२२ बैशाख २०८२, सोमबार

अरुसित भिख मागेको खाएर युद्ध जितिन्न युद्ध जित्न त आफै आत्मनिर्भर हुनुपर्छ : विप्लव

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अरुसित भिख मागेको खाएर युद्ध नजितिने भन्दै युद्ध जित्न आफै आत्मनिर्भर र सक्षम हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीद्वारा मंगलबार १५६ औं लेनिन जयन्ती तथा ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित बृहत ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले यस्तो बताएका हुन् ।
परनिर्भर मानसिकता र विदेशी सहायता माथिको आश्रित प्रणालीले देशलाई कमजोर बनाएको ठोकुवा गर्दै विप्लवले भने- “अरुसित भिख मागेको खाएर युद्ध जितिन्न । युद्ध जित्नलाई त आफैमा आत्मनिर्भर र सक्षम हुन आवश्यक छ ।”

देशका उद्योग, व्यवसायी, सुकुम्बासीलगायत हरेक क्षेत्रका पीडितले नेकपालाई सम्झने गरेको तथ्य प्रस्तुत गर्दै नेकपा जनताको आशा र भरोशाको केन्द्र बन्दै गएको उनलेे ठोकुवा गरे ।
महासचिव विप्लव सीले राष्ट्रको वास्तविक स्वतन्त्रता, समृद्धि र परिवर्तनका लागि आत्मनिर्भरता अनिवार्य शर्त भएको बताए ।
महासचिव विप्लव सीले आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रको समुन्नतिका लागि नेपाली जनताले अब परनिर्भरताको परम्परा त्याग्नुपर्ने आवश्यकता औंल्याउदै भने, “अरु देश वा राष्ट्रसँग मागेर खाने परम्परा गलत हो । अब हामी आफै गरेर खान सिक्नुपर्छ ।”
महासचिव विप्लवले आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादन र श्रमको सम्मानमा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिदै नेपालजस्तो समृद्ध प्राकृतिक स्रोत साधन भएको देशले आफ्नो आवश्यकता आफैं पूरा गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।
उनलेे जनता आर्थिक र वैचारिक हिसाबले पनि स्वतन्त्र र सक्षम राजनीतिक क्रान्तिको लक्ष्य पूर्ण हुने बताए । उनले नेपाली जनतालाई स्वाभिमानी, उत्पादक र सिर्जनशील बन्न आह्वान गर्दै वैदेशिक अनुदानमा टेकेर बाँच्ने प्रवृत्तिको विरोध जनाए ।
प्रतिगामी तथा यथास्थितिवादीहरुको हर्कत विरुद्ध संकेत गर्दै  महासचिव विप्लवले भने- “राजासाजा कोहि पनि आउँदैन, सरकार र संसदवादी पार्टीहरुले आफ्नो अर्बौं भ्रष्टाचार र राष्ट्रघात लुकाउने बहाना हो । देश आर्थिक राजनीति संकटमा छ त्यसको अग्रगामी निकास भनेको समाजवादी गणतन्त्र हो, सरकार परिवर्तन होइन । विद्यमान संकट समाधानमा हारेको प्रतिगामी शक्तिले राजतन्त्र र हिन्दू राष्ट्रलाई निकासको बाटो भन्छ, संसदवादीहरु यथास्थितिद्वारा सत्ता र शक्ति जोगाउन खोज्दैछन् भने हामीहरु अग्रगामी परिवर्तन र समाजवादी आर्थिक राजनीतिक कार्यक्रम बाहेक अरु विकल्प छैन भन्छौं ।”
महासचिव विप्लवले प्रधानमन्त्री ओलीले शिक्षकहरुको हुर्मत लिने काम गरेको भन्दै सरकार गैरजिम्मेवार र अमानवीय भएको बताए । उनले सरकार हदै दर्जाको गैरजिम्मेवार किन भएको भन्दै शिक्षक आन्दोलन तीन करोड जनताको सरोकारसङ्ग जोडिएको विषय भएको बताए ।
शिक्षकहरुका जायज माग सम्बोधन गर्नुको सट्टा हुर्मत लिने, भ्रष्टाचार लुकाउने, सार्वजनिक शिक्षा अस्तव्यस्त बनाउने तर निजी स्कुलहरु धमाधम चलिरहेको भन्दै महासचिव विप्लवले सरकार भ्रष्टाचार र कुशासनमा डुबेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले राष्ट्र र जनताको जीवनमा गम्भीर संकट पैदा भएको ठोकुवा गर्दै यसको समाधानको लागि सम्पूर्ण कम्युनिस्ट,क्रान्तिकारी र प्रगतिशील दल र नेता एकजुट हुनुको विकल्प नभएको बताएका छन् ।

उक्त कार्यकमको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सी ले ७७ वर्षसम्म कम्युनिस्ट आन्दोलनले सफलता प्राप्त गर्न नसकेको बताए । उनले माओवादी पार्टीले पनि जनतालाई सम्बोधन गर्न नसकेको र अहिले दलाल पुँजीवादी तथा सामन्तवादीहरूले टाउको उठाएको बताए ।

नेपाल कम्युनिस्ट पार्टीको ऐतिहासिक पृष्ठभूमि, लेनिनको योगदान र आजको सन्दर्भमा कम्युनिस्ट आन्दोलनको भूमिकामाथि प्रकाश पार्दै लेनिनको सिद्धान्त र विचारमा आधारित राष्ट्रिय मोडेल आवश्यक रहेको बताउँदै उनलेे नेपाली जनताले आत्मनिर्भर समाज निर्माणको बाटो समात्नुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा (माले) का केन्द्रीय सदस्य तिलक न्यौपानेसहित ९ जना सम्पर्क मञ्चबाट, एमालेका राजु नेपालीबाट ४ जना, एसएस कलेज कीर्तिपुरबाट नेकपा ध्रुवीकरणका बसन्त रावलसहित ७ जना, स्वतन्त्र देशभक्त राजनैतिक मञ्चका अध्यक्ष तेजप्रसाद बुढासैनी र उपाध्यक्षसहित १० जना, नेपाल तेस्रो च्याउ विज्ञ ऋषि लाल तामाङ, नेपाली कांग्रेसका क्षेत्रीय समिति सदस्य तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्व एसपी वीरबल थापासहित ४ जना गरी जम्मा ७७ जना नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

उक्त कार्यक्रममार्फत नेकपामा ध्रूवीकृत भएका नेकपा (माले) का केन्द्रीय सदस्य तिलक नौपानेले २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभाजन र टुटफुटको बाटोमा हिँडेको स्मरण गर्दै पुष्पलाल श्रेष्ठको पालामा पनि पार्टी फुटेको बताए । उनले अब सबै कम्युनिस्टहरू एक हुनुपर्नेमा जोड दिँदै माथिका नेताहरू नमिल्दा पनि तल्लो तहका नेताहरू मिल्नुपर्ने अनुभव सुनाए ।
श्रमजीवी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नवराज भट्टले आफ्नो जीवनकालमा माओवादी केन्द्रविरुद्ध विभिन्न पार्टी फुटेको उल्लेख गर्दै १८ पटक माओवादी घटक भएको बताए । उनले नेपाली विशेषतासहितको समाजवादले सबै कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।