८ बैशाख २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टीको घोषणा-पत्र

0

पहाड पर्वत खोलानाला जग्गा जमिन सबको ।
मालिक हामी दास बनी किन हिस्सा सबमा सबको ।।

बितेका चार दशकभित्र दुईवटा ठूला-ठूला विश्व युद्धहरू भए । पहिलो विश्वयुद्धको नतिजास्वरूप संसारको ६ खण्डको एक खण्ड जमीन पूँजीवादी घेराबाट अलग भयो र त्यहाँ समाजवादी सोवियत सङ्घको खडा भयो । विश्व- क्रान्तिको यो एउटा बलियो किल्ला बन्न पुग्यो । सोभियत सङ्घमा वैज्ञानिक समाजवादका सबै सिद्धान्तहरु महान ऐतिहासिक सत्यतामा परिणत भए । सामन्तवादी र पूँजीवादी दासत्वको विरुद्ध विद्रोह मच्चाउनको निम्ति सबै देशका शोषित र श्रमजीवी जनतालाई यस महान् ऐतिहासिक सत्यताले बराबर आवाज दिइरहेको छ ।

यसकारण बेलायत, फ्रान्स र अमेरिकाका पूँजीवादी शासकहरूले सोवियत सङ्घको विरुद्ध जर्मनीमा हिटलरी फासिज्म कायम गराए । हाका-हाकी फौज र फौजी सामानहरु तयार गरी द्वितिय विश्व युद्धको बाटो खोलिदिए । तर द्वितिय विश्व युद्धको आखिरीतक सोभियत सङ्घ भताभुङ्ग हुन त परै जाओस्, भन पूर्वी तथा दक्षिण-पूर्वी युरोपका धेरै देशहरु पूँजीवादी-साम्राज्यवादी बन्धनहरुबाट मुक्त भए र समाजवादी समाजको साँध बढाए । द्वितिय विश्वयुद्धको नतिजास्वरूप अन्तर्राष्ट्रिय मजदूर-वर्गको आन्दोलनले ठूलो फड्को मारेको छ । उपनिवेशका जातिहरु (राष्ट्रहरु सं.) खुल्लम-खुल्ला सशस्त्र क्रान्तिको बाटोतिर लागेका छन् । विश्व पूँजीवादका अगाडि र पछाडि दुवै भागहरु गम्भीर रुपले क्षतिग्रस्त भएका छन् ।

दक्षिण पूर्वी एसियाको क्रान्तिको लहर हाम्रो प्यारो मातृभूमि नेपालमा पनि पुगिसकेको छ । नेपालमा मजदूर वर्ग, वर्षौ–वर्षौको सामन्ती बन्धनलाई तोडी, १९४७ मार्च महिनामा पहिलोपटक रणक्षेत्रमा उत्रे विराटनगर जूट तथा कटन काराखानाका मजदूरहरुले बाँच्न लायक तलब (ज्याला ) र कामको राम्रो बन्दोबस्तको निम्ति कामबन्दी हड्तालको अगुवाइ मजदूर सङ्घले गरेको थियो । मजदुर सङ्घ क. मनमोहन अधिकारीको अगुवाइमा गुप्त तवरले खडा गरिएको थियो । यद्यपि भारतीय समाजवादी नेताहरु तथा धपाइएका राणाहरूको सहायता र सहानुभूतिमा खडा भएको नेपाली राष्ट्रिय कांग्रेसका नेताहरूले कामबन्दी हडतालको विश्वासघात गरी यसलाई भताभुङ्ग पारेता पनि यसको लहर राजधानीसम्म पुग्यो । काठमाडौंमा विभिन्न सरकारी विभागका कर्मचारीहरुले त्यस्तै मागहरू राखी कामबन्दी हडताल गरे । कामबन्दी हडतालहरू यति सुदृढ थिए – हड्ताल गर्नेहरुलाई तलब बढाउन र रेशनमा चामल दिन सरकारलाई करै लाग्यो । तलबवृद्धि र रेशन काठमाडौं उपत्यकामा मात्र सीमित भए तापनि सबै नेपाली जनताले यसलाई आफ्नै जीत हो भन्ने ठानेर आफ्ना हकहरूको रक्षाको निम्ति आम जनसङ्घर्षको खाँचो छ भन्ने कुरा राम्ररी थाहा पाए ।

