“पहिले, साठी वर्षको खुट्किलोमा टेक्नुअघि, जनसमूहले मबाट यति धेरै कुराको माग नगरून् र मेरो उमेर हेरेर उनीहरूले मलाई माफी दिऊन्। भन्ने विचारले मलाई सक्दो छिटो साठी वर्ष पुग्न मन थियो तर अहिले हामीले यहाँ शिक्षाको रूपान्तरण शुरू गरेका हुनाले र हामीले हाम्रा विगतका भूलहरूलाई स्वीकार गरेका हुनाले म आफूलाई एक जना जवान मानिस ठान्छु र म क्रान्तिको बाटोमा युवाहरूसँग प्रतिस्पर्धा गर्ने भएको छु ।”
यी यन्त्रविद्याका प्रोफेसर चिएन वेई-चाङले बोलेका वचनहरू हुन् र यी वचनहरूमा आफू खुलेआम दक्षिणपन्थी हुँ भनी स्वीकार गर्ने व्यक्तिमा आएको ठूलो परिवर्तन झल्किएको छ । यसो हुनाको अलिकता जस प्रतिक्रियावादी प्रोफेसरहरू र ‘बुर्ज्या प्राज्ञिक अधिकारीहरूको पुनःसंस्कार तथा पुनर्स्थापना गर्ने कार्यलाई आफ्नो मूल कार्यभार बनाएका मजदुर प्रचार विभाग टोलीका काडर हरूको कठिन परिश्रमलाई दिन सकिन्छ ।
त्यस टोलीको बहुसङ्ख्याले आफूलाई विद्यार्थी आन्दोलनमा केन्द्रित गरेको थियो भने त्यसको एउटा विशेष समूहले चाहि पुराना प्रोफेसरहरूलाई आफ्नो पहिलो चासोको विषय बनाएको थियो । त्यसले गर्दा उनीहरूले ती मानिसहरूसँग उल्लेखनीय काम गरेका थिए ।
अन्य कुराहरूको अतिरिक्त, सिङहुआको शिक्षालाई रूपान्तरित गर्नुको मतलब यी पुराना प्रोफेसरहरूलाई रूपान्तरित गर्नु थियो किनभने उनीहरूको ज्ञान चीनको समाजवादी रूपान्तरणको निमित्त अत्यन्तै महत्त्वपूर्ण थियो । यो माओ त्से तुङका नीतिहरूको गम्भीर परीक्षा थियो । माओको सांस्कृतिक क्रान्तिबारेको ‘सोह्र बुँदे निर्णय’ भन्ने मुख्य कार्यक्रमले जनतालाई यी ‘प्राधिकारको आसनमा रहेका र पुँजीवादी बाटो लिएका व्यक्तिहरूसँग सङ्घर्ष गरी यिनलाई सत्ताच्यूत गर्नु र प्रतिक्रियावादी पुँजीवादी अधिकारीहरूको आलोचना गरी यिनलाई अस्वीकार गर्नु रहेको थियो ।
यस आलोचना र अस्वीकृतिको उद्देश्य उनीहरूबाट छुटकारा पाउनु र उनीहरूको सेवालाई पूरापूर परित्याग गर्नु नभई उनीहरूलाई रूपान्तरण गरेर मजदुर वर्गीय राजनीतिको मूलधारमा ल्याउनु थियो । ल्यु शाओ-चीको प्राज्ञिक अधिकारीहरूसँग एकता कायम गर्ने नीति थियो । त्यस नीतिको अर्थ उनीहरूका सर्तहरूबमोजिम एकता गर्नु हो । उता उग्र वामपन्थी विद्यार्थीहरूचाहिं खालि उनीहरूमाथि आक्रमण गर्न मात्र चाहन्थे र उनीहरू प्राज्ञिक अधिकारीहरू बेगर नै सारा काम चलाउन एकदमै इच्छुक थिए ।
माओको नीति भने उनीहरूसँग एकताबद्ध हुनु थियो तर त्यो एकता समाजवादी लक्ष्यहरूको निमित्त हुनुपर्थ्यो । त्यस्तो नीतिको मतलब उनीहरूलाई पुनःसंस्कारित गर्नुथियो र यो सांस्कृतिक क्रान्तिले उनीहरूका ‘आत्माहरूलाई छोएको खण्डमा मात्र फत्ते गर्न सकिने विषय थियो ।
माओले यो प्रश्नसम्बन्धी आफ्ना विचारहरूको सार यसरी खिचेका थिए : पुराना विद्यालयहरू र कलेजहरूमा प्रशिक्षित विद्यार्थीहरूको बहुसङ्ख्या वा विशाल बहुसङ्ख्या मजदुर, किसान र सिपाहीहरूसित एकीकृत हुन सक्छ र तीमध्ये कतिपयले आविष्कारहरू वा नौला सिर्जनाहरू गरेका पनि छन् तैपनि उनीहरूले सही कार्यदिशाको मार्गदर्शनमा मजदुर, किसान र सिपाहीहरूबाट पुनर्शिक्षित भई आफ्नो पुरानो विचारधारामा साङ्गोपाङ्गो हेरफेर ल्याउनै पर्छ । यस्ता बुद्धिजीवीहरूलाई मजदुर, किसान र सिपाहीहरूले स्वागत गर्नेछन् ।
