१४ बैशाख २०८१, शुक्रबार

एकीकृत जनक्रान्ति र मनोवलको सवाल

0

विषय प्रवेश

एकीकृत जनक्रान्ति नेपाली मौलीकता सहितको नेपालको क्रान्तिलाई सम्पन्न गरी बैज्ञानीक समाजवादी ब्यवस्था निमार्ण गर्नको निमित्त प्रतिपादित बिचारधारात्मक कार्यदिशा हो । बिश्व कम्युनिष्ट आन्दोलनमा देखिएका सफलता र असफलता साथै नेपाली बिभिन्न जनक्रान्तिहरु र दश वर्षे महान जनयुद्धको सार अथवा बिकसित रुप नै एकीकृज जनक्रान्ति हो ।

बिश्व कम्युनिष्ट आन्दोलन साथै नेपाली कम्युनिष्ट आन्दोलन पनि जडसुत्रिय संकिर्णतावाद र सुधारवादी संसदवादको गोलचक्करमा घुमिरहेको अवस्थामा नेपाली कम्युनिष्ट आन्दोलनलाई सफलता प्रदान गर्न तथा बिश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ बिचार सहितको सन्देश प्रवाह गर्न यो नयाँ कार्यदिशा अर्थात बिचार कोशेढुङ्गा सावित हुनेछ ।

बिचारधारात्मक कार्यदिशा सहि वा गलत हुने कुराले सबै कुराको निर्धारण गर्दछ क. माओले भने झै यो कार्यदिशाले गतिशिल माक्र्सवादको चरीत्र आजको सामजबिकासको क्रम र बिश्वमा भएको बिज्ञान र प्रबिधीको बिकासका आयामहरुलाई पकडेको छ त्यसकारण यो भन्न सकिन्छ कि माओले भने झै यो सहि मात्र हैन कि बिज्ञानलाई पकडेको छ । साथै यो कार्यदिशा आजको बिज्ञान हो ।

समय सन्दर्भ अनुरुप मार्क्सवादको गतिशिल चरित्रलाई पकडन नसक्दा अर्थात आफ्ना बैचारीक र दार्शनिक स्तरहरुलाई बिकास गर्न नसक्दा कयौ क्रान्तिकारी भनिनेहरु लोप हुदै अस्तित्व रक्षाको खोजिमा भौतारीरहन परेको छ । मार्क्सवादलाई समाजबिकासको गतिसंग बुझ्ने र लागु गर्ने उदेश्यले नै एकीकृत जनक्रान्तिको जन्म भएको हो । एकीकृत जनक्रान्तिलाई सफल पार्न धेरै संगठनात्मक र राजनितिक कुराहरुको बिकास गर्न भने जरुरी नै छ । त्यस मध्य एक हो मनोवल । आज हामी एकीकृत जनक्रान्तिमा मनोवलको सवाल बिषयमा छलफल गर्दै छौ ।

मनोवलको प्रश्न

बिचारले आफै क्रान्ति गर्ने कुरा भने हैन ,बिचारलाई प्रयोग गर्न सोहीअनुरुपको संगठनको आवश्यकता पर्नेगर्दछ । उच्च मनोवल भएको, क्रान्ति र आन्दोलनप्रति प्रतिवद्ध संगठनात्मक शक्तिले मात्र बिचारलाई प्रमाणित गर्ने ल्याकत राख्दछ । अवसरको खोजी गर्ने, नेतृत्व वा पार्टीमा संकट आउँदा ठाडो खुटटा गरेर उभिन नसक्ने, क्रान्तिको बिचार र बिश्वासबाट धर्मराएको शक्तिले क्रान्तिलाई अन्तिम बिजयसम्म पुरयाउन सक्तैन । क्रान्ति पुरा गर्न हिक्मतिलो सैन्य मनोवल सहितको शक्ति नै अन्तिम बिजयको निम्ति तयार हुन्छ । उसो भए मनोवल के हो ? मनोवल मान्छे भित्र हुने एक अमुर्त अदृश्य आत्मीक गुण हो ।

