
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालका कम्युनिस्ट वामपन्थीहरुले समिक्षासहित विचार संश्लेषण नगरे कम्युनिस्ट मुभमेन्ट सकिने ठोकुवा गरेका छन् । बिहीबार काठमाडौंमा नेकपा नेता शिलु सीद्वारा लिखित कृति ‘विचार संश्लेषण’को लोकार्पण गर्दै विप्लवले नयाँ विचार नदिए अबको १० वर्षमा कम्युनिस्ट मुभमेन्ट सकिने ठोकुवा गरेका हुन् ।
महासचिव विप्लवले कम्युनिस्ट आन्दोलनको गम्भीर समिक्षासहित विचारमा नयाँ संश्लेषण गरेर कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नसके कम्युनिस्ट आन्दोलन सकिने बताए । उनले भने, ‘अहिले विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको छ । त्यसको प्रभावले नेपालमा विभिन्न विकृतिहरुको देखापरेका छन् । यसबाट निकास खोज्न नेपालका केही कम्युनिस्टहरुले सकारात्मक पहल पनि गरिरहेका छन् तर प्रयाप्त छैन । यसबाट परिणाम सकारात्मक आएको छैन ।’
विप्लवले सरकारमा जानेहरुमा पनि कुनै तुक नदेखिएको भन्दै माओवादीमा समेत विचलन देखिएको बताए । ‘अहिलेको स्थिति आउनुमा यथास्थितिवादी दलाल पुँजीवादीहरु मात्र नभएर नेपालका कम्युनिस्ट कहलिनेसँगै हामी माओवादीले जनमतको कदर गर्न सकेनौं । जनता वाक्क दिक्क भएर फरक तरिकाले सोच्न थालेका छन् ।’, उनले भने, ‘जनताको बारेमा सोच्नु र जनतालाई मर्काबाट मुक्त गर्नु फरक कुरा हो । यसको प्रयत्न कम्युनिस्टहरुले आफैबाट सुरु गर्नुपर्ने र यो कसैलाई सत्तोसराप गरेर हुँदैन ।’
आफ्नो पार्टी दर्शन, राजनीति, अर्थतन्त्रमा गरेको विकास आम कम्युनिस्ट विचार बनाएर बहस गर्ने सोचमा रहेको बताए । नेपालमा गणतन्त्र ल्याउनमा माओवादीको महत्वपूर्ण भुमिका रहेको जिकिर गर्दै विप्लवले माओवादीले बन्दुक नउठाएको भए नेपालमा गणतन्त्र असम्भव रहेको बताए । ‘हिजोको सामन्तवादी युगमा वैज्ञानिकहरुले नयाँ कुरा पत्ता लगाए भने मारिन्थे तर अहिले त्यो स्वतन्त्रता छ । जुन विश्व कम्युनिस्ट आन्दोलनको प्रभाव हो ।’, उनले भने, ‘हिजोजस्तो डिपसिक पत्ता लगाएर प्रयोग गर्दा अहिले मारिनु पर्दैन । एलन मस्कले पृथ्वीमा संकट छ भनेर अन्तरिक्षमा घर बनाएर बस्ती बसाल्दा अपराध मानिदैन । त्यो सम्मानित हुन्छ त्यसैले भौतिक विज्ञान अपराध होइन ।’
अब नेपालका कम्युनिस्ट वामपन्थीहरुले सोच्ने बेला आएको उनको भनाई थियो । विप्लवले अहिलेको संकटको एकमात्र निकास समाजवाद भएकाले राजा–राजा भनेर चिच्याउने राजेन्द्र लिङ्देन लगायतका सबै राजावादीहरुलाई समाजवादको बहसमा सहभागी हुन आह्वानसमेत गरे ।
पत्रकार शिव डुम्रेद्वारा संचालित कार्यक्रमा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको थियो भने नेकपाका स्थायी समिति सदस्य तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीको अध्यक्षता रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई जनपत्रकार शोभराज बरालले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा पुस्तकको बारेमा राजनीतिक विश्लेषक नरेन्द्रजङ पिटर, नेकपा एमालीकी स्थायी समिति सदस्य बिन्दा पाण्डे, नेकपा मासालका नेता मनोज भट्ट, बरिष्ठ साहित्यकार लेखक सौन्दर्य चिन्तक खेम थपलिया लगयतले सुझाव दिएका थिए ।