भाग दुई

नेपालमा सामन्तवादको बलियो जग सन् १३८५ मा बसेको हो । त्यसै बेलादेखि विभिन्न सामन्ती खलकहरूले नेपाली जनतालाई शोषण गर्दै आएका छन् । यी शताब्दीहरूको बीचमा नेपालमा जे-जति हेरफेरहरु भए तापनि सबैले सामन्तवादलाई बलियो तुल्याए । नेपालका केही भागहरुमा पूँजीवादी उत्पादन-प्रथा चालु गरिएका भए तापनि सामन्तवादी उत्पादन-प्रथा र सामन्तवादी शासन-व्यवस्था नै सर्वोपरी छन् ।

स्वयम्-सम्पूर्ण आदिम आर्थिक-प्रथा अझै पनि नेपालमा चालु नै छ । किसानहरू आफ्नो खाना मात्र पैदा गर्दैनन्, उनीहरुद्वारा प्रयोग गरिने धेरै जसो वस्तुहरु पनि उनीहरु नै तयार गर्दछन् । राणा, जिम्वाल, जमिन्दार, द्वारे, ठालु र मुखियाहरू आफ्नो भोग-विलासको निम्ति किसानहरूबाट उठाइएको मालपोत र करहरु खर्च गर्छन् । पहिले-पहिले यस्ता मालपोत र करहरु बन्द-व्यापारमा लगाइँदैनथे, तर आजभोलि बन्द-व्यापारमा समेत लगाएर उनीहरु दोहोरो तरिकाले कंगाल नेपाली जनताको रगत चुस्न पल्केका छन् ।
सामन्ती शासकवर्ग-राणा, चौतरिया, साहेबज्यु, भाइ-भारदार, जमिन्दार गुरुज्यु र दिन-पर-दिन उक्लँदो मध्यमवर्गको हातमा नेपालका धेरैजसो जग्गा जमीनहरु छन् । किसानहरूको हातमा थोरै जमीन छन्, तर खास गरेर छैन भने पनि हुन्छ ।

आफ्ना ‘प्रभुहरुका’ खेतबारी खनजोत गर्नलाई किसानहरुले आफ्नै हलो, कुटो र कोदालो लगाउनु पर्दछ । तर बालीनाली चाहिँ चार भागमा तीन भाग तिनै ‘प्रभु’ नरपशुहरुको भलाइ पुरा गर्नको निम्ति समर्पण गर्नुपर्दछ । सन् १९२४ मा कमारा- प्रथा हटाइएता पनि शारीरिक दण्ड-प्रथा चालु नै छ । अझै पनि किसानहरुलाई धरपकड गरी १५ दिनसम्म थुन्ने अधिकार यस सामन्तवर्गलाई प्राप्त नै छ । वास्तवमा किसानहरू अर्ध-कमाराको अवस्थामा छन् ।

किसानहरूले तमाम राणा र राणाशाहीका ठेकेदारहरुको असह्य बोझलाई मात्र थाप्लोमा हाल्नु पर्ने नभई समस्त सामन्तवादी – नोकरशाही (भाइ-भारदार शाही) र राज्यको जनविरोधी ताकत ( पुलिस र फौज) को खर्च-वर्चसमेत मालपोत कर र बेगारी दिएर भर्नु पर्दछ ।मल्ल वंशको समयमा धेरै नै सामन्ती शासकहरू थिए । यिनै सामन्ती शासकहरुको राज्यको रुपमा नेपाल धेरै नै स-साना टुक्राहरुमा बाँडिएको थियो । तर सन् १७६९ मा पृथ्वीनारायण शाहले नेपालमा एउटै केन्द्रीय सामन्तवादी, अत्याचारी राज्यसत्ता कायम गरे । यसै प्रथा बमोजिम हाल राणा र तिनका ‘हो, सरकार !’ हरुले नेपालको बागडोर अँठ्याइराखेका छन् ।

