नेकपाको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिति सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ ।
बिहीबार संगठनका जिल्ला इन्चार्ज कुमार सीसहितको टोलीले नेकपा र राज्यबिच भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै उक्त ज्ञापनपत्र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई बुझाएको हाे ।
ज्ञापनपत्रमा सम्पूर्ण नेताकार्यकर्ताका झुठ्ठा मुद्दाहरु खारेजका लागि आवश्यक पहल गर्नुपर्ने, नेकपा र राज्यबिच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न र देशको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक समस्या समाधान गर्न नेकपासँगको संवादलाई अगाडि बढाउनुपर्ने, राजनैतिक आस्थाका बन्दी रिहाईका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने लगायतका बुँदागत मागहरु समेटिएको छ ।
ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य सुमन सी, संगठनका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
२०७७ फागुन २० गते तत्कालीन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच तीन बुँदे राजनीतिक सहमति भएको थियो ।