मकवानपुर । युवा संगठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरमा हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि दबाबस्वरुप माग ७ र ८ गते संगठनले संकलन गरेको हस्ताक्षर बुझाएको हो ।
युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज रमेश सीको हस्ताक्षरित ज्ञापनपत्रमा तीन ओटा मागहरु समेटिएको छ । जसमा नेकपाका महासचिव विप्लव सी, प्रवक्ता प्रकाण्ड सी लगायतका नेताकार्यकर्ताहरुको झुठा मुद्दाहरु खारेजका लागि आवश्यक पहल गर्नुपर्ने, नेकपा र राज्यबीच भएको ३ बुँदे सहमति कार्यान्वन गर्दै देशको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्या सामाधानका लागि नेकपासँगको संवादलाई अगाडि बढाउनुपर्ने र राजनैतिक आस्थाका बन्दी रिहाईका लागि सरकारले यथाशीघ्र आवश्यक पहल गर्नुपर्ने उल्लेख गरिएको छ ।
उक्त ज्ञापनपत्रसहित युवा संगठन नेपाल मकवानपुरले संगठनको केन्द्रिय योजना अनुसार देशैभरी चलाएको नागरिक हस्ताक्षर अभियान अन्तर्गत मकवानपुरमा गरिएको हस्ताक्षर संकलन पनि बुझाएको छ । संगठनले जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालमार्फत प्रधानमन्त्री कार्यलयसमक्ष उक्त हस्ताक्षर बुझाएको हो । चिलुवालले ज्ञापनपत्रसहित हस्ताक्षर संकलन गरिएको कपडा बुझिलिँदै वि.सं. २०७७ फागुन २१ गते सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्ने र गराउनका लागि आवश्यक पहल गर्ने बताएका छन् ।
उक्त ज्ञापनपत्र र हस्ताक्षर संकलन विवेक सी, सुर्य सीसहित युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज रमेश सी, सुवास सी, दिनेश सी, सोम सी, दिपक सी, विक्रम सी, अशोक सीको उपस्थितिमा बुझाएको हो ।