नेपालका किसानहरूले न पहिले न अहिले कुनै व्यक्तिगत, शारीरिक अथवा राजनीतिक स्वतन्त्रताको स्वाद चाख्न पाएका छन् । यत्तिका शताब्दीसम्म नेपालको सामन्तवादी सामाजिक व्यवस्था किन धेरै अंशमा जस्ताको तस्तै रहिरह्यो भन्ने प्रश्नको उत्तर नेपालका सामन्ती खलकहरुको अत्यन्त क्रुर शोषण र अत्याचारले नै दिनेछन् ।

मार्क्सवाद र नेपाली कम्युनि सन् १८४६ मा एउटा षड्यन्त्र रची (जुन कोतपर्वको नामले प्रख्यात छ ) – राणाले नेपालको बागडोर हत्याए । त्यसै बेलादेखि विदेशी साम्रज्यवादीहरूले नेपालमा आफ्नो पञ्जा छिट-छिटै फैलाउन साम्रज्यवादीहरूको हातमा राणाशाही लगाम छ । नेपाल त्यसै बेलादेखि थाले । आज नेपाल अर्ध-औपनिवेशको हालतमा पुगेको छ । विदेशी हातमा बेच्ने काममा मुख्य गोठाला (नाइके) नेपालका प्रधानमन्त्री बने । सिपाही भर्ना गर्ने अखडा हुन गयो । नेपाली जनतालाई साम्राज्यवादको आज पनि कंगाल नेपाली किसान- युवकहरुलाई हजारौंको सङ्ख्यामा भर्ना गरी अंग्रेजी उपनिवेशहरूमा चलिरहेको मुक्ति आन्दोलनको विरुद्ध उनीहरुको प्रयोग गर्न भारतको पूँजीवादी नेहरु- सरकार मनोमानी खुशी-राजी भएको छ । राणाको त कुरै के काट्नु ! अंग्रेजी एकाधिकार पूँजीको नाफा र स्वार्थ रक्षा गर्नको निम्ति दृष्ट महाराजले कंगाल नेपाली युवकहरूको रगत र ज्यान बेचिरहेको छ ।

अमेरिकी साम्राज्यवादीहरुका दलालहरु यस व्यवस्थाको शिखरमा छन् । उनीहरु नेपालमा आफ्‌नो डेरा जमाएर बसेका छन् र हाम्रो पवित्र जन्मभूमिमा समाजवादी सोभियत सङ्घ विरोधी फौजी अड्डाको जग हाल्मा व्यस्त छन् । भारतीय पूँजीपतिहरु पनि आफ्ना शोषणका जालहरु नेपालमा फैलाउदै छन् । प्रधानमन्त्री महाराजासाहेब नेपालमा उर्लदो प्रजातन्त्रीय आन्दोलनको भेललाई थच्याइ आफ्नो पिरा (आसन) नडग्ने तुल्याउनका निम्ति विदेशी शोषकहरुलाई निम्तो दिँदैछ । सबैलाई था भएकै कुरा हो राण सरकार जो केवल बेलायत र अमेरिकाको साम्राज्यवादी सरकारहरु र तिनकै आश्रयमा बाँच्ने भारतीय नेहरु- सरकारको पाल्तु कुकुर मात्र हो – भोका, कंगाल र नाङ्गा नेपाली जनताका सबै समस्याहरुको त परै जाओस् केवल, एउटा समस्यासम्मको टुंगो लगाउन सक्दैन । राणा सरकारले त केवल, जस्तो वास्तविक रुपमा गरिरहेको छ, नेपाली जनताको समस्या बढाउन र भद्रगोल गर्न मात्र सक्दछ ।

