१८ पुष २०८१, बिहीबार

नेकपा दाङको समिक्षात्मक बैठक-‘उत्पादनको नीतिले जनता पार्टीप्रति आकर्षित भएको निष्कर्ष’

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो समिक्षात्मक बैठक सम्पन्न भएको छ ।
बुधबार घोराहीमा सम्पन्न बैठकले उत्पादनको नीतिले जनता आकर्षित भएको निष्कर्ष निकालेको छ ।

बैठकमा रिपोर्टिङ राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज पदम सीले भने,– ‘पार्टीको उत्पादन नीतिले जनता पार्टीप्रति आकर्षित भएका छन् । हामीले यो नीतिलाई अझ व्यवहारिक ढंगले प्रयोग गर्दै उत्पादनलाई प्रविधिसंग जोडेर बृहत्तर उत्पादनको दिशामा अघि बढ्नुपर्छ । नयाँ युवाहरुलाई पार्टीलाई कसरी जोड्न सकिन्छ यो विषयमा सोच्न जरुरी छ । अहिलेका युवाहरु होहल्लाको भरमा अन्यत्रै मडारिने खतरा छ, हामीले ती युवाहरूलाई परिश्रमी, मेहनती, क्रान्तिकारी बनाउँदै देश बनाउने महान अभियानमा जोड्नुपर्छ ।’

यस्तै बैठकमा रिपोर्टिङ गर्दै पार्टीका राप्ती गाउँकमिटीका इन्चार्ज सुरज सीले पार्टीको आत्मनिर्भरताको महान अभियानले जनता नेकपाप्रति आकर्षित भएकाले यो अभियानलाई अझ विशाल बनाएर अगाडि बढाउनुपर्ने बताए ।

यस्तै समिक्षात्मक बैठकमा जिल्ला न्याय विभाग प्रमुख निर्मल सीले भने– ‘ पुरानो सत्ताबाट जनता सन्तुष्ट छैनन् । यो सत्तामा न्याय अप्त्यारिलो र झन्झटिलो छ । त्यसकारण हाम्रो पार्टीले जनतालाई निष्पक्ष ढंगले न्याय दिलाउन सक्नुपर्दछ । यो जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न सक्नुपर्छ । हामी जनतामा स्थापित हुनुपर्दछ। संसदीय सत्तामा जनता सन्तुष्ट छैनन् त्यसकारण हामीले समाजवादी व्यवस्थाको विकल्पलाई जोडदार ढंगले उठाउदै जानुपर्दछ ।’

यस्तै पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले नेकपाका नेताकार्यकर्ताको काँधमा ऐतिहासिक र गहन जिम्मेवारी आएको बताए ।

उनले भने– ‘ देश इतिहासकै सर्वाधिक संकटको घडिमा छ । राजनीतिमा दलाली, अर्थतन्त्र चौपट्टै भएको छ । करोडौं युवाहरु विदेशमा सस्तो श्रम बेच्न बाध्य पारिएका छन् । करोडौं युवाहरुको रेमिटेन्समा यो देशका शासकहरुले हालिमुहाली गरिरहेका छन् । मुलुकका स्रोत, साधन नदीनालाहरु विदेशी साम्राज्यवादीलाई बुझाएर यहाँ दलालहरुले शासन गरिरहेका छन् । हाम्रो पार्टीको काँधमा यो दलाल पुजीवादी संसदीय सत्ता ढाल्नैपर्ने ऐतिहासिक जिम्मेवारी आएको छ । यसका लागि नेताकार्यकर्ता कुशल, रचनात्मक एवम सिर्जनशिल हुँदै समाजवादी सपनामा प्रतिबद्ध हुनुपर्दछ ।’

समिक्षात्मक बैठकमा बोल्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सीले दलाल पुजीवादको विकल्पमा समाजवादी सत्ताको नेकपाको आन्दोलन जनतामा व्यापक ढंगले पुगेको बताए ।

‘मान्छेहरुले यो पार्टीले केहि गर्न सक्दैन भनेर आँकलन गरिरहेका थिए तर हामी नेपालको राजनीतिमा वैकल्पिक शक्तिको रुपमा उदाएका छौँ । नेकपाले अहिलेको दलाल पुजीवादी संसदीय सत्ताको विकल्पमा वैज्ञानिक समाजवादको प्रस्ताव अगाडि सारेको छ । यो प्रस्तावमा नेपाली जनता लामवद्ध हुँदैछन् । जनताले एकपटक समाजवादी सत्ता र महासचिव विप्लवको नेतृत्व खोजिरहेका छन्, हामी त्यो अभिभारा पूरा गर्न प्रतिवद्ध रहने छौँ,’ उनले भने।

नेता सविनले कम्युनिस्ट पार्टी र त्यसका नेताकार्यकर्ता कस्तो हुनुपर्दछ भन्ने कुरा व्यवहारमा नेकपाले पुष्ठि गरेको बताए ।
उनले भने – हामीले पार्टीका प्रत्येक नेताकार्यकर्तालाई उत्पादनमा जोडेका छौँ । हाम्रो पार्टीको मिसन आत्मनिर्भर अभियान देशव्यापी चलेको छ । प्रत्येक नेताकार्यकर्ता आत्मनिर्भर, पार्टी आत्मनिर्भर र समग्र देशलाई आत्मनिर्भर बनाउने नेकपाको यो अभियान वास्तविक कम्युनिस्ट पार्टीको आदर्श हो । यो महान उदेश्य प्राप्तिका लागि समर्पित मान्यता हो । हामी यो देशलाई आफ्नै पौरख र पसिनाले समृद्ध बनाउन चाहेका छौँ । विदेशीसंग भिख मागेर, लम्पसार परेर देश बन्दैन । मुलुक आफ्नै देशका युवाहरुलाई समाजवादी सपनाले सुसज्जित गरेर मात्रै बन्ने हो । समाजवादमा मात्रै वास्तविक शान्ति, समृद्धि र स्वाधीनता प्राप्त हुने हो ।’

नेता सविनले नयाँ प्रस्तावमा माओवादीहरुको एकता हुने समेत बताए ।
उनले नेकपासंग तत्कालीन केपी वली नेतृत्वको सरकारले गरेको तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गरेका थिए ।

नेकपा दाङका सेक्रेटरी तिलक सीको अध्यक्षता एवम सञ्चालनमा भएको तेस्रो समिक्षात्मक बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु सम्झना सी, प्रदिप सी, पाटन सी एवम केन्द्रीय प्रतिनिधि समितिका सदस्यहरु तथा जिल्ला समितिका सल्लाहकारहरुको आतिथ्यता रहेको थियो ।

समिक्षात्मक बैठक एकीकृत जनक्रान्तिका सहिद गोकुल राणा (क.महान) को स्मारक निर्माणको कार्य अविलम्ब सुरु गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।