क्रान्तिकारी शक्तिले आफ्नो जिम्मेवारी पुरा गर्दा अत्याधिक बलिदानी भावका साथ आफ्नो जिम्मेवारी पुरा गर्न प्रेरीत गर्ने आन्तरिक शक्तिलाई नै मनोवल भनिन्छ । उचो र निचो मनोवल भएको शक्ति वा ब्यक्ति सरल तरिकावाट परिचित हुन्छ अर्थात काम गर्ने तरिकाहरुवाट परिचित हुन्छ । मनोवल मानसिक र नैतिक वलवाट प्राप्त हुन्छ । मनोवल क्रान्तिकारी शक्तिको आत्म हो । एकीकृत जनक्रान्ति क्रान्तिकारी पार्टी, जनता र क्रान्तिकारी शक्तिको उच्च मनोवलवाट मात्र जित्न सकिन्छ । यदि पार्टी र जनताको क्रान्तिकारी मनोवल उच्च छ भने हजारौ चुनौतीहरुको सामना गरेर पनि बिजयसम्म पुग्न सकिन्छ ।

जनयुद्धमा जनताको बलिदानीपूर्ण तागत मनोवलको सहारामा लाठि र बन्दुकको भरले राज्यलाई पराजयको तह सम्म पुर्याएको हो । राज्यसंग आधुनिक हतियार हुँदा पनि लाठिवाट शुरु गरिएकोे जनयुद्ध असि प्रतिशत भुगोलमा सत्ता संचालन, हजारौ संख्याको जनमुक्ति सेना सहित बिजयको सन्निकट पुगेको थियो । त्यसकारण मनोवल क्रान्तिकारीहरुको निम्ति महत्वपूर्ण मिसाइल हो । जमर्न हिटलरको सेना शक्तिसाली हुदा पनि शोभियत लालसेनाले उसलाई पराजित गर्यो। कारण एउटै थियो कि शोभियत सेना संग कम्युनिष्ट मनोवल थियो । कम्युनिष्ट क्रान्तिकारीहरुले जित्ने भनेको हतियारले मात्र सम्भव रहदैन मात्र कम्युनिष्ट मनोवलले जित्नु पर्दछ ।

यदि सैन्य मनोवल छैन भने उसंग ठुला ठुला मेसीनगन भएर पनि पराजीत हुन्छ । यदी शक्तिसाली मनोवल छ भने उ संग केही नहुदा पनि सबै चिज प्राप्त हुन्छ र बिजय हुन्छ । हाम्रो मनोवल भनेको हाम्रो नेतृत्व र क्रान्तिकारी बिचार हो । हामीले नेतृत्व र बिचारलाई मनोवल उच्च बनाउन प्रेरीत गर्ने मुलतत्वको रुपमा बुझ्न पर्दछ ।

सैन्य मनोवल भनेको क्रान्ति र परिवर्तनको आकांक्षालाई मुखरीत गर्ने, लक्षसम्म पुग्न आइपर्ने वाधा र चुनौतिहरु सामना गर्न सक्ने आन्तरिक शक्तिशाली तागतले पैदा गर्नु हो । उच्च मनोवलको तागत हजारौ मिसाइल र क्षेप्यास्त्रहरु भन्दा सक्तिशाली हुन्छ । आधुनिक क्रान्तिमा मनोवलको महत्व झन बढेर गएको छ भन्ने कुरा कयौं बिज्ञहरुले समेत स्वकार गरीसकेको कुरा हो ।

मनोवललाई प्रभाव पार्ने तत्वहरु :