यस्तो राक्षसी अन्याय र अत्याचारको विरुद्ध नेपाली जनता उठिसकेका छन् । पूँजीवादी उत्पादन-व्यवस्थाको चालुले गर्दा नेपालमा मजदुर वर्ग पैदा हुँदैछ। मजदुर–वर्ग आधुनिक समाजमा सबैभन्दा क्रान्तिकारी वर्ग हो। नेपालका मजदुर-वर्गले आफ्नो क्रान्तिकारी प्रवृत्तिको पहिचान सन् १९४७ मार्च महिनाको ऐतिहासिक कामबन्दी हड्तालका सङ्घर्षहरुमा दिइसकेको छ। कामबन्दी – हड्ताल पहिले विराटनगरका जुट तथा कटन कारखानाहरुमा भयो । पछि यसले राजनीतिक अधिकारहरुको निम्ति दुष्ट महाराजाको विरुछ जनसङ्घर्षको रुप लियो । नेपाली जनताले राजनीतिक अधिकारहरुको ‘नारा’ लगाई काठमाडौंका सडकहरुमा प्रदर्शन गरे । नेपालको इतिहासमा यस्तो घटना पहिलोपल्ट घटेको हो । फेरि विद्यार्थाहरूले आ-आफ्ना शिक्षालयहरुमा राजनीतिक सभाहरू गरी नागरिक स्वतन्त्रताको ‘नारा’ लगाउँदै सडकहरुमा परिक्रमा गरे । यो पनि नेपालको इतिहासमा पहिलोपल्ट घटेको घटना हो । महिलाहरुले पनि जुलुसको अग्रिम-पंक्तिमा रही प्रदर्शनहरु गरे । यो पनि नेपालको इतिहासमा नयाँ कुरा हो । यस आन्दोलनलाई निर्ममतापूर्वक दबाइएता पनि ‘नागरिक स्वतन्त्रता दिन्छु र राजनीतिक बन्दीहरुलाई छोड्छु’ भनेर कबुल गर्न शासकवर्गलाई करै लाग्यो । यसबाट नेपाली जनताले दुई कुराको अनुमान गरे । एक महाराजा साहेब आत्तिएको छ र अर्को नेपाली जनताको ताकत बढेको छ । जनताको अनुमान बिलकुलै सही छ ।

भाग तीन

द्वितिय विश्वयुद्धको अन्त्यपछि समस्त संसार दुई गुटमा बाँडिएको छ । एक गुट साम्राज्यवादी, प्रतिक्रियावादी र युद्धवादी गुट हो । यस गुटको नेता अंग्रेज-अमेरिकन साम्राज्यवादी हो । यसको मुख्य उद्देश्य नै अंग्रेज- अमेरिकन एकाधिकार पूँजीको रक्षा गर्नु हो । अर्को गुट साम्राज्यवाद विरोधी, जनवादी र शान्तिवादी गुट हो । यस गुटको मुख्य काम नै मानिसद्वारा मानिसलाई गरिने शोषणको अन्त्य गर्ने हो । यसकारण, अंग्रेजी तथा अमेरिकन साम्राज्यवादी युद्धका जनकहरु- सम्पूर्ण संसारका हरेक मुलुकहरुमा उठिरहेका जनवादी आन्दोलनहरूलाई दबाउन तत्तत् देशका प्रतिक्रियावादीहरूको मद्दत गरिरहेका छन्, हात- हतियारको लैस गराइरहेका छन् । उपनिवेश तथा अर्ध-उपनिवेशहरूमा चलिरहेका मुक्ति-आन्दोलनको विरुद्ध विस्तारवादी नीतिको आधारमा युद्ध सञ्चालन गरिरहेका छन् । यस भयानक आर्थिक संकटबाट बची भताभुंग भइसकेको पूँजीवादी प्रथाको अमानवीय शोषणको रक्षा गर्न यिनीहरुबाट सोभियत सङ्घ र नव-प्रजातान्त्रिक देशहरुको विरुद्ध तेस्रो महायुद्ध छेड्नको निम्ति प्रतिक्रियावादीहरुलाई उक्साइरहेका छन् । नेपालका शासकहरू खुल्लम-खुल्ला यस्ता साम्राज्यवादी, पूँजीवादी र युद्धवादी गुटहरुसँग घुलमिल भइसकेका छन् । त्यसकारण प्रतिक्रियावादीहरुका परम भक्त बनेर दलाली गर्दैछन् ।