मजदुरहरूको प्रचार टोलीले २८ जुलाई १९६८ मा सङ्घर्षलाई रोक्नासाथै पुराना प्रोफेसरहरूका लागि अध्ययन कक्षाहरू खोलिए । “उनीहरूले मलाई माओ त्से तुङका रचनाहरू, विशेष गरेर प्रचार कार्यसम्बन्धी सम्मेलनमा दिइएको ‘भाषण’ पढ्न लगाए ।”, चिएनले यसो भने । “प्रत्येक अनुच्छेदपछि उनीहरूले मलाई सङ्घर्षमा तपाईं कहाँनेर उभिनुभएको छ भनेर सोधे । मैले आफ्नो सिङ्गो इतिहासको सम्झना गर्दै त्यसका प्रत्येक चरणको जाँचबुझ गरे । यो काम गर्न मलाई दुई महिना लाग्यो ।
अध्ययन कसरी गर्ने हो मलाई थाहा थिएन, त्यसकारण उनीहरूले मसँग लामो व्यक्तिगत कुराकानी गरे । १९६८ सेप्टेम्बरमा हामीले सत्रवटा लामा कुराकानी गर्यो । तीमध्ये प्रत्येक कुराकानीको समय तीन घण्टा थियो । एकपटक त मैले बुझ्न नसकेर उत्पन्न भएको समस्याले गर्दा हामीले हाम्रो कुराकानी बिहान ७ बजे शुरू गरेर बेलुका ५ बजे टुंग्यायौँ । यो सारा अध्ययनले मेरो विगत गलत रहेछ भन्ने मलाई महसुस गरायो । मलाई आफूले पहिले कहिल्यै पनि नगरेको, १९५७ को दक्षिणपन्थविरोधी आन्दोलनमा समेत पनि नगरेको काम गर्न अर्थात् आत्म-आलोचना गर्न हौसला दिइयो ।”
खँदिलो अध्ययनले चिएन वेइ-चाङ, तुङ शी-पाई र अरू धेरै जनालाई आफ्नो प्रवृत्ति र विगतको आफ्नो काममा केही आधारभूतरूपले गलत चीज भएको कुरामा विश्वस्त गरायो तर उनीहरूलाई आदर्श र लक्ष्यहरूको नयाँ शृङ्ङ्खलातर्फ प्रेरित गर्न भने अध्ययन र छलफलबाहेक अरू कुराको पनि खाँचो पर्यो । त्यसपछिको अर्को कदम उनीहरूलाई उत्पादन कार्यमा सरिक गराउनु थियो । त्यस कार्यमा उनीहरू सर्वसाधारण जनताको जीवनबारे थाहा पाउन र उनीहरूको जीवनमा सहभागी हुन सक्थे ।
त्यस टोलीले कामका दुईवटा रूप भएका अनुभवहरूको आयोजना गर्यो । पहिलो काम लामो अवधिका लागि पेकिङ कारखानामा जानु थियो भने दोस्रो कामचाहिं कियाङशी प्रान्तको योयाङ तालको किनारमा स्थापित सिङवा विश्वविद्यालयको मे ७ काडर विद्यालयमा जानु थियो । त्यहाँ जमिनको पींधको भूमिमा सुधार गरी त्यसमा बाली लगाउने काममा बुद्धिजीवीहरू सामेल हुन्थे ।तुङ र चिएन कारखानाहरूमा जाने मानिसहरूमध्येका थिए । आफूहरू सांस्कृतिक क्रान्तिको तारो भएका हुनाले आफ्नो मुख्य काम नकारात्मक उदाहरणका रूपमा प्रस्तुत हुनु हो भन्ने उनीहरूलाई लागेको थियो ।
उनीहरूले बडो मिहिनेतसाथ काम गरे, अध्ययन कक्षाहरूमा भाग लिए र अरूहरूले गरेका आलोचनाहरू सुने । यन्त्रहरूमा काम गर्ने मजदुरहरूका लागि प्राविधिक पाठ्यक्रमहरू तयार पारेर आफ्ना विशेषज्ञताका क्षेत्रहरूमा व्याख्यानहरू दिन अनुरोध गरिंदा उनीहरू छक्क परे । ती दुवै जनाले उत्पादनशील श्रममा भाग लिंदा जति कुरा सिकेका थिए, मजदुरहरूलाई सिकाउने कोशिश गर्दा त्यति नै सिके ।
“मेरो पहिलो कक्षा निकै राम्रो भयो ।”, तुङले भने । “सबैले चुपचाप बसेर सुने तर मेरो दोस्रो कक्षा भने चौपट भयो । आफूसँग विद्युत्बारे निकै अनुभव भएका सबै मजदुरले भने, ‘तपाईंको व्याख्यान त एकदमै खोक्रो भयो। खै, हामीले त यसको छेउटुप्पो नै बुझेनौ । तपाईंले अचाक्ली धेरै नियमहरू र अचाक्ली धेरै सूत्रहरू अघि सार्नुभयो । तपाईंका कुरा सुन्दैजाँदा तपाईंले त विद्युत्शक्ति नियन्त्रण गर्ने हाम्रो क्षमतासम्बन्धी सबै आत्मविश्वासलाई नाश पो गरिदिनुभयो ।
