७ बैशाख २०८१, शुक्रबार

आदित्यनाथको अभिव्यक्ति सार्वभौमिकतामाथिको हस्तक्षेप :देशभक्त समाजवादी मोर्चा

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सहित चार कम्युनिस्ट पार्टी सम्मीलित देशभक्त समाजवादी मोर्चाले यहि चैत २० गते भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दुधर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्ति देशको सार्वभौमिकता, स्वतन्त्रता र जनभावना माथिको ठाडो हस्तक्षेप भएको भन्दै बिरोध जनाएको छ।बुधबार देशभक्त समाजवादी मोर्चाको तर्फबाट अध्यक्ष मण्डलका अध्यक्ष तथानेकपा महासचिव विप्लवले एक प्रेस बिज्ञप्ती जारी गर्दै आदित्यनाथको अभिव्यक्तिले मोर्चाको गम्भीर ध्यानाकर्षण भएको भन्दै बिरोध जनाएका हुन।

नेपालमा कस्तो राजनैतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्नेकि नमान्ने भन्ने अधिकार नेपाली जनतामा भएको,देशमा संसदीय व्यवस्था असफल भएको स्थितिमा मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्ति आएको र यो देशमा अस्थिरता, अराजकता र असफलता चाहनेहरुको योजनाको अंश भएको समेत बिज्ञप्तीमा उल्लेख छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

यही चैत्र २० गते विश्वहिन्दु सम्मेलनमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले नेपालमा राजतन्त्र र हिन्दुधर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो गंभीर ध्यानपुगेको छ । यो हाम्रो देशको सार्वभौमिकता, राजनैतिक स्वतन्त्रता र जनभावना माथि गरिएको ठाडो हस्तक्षेप हो । यसको हामी घोर भत्सर्ना गर्दछौं ।

नेपालमा कस्तो राजनैतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्नेकि नमान्ने भन्ने अधिकार पूर्णतः नेपाली जनतामा छ । यतिवेला नेपालको दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो । तर यो व्यवस्था पनि नेपाली जनताको छनोटबाट स्थापित नभइ नयाँ जनवाद—वैज्ञानिक समाजवादलाई रोक्नका लागि भारत, अमेरिका लगायतको निर्देशनमा लादिएको व्यवस्था हो । यसको विकल्प र समाधान राजतन्त्र हुन सक्दैन । संसदीय व्यवस्थाको संकटको निकास र विकल्प जनवादी गणतन्त्र या वैज्ञानिक समाजवादी व्यवस्था मात्र हुन सक्छ ।

समाजवादी—देशभक्त मोर्चा सबै कम्युनिष्ट, जनवादी, वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिहरुलाई सूचित गर्न चाहन्छकि विभिन्न साम्राज्यवादी शक्तिहरु नेपाललाई अस्थिर एवं अनिश्चित राजनैतिक भूमरिमा थुनेर प्रगतिशील एवं अग्रगामी शक्तिहरुललाई कमजोर बनाउने, अग्रगामी निकासलाई भाड्ने, दलालहरुको थुप्रो लगाउने र नेपाललाई नवउपनिवेश बनाउने षड्यन्त्रमा लागिपरेका छन् ।
आदित्यनाथको अभिव्यक्ति त्यसैको एउटा अंश हो । समयमै सचेत नभएमा भयानक घटनाहरु देखा पर्ने संभावना पनि छ । तर हामीलाई पूर्ण विश्वास छ कि राष्ट्रवादी, अग्रगामी, परिवर्तनकारी एवं क्रान्तिकारी प्रवृत्ति भएका नेपाली जनताले यस्ता षड्यन्त्रहरुलाई सफल हुनदिने छैनन् । मोर्चा नेपाली जनताको परिवर्तनकारी चाहनाको नेतृत्व गर्न हरदम तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।