११ बैशाख २०८१, मंगलवार

ललितपुरमा ढुङ्गागिट्टी अवैध उत्खनन: अवैध खानी सञ्चालन हुँदा समेत स्थानीय निकायकाे रहस्मय मौनता

1

ललितपुर: ढुङ्गा तस्करले ललितपुर देवीचौरस्थित राष्ट्रिय वन मासेर अवैध रुपमा ढुङ्गा खानी सञ्चालन गरेका छन् । गोदावरी नगरपालिका ७ र ८ मा खुलेआम अवैध उत्खनन भइरहँदा स्थानीय पालिका, प्रसाशन र वन कार्यालय  भने मौनता सँधेका छन् । ढुङ्गा, गिट्टी तथा बालुवा तस्करीमा सेटिङका कारण जिम्मेवार निकायले आँखा चिम्लेको स्थानीयको आरोप छ ।
देवीचौर डुकुछाप क्षेत्रमा मत्स्येन्द्रनाथ मल्टिप्रपाेज, सजिलो रोडा ढुङ्गा, न्यू क्वालिटी एड्भान्स, महालक्ष्मी रोडा ढुङ्गा उद्योग, बाहुबली रोडा ढुङ्गा उद्योगले क्रसर सञ्चालन गरिरहेका छन् । क्रसरका लागि आवश्यक कच्चा पदार्थ भने वनबाट निकाल्ने गरेका हुन् । यी क्रसर उद्योग पनि अवैध हुन् । मत्स्येन्द्रनाथ, सजिलो, न्यू क्वालिटी, महालक्ष्मी र बाहुबलीका सञ्चालकमा केदार तिमल्सिना, शशि शाही ठकुरी, मधुसुदन डोटेल, सुमन श्रेष्ठ र सुदर्शन विष्ट छन् । स्थानीयका अनुसार बाहुबली रोडा ढुङ्गा उद्योग र बालुवा खानीमा गोदावरी नगरपालिकाका जनप्रतिनिधिको समेत लगानी छ ।

स्रोतसाधन र अन्य कारण पटक पटक अनुगमन गर्न सक्दैन ललितपुरका वन डिभिजन अधिकृत (डीएफओ) चन्द्र भण्डारी भन्छन्, सूचनाका आधारमा केही दिन अघि अनुगमन गर्ने क्रममा अवैध रूपमा उत्खनन गरिरहेको डोजर नियन्त्रणमा लिएका छौं । कारवाही गर्न सहायक वन अधिकृत प्रेमा थापाको  नेतृत्वमा छानबिन थालेका छौं। उनले अहिलेसम्म डोजरको मालिक पत्ता लगाउन नसकेको बताए । वनको कति क्षेत्रफल दोहन भएको भन्ने बारेमा जान्न अमिन लिएर जाने क्रममा छौं । उनले भने, ‘चाँडै नै अध्ययन सकेर अदालतमा मुद्धा दायर गर्छौँ ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी जगनारायण आचार्यले अवैध उत्खनन रोक्न प्रहरीलाई निर्देश गरेको बताए । ‘मिलेमतोको कारण सञ्चालन भइरहेको भन्ने कुरा होइन, उनले भने, ‘ जनताको सुरक्षाप्रति सधैं सजक छौं ।’ गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले नगरपालिकाले भन्दा पनि वन कार्यालयले बेला-बेलामा अनुगमन गर्नुपर्ने बताए । नगरपालिकालाई अनुगमन गर्न अधिकार दिए पनि स्थानीय पालिकाको भूमिका स्पष्ट छैन, उनले भने, ‘देशको अर्थतन्त्र उकास्न मुख्य भूमिका खेलिरहेका व्यवसायीहरुको मर्का पनि राज्यले बुझ्नुपर्छ ।’

स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद-३ का अनुसार जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षणसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन, खानी तथा खनिज पदार्थसम्बन्धी सूचना तथा तथ्याङ्क संकलन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । त्यस्तै ढुङ्गा, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा तथा स्लेटजस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन, विक्रीवितरण तथा निकासी शुल्क, दस्तुर संकलन गर्ने अधिकार स्थानीय तहलाई छ ।
अवैध रूपमा उत्खनन भइरहेको रोडा, ढुङ्गा तथा बालुवा ओसारप्रसार पनि टिपर निषेधित क्षेत्रबाट भइरहेको छ । बुङ्मती-भैंसेपाटी- नख्खु सडक टिपर निषेधित क्षेत्र हो । यस क्षेत्रका स्थानीयवासीले राज्यसँग निषेधित क्षेत्रमा दिन दहाडै गुड्ने टिपर आतंक रोकिदिन हारगुहार गर्दै आइरहेको एक दशक बितिसक्यो । तैपनि समस्या भने ज्युँकात्यूँ छ। अहिले यहाँका वासिन्दा दुर्घटनाको त्रासमा बस्न बाध्य छन् ।

