१० कार्तिक २०८१, शनिबार

नेकपा गण्डकी प्रदेश इन्चार्ज शिलुद्वारा भेटघाट तीव्र

0

पोखरा/ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले भेटघाट तिब्र बनाएकी छन् ।
गण्डकी प्रदेशको सदरमुकाम समेत रहेको कास्कीको पोखरामा रहेका विभिन्न कार्यालय प्रमुखहरुसङ्ग भेटघाट गरी पार्टी गतिविधिको जानकारी एवम् पार्टीप्रति सुझाव मागेकी हुन् ।
भेटघाटको क्रममा नेता शिलुले प्रदेश न्यायधिवक्ता चिरञ्जीवी शर्मा पौडेलसङ्ग भेटघाट गर्दै सरकारले बनाएका कतिपय नीतिगत त्रुटीका कारण आम नागरिकले दु:ख पाएको बताइन् । उनले बेला बेलामा न्यायधिवक्ताको कार्यालयले जनतासङ्ग सल्लाह सुझाव लिएर कानुनहरु संशाेधनको लागी सुझाव राख्नुपर्ने समेत उनको जोड थियो । शिलुले जनतालाई न्यायलयप्रति विश्वास रहेपनि त्यसको कार्यविधिप्रति विभिन्न आशङ्का रहेको भन्दै जनतालाई न्यायलय, न्यायधिवक्ताको कार्यालय र समग्र कानुनप्रति जवाफदेही र उत्तरदायी बनाउनुपर्ने जोड रहेको थियो । यस्तै छलफलको क्रममा गण्डकी प्रदेशका न्यायधिवक्ता चिरन्जिवी शर्मा पौडेलले नेता शिलुले दिएको महत्वपूर्ण सुझावको लागी धन्यवाद दिएका थिए । उनले जनस्तरबाट पनि सरकारलाई एवम् कानुनी राज्यलाई सहयोगी भूमिकाको अपेक्षा गरिने र जनतालाई राज्यबाट सहज अनुभूति गराउन प्रयत्न गरिएको बताएका थिए ।

यस्तै गण्डकी प्रदेश सचिव रघुनाथ बिष्टसङ्ग पनि शिलुले छलफल गरेकी छिन् । बिहीबार पोखरास्थित कार्यालयमा भेटघाट गर्दै प्रदेशका विकासनिर्माणबारे चासो व्यक्त गरेकी थिइन् । सङ्घीयताले जनतालाई सहज सेवा र समान विकासको प्रत्याभुत गराउनुपर्नेमा त्यसको विपरित सङ्घीयता खारेज गर्नुपर्ने वा सङ्घीयता विरोधी आवाजहरु सुनिनु दुखद भएको भन्दै नेता शिलुले स्थायी सरकारको रुपमा रहेका कर्मचारीहरुले जनतालाई सहज सेवा दिन र जनतामा सरकारको सन्चार गराउनुपर्ने बताइन् । सङ्घीयता लागू गर्ने मुख्य जिम्मेवारी कर्मचारीमै रहेको भन्दै उनले सङ्घीयता आन्दोलनको उपलब्धी भएको यसको रक्षा गर्दै थप जनमूखी बनाउन आवश्यक रहेको बताइन् । प्रदेशका प्रमुख सचिव रघुनाथ विष्टले विगतमा भन्दा कर्मचारीमा धेरै परिवर्तन आएकोले जनतामा सेवा सहज भएको बताए । उनले प्रदेशका गौरवका आयोजनाहरु पनि निर्माणको क्रममा रहेकोले प्रदेशले छिट्टै नयाँ विकासको अनुभूत गर्ने कुरा बताए ।
यस्तै बिहीबार नै पोखरास्थित कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीसङ्ग पनि नेता शिलुसहित नेकपाका नेताहरुले भेटघाट गरेका थिए । कृषि प्रधान देशमा किसानहरुले आफ्नो उत्पादनले बजार नपाउने बिषय उठाउदै कृषकले उत्पादनका साधन, बिउ र अनुदानहरु खास किसानले प्राप्त गर्नुपर्ने विषय उठाइएको थियो । नेकपाले देशव्यापी रुपमा उत्पादनमा गरेको उपलब्धीबारे जानकारी गराउदै प्रदेश र जिल्लाहरुले कृषिमा लगानी गर्दै पार्टीलाई आत्मनिर्भर बनाउने अभियानमा लागेको नेकपाका केन्द्रीय सदस्य कपिल सीले जानकारी गराएका थिए ।
यस्तै जवाफमा रेग्मीले नेकपाले उत्पादनमा गरेको क्रान्ति प्रशंसायोग्य भएको बताएका थिए । कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुन कृषि सामग्री र अनुदान समेत उपलब्ध गराउने प्रतिबद्दता रेग्मीको थियो ।
भेटघाटमा नेकपाका गण्डकी प्रदेश इचार्ज शिलुसहित नेकपाका केन्द्रीय सदस्य कपिल सी, अखिल (समाजवादी) का सचिव प्रकाश सी लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।