सुनसरी । नेकपाका महासचिव विप्लव सीले अहिले सत्तामा रहेका काङ्ग्रेस र एमालेले आफ्ना गल्ती र असफलताको ढाकछोप गर्न संविधान संशाेधनको नाटक मञ्चन गरिएको उल्लेख गरेका छन् ।
आज सुनसरीको धरानमा आयोजित पार्टी ध्रुवीकरण तथा राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संसदीय पार्टीहरुले देश र जनताको हितमा काम गर्दा कानुनले बाधा पुर्याए संशोधन गर्न आवश्यक भएपनि आफ्नो अपराध र गल्तीको ढाकछोप गर्न गरिने संशाेधन अपराध सरह भएको उल्लेख गरेका हुन् ।
पछिल्लो समय नेपाली काङ्ग्रेस, एमाले र माओवादी पुजीवादीहरुको पार्टी बनेको र उनीहरु चरम अपराधिक गतिविधिमा संलग्न हुँदै गएकाले आफ्ना असफलता र अपराधको ढाकछोप गर्न संविधान संशाेधन गर्न लागि परेका बताएका हुन् ।
नेपाली जनता र देशको हितमा काम गर्न असफल भएपछि जनतालाई कसरी ढाँट्न सकिन्छ भन्ने गलत मनसाय बोकेर हिँड्नेहरुले देश र जनताको हकहितका लागि काम गर्न नसक्नेसमेत विप्लवले ठोकुवा गरेका हुन् । अब देश र जनताको एक मात्र विकल्प समाजवादी व्यवस्था भएकोले अब सबै यहि बाटोमा आउनुपर्ने समेत विप्लवले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अहिले हरेक तह र तप्कामा माओवादी रहेको बताएका छन् ।
माओवादी जनयुद्ध लड्दै आएका माओवादीहरु अहिले नेपालका हरेक पार्टीमा रहेको र देशबाहिर समेत विभिन्न देशहरुमा माओवादी पुगेको उल्लेख गरेका हुन् ।
महासचिव विप्लवले जनयुद्ध लडेका लडाकु कमान्डरहरु अहिले रुस युक्रेन युद्धमा समेत नेतृत्व गरिरहेको बताउँदै अब फेरि सबै माओवादीहरु एकै ठाउँमा उभिने बेला आएको बताएका छन् । उनले आज विभिन्न पार्टीमा पुगेका पुराना माओवादी नेताकार्यकर्तालाई स्वागत गर्दै अब देशको नेतृत्व नेकपाले गर्ने समेत बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिका आफ्नो सेना लिएर नेपाल आउन चाहेको बताएका छन् । विप्लवले अमेरिकाले नेपालमा आफ्ना सेना उतारेर चिन घेर्ने, कम्युनिस्टहरुलाई सक्ने र दलालहरु खडा गरेर नेपालका प्राकृतिक स्रोत साधन कब्जा गर्ने नीतिका साथ अगाडि बढिरहेको बताएका हुन् ।
अमेरिकाले पछिल्लो समय नेकपाबाट असुरक्षित महसुस गर्दै राष्ट्रघाती एमसीसी परियोजना जबर्जस्त लाद्न दलाल राष्ट्रघातीहरुदेखि गुन्डागर्दीसम्म प्रयोग गरिरहेको उनले बताए ।
एमसीसी राष्ट्रघाती परियोजना रहेको र नेकपाले यसको विरुद्ध जस्तोसुकै संघर्ष गर्न तयार रहेको समेत विप्लवले उद्घोष गरेका छन् । विप्लवले सबैलाई यस विषयमा सचेत रहन अनुरोध गर्दै जनताले अहिले नेकपा गुहारिरहेका बताएका छन् ।