बिज्ञान तथा भौतिक साधनको प्रभाव : आज अत्याधिक आधुनिक बिज्ञान र प्रविधिको बिकास भएको सन्दर्भमा पनि मान्छेसंग हुने मनोवलको तागत नै मुख्य कुरा हो, अर्थात क्रान्तिमा मान्छेको भूमिका नै पहिलो कुरा हो । बिज्ञानले केवल मान्छेलाई सहायता मात्र प्रदान गर्न सक्दछ । क्रान्तिमा क्रान्तिकारी शक्तिको उच्च मनोवल नै एकमात्र प्रमुख हतियार हो । अर्थात भौतिक हतियार केवल साधन मात्र हो साध्य हैन । साध्य केवल मान्छे नै हो । यति मात्र हो कि बिज्ञानले मान्छेको मनोवललाई प्रभावित गर्न सक्दछ । राम्रो भौतिक साधनले उच्च बनाइदिन सक्दछ भने कमजोर साधनले मनोवलमा ह्रास ल्याइदिन सक्दछ ।

क्रान्तिकारी कम्युनिष्टहरु भौतिक साधनमा मात्र पूर्ण बिश्वस्त रहन्छन भन्ने कुरा भने हुँदैन । भौतिक साधन केवल एक चरणमा निमार्ण हुन्छन र अर्को कुनै चरणमा अर्को उच्च भौतिक साधनको निमार्ण भैसकेको हुनेछ, पहिलो चरणको नयाँ भौतिक साधन अर्को चरणमा पुग्दा कमजोर साधनमा रुपान्तरीत हुनपुगेको हुनेछ । बैचारीक तागतले लेस क्रान्तिकारी कम्युनिष्टहरुको आन्तरीक दक्ष हतियार भनेको बैचारीक हतियार नै हो ।

बैचारीक तागत भन्दा बलियो तागत मानव दुनियामा निमार्ण अर्थात बिश्वजगतमा निमार्ण भएको छैन । आज कैयौं मान्छेहरु भौतिक तागतसंग डराउने गर्दछन किनकि ती मान्छेहरुसंग मनोवलको शक्ति कमजोर बनिसकेको छ र अगाडी बढने आँट नै छैन । जव अगाडी बढने आँट हुदैन क्रान्ति केवल गफ गर्ने अखडामा मात्र परिणत हुने गर्दछ । आधुनिक भौतिक साधनको उचित ब्यवस्थापन र त्योवाट माथी उठेको बैचारीक दृष्टिकोण सहितको उच्च मनोवल आजको क्रान्तिको आवश्यकता हो ।

आपसी बिश्वास : नेतृत्व कार्यकर्ता र जनता बिचको दुरी अर्थात सम्वन्धलाई प्रगाढ तुल्याउनुलाइ नै आपसी बिश्वास भन्न खोजीएको हो । नेतृत्व नेतृत्व कार्यकर्ता कार्यकर्ता वा एकआपस बिचका सम्वन्धहरु आसंकापूर्ण बन्न पुगे, एकले अर्कालाई अबिश्वासको घेरामा राख्ने सम्वन्धहरु औपचारीकता भन्दा माथी उठन सकेनन भने त्यस्तो अबिश्वासपूर्ण ब्यवहारहरुले मनोवलहरुमा नकारात्मक प्रभाव पार्ने गर्दछन ।

एउटा आफ्नो साथी अर्थात सहयोद्धामाथी परेको पीडा मेरो पनि पीडा हो भन्ने उच्च क्रान्तिकारी आदर्शयुक्त ब्यवहार र सम्वन्धहरुले मनोवललाई माथी उठ्न प्रेरित गर्दछ । खुल्ला, स्पस्ट भावना, प्रेम र स्नेहपूर्ण ब्यवहार क्रान्तिकारी ब्यवहार हो भने शङ्का, षडयन्त्र र छलछामपूर्ण ब्यवहार गैर क्रान्तिकारी तथा कम्युनिष्ट मान्यता बिपरितका ब्यवहारहरु हुन । हाम्रो क्रान्ति मनोवलको सहायताले जित्न पर्ने क्रान्ति हो त्यसकारण एकआपसका सम्वन्धहरु रहस्यमय षडयन्त्रात्मक हैन खुल्ला र सहयोगीपूर्ण आत्मिय र भावनात्मक तथा बैचारीक स्तरमा उठेका सम्वन्धहरु बनाउन जरुरी हुन्छ ।

