तनहुँ/ नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश यतिबेला धान धन्क्याउने काममा व्यस्त छ । शनिबार प्रदेशका इन्चार्ज शिलु सी, केन्द्रीय सदस्य एव तनहुँ इन्चार्ज निसान सी लगायत नेता कार्यकर्ताहरु प्रदेश र तनहुँ जिल्लाले सम्युक्त रुपमा लगाएको बन्दिपुर ४ झप्रीको धान काटेर धन्काउन व्यस्त थिए ।
करिब २ विघा क्षेत्रफलमा लगाईएको धान काट्न केही दिनदेखि नेताहरु लागेका हुन् । गण्डकी प्रदेशका सबै जिल्लाहरुमा धान लगायतका विभिन्न, तरकारीजन्य नगदेबालीहरु उत्पादन भैरहेका छन् । धेरै जिल्लाले धान काटेर धन्क्याइसकेका छन् भने केही जिल्लाहरुमा बाँकी रहेको प्रदेश इन्चार्ज शिलुले जानकारी दिइन् ।
यस्तै धान बाली धन्क्याए लगत्तै प्रदेश कार्यालयले झण्डै ५ रोपनी क्षेत्रफलमा आलु रोप्ने तयारी गरिरहेको छ । प्रदेश मातहतका अन्य जिल्लाहरुमा पनि आलु रोपिनेछ । आलु अहिले देशभर नेकपाले आफ्नो उत्पादनमा समेटेर लगाउने काम गरिरहेको छ । यसअघि नै नेकपाले आलु खरिद कम्पनीसङ्ग सम्झौतासमेत गरिसकेको छ ।