राणाहरु धुमधामसँग यो प्रचार गर्दैछन्- बेलायत, अमेरिका र हिन्दुस्तानसँग उनीहरुका विश्वासघाती सन्धि-पत्रहरुले नेपाली जनताको निम्ति सुख र शान्ति ल्याउनेछन् । भूतपूर्व प्रधानमन्त्री पद्म शमशेरले त यहाँसम्म पनि भने साहस गरे- नेपालमा प्रजातन्त्र खडा भइसकेको छ । वर्तमान प्रधानमन्त्री मोहनशमशेर राणाले नेपाललाई आधुनिक राष्ट्रको रुपमा ढाल्ने अरे भनी एउटा पञ्चवर्षीय योजनाको घोषणा गरे । यी केही पनि होइनन्, जनताका आँखामा छारो हाल्ने चाला मात्र हुन् । वास्तवमा राणाका यी चालहरु अमेरिकन युद्ध-पिपासुहरुलाई नेपाल उनीहरुको युद्ध-अखडा बनाउन दिने चाल हो अंग्रेजी साम्राज्यवादलाई रक्षा गर्नको निम्ति नेपालको जन- बल लगाउने चाल हो । भारतीय पूँजीपति र तिनका सरकार-नेहरू सरकारको हातमा नेपालको बन्द- व्यापार सुम्पिने चाल हो । नेपालका प्रधानमन्त्रीसँग कागजपत्र गरी अमेरिकामा केही व्यापारिक फर्महरुले नेपालका केही पश्चिमी भागहरु आउँदो तीस वर्षका निम्ति बन्धकमा लिइराखेका छन् । काठमाडौंमा रहेको अमेरिकी शिष्टमण्डल नेपाललाई आफ्नो उपनिवेश बनाउनका निम्ति अथक मिहेनत गरिरहेको छ।

अंग्रेजी साम्राज्यवादीहरु, जसले सन् १८५७ देखि नेपालको जन – बल आफ्नो स्वार्थको निम्ति प्रयोग गर्दै आएका छन्, पनि यस कुकार्यमा निकै उत्साह लिएर काम गरिरहेका छन् । बेलायत, भारत र नेपाल यी तीन थरी सरकारहरूको बीचमा सन् १९४७, नोभेम्बर ९ तारिखका दिन काठमाडौँमा हस्ताक्षर भएको सन्धिका शर्तहरुमध्ये एउटा यस
प्रकार छ :-
‘ब्रिटिश फौजी अधिकारीहरुले गोरखपुर र घुममा मौजुदा (भारतीय फौज) भर्ति केन्द्रहरु त्यस बेलासम्म चालु गर्न सक्दछन्, जबसम्म भारतमा (अन्यत्र कहीं) अथवा नेपालमा नै ब्रिटिस फौजको निम्ति गोर्खा भर्ती केन्द्रहरु बन्ने छैनन् भन्ने कुरामा भारत सरकार राजी भएको।’ (जोड हाम्रो ! )
यही एउटा शर्त नेहरू सरकार र राणा-सरकारको ‘निष्पक्ष’ र ‘स्वतन्त्र’ जाली प्रचारलाई छर्लङ्ग पार्न मनग्गे छ । फेरि यही शर्तले नेहरू र राणा दुवै सरकारहरु साम्राज्यवादी, प्रतिक्रियावादी र युद्ध-गुटका जाँगरिला हिस्सेदारहरु हुन् र त्यस गुटको निम्ति दिलोज्यानले कमारागिरी गरिरहेका छन् भन्ने कुरा सावित गर्दछ ।

