१५ बैशाख २०८१, शनिबार

संचारमन्त्री शर्माले नेकपाका नेता आदर्शको निवासमै पुगेर गरिन् आमाप्रति श्रद्धाञ्जली व्यक्त

0

काठमाडौं: संचार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा ललितपुर गोदावरी नगरपालिका १० न्यौपाने गाउँस्थित निवासमा पुगेर नेकपाका पोलिटब्यूरो सदस्य चुडामणि ओली आदर्श सीको परिवारप्रति समवेदना र आमाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनले झण्डै दुई घन्टा आदर्शको निवासमा बसेर परिवारजनमा समवेदनासहित विविध विषयमा छलफल गरेकी हुन् । नेकपाका नेता आदर्शसँग विद्यार्थी कालदेखि नजिक रहेर काम गरेको स्मरण गर्दै उनले परिवार नै क्रान्तिमा होमिएको र बलिदान समेत गरेको परिवार भएको बताइन् । अहिले प्राविधिक रुपमा फरक राजनीतिमा रहे पनि भावनात्मक र वर्गीय रुपमा एकै ठाउँमा रहेको भन्दै मन्त्री शर्माले कुनै बिन्दुमा राजनीतिक रुपमा पनि एकै ठाउँमा रहने विश्वास व्यक्त गरिन् । आदर्शको परिवारले प्रगतिशील मृत्युु संस्कार अपनाएर आदर्श व्यवहार देखाएको भन्दै मन्त्री शर्माले बोली र व्यवहारबिच तालमेल हुनु महत्त्वपूर्ण पक्ष भएको बताइन् । नेता आदर्शले पनि व्यस्तताका बिच आमाको सम्मानमा श्रद्धाञ्जली दिन आएकोमा मन्त्री शर्मालाई धन्यवाद व्यक्त गरे । राजनीतिक रुपमा फरक ठाउँमा भएपनि मन्त्री शर्माको भूमिका आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै इमानदारितामा ध्यान दिन आग्रह गरेका थिए । नेता आदर्शको आमाको चैत ११ गते निधन भएको थियो । दिवंगत आमा विगत लामो समयदेखि सुगर, प्रेसर र आन्द्राको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । आमाको शोक सभा कार्यक्रम चैत १६ गते दिउँसो १२ बजे ललितपुरस्थित आफ्नै निवासमा आयोजना गरिएको नेकपाले जनाएको छ । कार्यक्रममा महासचिव विप्लव सीको उपस्थिति रहने पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरोका इन्चार्ज कृति सीले जानकारी दिए । उक्त शोकसभा कार्यक्रममा उपस्थित हुन नेता-कार्यकर्ता तथा स्थानीयहरुलाई नेकपाले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।