
कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले प्रतिगामीहरुले ०४७ साल फर्काउन खोजे ०५२ साल जन्मिने चेतावनी दिएका छन् ।
नेकपा कालिकोटले बुधबार रास्कोटको आरसीपी बजारमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै महासचिव विप्लव सीले प्रतिगामीहरुले ०४७ साल फर्काउन खोजे ०५२ साल जन्मिने चेतावनी दिएका हुन् ।
उनले ०५२ साल भनेको हतियारसहितको युद्ध मात्र नभएको भन्दै श्रमिक जनता, किसान, मजदुर, व्यवसायी, राष्ट्रवादी शक्तिको तागत भएको बताए ।
महासचिव विप्लवले देश जनयुद्धकै कारण गणतन्त्रसम्म पुगेको दाबी गर्दै गणतन्त्रलाई कसैले खोस्न नसक्ने बताए । उनले नेपालको गणतन्त्र भनेको दलाल पुँजीपतिहरुको कब्जामा पुगेको जिकिर गरे ।
‘आज प्रतिगामीहरुले देशलाई पुरानै ठाउँमा फर्काउन चाहन्छन्’ उनले भने, ‘गणतन्त्रलाई समाजवादी गणतन्त्रमा लैजानु पर्छ । पुरानो ठाउँमा होइन । जनयुद्धकै कारण सामन्तवादको अन्त्य भएको छ । सामन्तवादको एउटा युग सकियो । अब अर्को युग बाँकी छ ।’
महासचिव विप्लवले जनताका बैरीहरुको हातबाट जनताको हातमा नेपालको सत्ता नपुगको भन्दै नेपालमा दलाल पुँजीवादको युगलाई पल्टाएर समाजवादी युग ल्याउनु पर्ने भनाई राखे ।
उनले नेपालमा समाजवाद स्थापन गरी जनताको बिचमा गोरु जस्तै जोतिएर एकपटक जनताको सेवा गर्ने मन भएको दोहोर्याए ।
माओवादी काठमाडौँ पुगेपछि बिग्रिएको स्मरण गर्दै त्यसमा रुपान्तरण नहुँदा र आफ्नो कुरा नमिल्दा पार्टी अलग हुनु परेको स्पष्टिकरण दिए ।
‘माओवादी रुपान्तरणसहित एकता आवश्यक छ, महासचिव विप्लवले भने, ‘माओवादी मात्र नभई सिंगो कम्युनिट एकता जरुरी छ त्यो हामीले गर्नेछौँ । हामी सबै समाजवादतिर जाने गरी सोचौं, जनतालाई झुक्याउने गरी समाजवाद नभनौं । समाजवाद विरुद्ध षड्यन्त्र भए नेकपा चुप लागेर बस्दैन, नेकपा गोरु जस्तै जोतिएर जनताको सेवा गर्न चाहन्छ ।’
उनले नेकपा नेपाली जनताको बिचमा ०८४ सालको चुनाव लड्न चाहेको बताउदै जनतालाई एकपटक साथ दिन अपिल गरे ।
कालिकोटको जनताले जनयुद्ध र एकीकृत जनक्रान्तिमा महत्वपूर्ण योगदान दिएको भन्दै उनले फेरी पनि समाजवादी क्रान्तिको यात्रामा साथ लिन आग्रह गरे ।
उनले भने ‘माओवादी उल्टो दिशातिर हिड्ने पार्टी होइन, आफ्ना घर बनाउदै हिड्ने पार्टी होइन, मन्त्री बन्नकै लागि लडेको पार्टी होइन, आफ्नो र अरुलाई छुट्याउने पार्टी होइन, यो जनताको पार्टी हो । जनताको समस्या समाधान दिने पार्टी हो । यो कुरा माओवादीमा नदेखिएपछि अलग भयौँ ।’
उनले आफूहरु बिगार्नका लागि नभई माओवादीलाई बनाउनको लागि लक्ष्य र उद्देश्यमा पुग्नका लागि छुट्टिनु परेको दाबी गरे ।
उनले दमनबाट जनताको कुरा तह लगाउने कार्य नगर्न सरकारलाई चेतावनी दिए । दमनबाट समस्या समाधान हुँदैन, दलालहरुको चकचकी बढदो छ, पाथीभरामा दमन गरिएको छ, भ्रष्टहरुलाई कार्वाही गर्दा प्रतिबन्ध लगाइएको थियो, यस्तो दमनले समस्या समाधान हुँदैन, ।
महासचिव विप्लवले तीन बुँदे सहमति यथाशिघ्र कार्यान्वयन गर्न पनि माग गरे । सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरेर बेइमानी गरेको टिप्पणी गरे ।
नेपाली विशेषताको समाजवाद नै अहिलेको संकटको सहि निकास भएको भन्दै उनले समाजवादी मोर्चामा भएका दलहरु समाजवाद ल्याउने दिशामा लागेको बताए । समाजवादका लागि सबै शक्तिहरुलाई एकताबद्ध विशेष अपिल गरे ।