त्यो कुरा सुन्दा म रन्थनिएँ । मलाई सधै नै शिक्षकका रूपमा आफूमा उपयोगी क्षमता छ भन्ने लाग्थ्यो । यस क्षेत्रमा विफल हुँला भनेर मैले कहिल्यै पनि चिताएको थिइनँ । मेरो नाक मात्र काटिएको नभई सायद अब मेरो जीविका पनि चट् हुने होला ! प्रचार टोलीका सदस्यहरूले • मसँग काम गरिरहे अनि शिक्षाको वर्ग चरित्र, मानिसहरू के कुरा सिक्न खोजिरहेका हुन् र मजदुर वर्गीय चेतना भएका क्रान्तिकारी उत्तराधिकारीहरू निर्माण गर्ने कुरालाई सुनिश्चित गर्नका निमित्त शिक्षकले के गर्नुपर्छ भन्नेबारे हामीले समूहमा छलफल गर्यो । अनि हामीले बिस्तारै बाटो पहिल्यायौँ ।”
त्यसपछि चिएन वेई-चाङ काम गर्न र सिकाउन विशाल इस्पात कारखानामा गए । घटनाहरूको एउटा शृङ्खलाले उनलाई आफ्नो निजी, खान्दानी दर्शनबारे पुनर्विचार गर्न बाध्य तुल्यायो । भट्टी मजदुरहरूले आफूले उत्पादन गरेका साँचोमा ढालिएका धातुका पिण्डहरूमा चिनो लगाएको हेर्दै आफू मुटु मिचिमिची हाँसेको कुरा उनले बताए । पहिले त उनलाई उनीहरूले इस्पातमा आफ्नो नाम लेखिरहेका होलान् भन्ने लाग्यो । प्राविधिक पुस्तकहरूको सिङ्गो शृङ्खलाका लेखकको हैसियतले आफ्नो उत्पादनमा आफ्नो नाम गास्नु ज्यादै जरूरी कुरा हो भनी उनले सहज ढङ्गले बुझेका थिए । आफूले पूरा गरेको काममा आफ्नो नामलाई गाँस्दा उनलाई जति आनन्द लाग्थ्यो, उनलाई जीवनमा त्यति आनन्द दिने अर्को कुनै पनि चीज थिएन ।
त्यस कुराप्रति उनमा ज्यादै तीव्र उत्सुकता नहुँदो हो त आफ्ना कतिपय कठिन पुस्तकहरू पूरा गर्ने तागत नै पो आफूमा नहुँदो हो कि भनी उनलाई शङ्का लाग्थ्यो । लेखकस्वबाट प्राप्त हुने नाम, यश र आम्दानीले सिर्जनाको सबै तापको क्षतिपूर्ति गरिदिन्थ्यो । त्यसैको नतिजास्वरूप उत्पादकहरूलाई स्वाभाविकरूपले निजी मान्यताको आवश्यकता पर्छ भनी उनी कल्पना गर्थे इस्पातका पिण्डहरूलाई बढी मसिनोसँग हेरेपछि उनले के थाहा पाए भने मजदुरहरू त खालि गुणस्तरलाई नियन्त्रित गर्ने र प्रतिफललाई एकपछि अर्को छिमलबाट र सायद ज्यादै बेग्लो किसिमको तापबाट छुट्याउने हेतुले छिमलका नम्बरहरूको चिह्न लगाइरहेका रहेछन् ।
पहिलेको आफ्नो सोचाइ सम्झेर ल्याउँदा उनलाई लाज लाग्यो । पछि उनले मजदुरहरूलाई यसबारे बताउँदा उनीहरू मुटु मिचीमिची एक स्वरले हाँसे ।अर्को दिन उनी इस्पातको एउटा उच्च कार्बोनयुक्त टुक्रा लिन गए । परीक्षण गर्ने आधुनिक उपकरणहरू भएको सिन्हवास्थित प्रयोगशालामा उनले उच्च कार्बोनयुक्त र साधारण इस्पातबीचका भिन्नताहरूबारे व्याख्यान दिएका थिए र कडापन, परीक्षा र तनाव धान्ने शक्ति आदिबाट तिनलाई छुट्याउन सकिन्छ भनेर पटक-पटक प्रदर्शन गरेका थिए तर उनले कहिल्यै पनि मौलिक नमुनाहरू छानेका थिएनन्, त्यो काम त सधैँ उनको एक जना सहायकले गर्थ्यो ।
व अहिले भने उनी आफैं बडो अलमलकासाथ इस्पातका प्रकारहरूको डङ्गुरमा पुगे । सबै इस्पात ठ्याक्कै उस्तै देखिए । तौल र गुणमा कुनै टड्कारा भिन्नताहरू नभएका ती सबै डण्डीहरू एकनासका नीला-काला थिए ।
