६ बैशाख २०८१, बिहीबार

स्कुलिङले हामीलाई पुनर्ताजगी गरेको छ

0

शान्त र हरियाली वातावरण । प्रकृतिको अनुपम उपहारले प्रफुलित चराचुरुङ्गी । छेउमा कलकल बग्ने खोला । डाँडामा तीन तले बढेमानका जुम्ल्याह घर । घर वरिपरी करेसाबारी, माछापोखरी र अलि पर बंगुरको खोर । नजिकै सी भान्सा घरको स्वादिलो खाना । खानेपानी, विजुली, इन्टरनेट र सडकको पहुँच । यो दृष्य हो नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय कार्यालय कपिलबस्तुको । घरको भूँई तला र माथिल्ला तलामा आवश्यकता अनुसारका हल र विभाग अनुसारका कार्यालयहरु छन् ।

 यही कार्यालयको हलबाट पार्टीको नवौं महाधिवेशनले ‘कार्यदिशा र विचारमा नयाँ विकास’ गरेर विश्वलाई सकारात्मक सन्देश दिएको थियो । पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा, ९औं महाधिवेशनबाट विचारमा विकास गरेको ‘अनिश्चय, रक्षा र रुपान्तरण’लाई एकरुपतामा बुझ्न र बुझाउन यही कार्यालयमा १० दिनसम्म चल्यो केन्द्रीय राजनीतिक तथा वैचाारिक स्कुल ।

स्कुलको प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो नेकपा स्थायी समिति सदस्य तथा केन्द्रीय स्कुल तथा अनुसन्धान विभागका इन्चार्ज भरत सी, नेकपा पोलिटब्युरो सदस्य तथा विभागका प्रमुख ध्रुव सी, केन्द्रीय सदस्य तथा विभागका सदस्य प्रयास सी र तीर्थ सी । अतिथि प्रशिक्षकका रुपमा हुनुहुन्थ्यो नेकपा स्थायी समिति सदस्य तथा जनपरिषद् प्रमुख विषम सी र पोलिटब्युरो सदस्य असल सी ।

स्कुलमा माक्सवादका तीन संघठक अंगका बारेमा प्रशिक्षण भएको भएपनि पार्टीले विकास गरेको विचारलाई केन्द्रमा राखिएको थियो । भरत सीले दर्शनशास्त्र, ध्रुब सीले राजनीतिक अर्थशास्त्र र प्रयास र तीर्थ सीले वैज्ञानिक समाजवादका विषयमा कक्षा लिनुभएको थियो भने ‘जातियता र सत्ता’ शिर्षकमा विषम सी र एकीकृत जनक्रान्ति पुरागर्ने बाटोका बारेमा असल सीले पढाएका थिए ।

 
१० दिनसम्म चलेको एकीकृत जनक्रान्तिको स्कुलमा सहभागी प्रशिक्षार्थीहरुले एकीकृत जनक्रान्ति कसरी पुरा गर्ने, दलाल पुँजीवादको अन्त्य गरी वैज्ञानिक समाजवाद कसरी स्थापना गर्ने विषयमा मसिनो गरी बुझ्ने अवसर पाएको प्रतिक्रिया दिएका थिए । उनीहरुले आफ्नो वैचारिक स्तर माथि उठेको, कार्यदिशामा देखिएको अलमलमा एकरुपता आएको, जनतालाई सजिलो भाषामा पार्टीले विचारमा गरेको विकासबारे बुझाउन सकिने र बाहिरी हमलाको सजिलै प्रतिरोध गर्न सकिने प्रतिक्रिया थिएका थिए ।

 
नेपाल कम्युनिस्ट पार्टी संखुवासभाकी जिल्ला सेक्रेटर सुनिता सीले पार्टीले विकास गरेको नीति- अनिश्चय रक्षा र रुपान्तरणलाई बुझ्ने मौका मिलेको बताउनु भएको थियो । पार्टीले विकास गरेको कार्यादिशलाई बुझ्न र बुझाउन कठिनाई भइरहेका बेलामा स्कुलिङले महत्वपूर्ण भूमिका खेलेको उहाँको बुझाई थियो ।

 विद्यार्थी मोर्चाबाट स्कुलिङमा सहभागी भएका अटल सीले स्कुलिङले उत्साहित बनाएको बताउँदै यसअघिका स्कुलभन्दा यस पटक फरक पाएको प्रतिक्रिया दिनुभयो । यसअघि पनि दुई पटकको स्कुलिङमा सहभागी भएको बताउँदै उहाँले यस पटकको स्कुलिङले आफूलाई फरक अनुभूति भएको र नयाँ तरिकाबाट संचालन भएको स्कुललाई निरन्तरता दिनुपर्नेमा सुझाव दिनुभयो ।

 
श्रमिक समूदाय मोर्चाको तर्फबाट सहभागी अर्की प्रशिक्षार्थी सरिता सीले स्कुललाई श्रममा जोडेको भन्दै केन्द्रीय स्कुलिङ विभागलाई धन्यवाद दिनुभएको थियो । हरेक दिनको स्कुलमा श्रमको कक्षा पनि राखेर नयाँ सन्देश दिएको भन्दै यसलाई निरन्तरता दिन उहाँको विभागलाई आग्रह थियो ।

