१० बैशाख २०८२, बुधबार

नेपाली दूतावास दिल्लीमार्फत नेपालका प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0

नेपाली दूतावास दिल्लीमार्फत नेपालका प्रधानमन्त्रीलाई प्रतिगामी र यथास्थितिवादका विरुद्ध ध्यानाकर्षण पत्र बुझाइएको छ ।
प्रवासी नेपाल जनसमाज भारतका अध्यक्ष दामोदर पंगेनीको नेतृत्वमा गएको समाजको एक टोलीले मंगलबार राजदुत डा.शंकर प्रसाद शर्मामार्फत उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो ।
पछिल्लो समय नेपालमा राजवादी तथा यथास्थितिवादीहरुका गतिविधिहरु बढ्दै गएपछि विप्लव नेतृत्वको नेकपा र पार्टीका विभिन्न जनसंगठनहरुले सरकारलाई प्राप्त उपलब्धिलाई रक्षा गर्दै समाजवादको बाटोमा अघि बढ्न सुझाउँदै ज्ञापनपत्र बुझाएका छन् ।
यसैबिच प्रवासी नेपाली जनसमाजले उक्त विषयका साथै पछिल्लो चरण पञ्जाबमा देखिएको म:म व्यवसायी माथिको ज्यादती लगायत भारतमा देखिएको नेपाली माथी हुँदै आएको ज्यादती सम्बन्धि विषयवस्तु समेटेर राजदुतमार्फत ध्यानाकर्षणपत्र बुझाएको छ ।

यस्तो छ पत्रको पूर्ण पाठ
सम्माननीय प्रधानमन्त्री ज्यू,
मन्त्रीपरिषद् सचिवालय, सिंहदरबार
नेपाल सरकार ,काठमाण्डौं नेपाल
मार्फत :– महामहिम राजदुत श्री डा.शंकर प्रसाद शर्मा ज्यू ,
नेपाली राजदुतावास बाराखम्वा रोड नया“ दिल्ली, भारत ।
विषय :– ध्यानाकर्षण –पत्र
नेपाली जनताले दशकौ लामो त्याग, तपस्या र महान बलीदानका उच्च कृतिमान कायम गरि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गरिएको व्यहोरा सर्वविदितै छ । जहानीया र वंशवादको निरङ्कुश शासनका विरुद्ध संचालित २००७, २०२८, २०३५–२०३६, २०४६, २०५२ साल देखिको महान् जनयुद्ध र २०६२–६३ को एतिहासिक जनआन्दोलनमा रोजगारीका लागि भारतमा छरिएर रहेका देशभक्त श्रमजीवी नेपाली जनाताले वैचारिक, राजनीतिक, आर्थिक र भौतिक रुपमा अतुलनीय योगदान पुर्याएको कुरा इतिहास साक्षी छ ।
आन्दोलनको सफलता पश्चात् सत्ताशीन हुन पुगेका राजनीतिक दल र त्यसका मूख्य नेतृत्वमा रहेका अदुर्दर्शीता, वैचारिक विचलन, अपारदर्शीता तथा अनियमितताद्वारा आयआर्जनमा लाग्दा राजनीतिक दल र नेतृत्वप्रति आमजनतामा परेको अविश्वास र आक्रोशलाई आधार बनाएर आन्दोलनबाट फ्याकिएको पश्चगामी तत्वले पटक–पटक प्रजातान्त्रिक अधिकार खोस्दै आयो र अहिले पनि संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा हावी हुन पुगेको दलाल पुँजीवादले गरेका भ्रष्टाचार, तष्करी, कमिशनखोरी, हरेक क्षेत्रमा दलाली र माफियाकरणबाट आक्रोशित जनताको मनोभावनामा खेलेर धर्मको आडमा पश्चगामी निरङ्कुस तत्वले टाउको उठाउन खोजेका घटनाक्रमले हामीलाई गम्भीर मात्र होइन आक्रोशित पनि बनाएको छ ।
आफ्नो देशलाई संसारकै उत्कृष्ट प्रजातान्त्रिक मुलुक बताउने भारतका सत्ताधारीहरुका नजिक मानिने सञ्चारमाध्यमहरुले समेत हजारौं नेपाली जनताले बलिदानको कोटा चुक्ता गरेर प्राप्त गणतान्त्रिक व्यवस्थाका विरुद्ध प्रतिगामी तत्वले मच्चाएका उदण्ड्ता र आततायी घटनाहरुलाई महिमामण्डित गरिरहेको देख्दा हामीलाई अचम्मित मात्र होइन अत्यन्त गम्भीर पनि बनाएको छ र कैयौ आसङ्काहरु पनि जन्मेका छन् हाम्रो देश नेपाल स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न मुलुक हो । नेपालको भाग्य र भविष्यको निधार्ण गर्न नेपाली जनता आफै सक्षम छन् । हाम्रो देशको अन्तरिक मामिलामा कुनै पनि बाह्य हस्तक्षेप हामीलाई स्वीकार्य हुनु हुँदैन र छैन ।
हाम्रो मातृभूमि नेपाल राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा बेरोजगारी लगायतका विकराल समस्याहरुबाट गुज्रिरहेको छ । समग्रमा भन्नू पर्दा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु अत्यन्त काहाली लाग्दा छन् । जनतामा घोर निराशा छाएको छ । यी सबै दलाल पुँजीवादले निम्त्याएका समस्या हुन् । गणतन्त्रलाई वास्तविक जनताको गणतन्त्र बन्न नदिनु र दलाल पूँजीवादले कब्जा गर्नु त्यसको प्रमुख कारण हो । यद्यपि गणतन्त्रको विकल्प पश्चगामी निरङ्कुस व्यवस्था हुनै सक्दैन ।
आजको संकटको निकास पश्चगमन त हुनै सक्दैन र पश्चगामी, वंशवादमा आधारित निरङ्कुश व्यवस्थाको तुलनामा प्रगतिशील भएपनि यथास्थितिवादले पनि वर्तमान संकटको निकास दिन सक्दैन । वर्तमान संकट्को वैज्ञानिक र वस्तुवादी निकास राष्ट्रिय स्वाधीनता, गाँस, बास कपास, शिक्षा, स्वास्थ्य, रोजगारको सुनिश्चितता सहित राष्ट्रिय पुँजीको विकास गर्ने अन्तर्वस्तु सहितको “नेपाली विशेषताको समाजवाद” नै हो र हुनुपर्दछ भन्ने हाम्रो मूलमान्यता रहेको व्यहोरा स्मरण गराउन चाहन्छौं । आवश्यक परे मातृभूमिको रक्षा र नेपाली जनताको पूर्ण मुक्तिका निम्ति विगतमा जस्तै इतिहासले माग गरेको भूमिका निर्वाह गर्न प्रतिबद्धता जाहेर गर्दछौं ।
हामी प्रवासी नेपालीहरूलाई पश्चगामी निकास कुनैपनि हालतमा स्वीकार छैन । पश्चगामीहरुको मनोवल बढाउने देशभित्र र बाहिर हुने अवाञ्छित र जनविरोधी गतिविधिलाई निश्तेज पार्न र अग्रगामी निकासका लागि भारतस्थित नेपाली राजदुतावासका महामहिम राजदुतमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।