१२ पुष २०८१, शुक्रबार

नेकपाले किन गर्दैछ विचार संश्लेषण ?

0

                 अनिल सी

 

नेपाल कम्युनिस्ट पार्टीको नवौँ केन्द्रीय समितिको छैठौं पूर्ण बैठक हालै सम्पन्न भएको छ । बैठकले विचार संश्लेषण गर्ने निर्णय गरेको छ । जसको पक्ष र विपक्षमा धारणाहरू आउन थालेका छन् । यहाँ सोही विषयमा सन्दर्भगत चर्चा गरिएको छ ।

(क) संश्लेषण  किन ?

माओत्सेतुङको मृत्युपछि सर्वहारा वर्गको नेतृत्वमा (नेपालको सन्दर्भमा श्रमिक वर्गको नेतृत्वमा क्रान्ति भएको छैन । विश्वभरि प्रयासहरू, विद्रोहहरू भएका छन् । तर सफल भएका छैनन् । पुँजीवाद कायम छ तर यो समाधान होइन भन्ने देखिन्छ । पुँजीवाद भन्दा विघटित समाजवाद नै श्रेष्ठ व्यवस्था हो भन्ने पुष्टि भएको छ । तर लेनिन र माओकालीन व्यवस्थाले आजका समस्या तथा जनअपेक्षा पूरा गर्न सक्दैन ।

त्यसकारण नयाँ दर्शन (विचार, कार्यदिशा) आदि आवश्यक छ। नयाँ विचारको आधारमा राजनीति, संस्कृति, चुनाव, अर्थनीति, सत्ताको स्वरूप नयाँ आवश्यक हुन्छ । त्यस विषयमा हामीले आफ्नो विचार र व्यवहार प्रस्तुत गरिरहेका छौँ । त्यसलाई थप व्यवस्थित र सूत्रबद्ध गरेर ’विचार संश्लेषण’ गरिँदैछ ।

(ख) विश्वमा विचार संश्लेषणको प्रयास

माओको मृत्युपछि पेरुमा गोन्जालोले ‘गोन्जालो विचार’ भनेर माक्र्सवादलाई विकास गर्ने प्रयास गरे । तर त्यो प्रयास क. गोन्जालोको मृत्युपछि सफल हुन सकेन । अमेरिकी कम्युनिस्ट पार्टी आरसिपीका अध्यक्ष बव अभाकियनले ‘न्यू सेन्थेसिस’ भन्दै विचार संश्लेषणको प्रयास गरेका छन् । भाकपा (माओवादी) ले आफ्नो पार्टी विचार संश्लेषणको तहमा पुगिनसकेको, त्यो आवश्यक नभएको भने पनि पुरानै विचारमा मात्र अडेको छैन । दक्षिण अमेरिकी देशमा कम्युनिस्ट लहर छ र भेनेजुयलाले नयाँ जमर्को  गरिरहेको छ ।

नेपालमा ५० को दशकमा तत्कालीन एमाले र माओवादी पार्टीहरु विचमा विचार र व्यवहारमा मुख्य प्रतिस्पर्धा थियो । मदन भण्डारीको नेतृत्वमा बहुदलीय जनवादमा विचारधारात्मक शृङ्खला थिए । तर भण्डारीको मृत्युसँगै त्यसको अवसान भयो । २०५२ सालपछि नेपाली कम्युनिस्ट आन्दोलनमा माओवादी र जनयुद्ध हाबी भयो । जनयुद्धको दर्शनलाई प्रचण्डपथ नामकरण गरियो । भाकपा (माओवादी) ले प्रचण्डपथप्रति असहमति जाहेर गरेको थियो । भाकपा (माओवादी) का पिविएम क. अरविन्दले प्रचण्डपथमा कुनै मौलिक दर्शन नभएको हामीसँगको छलफलमा बताएका थिए ।