जसको कारणले समग्र शक्तिको उच्च मनोवलका साथ प्रतिक्रियावादी शक्तिलाई जित्ने साहस पैदा होस । क्रान्तिकालमा एक अर्कालाई धोका दिनु भनेको अपराधको रुपमा बुझ्नु पर्दछ । आपसी विश्वासको जगमा उभिएको भावनात्मक र बैचारीक एकता सहितको क्रान्तिकारी योद्धाले प्रतिकुल परिस्थितिहरुको एकल सामना गर्न सक्दछ । किनकी उ संग आपसी सम्वन्धहरुले मनोवलको जग माथी उठाएको हुन्छ ।  

आत्मबिश्वास :आपसी बिश्वास जत्तिकै महत्वपूर्ण कुरा आत्म बिश्वास पनि हो । आत्मबिश्वास आफैले आफैप्रति गरिने बिश्वास भन्ने अर्थ राख्दछ । हाम्रो क्रान्तिकारी चरित्र अर्थात ब्यवहार देखावटी मात्र हो या वास्तविक हो भन्ने अर्थमा यसलाई बुझ्नुपर्दछ । एकदिन एउटा कुरा गर्दछ अर्को दिन अर्कै कुरा गर्दछ भने बुझ्नै पर्दछ कि उ संग आत्मबिश्वासको कमि छ । आत्म बिश्वास पनि मनोवल जस्तै हो यो देखीने बस्तु हैन मात्र यती हो उसका ब्यवहारहरुले पुस्टि गर्दै गैरहेको हुन्छ । क्रान्तिकारी नेता कार्यकर्तामा आत्मबिश्वास भरीपूर्ण हुन जरुरी हुन्छ ।

प्रशिक्षण तथा बैचारिक स्पष्टताले आत्मबिश्वास पैदा गर्दछ भने आत्मबिश्वासले मनोवललाई उच्च बनाइ दिन्छ । आत्म बिश्वास नभएको ब्यक्ति वा शक्तिसंग मनोवलको कल्पना गर्न सकिदैन । आत्मबिश्वास कमजोर भएको ब्यक्ति अवसरको खोजिमा रहन्छ । `ताक परे तिवारी नत्र गोतामे´ भने जस्तै उ सधै अवसरहरुको खोजीमा तल्लीन रहन्छ प्रतिकुल परिस्थितिको सामना गर्ने सामर्थ्य उसले राख्न सम्भव हुदैन । त्यस्तो प्रबृती पद प्राप्तीमा वा अवसर लिनेमा अगाडी र संकटमा पछाडी सर्ने गर्दछ । ति ब्यक्तिहरुसंग मनोवलको अपेक्षा गर्न सकिदैन ।

संकट समाधान गर्ने क्षमताहरु नभएमा वा पार्टी ,क्रान्ति र नेतृत्वप्रति अबिश्वास खडा भएमा नै मान्छे अवसरवादी बन्ने हो । अविश्वासको जगमा खडा भएका सम्वन्धहरुले क्रान्तिकारी मनोवलहरुमा ह्रास गर्दछ ।  आजको आवश्यकता क्रान्तिको जगमा खडा भएको आपसी बिश्वास र क्रान्तिकारी दृढ आत्मबिश्वासले भरीपूर्ण भएको उच्च सैन्य मनोवल सहितको शक्ति बन्न अनिवार्य हुन्छ ।

नेतृत्वप्रतिको बिश्वास : नेतृत्व भनेको बिचार संगठन र नीति योजनाहरुको केन्द्रिकरण हो । नेतृत्वप्रतिको बिश्वासले क्रान्तिकारी शक्तिमा मनोवल उच्च वनाउदछ र बिजयको झण्डा लहराउने साहस प्रदान गर्दछ । यदि नेतृत्वप्रतिको अबिश्वास वा आशंका हुन्छ वा छ भने बिचार संगठनहरु कमजोर पार्ने गर्दछ अर्थात बिजय यात्राको मनोवललाइ कमजोर पार्ने गर्दछ । उच्च बौद्धिकस्तर भएको, कुशल, कार्यकर्ताको मनोभावना बुझ्ने, दक्ष र क्षमतावान नेतृत्व हुदा कार्यकर्ता तथा सहयोद्धाहरुको मनोवल उच्च रहने गर्दछ ।