प्रोफेसर चिएन अब के गर्ने होला भनेर रनभुल्ल पर्दै निकै बेरसम्म एउटा अँध्यारो कुनामा उभिइरहे । एक जना तरूण मजदुरले उनलाई परेको दुविधाको अन्दाज गरे, उनी ती प्रोफेसर भएको ठाउँमा चाल मारेर आए अनि इस्पातको एउटा डण्डीलाई अर्को डण्डीमा बजारेर त्यसबाट आउने आवाजको सहाराले कुनचाहिं कडा हो र कुनचाहिं नरम हो भन्ने कुरा कसरी छुट्याउन सकिन्छ भन्ने कुरा उनलाई गरेर देखाइदिए । चिएन लज्जित तर कृतज्ञ भए । ती तरूण मजदुरले उनलाई मूर्ख भनेनन्, न त सारा मानिसका अगाडि उनको खिल्ली नै उडाए, बरू उनले त उनलाई बडो धैर्यसाथ मद्दत पो गरे । त्यसैले उनले ती तरूणलाई मुरीमुरी धन्यवाद दिए । त्यसको जवाफमा तरूणले भने, “केही छैन प्रोफेसर चिएन, तपाईंको सिद्धान्त व्यवहारबाट अलग्गिएको छ भन्ने कुरा हामीलाई सधैँ थाहा भएकै हो र अब भने तपाईंलाई पनि यो कुरा थाहा भयो ! यहाँ उत्पादन स्थलमा तपाईं ती दुई कुरालाई एकसाथ गाँस्न सक्नुहुन्छ ।” त्यो घटना त्यहीं टुङ्गियो तर त्यसले प्रोफेसर चिएनको मनमा ज्यादै गहिरो प्रभाव पायो ।
उनले मजदुरहरूसँग सिक्नुपर्ने कुरा आफूले कल्पना गरेको भन्दा कता हो कता, धेरै रहेछन् भन्ने महसुस गरे ।
तेस्रो घटनाले यस पाठलाई मूर्तरूप दियो । भट्टीमा काम गर्ने मजदुरहरूले इस्पातका पाताहरू रहने ठाउँका पिण्डहरू निस्कने निकासको खास ठाउँमा स्फटिक तुल्याइएका इस्पातका पाताहरू सधैँ भाँचिने गरेको थाहा पाए । उनीहरूले त्यसो हुनाको कारण जान्न चाहे । उनीहरूले एउटा भाँचिएको टुक्रो चिएनकहाँ लगेर उनलाई त्यसको कारण बताइमागे । चिएनले विगतमा आफ्ना विद्यार्थीहरूसँग प्रायःजसो प्रयोग गर्ने गरेको विधि प्रयोग गरे अर्थात उनले एउटा ज्यादै उच्चस्तरको प्राविधिक शब्द सम्झे ।
त्यस शब्दले वास्तवमा कुनै कुरा पनि बताउँदैनथ्यो । उनले भने, “यो तनावको केन्द्रीकरण हो।” त्यस जवाफले मजदुरहरूलाई एकछिन वाल्ल पायो । उनीहरू केही नबोलीकन बाटो लागे तर चिएनलाई उनीहरू भोलिपल्ट फेरि आउलान् भन्ने लाग्यो । उनले रातभरि त्यस समस्याको गाँठो फुकाउन मानसिक कसरत गरे तर त्यो सब व्यर्थ भयो । अघिल्लो दिन उनले जे कारण बताएका थिए, त्यो बिहान उनलाई त्योभन्दा गतिलो कारण सुझ्दै सुझेन ।
नभन्दै मजदुरहरू ‘तनावको केन्द्रीकरणको व्याख्या गरिमाग्न आए अनि चिएनले त्यो त मैले धाक लगाएको पो हुँ भन्ने कुरा स्वीकार गर्नुपर्यो । “लौ, हामी मिलेर यस प्रश्नबारे अध्ययन गरौं ।”, उनले सुझाव अघि सारे । पछि निकै समयसम्म अनुसन्धान गरेपछि उनीहरूले त्यो समस्यालाई सुल्झाए ।
“कुनै कुरा मैले बुझेको छैन भनेर मैले स्वीकार गरेको त्यो पहिलोचोटि थियो ।”, चिएनले भने, “सिद्धान्तको व्याख्या गर्दा लटरपटर कुरा गरेर पार पाउन सकिन्छ तर व्यवहार आइलाग्दा भने बहानाबाजीले काम गर्दैन । मजदुरहरूले मलाई दबाब दिएपछि मैले बुझेको छैन भनेर भन्न मलाई करै लाग्यो । मेरा लागि त्यो प्रगति थियो ।”
चिएन जतिजति सर्वधारण मानिसहरूको नजिक गए, उनको प्रवृत्ति त्यति नै परिवर्तन हुँदै गयो । उनले आफूलाई ज्यादै कम जानकारी भएको क्षेत्रको गणितबाट अलग्गिएको एउटा समस्याबारे अनुसन्धान गर्ने काम रोजेपछि आफूभित्र साँच्ची नै केही भएको कुरा चाल पाए । त्यो समस्या संवेदनशील प्रकृतिको हुनाले उनले त्यसलाई रोजेका थिए (सम्भवतः सुरक्षाको कारणले होला त्यससम्बन्धी नालीबेली कहिल्यै बाहिर आएन) र उनले आफ्नो निजी नाम र यशबारे उति विचार नगरीकन अरू वैज्ञानिक, प्राविधिक मजदुरहरूसँग मिलेर सामूहिकरूपमा त्यसलाई हल गरे ।
