
गोर्खा/ नेपाल कम्युनिष्ट पार्टी का स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले गोरखाको अजिरकोट गाउँपालिकाको समग्र गतिविधिबारे चासो राखेका छन् ।
बिहीबार गाउँपालिकाका अध्यक्ष दीपक देवकोटासङ्ग भत्चेकमा भेटघाट एवम् छलफल गर्दै नेता शिलुले अजिरकोट गाउँपालिकाले जनस्तरमा लागू गरेका कार्यक्रम, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका अवस्थाको बारेमा गाउँपालिका प्रमुखसङ्गको भेटमा चासो राखेकी थिइन् । उनले अजिरकोटमा माओवादी नेतृत्वले नेतृत्व गरेपछि जनतामा आशाको सन्चार हुनुपर्नेमा त्यो तहबाट नभएको र गाउँका धेरै आम जनताले विकास निर्माण लगायतका विषयमा जनगुनासो गरेको भन्दै माओवादीले जित्नु समग्र आन्दोलनको जित भएको र त्यस अनुसार स्थानीय सरकारलाई जनस्तरमा कामले स्थापित गर्न सुझाव राखेकी थिइन् ।
यस्तै नेकपाका गोरखाका इन्चार्ज कपिल सीले पालिकाका विकास निर्माणमा धेरै घोटाला हुने गरेको जनताको गुनासो रहेको र त्यस्ता गुनासोलाई पालिकाले सम्बोधन गर्नुपर्ने बताए । नेता कपिलले अरु नेतृत्वलाई भन्दा माओवादी नेतृत्वलाई जनताले बढी सुशासनको अपेक्षा गर्ने भन्दै त्यो पूरा गर्न नियमित जनतासङ्ग जोडिनुपर्ने सुझाव राखेका थिए ।
यस्तै पालिकाका अध्यक्ष दिपक देवकोटाले विगतभन्दा धेरै परिवर्तन गरेपनि आफूहरुले सोचेजस्तो गर्न नसकेको बताए । उनले राज्यका कतिपय नीतिगत विषयले गर्दा जनताका काम सहज ढङ्गले गर्न नपाएको भन्दै अब केही विषयहरु सुधार गरेर जाने सोचेको समेत बताएका थिए ।
यस्तै गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षसङ्ग पनि भेटघाट र छलफल गरिएको थियो । समाजवादी ट्रेड युनियन महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष टेक सीले जनतासङ्ग प्रत्यक्ष जोडिने वडा कार्यालयहरुले विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने र नियमित अनुगमन गर्नुपर्ने सुझाव राखेका थिए । भेटघाट पश्चात पालिकामा सन्चालित विभिन्न विकास निर्माणका पूर्वाधार र परियोजनाको अनुगमन समेत गरिएको थियो ।