३० आश्विन २०८१, बुधबार

गृह जिल्लामा नेकपाका स्थायी समिति सदस्य शिलुको जनभेटघाट, नेकपा गोरखाको अभियान सुरु

0

गोरखा/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) यतिबेला गृहजिल्ला गोरखामा छिन् । उनले दशैंको अवसर पारी विभिन्न क्षेत्रबाट गाउँ आएका युवा विद्यार्थीहरुलाई भेटघाट गरेकी छिन् । युद्धकालिन समयदेखि गोरखाले माओवादी आन्दोलनको लागी गरेको योगदान सम्झदै पूर्व सहकर्मी, सहिद परिवार एवम् जनताहरुलाई भेटघाट गरिरहेकी छिन् । सहिद भिमसेन पोख्रेल क. बैरागीकी आमा तिलमाया पोख्रेललाई घरमा पुगेर नेता शिलुले भेटघाट गर्दै अबको केही दिन गोरखाका सहिद परिवार र जनस्तरमा भेटघाट गर्ने बताइन् ।
यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी गोर्खा जिल्लाले ‘जनभेटघाट अभियान’ सुरु गरेको छ । जिल्लाको अजिरकोट गाउँपालिकाबाट अभियान सुरु गरेको हो ।
दशैं मान्न गाउँ आएका युवाहरुलाई लक्षित गर्दै भेटघाट अभियान सुरु गरिएको जिल्ला इन्चार्ज कपिल सीले जानकारी दिए । जनभेटघाटसङ्गै पार्टीले स्थानीय जनप्रतिनिधिसङ्ग कार्यप्रगती विवरण, विकास निर्माणका कामहरुको अवलोकन, युवाहरुसङ्ग अन्तरक्रिया, ग्रामिण क्षेत्रबाट पलायनताको समस्या लगायतका बारेमा पनि जनभेटघाटमा समेट्ने इन्चार्ज कपिलले बताए ।
जनभेटघाटको क्रममा नेकपाका स्थायी समिति सदस्य एवम् गण्डक प्रदेशका इन्चार्ज उमा सीले राजनीतिक पार्टीप्रति जनताका बितृष्णा, जनताका जनगुनासोको सम्बोधन लगायत जनताका सामाजिक मनोविज्ञान बुझ्न सहयोग गरेको बताइन् । उनले गाउँहरू शुन्य बन्दै गइरहेको र युवाहरुको तीब्र पलायनतालाई रोक्न पार्टीले नीति बनाउनको लागि समेत यो अभियानले सहयोग गर्ने बताइन् । आफ्नो गृहजिल्ला गोर्खा पुगेकी शिलुले गोर्खाका पूर्व माओवादी, युवा वर्ग, विद्यार्थी, महिला लगायत भेटघाट गर्ने र सङ्गै जनताका समस्याबारे बुझ्न यो अभियान प्रभावकारी हुने बताइन् ।
गोर्खाका विभिन्न पालिकामा पुगेर त्यहाँको विकास निर्माणको अवस्था, जनताको जनजीविका, राजनीतिक नेतृत्वप्रति गुनासो, ग्रामिण र स्थानीय पर्यटकीय क्षेत्रको विकास लगायतका विषयमा पनि अभियानमा छलफल गरिने बताइएको छ । अभियानकै क्रममा सहिद परिवारहरुसङ्ग पनि भेटघाट एवम् छलफल गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।