिम सीले गरेका थिए । कार्यक्रममा बाँके बर्दिया जिल्लाका करिव २ सय बढी कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रम सुरु हुनुपूर्व नेकपाका महासचिव विप्लवलाई थारु पहिचान झल्कीने भेषमा भव्य स्वागत समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।