यो एउटा नयाँ पाइलो थियो । त्यसअघि अध्ययनका लागि विषय रोज्दा उनी सधैं आफ्नो नामलाई चम्काउन सक्ने विषय नै रोज्थे । उनी पुस्तकमा यसो जाँचबुझ गरी त्यो समस्यालाई कहिल्यै कसैले हल नगरेको कुरालाई एक्किन गर्थे अनि त्यसपछि आफ्नो प्रतिष्ठा बढाउने मनसुवाले काम गर्न थाल्थे ।
“मैले त्यसभन्दा पहिले आफ्नो क्षेत्रभन्दा बाहिरको कुनै काम रोज्ने, त्यसलाई सामूहिकढङ्गले हल गर्ने, विफल हुने र फेरि त्यसलाई हल गर्न खोज्ने जस्तो कुराको कहिल्यै पनि कल्पना गरेको थिइनँ ।”, चिएनले भने, “सांस्कृतिक क्रान्ति शिखरमा पुगेको बेला मैले फेरि कहिल्यै पनि वैज्ञानिक कार्य नगर्ने बाचा गरेको थिएँ तैपनि म अहिले काममा चुर्लुम्मै डुबेर आधाजसो रूपान्तरित भइसकेको थिएँ ! यो क्रान्ति नभएको भए मजस्ता बुद्धिजीवीहरू खेर गएको उपज हुन्थे । अब भने हामी जोगियौं ।”
बौद्धिकहरूको दृष्टिकोणलाई रूपान्तर गर्न कियाङसीस्थित मे ७ काडर विद्यालय’को श्रमसम्बन्धी अनुभव त्यत्तिकै प्रभावकारी भएको थियो । हामीले सिया मिड- यी नाम गरेका एक जना तरूण विद्युत् इन्जिनियरसँग कुरा गन्यौ । उनले त्यहाँको शैक्षिक कार्यदिशामा पुँजीवादपन्थीहरूको प्रभुत्व रहेको बेला शाङघाई विश्वविद्यालयको यातायात विद्यालयबाट स्नातक तहको शिक्षा प्राप्त गरेका थिए । उनलाई के भनिएको थियो भने चीनलाई माया गर्नुहुन्छ, समाजवादको सेवा गर्नुहुन्छ र खटाएको ठाउँमा गएर काम गर्नुहुन्छ भने तपाईं राजनीतिक दृष्टिले समुन्नत ठहरिनु हुनेछ तर यी मानकहरूले त खालि व्यावसायिक दक्षताको ढोका मात्र खोलिदिन्थे किनभने प्रविधिमा पारङ्गत हुने कुरालाई समाजवादको सेवा गर्नु सरह मानिन्थ्यो, व्यक्तिगत हितलाई सार्वजनिक हितसरह मानिन्थ्यो । सिया दुई लाइनबीचको सङ्घर्ष, उनले शाङघाईमा पाएको शिक्षाको वर्ग चरित्र र उनको पुँजीवादी दृष्टिकोणबारे पत्तै नपाई आफूलाई ज्यादै मनपर्ने प्राविधिक अध्ययनमा डुबे ।
उनी जीवनमा पहिलोपटक मे ७ काडर विद्यालयमा उत्पादनशील श्रममा सामेल भए । विद्यार्थी छँदा उनले ‘दुःखकष्टको सम्झना गराउने भूस र चोकरको खान्की खाएका थिए । त्यसले हरेक जनालाई विगतको ग्रामीण जीवनको सम्झना गराउँथ्यो तर काम गर्ने थलोमा कठोर श्रमपछि त्यस्तो खान्की खाँदा उनको मन जति पग्ल्यो र जसरी त्यसले उनलाई साँच्ची नै सोच्न बाध्य गरायो, त्यसअघि उनलाई कहिल्यै पनि त्यस्तो अनुभूति भएको थिएन ।
“हामीले धान रोप्यौं र गहुँ काट्यौ ।”, सियाले भने, “गहुँ काटेपछि हामीले त्यसलाई खर्पनमा बोकेर खलाहरूमा लैजानुपर्थ्यो । मौसम कति साह्रो गर्मी थियो भने हामीले खेपैपिच्छे एक जग पानी पिउनुपर्थ्यो र त्यो पानी अर्को खेप बोकुन्जेलसम्ममा पसिनामा बगेर सिद्धिहाल्थ्यो । मेरो पाचनक्रियाले कहिल्यै पनि त्यति छिटो काम गरेको थिएन ।”
“धान रोप्दा मेरो ढाड कति साह्रो दुख्यो भने म त ढाड सोझ्याउनै नसक्ने भएँ । शिरमाथि घाम चरक्क चर्केको र गोडामुनि पानी बाफिइरहेको बेला खेत गोड्दा मलाई मुर्छा परुँला कि जस्तो लाग्यो ।