 धौलागीरी व्युरोबाट स्कुलिङमा सहभागी क्रान्ति सीले खिया लागेको दिमाखलाई स्कुलिङले सफा गरेको बताउनुभयो । स्कुल संचालन गरेकोमा धन्यवाद दिदै उहाँले भन्नुभयो, ‘यो स्कुलिङले खिया लागेको दिमाखलाई सफा गरेको र यसलाई निरन्तरता दिनपर्छ । यो पटकको स्कुलिङले वैचारिक हतियार धारिलो बनेको छ । हामी यसलाई फिल्डमा प्रयोग गछौं ।’

 
एकीकृत जनक्रान्तिको विकास मालेमावादकै विकास भएको भन्दै यसलाई तलसम्म लैजानका लागि स्कुलिङले ठूलो भूमिका खेल्ने प्रशिक्षार्थीहरुको भनाई थियो । यी प्रशिक्षार्थीहरुका प्रतिनिधिमूलक भनाई मात्र हुन्, स्कुलमा सहभागी सबैले आफ्नो वैचारिक स्तर बढेको प्रतिक्रिया दिएका थिए । पार्टीले गरेको के हो, अहिले के गरिरहेको छ, भविश्यमा के गर्न खोजिरहेको छ, यो पार्टी किन सफल हुन्छ, अर्थात एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद कसरी आउँछ र जनताले विश्वास गर्ने आधारहरु के के छन् ? भन्ने कुरा मसिनोगरी बुझ्ने अवसर पाइएको उनीहरुको भनाई थियो ।

 विश्वमा कम्युनिस्टहरु किन कमजोर भइरहेका छन्, पेरिस कम्युन, सोभियत संघ किन ढल्यो, नेपालमा जनयुद्ध किन सफल हुन सकेन र नेपाल कम्युनिस्ट पार्टीले विचारमा विकास गर्नुपर्ने आवश्यकता किन महसुस भयो ? भन्नेकुराको गहन अध्ययन गर्ने अवसर मिलेको थियो । भरत सीले कार्यदिशा तथा विचारमा पार्टीले गरेको नयाँ विकास, कार्यदिशा तथा विचार विकासको आवश्यकता, कारणहरु, विशेषताहरु र यसको परिक्षणका बारेमा प्रष्ट पार्नुभएको थियो ।

 स्कुल तथा अनुसन्धान विभाग प्रमुख ध्रुब सीले वैज्ञानिक समाजवादमा आफूहरुले स्वामित्वको प्रश्न हल गर्ने बताउनुभयो । वैज्ञानिक समाजवादमा एकीकृत स्वामित्व हुने भन्दै यसले व्यक्तिका निजी क्षमता, सृजना, चाहाना र आवश्यकताहरुलाई परिपुर्ती गर्दै, सारा मानव समाजलाई समानता, स्वतन्त्रता र सम्बृद्धिमा लैजाने बताउनुभयो । निजी स्वामित्वकै कारण जनताले दुःख पाइरहेको भन्दै सामूहिक स्वामित्वले नै सम्पूर्ण दुःखहरुको अन्त्य हुने उहाँको भनाई थियो ।

 पार्टीले नेता, कार्यकर्ता र जनताका लागि छुट्टाछुट्दै अर्थ दृष्टिकोणको विकास गरेको भन्दै वैज्ञानिक समाजवादमा नेतृत्वले योग्यता अनुसारको काम, आवश्यकता अनुसारको दाम पाउने भन्दै उदाहारणसहित प्रष्ट पार्नुभएको थियो । ‘पार्टी कार्यकतालाई योग्यता अनुसारको काम र काम र आवश्यकता अनुसारको दाम हुन्छ ।’, सबै कार्यकर्ताको आवश्यकता एउटै नहुने भन्दै पार्टीले सश्लेषण गरेको अर्थ दृष्टिकोणका बारेमा उहाँले भन्नुभयो, ‘जनताले योग्यता अनुसारको काम र काम अनुसारकै दाम पाउँछन् ।’

स्कुल तथा अनुसन्धान विभागका सदस्य प्रयास सीले अनिश्चियको सिद्धान्त समाज विज्ञानमा कसरी प्रयोग गर्न सकिन्छ भनेर पढाउनुभएको थियो भने अर्का सदस्य तीर्थ सीले मानव विकासका चरणहरुको बारेमा प्रकाश पार्दै विश्व कम्युनिस्ट इतिहास पढाउनु भएको थियो ।

 समग्रमा एकीकृत जनक्रान्तिको स्कुलले प्रशिक्षार्थीहरुलाई उत्साहित बनाएर पठाएको छ । फिल्डमा डटेर पार्टीले अगाडि सारेको पाँच आधार र तीन योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेर फर्किएका छन् प्रशिक्षार्थीहरु । उनीहरु लाल र निपूर्ण हुँदै पार्टी संगठनले सुम्पेको जिम्मेवारी पुरा गर्नेछन् भन्ने आशा र अपेक्षासहित…।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।