टिपरकै कारणले स्थानीय र खानी व्यवसायीबीच पटकपटक भडप हुने गरेको छ । २०७७ मा अवैध ढुङ्गा उत्खनन रोक्न खोज्दा गिद्धविर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिवमाथि भाैतिक आक्रमण भएको थियो । २०७४ मा बुंगमतीका निरण तुलाधरले निषेधित क्षेत्रमा टिपर बन्द गर्ने अभियान चलाए । २०७५ मा उनीमाथि सांघातिक हमला भयो । स्थानीयले आक्रोशमा ११ वटा टिपरमा तोडफोड गरेर आन्दोलन थाले । अन्तमा प्रमुख जिल्ला अधिकारीले केही समय बन्द गरे । पछि ललितपुर महानगपालिका-२२ बुंगमती वडा कार्यालयले बन्द गर्नुको सट्टा उल्टो घाट राखेर पैसा उठाउन सहमति दियो । वडा कार्यालयले ९ महिनामा ८६ लाख रुपैयाँ उठाएको थियो ।
अहिले पैसा नउठाई टिपर आवतजावत गर्न दिईरहेको छ । यसबारे महानगरपालिका-२२ का वडाध्यक्ष सागर तुलाधरले केही प्रतिक्रिया दिन चाहेनन् । ‘ यसबारे सचिवज्युसँग बुझ्नुस्’ उनले भने । बुंगमतीका वडा सचिव सुनिल महर्जनले वडाले मात्र चाहेर पनि रोक्न नसकिने दाबी गरे । ‘हामीले मात्र चाहेर रोक्न सकिँदैन । प्रशासनदेखि लिएर सबैले साथ दिनुपर्छ’, उनले भने । प्रजिअ आचार्यले प्रशासनले मात्र नभई स्थानीय जनप्रतिनिधिले पनि निषेधित क्षेत्रमा सञ्चालन बन्द गर्न पहल गर्नुपर्ने बताए । ‘निषेधित क्षेत्रमा टिपर चल्न नदिने काम स्थानीय पालिकाको पनि हो, ‘ उनले भने ।

टिपरको धुवाँधुलोले सबभन्दा बढी सास्ती नख्खु, बागडोलवासीलाई छ । नख्खुका सुशील महर्जन धुवाँधुलो र ध्वनि प्रदुषणले अजित छन् । नख्खु टोल सुधार समितिका अध्यक्ष समेत रहेका महर्जनले स्थानीयसँग मिलेर टिपर आतंक रोक्न संघर्स समिति गठन गरेर चरणबद्ध आन्दोलन थाले । धेरै पटक जिल्ला प्रशासन कार्यालय, महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ध्यानार्कषण गराए । माग सुनुवाइ नभएपछि २०७७ मा त्यस क्षेत्रमा बस्ने पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल, पूर्व स्वास्थमन्त्री हृदेश त्रिपाठी, पूर्व उपप्रधनमन्त्री वामदेव गौतम, माओवादी केन्द्र नेतृ पम्फा भुसाल, पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की, तत्कालीन प्रदेश सांसद जीवन खड्कालाई समेत बोधार्थ दिएर पत्र काटे । तैपनि कसैले निषेधित क्षेत्रमा टिपर रोक्न पहल गरेन ।
टिपरले हुने दुर्घटनाका कारण भैंसेपाटीमा खानी व्यवसायी र स्थानीयबीच पटकपटक झडप हुने गरेको छ । २०७८ असोजमा बुंगमतीबाट भैंसेपाटी हुँदै आउँदै गरेको बा १ ख ८३९० नम्बरको टिपरले कारलाई ठक्कर दिंदा झडपको स्थिति बनेको थियो । स्थानीयले भैंसेपाटीस्थित प्रहरी प्रभाग घेराउ गरेका थियो । नख्खुका महर्जनले भने, ‘जनप्रतिनिधिले चाहेमा सजिलै रोक्न सकिन्छ तर रोक्न चाहेका छैनन् ।’ उनले न्यायका लागी अदालतको ढोका ढक्ढकाउने बाहेक अरु उपाय नभएको बताए ।’ सबैजना कमाउने धन्दामा लागेका छन्,’ उनले भने ।
मेयर महर्जनले भने नख्खुवासीलाई धुवाँधुलोबाट मुक्त गर्न वासिङ सेन्टर बनाउन डिजाइन तयार परिरहेको दाबी गरे । सडक सफा गर्न दैनिक ब्रुमर पठाएर साध्य भएन। धुवाँधुलोको विकल्प दिन खोजिरहेको छु, उनले भने,’ दिगो समस्या समाधान गर्न २२ नम्बरका वडाध्यक्षसँग छलफल भइरहेको छ ।’
ललितपुर-१ का सांसद उदय शमशेर राणाले नख्खु करिडोरको बाटो व्यवस्थित नभएकले समस्या हुने गरेको बताए । ‘ नगरको बजेटले मात्र बनाउन सकिन्न,’ उनले भने, ‘ मेयरलगायतसँग छलफल गरेर अगाडि बढ्नेछु ।’ २०७५ पुषमा जिल्ला समन्वय समिति ललितपुरका तत्कालीन संयोजक अम्बरबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले निर्माण सामग्री ओसारपसारमा ठूला सवारी बस्तीभन्दा बाहिर नख्खु करिडोरबाट मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “ललितपुरमा ढुङ्गागिट्टी अवैध उत्खनन: अवैध खानी सञ्चालन हुँदा समेत स्थानीय निकायकाे रहस्मय मौनता

  1. तु कारवाही होस अवैद्य खानी crusher र टिपर ढुवानी बन्द गर

Leave a Reply to Bikesh Maharjan Cancel reply

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।