त्यसपछि ‘दुःखकष्टको सम्झना गराउने खान्की खाँदा त्यसबाट बेग्लै खालको अनुभूति भयो । आकाश र धरतीसँग तथा आफ्नै विचारहरूसँग सङ्घर्ष गर्दै र किसानहरूले प्रायःजसो भूसर चोकर जत्तिको गतिलो खान्की खान पनि पाउँदा रहेनछन् भन्ने महसुस गर्दै एक वर्ष श्रम गरेपछि मैले वर्गीय उत्पीडन र शोषणको अपराधबारे बुझें । म किसानले जस्तै अनुभव गर्न थाले र ममा ती गएबितेका दिनहरू फेरि कहिल्यै फर्केर नआऊन् भन्ने कुरालाई पक्कापक्की गर्ने चाहना पैदा भयो ।”
हार्वर्ड विश्वविद्यालयमा शिक्षा-दीक्षा प्राप्त गरेका समाजशास्त्री सिन्हवा पुस्तकालयका प्रमुख शिह कुओ-हेङ पनि सिआसँगै कियाङसीमा गएका थिए यी चश्मा लगाएका दुब्ला पातला मानिसले विगतमा युन्नानका किसानहरू र कर्कटपाताको कारखानामा काम गर्ने मजदुरहरूबारे अध्ययन गरेका थिए तर उनले जनजीवनमा भने कहिल्यै पनि प्रवेश गरेका थिएनन् । उनका अनुसन्धानहरूको उद्देश्य समाजलाई रूपान्तरित गर्नु नभई प्राज्ञिक जगत्मा नाम कमाउनु नै थियो । पहिले त उनलाई मे ७ काडर विद्यालयको जीवन ज्यादै कष्टकर लाग्यो । गृष्म यामका बालीहरू नपाकुन्जेलसम्म त्यहाँ सागसब्जीहरू केही थिएनन्, त्यसकारण उनीहरूले दिनदिनै सिमीको झोल खानुपयो ।
सिआलाई आफ्नो सफासुग्घर निजी कोठामा बस्ने बानी लागेको थियो, त्यसकारण छाप्रोमा अरू मानिसहरूसँगै बस्नु भनेको उनका लागि चिताउनै नसकिने कुरा थियो तर उनी जति तलब पाउँथे त्यति कमाउन पन्ध्र जना किसानहरूको श्रम लाग्दो रहेछ भन्ने कुरा थाहा पाउँदा उनी लज्जित भए । म अरू मानिसहरूभन्दा श्रेष्ठ हुँ भन्ने उनका सबै भावना चकनाचूर भए र उनी “मैले के योगदान गरेको छु ? भनेर आफैलाई सोध्न थाले ।
“उनको घरमा अघि नै देखिरहेको उनलाई एकदमै मनपर्ने एउटा बुरूसले बनाएको चित्रकला थियो । त्यस चित्रकलामा पानी परेको दिनमा किसानहरू धान रोपिरहेका थिए । चित्रमा छड्के परेर पानी परिरहँदा बाँसका टोप र परालका रेनकोट लगाएका किसानहरू लामबद्ध भएर अघि बढेको दृश्य थियो । शिह आफ्नो आरामदायी सोफामा बसेर त्यो दृश्यको सुन्दरता र सन्तुलनको परख गर्थे । अहिले म आफैँ अचानक त्यो चित्र हेर्ने मानिस नभई त्यस चित्रको पात्र बन्न पुगें । अनि अहिले पानी पनि परिरहेको थियो । म के कुरा बुझ्न थाले भने श्रम भनेको सजिलो कुरा होइन रहेछ र अनाज जमिनबाट आफैँ गुड्दै आउँदो रहेनछ । मेरो ब्रह्माण्ड हल्लियो ।
मलाई दशकौदेखि जनताले मान गरेका थिए तैपनि म भने उनीहरूलाई घृणा गर्थे । यो वर्गीय भावनाको कुरा थियो ।”
“अनाज बोकेर खलामा लैजाँदा मैले त्यति धेरै बोकेको त थिइनँ तर जतिजति हिंड्दै गएँ, त्यो उतिउति गहुगो हुँदै गयो । भारी बोकेर म धर्मराउँदै हिंडेको देखेपछि कसरी सन्तुलन कायम गर्ने भन्ने कुरा किसानहरूले मलाई सिकाइदिए । उनीहरूले मेरोबारे फिक्री गरेको देख्दा मेरो हृदय पग्लियो । मुक्तिभन्दा अघि म श्रमिक किसानहरूका काँधमा आफ्नो ओजनको भार लादेर उलिन काठमा बोकिन्थे तर त्यतिखेर मलाई पीडाको अनुभूति पटक्कै हुँदैनथ्यो ।
म आफ्नो शरीरमुनिका मानिसहरूबारे एकरत्ती विचार नगरी सारा बाटो छिचोलेर पुग्नुपर्ने ठाउँमा पुग्थे तर अहिले मलाई समस्या पर्दा भने उनीहरूले अघि सरेर मलाई मद्दत गरे । यसरी उनीहरूले आफ्ना वर्गीय भावना देखाए अनि ‘कसको सेवा गर्ने भन्ने प्रश्न बुद्धिजीवीहरूका लागि साँच्ची नै गाँठ्ठी प्रश्न रहेछ भन्ने मैले महसुस गरें ।”
