८ बैशाख २०८१, शनिबार

नेकपाद्वारा अछामको साफेमा बिरोध प्रदर्शन

बैंक तथा वित्तीय संस्थाहरूको गुण्डाराज रोक्न माग

0

अछाम / बैंक तथा लघुवित्त संस्थाहरूको चर्को व्याजदर, ॠणि माथि हुने ज्यादती र छिपेखोला किनारमा श्रमिकहरुले प्रसोधन गरेको गिट्टी र वालुवाको उचित व्यवस्थापन गर्न माग गर्दै साफेबगर बजारमा विरोध प्रदर्शन सहित नगरपालिकामा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार ३३औं जनआन्दोलन दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी र बैंक तथा लघुवित्तद्वारा गरिएको लुट र आतंक विरुद्धको संघर्ष समिति साफेबगरले आयोजनामा गरेको विरोध प्रदर्शन कार्यक्रम कोणसभामा परिणत भएको हो।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछाम सचिव तथा केन्द्रिय प्रतिनिधि सदस्य निरक सीले कोणसभा कार्यक्रमलाई सम्वोधन गर्दै सरकार जनता, उत्पीडित समुदाय, महिला, श्रमिक समूदाय र किसानहरूप्रति बेखवर भएकाले जनताले संघर्ष र विद्रोह गर्नुपरेको बताए ।

सरकार देश र जनता प्रति संवेदनशील भएको छैन, साफेबगरमा १२ओटा लघुवित्त र ८ ओटा बैंकहरू रहेका छन् र ति बैंक तथा लघुवित्त संस्थाहरुलाई चर्को व्याजदर तत्काल नियन्त्रण गरेर १अंकमा व्याजदर कायम नगरेसम्म किस्ता र व्याज नउठाउन पार्टीको तर्फबाट चेतावनी दिदै ऋणि माथि गरिएको दुर्व्यवहार, ज्यादती र मान्छेलाई मर्न वाध्य पार्ने कार्य तत्काल रोकि जनताले सहज परिस्थितमा व्याज तथा किस्ता तिर्ने वातावरण सृजना गर्न समेत आह्वान गरेका थिए ।

नेता निरक सीले -छिपेखोला किनारामा गरिव निमुखा जनताहरुले दिन रात नभनि कुटेको गिट्टीको उचित व्यवस्थापन सम्वन्धीत निकायले नगरेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए। जनता द्वारा प्रसोधन गरिएको गिट्टी, वालुवा उचित मुल्यका साथ व्यवस्थापन गर्न सम्बन्धित निकाय तथा नगरपालिकासम्म जोडदार माग गरेकाछन् र साथै सो कार्य गर्न नसक्ने भए ति जनताको वैकल्पिक व्यवस्था गरिनु पर्ने, अबैध क्रसर उद्योग तत्काल बन्द गरिनुपर्ने बताउँदै माग पुरा नभए उत्पिडित जनसमुदाय संघर्षमा सहभागी हुनपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताउँदै पिडित जनताको अधिकार जस्तो सुकै मुल्यचुकाएर भएता पनि दिलाएरै छोड्ने उनले दावी गरे।

बैंक तथा लघुवित्तद्वारा गरिएको लुट र आतंक विरुद्धको संघर्ष समितिका संयोजक राधिका नेपालीले कोणसभा कार्यक्रममा यो आन्दोलन जुनसुकै अवस्थामा पनि टुंगोमा पुर्याएरै छोड्ने बताएकी थिईन । लघुवित्त संस्थाहरुले महिलाहरु माथि गरेको ज्यादती, आतंक तत्काल नरोकिए थप संघर्षमा जाने उनको धारणा छ।

छिपेखोलाको किनारमा गिट्टी कुट्ने श्रमिकहरुको प्रतिनिधित्व गर्दै स्थानीय रेशम साउदले कोणसभा कार्यक्रममा दलाल, भ्रष्ट ठेकेदारहरुले विगत ४/५ वर्ष देखि गिट्टी बेचेको पैसा नदिएकोमा आफुहरुले न्याय पाउनुपर्ने माग गरेकाछन् । रगत पसिना बगाएर आफुहरुले रात दिन नभनि कुटेको गिट्टी ६/७ महिना देखि बिक्री नभएको र उचित मुल्यका साथ व्यवस्थापन गर्न सम्बन्धित निकाय तथा नगरपालिका सम्म माग गरेकाथिए । आफुहरुको गिट्टी बिक्री नहुँदा आर्थिक संकटमा परेका र विद्यालयमा पढिरहेका वालवालिकाहरुको शुल्क तिर्न नसकेर कसैको वार्षीक परिक्षा रोकिएको त कसैलाई विद्यालय छोडेर घर फर्काउनुपर्ने पिडा आफुहरुमाझ रहेको बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामको पार्टी कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन कार्यक्रम नगरपालिका अगाडि गएर कोणसभामा परिणत भएको थियो भने कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला संयोजक एकेन्द्र सिले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।