आज सी जिन पिङ विचार र रुसी सत्तारुढ पार्टी निकट चिन्तकहरूले पनि नयाँ दर्शनको बहस अगाडि सारेका छन् । त्यसले बताउँछ कि पुरानो दर्शन र समाज व्यवस्थाको विकल्प विश्वभरि खोजी भइरहेको छ । नेपालमा पुरानो व्यवस्था र दर्शनले वर्तमानका चुनौतीको सामना गर्न सकिन्न भन्ने सबैको धारणा देखिन्छ । तर के कसरी त ? सबैका फरक–फरक धारणा छन् । क्रान्ति र परिवर्तनको लागि दर्शनमा विकास गर्नुपर्छ । किनकि दर्शन (फिलोसफी) भनेको आफ्नो समयको बौद्धिक सारतत्व हो । बौद्धिक सारतत्वमा योगदान नगरीकन संसार बुझ्न–बुझाउन सकिन्न र संसार नबुझिकन बदल्न सकिन्न । तसर्थ हामीले वैचारिक संश्लेषण गरेर श्रमिक वर्ग र मित्र शक्तिलाई अपिल गर्ने निर्णय ग¥यौँ ।

(ग) एकता र ध्रुवीकरण

हाम्रो देशमा अमेरिकी हस्तक्षेप असामान्य रूपमा बढिरहेको छ। राज्यका संवेदनशील संस्था र व्यक्तिहरू पराश्रित भएको आरोप छ। देशलाई श्रम–शक्ति र कच्चा पदार्थविहिन बनाइदिन्छ ।परनिर्भरताले राष्ट्रिय सुरक्षा कमजोर हुन्छ । पराश्रित–दास नागरिकमा स्वाभिमान र प्रतिरोधी भावना कमजोर हुन्छ । बिहान बेलुका खानपनि अर्काको मुख ताक्नु पर्ने  अवस्था छ । कम्युनिस्टबिच यदुवंशी खेल चलिरहेको छ । माओवादीलाई शहरबाट लखेटिसकेका छन्। अब एमालेलाई काठमाडौँबाट  लखेट्ने  प्रपञ्च चलिरहेको छ । एमालेमाथि विचार र राजनीतिमाथि आक्रमण नभए पनि आर्थिक, सांस्कृतिक कोणबाट आक्रमण भइरहेको छ । बालेन, रवि, दुर्गाजस्ता शङ्कास्पद पात्रलाई उभ्याएर लडाइँदैछ । विप्लवको विचारमाथि नै आक्रमण छ । हरेक सरकारले ओली सरकार र नेकपाबिच भएको ३ बुँदे सहमतिप्रति बेवास्ता गरिरहेका छन् । समाजवादी मोर्चालाई  घोचपेचको अस्त्र र चुनावी दाउपेच बनाइयो ।

प्रचण्डको कारण उक्त मोर्चा विघटनको  संघारमा छ। विश्व भूराजनीतिक स्वार्थको टक्करमा नेपाल परेको छ । साम्राज्यवादले सर्वप्रथम कम्युनिस्टमाथि र अन्तिममा देशभक्तहरूमाथि आक्रमण गर्दछ । देशभक्तको नाममा राजेन्द्र लिङ्देल र कम्युनिस्टको नाममा बुख्याचाहरु तयार गरेर ‘मियाँ की जुत्ती मियाँ की सरपर’ भने झै  भइरहेको छ। तसर्थ एकता र ध्रुवीकरण साम्राज्यवादसँग लड्ने सोचले पैदा गरेको चिन्तन हो।

(घ) जनयुद्ध र एकीकृत जनक्रान्ति

जनयुद्धका उपलब्धिहरूलाई प्रचण्डपथमा संश्लेषण गरिएको थियो । त्यो विचारले गृहयुद्धमा जनतालाई जितायो । संसदीय व्यवस्था र उसको शाही सेना गृहयुद्धमा पराजित भैसकेको थियो । त्यस्तो अवस्थामा सम्राज्यवाद  शाही सेना र ज्ञानेन्द्र शाहको बैसाखी बनेर आयो। अर्को कोणबाट नेपाली क्रान्ति गृहयुद्धको चरणबाट राष्ट्रिय मुक्ति युद्धमा प्रवेश गर्दैगर्दा  दर्शन, राजनीति, संयुक्त मोर्चा  सबैतिर नयाँ विकास अनिवार्य बनेको थियो । त्यसको प्रयास हुँदै नभएको पनि होइन । तर विचारमा (दर्शन) विकास नगरी सेना, सङ्गठन, जनपरिचालनमा नयाँ प्रयास भयो। त्यो उल्टो यात्रा थियो। जसको निष्कर्ष प्रचण्डले सकिन्न भन्ने निष्कर्ष निकाले ।