“मैले कृषि मजदुर र किसानहरूबाट असङ्ख्य पाठ सिकें । धानको पहिलो बाली उठाउँदा हामीले झाँटेको धान त्यस रात खलामै छाड्यौं । बिहान तीन बजे किसानहरूले हामीलाई उठाएर धान छोप्न लगाए । मैले सोचें, ‘किन यस्तो हतार गर्नुपरेको होला ? धानको जोगाउ गर्नलाई बिहान मनग्य समय भइहाल्छ नि ।’ तर हामीले धान छोपिसकेका मात्र के थियौं, मुसलधारे पानी पर्न थालिहाल्यो । मेरो भर गरिएको भए बाली त बर्बादै हुने रहेछ ।”
“पछि भत्केर चुहुन थालेको बाँधलाई जोगाउन हामी सबैले छाती-छातीसम्म आउने पानीमा पसेर काम गर्यो । एकछिन पनि आनाकानी नगरी किसानहरू र जनमुक्ति सेनाका मानिसहरूले बाँधभित्र उफ्रेर एकअर्काका हात समातेर मानव साङ्लो बनाएको देख्दा म उनीहरूको भावनाको तारिफ नगरी रहन सकिनँ ।”
“त्यस बाँधलाई जोगाउन सघाउ पुऱ्याउने एक जना तरूण महिला शिल्पकारले कसरी त्यस दिन उनको आन्तरिक जीवनको एउटा कुनामा नयाँ ढोका खुल्यो भन्ने कुरा बताइन् । उनको समूहले बाँध भत्किएको ठाउँमा पुग्न धष्धपी बलिरहेको घाममा दुई घण्टा हिंड्नुपर्यो । त्यहाँ पुगेर माटो भरेकोटोकरी बोक्दा उनलाई भनन्न रिङ्गटा लाग्यो । उनले काम गर्न नसकेकी हुनाले उनका कामरेडहरूले उनलाई खेतीको मोटरसाइकलमा चढेर आफ्नो निवासमा जान आग्रह गरे । म तरूण चालकको पछाडि बसें । मोटरसाइकल जति छिटो दगुर्दै गयो, मेरो मानसिक द्वन्द्व त्यति नै चर्को हुँदै गयो ।
मेरा कामरेडहरू त्यहाँ छउन्जेलसम्म बाँध थामिन सक्थ्यो तर म भने त्यहाँबाट भागिरहेकी थिएँ । मैले वीरहरूले बाढीहरूसँग सङ्घर्ष गरेको विषयमा थुप्रै कथा सुनेकी थिएँ तर यसो सघाउने मौका पाएको बेला म आफूचाहिं हिंडिहालें । घर जाने आधा बाटोमा पुगेपछि मैले चालकलाई मोटरसाइकल रोक्न भने । अनि म ओर्लेर अघि आएकै बाटोतिर फर्किएँ अनि मैले बाँकी दिनभरि काम गरेँ। आफ्नो विश्वदृष्टिकोण फेर्न पूरा अठोट नगर्नु नै मेरो मूल समस्या थियो । पूरा अठोट गरेपछि भने म पनि प्रगति गर्न सक्ने रहेछु भन्ने मलाई थाहा भयो ।”
“सिङहुआमा हाम्रो अन्तिम दिनमा हामीले हाम्रो विभाग र विद्यार्थीहरूले देखाएका केही अत्यन्तै जिउँदा हास्य-व्यङ्ग्यहरू हेयौ । तिनीहरूमध्ये थुप्रै कियाङसीको मे ७ विद्यालयका गतिविधिहरूलाई लिएर बनाइएका थिए । अहिलेसम्मका सबैभन्दा जिउँदा र सबैभन्दा बढी हँसाउने दुईवटा हास्य-व्यङ्ग्य हाँस पाल्ने जिम्मेवारी सुम्पिइएका दुई जना बुद्धिजीवीको कथामा आधारित थिए । पक्का निराशावादी खालको पहिलो बौद्धिकको मनमा यस्ता कुरा खेलिरहेका थिए, ‘हाँस पाल्ने ठाउँको दुर्गन्ध आकाशतिर उड्छ । सारा खोर हाँसको सुलीले भरिएर खुट्टा टेक्ने ठाउँ पनि हुँदैन ! जे होस्, म आफूलाई खार्न कोशिश गर्छु ।’ अनि पक्का आशावादी खालको अर्को बुद्धिजीवीले चाहिं आफू एउटा सानो नदीको किनारमा उभिएको कल्पना गर्दै तर्कना गर्यो, ‘त्यहाँ चारैतिर शान्ति छाएको हुनेछ ।
अँध्यारो नहुन्जेलसम्म हाँसहरू पानीमा खेल्नेछन् । अनि त्यसपछि मैले चिच्याएको सुनेर सबै हाँस चप्ल्याङ-चुप्लुङ गर्दै मेरो छेउमा आउनेछन् । अनि म हाँसको सेनापति तिनलाई बाटो देखाउँदै घर पुऱ्याउनेछु । हाँस पाल्ने काममा केको साह्रोगाह्रो हुन्छ र !””तर, पहिलो दिन हाँसहरू खोरबाट बाहिर निस्केपछि एकदमै सम्हालिनसक्नु हुन्छन् । मैले देब्रेतिर जाओ भन्दा तिनीहरू दाहिनेतिर जान्छन् अनि मैले
