१५ बैशाख २०८१, शनिबार

सुडानमा ‘कुख्यात’ अर्धसैनिक बलद्वारा राष्ट्रपति भवन कब्जामा लिएको दाबी

0

सुडानको सेना र एउटा कुख्यात अर्धसैनिक बलबीच राजधानी खार्तुममा भीषण लडाइँ भइरहेको छ। त्यहाँ नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद जारी छ।

अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

सेनाले चाहिँ त्यसलाई अस्वीकार गर्दै आफ्नो वायुसेनाले उक्त अर्धसैनिक बलका आधार शिविरहरूमा आक्रमण गरिरहेको बताएको छ।

मानिसहरू उक्त भिडन्तबाट आफूलाई बचाउन सङ्घर्ष गरिरहेका छन्।

एकजना प्रत्यक्षदर्शीका अनुसार मानिसहरूलाई त्यस्तो भिडन्त हुन्छ भन्ने लागेको थिएन।

त्यसैले धेरै मानिसहरू घरबाट बाहिर निस्किएको अवस्थामा थिए।

पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् भने विद्यालय बन्द गरेर कतिपय विद्यालयमा त्यसैभित्र मानिसहरू बसिरहेको उनको भनाइ छ।

“यहाँ अझै गोली चलिहरेको छ र मानिसहरू घर भित्रै बसिरहेका छन्। यहाँ आतङ्क र डरको स्थिति छ,” अजोक मोनीबायोकले केन्यामा रहेकी उनकी दिदीमार्फत बीबीसीसँग भनिन्।

रोयटर्स समाचार संस्थाले सहरको मध्य भागमा रहेको सेनाको मुख्यालय नजिकै गोली चलेको आवाज सुनिएको जनाएको छ।

यसअघि आरएसएफले खार्तुमको दक्षिणमा रहेको आफ्नो एउटा शिविरमा हमला भएको बताएको थियो।

सुडानको सेनाले आरएसएफ लडाकुहरूले सैन्य मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको बताएको छ।

विवादको कारण

नागरिक नेतृत्वको सरकारको प्रस्तावित कार्यले आरएसएफलाई राष्ट्रिय सेनामा समायोजन गर्ने समय तालिकामा बनाएको छ।

आरएसएफले त्यसलाई १० वर्ष पछिसम्म धकेल्न खोजेको थियो तर सेनाले त्यो दुई वर्षमा भई सक्नुपर्नेमा जोड दियो।

यसै सातादेखि तनाव बढेपछि बिहीवार आरएसएफले मेरोवेमा सैन्य आधार नजिकै आफ्ना फौजलाई तैनाथ गरेको थियो।

जेनरल बुरहानले प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने विवाद सुल्झाउन आफ्नो द्वितीय वरीयताका कमान्डरसँग कुरा गर्न इच्छुक रहेको बताएका छन्।

पश्चिमी र क्षेत्रीय नेताहरूले दुवै पक्षलाई तनाव कम गर्न र नागरिक शासन पुनर्स्थापना गर्ने उद्देश्यसहितको वार्तामा फर्कन आग्रह गरेका छन्।
बीबीसी


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।