एकीकृत जनक्रान्ति साम्राज्यवादसँग लड्ने र समाजवादी क्रान्ति गर्ने दर्शन हो । किनकि दलाल पुँजीवाद विश्व पुँजीवादको स्थानीय प्रतिनिधि हो । गृहयुद्धको तरिकाले साम्राज्यवादसँग लड्न सकिन्न । तसर्थ प्रचण्डपथ सामन्तवाद र नोकरशाही पुँजीवादसँग लड्ने दर्शन हो भने एकीकृत जनक्रान्ति दबाब पुँजीवादसँग लड्ने दर्शन हो।

(ङ) विचार निर्माणको चरण

समाजका समस्या देखेपछि मान्छेले त्यसको निदान र कारणको खोजी गर्न थाल्छ । जनयुद्धको पछिल्लो समय गणेशपुर मार्चामा शाही अमेरिका सेनाको रेन्जर बटालियनसहित प्रत्यक्ष पेन्टागनको सङ्ग्लनता र खारा मोर्चा र तिनको प्रभावले जनयुद्धले नयाँ विकासको माग गरेको थियो । प्रचण्डले सकेनन् वा उल्टो यात्रा गरे । त्यसपछि हामीले कसरी गर्ने ? के गर्ने? अनुसन्धान, खोज, बहस गर्न थाल्यो । त्यसबेला सोच–चिन्तन (Thinking ) गर्न थाल्यो । सोचअनुसार काम गर्ने वातावरण किरणसँग रहँदा भएन । त्यसपछि हामीले पृथक भएर काम गर्न थाल्यौ ।  वर्ग सङ्घर्ष, अन्तरसङ्घर्ष र अनुसन्धानले हामीमा विचारका श्रृङ्खला (Set of idies ) निर्माण भएको ठानेका छौँ । त्यसको प्रभाव समाजमा पर्न –देखिन थालेको छ । असल आचरण र व्यवहार असल चिन्तनका परिणाम हुन् । तसर्थ यो युगिन दायित्वलाई हामीले विचार वा पथ (Thought ) मा विकास गर्न चाहन्छौँ । पथ वा विचारले जगतमा गुणात्मक प्रभाव परेपछि वाद (ISM) मा पुग्न सकिन्छ । ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेझैं  हामीले महान् सपना देखेर  हिँडेका छौँ। पद नपाएर वा रिस फेर्न होइन । समयले फैसला सुनाउने नै छ । त्यसको लागि हामी तयार छौँ ।

(च) दर्शनको विकास कसले गर्ने ?

नेपाली कम्युनिस्ट आन्दोलनका केही बौद्धिक र पाका नेताहरूको योगदानप्रति  हामी ऋणी छौँ । तर उनीहरू दर्शन र ज्ञानको विषयलाई आफ्नो ठेक्का व्यवसाय  ठान्छन् । माओ र लेनिनले नबोलेको कुरा बोल्ने ?ठुला कुरा  गर्ने? मलाई नसोधीकन बोल्ने ? भनेर लौरो उचाल्छन् । तर हाम्रो धारणा के हो भने हेपिएका जनता तथा मान्छेले नै भौतिक विज्ञान र समाज विज्ञानमा योगदान गरेका हुन्। गौतम बुद्ध दरबार  छोडेर नै योगदान गरे । मार्क्स र एगेल्सलाई मूर्ख भनियो । लेनिनलाई अधिवक्ता बनेर सुख भोग्न सुझाइन्थ्यो । स्टालिन थोत्रा जुत्ता मर्मत गर्ने पिताका गरिब छोरा थिए । माओ त किसान भइहाले । मास्को बसेर डिग्रीको हल्लुँडो बोकेका वाङ मिलले चिनियाँ क्रान्तिको नेतृत्व गरेनन् । नेपाली क्रान्तिको विषयमा बिपी कोइराला, मदन भण्डारी  र प्रचण्डपछि  विप्लव सी र उनले निर्माण  गरेको विचार र पङ्ति हो। हामी प्रयासरत छौँ । अनुसन्धान र प्रयासलाई  डाह र पूर्वाग्रह होइन, सहयोग  गरौँ ! दर्शनको विकास जनता र उसका सामान्यजस्ता प्रतिनिधिहरूले नै गर्ने हो ।

श्रोत : रातोपाटी डटकम


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।