पछिल्तिर जाओ भन्दा तिनीहरू अघिल्तिर जान्छन् । अनि तिनीहरू पानीमापुगेपछि त चौपट् भइहाल्छ ।”
हाँसहरू पानीमा पसेपछि हाँसका गोठालाहरू तिनलाई “यता, यता, यता, यता भनेर एक स्वरमा अहाउँछन् तर हाँसहरू भने उनीहरूको भाषा बुझ्दैनन्
र ती चारैतिर छरपस्ट हुन्छन् ।निराशावादी सोध्छ, “ए बूढा वाङ, तपाईंलाई अझै कवितामय अनुभूतिभइरहेको छ ?आशावादी जवाफ दिन्छ, “भुत्रोको कवितामय अनुभूति हुनु ? म त भिजेर मुसो भइसकें ।
आखिरमा हाँसहरूलाई लखेट्दै घर पुऱ्याउँदा आधा रात भइसकेको हुन्छ तर क्रान्तिकारी प्रतिबद्धता भएका ती दुई जना बुद्धिजीवी लागिपरिरहन्छन् । वाङ बाजे भन्ने एक जना बूढा किसान उनीहरूलाई हाँसलाई तह लगाउने छडी चलाउन सिकाउँछन् । उनीहरू चर्पीबाट गुहेकिरालाई बढारेर बाहिर ल्याउन र तिनलाई धोईपखाली गरेर त्यो ‘मीठो परिकार’ हाँसहरूलाई खुवाउन सिक्छन् । आखिरमा आशावादी भन्छ, “म फेरिएँ र त्यसैगरी हाँसहरू पनि फेरिए |
म जब टक्क अडिन्छु, हाँसहरू पनि त्यसरी नै टक्क अडिन्छन् अनि जब म हाँसको छडी देखाउँछु, तिनीहरू मैले देखाएको ठाउँमा खुरूक्क जान्छन् । अनि जब खान मन लाग्छ, तिनीहरू मतिर फर्केर क्वाक्-क्वाक् गर्छन् अनि म तिनीहरूको भाषा बुझ्ने भएको छु । हो, म साँच्ची नै हाँसहरूको सेनापति भएको छु । यसरी चमचम गर्ने र चहकिलो राजनीतिक फूल परिपूर्ण आर्थिक फलमा परिणत हुन्छ ।”
चमकदार र कारखाना र खेतीपातीका यसप्रकारका अनुभवहरूले सिङहुआका प्रोफेसरहरू र शिक्षकहरूलाई विश्वविद्यालयलाई रूपान्तरित गर्ने कार्यका लागि तयार पारे । आफ्नो संस्थानको पुँजीवादी अभिमुखीकरणको सट्टा सर्वहारावादी अभिमुखीकरणलाई स्थापित गर्ने हो भने उनीहरूले पहिले आफ्नो वर्गीय अडानलाई नै फेर्नुपर्थ्यो, पसलका कामदारहरू वा किसानहरूजस्ता श्रमिकहरूकहाँ जानुपर्थ्यो र जुनसुकै स्तरको शिक्षाको लक्ष्य उनीहरूकै सेवा गर्नु हो भन्ने कुराको महत्त्वलाई स्वीकार गर्नुपर्थ्यो । केही महिना, एक वर्ष वा अनेक वर्ष कारखाना वा काडर स्कुलमा काम गर्दैमा कुनै बुद्धिजीवी रूपान्तरित भइहाल्छ भनेर कसैले पनि तर्क गर्न सक्दैन तैपनि कठोर श्रमको अनुभव, मजदुर र किसानहरूसँगसँगै काम र अध्ययन गर्दाको अनुभवको ज्यादै गहिरो प्रभाव परेको थियो ।
विश्वविद्यालयको अतीतको प्रचलनलाई जनस्तरबाटै त्याग्ने र विश्वविद्यालयको प्रत्येक कर्मीले आम जनतामा घुलमिल भएर आफ्नो पुरानो शिक्षणविधि र दृष्टिकोणलाई त्याग्ने अभियान अजग ठूलो राजनीतिक सङ्घर्षको बीचबाट चालु हुँदा त्यस प्रक्रियाले सिङ्गो राष्ट्रमा उथलपुथल ल्याइदियो अनि मानिसहरूलाई त्यो कुरा मन परोस् वा मन नपरोस्, त्यसले प्रत्येक मानिसलाई राजनीतिमा सामेल गराइदियो अनि यो जनस्तरीय श्रमले मानिसहरूलाई चारैतिर नियाल्न, नयाँ बाटोतिर पाइला चाल्न र समाजवादी भविष्यका सम्भावनाहरूतर्फ आँखा उघारेर हेर्न अवश्यै सघाउ पु-यायो । यस्तो कुरा उनीहरूले यसअघि कि त कहिल्यै कल्पना नै गरेका थिएनन् अथवा त्यसलाई कहिल्यै गम्भीररूपमा लिएका थिएनन् ।
(सत्ता र सत्य पृ९२-१०४,अनु: खगेन्द्र सङ्ग्रौला )