१७ बैशाख २०८१, सोमबार

वित्तीय संस्थाहरूको आतंक नरोकिए जनताको साथले सडकमा घिसार्छौँ : सुमनसिंह

0

झापा: झापामा बैंक, वित्तीय संस्था तथा मिटरब्याजीहरुको अराजकता र गुन्डागर्दी मौलाउँदै गएको भन्दै यस्ता वित्तीय गुन्डाहरुलाई अब झापाली जनताको साथ लिएर विर्तामोडका सडकमा घिसार्ने चेतावनी दिएका छन् ।

हिजो झापाको विर्तामोडमा आयोजित वित्तीय गुन्डाराज विरुद्धको जनसभालाई सम्बोधन गर्दै नेता सिंहले गरिब, मजदुर, सुकुम्बासीहरुमाथि वित्तीय आतंक नरोकिएको र मिटरब्याजि मौलाउँदै गएको भन्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय झापाका विभिन्न दुर्गम भेगतिर वित्तीय संस्था लघुवित्त, बैंक तथा मिटरब्याजीहरुले पीडित जनतालाई धम्की दिने, थर्काउने र मानसिक यातना दिने कार्य गरेसँगै नेपाल कम्युनिस्ट पार्टीले यस्ता कार्यको विरोध तथा संघर्ष गर्दै आएको छ ।

जनसभालाई सम्बोधन गर्दै नेता सिंहले झापाका पीडित जनताहरुको सबै डाटाबेस नेपाल कम्युनिस्ट पार्टीसँग रहेको र पीडकहरुको समेत नामावली रहेको बताउँदै चुल्ठे, मुन्द्रे , गुन्डाहरुको धम्किमा नडराउन आम झापाली जनतालाई आग्रह गरेका छन् । जनतालाई  कसैले धाक धम्की र मानसिक यातना दिए जनताको साथमा नेपाल कम्युनिस्ट पार्टी रहेको बताउँदै निर्धक्क भएर पार्टीसामु आउन अपिल गरेका छन् ।

जनतालाई कमाएर तिर्ने सहज वातावरण बनाउन र ब्याजदर घटाउन समेत उनले बैंक, वित्तीय संस्था र लघुवित्तहरुलाई आग्रह गरेका छन् । यदि वित्तीय गुन्डाराज नरोकिए जस्तोसुकै कारबाही गर्न पछि नपर्ने बताउँदै नेता सिंहले जनताको मुद्दा र न्यायको पक्षमा जतिसुकै जेलनेल बस्न समेत आफुहरु तयार रहेको बताए ।
उनलेे यो सबै समस्याको जड दलाल संसदीय व्यवस्था रहेको बताउँदै यसको अन्त्यको समय नजिकै रहेको र वैज्ञानिक समाजवादी व्यवस्था आउने दावी गरे । नेकपाले हिजोकै जनसभाबाट जिल्लामा वित्तीय गुन्डाराज, खुलेआम यौन व्यवसाय, लागूऔषध, सिमानाका समस्या लगायत विभिन्न संघर्षका कार्यक्रमको समेत घोषणा गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।