यदि अदक्ष, असक्षम र गैरजिम्मेवार तथा कमजोर नेतृत्व छ भने कार्यकर्ताको मनोवल कमजोर बन्ने गर्दछ । राष्ट्रिय नेतृत्व वा प्रमुख अदक्ष हुदा राष्ट्रिय मनोवल कमजोर सावित हुन्छ । जस्तै नेपालमा सत्तासिन नेतृत्व बर्ग गैरजिम्मेवार अथार्त असक्षम हुँदा नेपाली जनताको मनोवल नै कमजोर बनेको छ । यसलाइ क्रान्तिमा रुपान्तरण गर्नु र कमजोर वनेको राष्ट्रिय मनोवल माथी उठाउनु क्रान्तिकारी शक्तिको अहम दायित्व हो । यो कुरा पार्टीभित्र पनि त्यहि स्तरमा लागु हुने गर्दछ ।

पार्टी नेतृत्व कस्तो छ भन्ने कुराले त्यो पार्टी कार्यकर्ता र सहयोद्धाहरुको मनोवल कस्तो छ भन्ने कुरा निर्धारण गर्दछ । कार्यकर्तालाई दास र आफुलाई मालिक जस्तो ठान्ने, पद प्रतिष्ठा र जिम्मेवारीको गलत फाइदा उठाउदै दुरुपयोग गर्ने खालको नेतृत्व छ भने त्यसले सहयोद्धा अर्थात कार्यकर्ताको मनोवल ह्रास पार्ने काम गरेको छ भन्ने बुझ्नु पर्दछ । आफुलाई जनताको सेवक भन्दा पनि नेता मात्र सोच्ने कार्यकर्तालाई निर्देशनहरुमा अहमता, घमण्ड प्रर्दशन गर्ने, कार्यकर्तालाई धम्काउने थर्काउने, म नेता हो, मैले भनेको सबै कुरा कार्यकर्ताले पालना गर्नु पर्दछ भन्ने जस्ता तमाम कम्युनिष्ट सस्कार सस्कृति बिरोधी ब्यवहार प्रदर्शनले पनि आफ्नै शक्ति भित्रको मनोवलमा ह्रास गर्दै लिएको हुन्छ ।

जनता, नेता र कार्यकर्तासंग आत्मैदेखी भिजेको, कार्यकर्ता र सहयोद्धालाई समान ब्यवहार गर्न सक्ने अपराध वा कमजोरी गरेमा दण्डित गर्न सक्ने राम्रो काम गर्दा पुरस्किृत गर्न सक्नुले मनोवल बढाउनमा फाइदा पुग्दछ । नेतृत्व सहि हुँदा नेतृत्व स्वयं तथा जनता कार्यकर्ताको पनि मनोवलको मात्रा माथी उठेको हुन्छ । क्रान्तिकारी पार्टीले कतै अबिश्वासका खाडलहरु पर्न थाले र क्रान्तिकारी योद्धाहरुको मनोवल कमजोर बन्न खोज्यो भने उपयुक्त समयमा नै पहलकदमी लिनु उपयुक्त हुन्छ ।

पारिवारीक अवस्था:एक कुशल क्रान्तिकारी लगातार आफ्नो कार्यक्षेत्रमा प्रतिवद्धताका साथ आफ्नो कर्तब्य पुरा गरीरहन्छ । उत्साहका साथ दुस्मनहरुसंग भिडिरहन्छ । उसको परिवारको वारेमा सोच्नेसम्म फुर्सद पाउँदैन भने त्यो बेला स्थानिय पार्टी वा शक्तिले उसको पारिवारीक अवस्थाको वारेमा सोचिदिनु पर्दछ । यदि त्यसवारे पार्टीले सोच्न सकिरहेको छैन भने त्यसको प्रभाव क्रान्तिकारी शक्ति, पंक्ति र ब्यक्तिमा पर्ने निश्चित नै हुन्छ ।

पारीवारीक अवस्था कस्तो छ भन्ने कुराले पनि मनोवललाई धेरै प्रभाव पार्ने गर्दछ । परिवारले पनि मेरो परिवारको सदस्य क्रान्तिको मोर्चामा छ मेरो नकारात्मक सन्देशले क्रान्तिमा असर पर्न सक्दछ भन्ने बुझ्न जरुरी हुन्छ । क्रान्ति संकट र महाबिपत्तीहरुको सृखलावाट गुज्रने भएकोले स्वभाविक संकटहरु आउनुलाइ अस्वभावीक ठानिदैन तर अन्तिमसम्म जव संकटहरु आइरहन्छन र हल हुदैनन् त्यसले एउटा क्रान्तिकारी कार्यकर्तामा मनोवल र मनोबैज्ञानिक प्रभाव पार्ने गर्दछ ।

क्रान्ति फिल्डमा रहेको योद्धामा सकभर पारिवारीक तनाव नरहोस भन्नेमा नेतृत्व पक्ति अर्थात संवन्धित निकायहरुले ध्यान दिनु राम्रो हुन्छ । जव पूर्ण बिश्वासका साथ क्रान्तिमा योद्धाले सबैको साथ पाउछ उसको मनोवल हजारौ हजार गुणा माथी रहन्छ र प्रतिकुल अवस्थाहरुलाइ मनोवलको सहाराले चिर्दै बिजय सम्मपुग्ने गर्दछ ।

अन्तमा

एक उच्च मनोवल भएको कुशल योद्धा आत्मै देखी आफ्नो आन्तरिक ईच्छाहरुलाई क्रान्तिमा प्रयोग गर्दछ र सबै कठिनाइहरुलाई पार लगाउन सक्दछ । हाम्रो मनोवल भनेको हाम्रो मुल नेतृत्व हो र हाम्रो क्रान्तिकारी बिचार हो । नेपाली श्रमिक जनताको आशा, भरोसा र मुक्तिदाताको रुपमा उभिएको हाम्रो क्रान्तिकारी पार्टी नै हाम्रो समग्र मनोवलको मुल तत्व हो । आजको नेपालमा परिवर्तन र क्रान्तिको अभिभारा हाम्रो पार्टी र नेतृत्वको काँधमा आएको छ त्यसलाई पुरा गर्न उच्च अनुशासन सहितको उच्च मनोवल भएका योद्धाहरुको तातीले मात्र सक्दछ । नेपालको इतिहासमा त्यो जिम्मेवारी हाम्रो हो । सैन्य मनोवल सहित एकीकृत जनक्रान्तिको बिचारको जगमा दर्होसंग उभिएको अनुशासित क्रान्तिकारी योद्धाले मात्र अन्तिमसम्म लडने आँट गर्दछ र बिजय प्राप्त गर्दछ ।

आज दलाल पूँजिवादी सत्ता बदनाम र धरासायी बन्दै गैरहेको छ । संसदवादी नेताहरुप्रतिको विश्वास जनतामा उडिसकेको छ ।बैदेशिक शक्ति केन्द्रको आड भरोसामा नेपालको सत्ता टिकिरहेको छ । जनता आर्थिक , राजनितिक, सामाजिक रुपमा कमजोर बन्दै गैरहेका छन, दिनप्रतिदिन युवाशक्ति बिदेश पलायन भैरहेको छ । यो बिषम अवस्थामा क्रान्तिकारी शक्ति अझ बढि जिम्मेवार बन्नपर्ने र क्रान्तिलाई माथि उठाउन तथा जनउत्तरदायी रहने ब्यवस्था बैज्ञानिक समाजवाद निमार्णको निम्ति लड्न एकीकृत जनक्रान्तिको बिचार बोकेको उच्च सैन्य मनोवल सहितको क्रान्तिकारी शक्तिको आवश्यकता छ । त्यो तागत हामीसंग छ र उच्च मनोवल सहित लडनु र जित्नुको बिकल्प छैन ।
 २०७९ चैत १९


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।