नेपाली जनताका दुःख र दर्दका कुराहरु यही पाखा लाग्दैनन् । भारतीय धन-कुवेरहरु नापलमा ठूला-ठूला कलकारखानाहरु खोल्दैछन् । विडला, सिंहानिया र चमरियाहरुले जूट, कपडा, कपास र चिनीका मिलहरू खोलिसकेका छन् । कोशी क्याम्पको तर्जुमा नेहरु सरकारले आफ्नै हातमा लिएको छ । नालको उद्योगधन्दामा सबभन्दा बढ्ता पूँजी भारतीय पूँजीपतिहरुको लगाइएको छ । भारतीय पूँजीपति ग्राहक (Sharks) नेपालको सस्तो मजदुर (श्रम) र प्राकृतिक धन-दौलतको शोषण गरी आफ्नो थैली फलाउने ताकमा छन् । नेपालर्लाइ औद्योगीकरण गर्न एक त उनीहरु चाहँदैनन्, अर्को उनीहरुको सामर्थ्य नै छैन । यसरी नेपाली जनताको गर्दनमा दोहोरो शोषणको जुआ पर्दैछ ।

सामन्तवादी शोषणमाथि पूँजीवादी शोषण थपिँदैछ । स्वयम् सम्पूर्ण आदिम आर्थिक-प्रथाबाट एकाएक अलग भएर नेपाल आज त्यस पूँजीवादी आर्थिक-प्रथातिर लाग्दैछ, जुन यस आर्थिक संकटमा खल्बलिएर भताभुङ्ग भएको छ । नेपाली जनताको मुक्तिको बाटो यो होइन, पतनको बाटो हो ।
यसकारण नेपाली जनताले अर्कै बाटो लिनुपर्छ । यो बाटो हो – वर्तमान सामन्तवादी – प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पूँजीवादी शोषणको जुआलाई सफाचट गर्ने बाटो । हामीले विश्व – प्रजातान्त्रीय गुटहरुसँग काँधमा काँध मिलाएर अगाडि बढ्नु पर्दछ । अनि मात्र हामी मजदुर वर्गको नेतृत्वमा पसिना चुहाउने जनताको प्रजातन्त्रीय राष्ट्र खडा गर्न सक्नेछौं । यस्तो राष्ट्रको शासन व्यवस्थामा देशको धन-जनको मालिक जनता हुन्छन् । जनताकै हितको निम्ति सरकारले यस्ता धन – जनहरुको प्रयोग गर्नेछ । अतः नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादीको निम्ति लड्नु पर्दछ । विजयी समाजवादको जमीन – समाजवादी सोभियत प्रजातन्त्र सङ्घ, पूर्वी युरोपका … प्रजातन्त्रहरु, नयाँ चीन, उत्तर कोरिया र उपनिवेशहरुका दिन-पर-दिन विकसित आन्दोलहरुका अनुभवहरूले विश्वका जहाँ- तहाँका शोषित जनतालाई उनीहरुको आन्दोलनमा जसरी दिनदिनै उत्साहित गराएको छ, उसरी नै नेपाली जनतालाई पनि आफ्नो महान आन्दोलनको निम्ति उत्साहित गराएको छ ।

सामन्तवादी–प्रथा र साम्राज्यवादी पूँजीवादको जुआलाई उखेलेर फ्याक्ने सङ्घर्षमा क्रान्तिको अग्रजको काम ऐतिहासिक तवरले मजदुर वर्गले नै गर्नु पर्दछ । आज नेपालमा मजदुर वर्ग सङ्ख्यामा कमै छ तापनि त्यही बढ्दो शोषणको आधारमा नेपालको मजदुर वर्ग दिनहुँ दुई किसिमले बढ्दैछ । एक, उसको सङ्ख्या बढ्दैछ, अर्को राजनीतिक तवरले पनि दिनहुँ बलियो हुँदैछ । सोभियत कम्युनिष्ट पार्टी ( बोल्सेभिक ) को इतिहासमा कामरेड स्टालिनले लेखेका छन् :
‘हामीले आफ्नो भावी कार्यक्रमको फैसला समाजका ती स्तरहरुको आधारमा गर्नु हुँदैन, जसको हाल केही प्रभाव भए तापनि अगाडिको विकास बन्द भइसकेको छ । हामीले त्यसको आधारमा आफ्नो कार्यक्रम बनाउनु पर्छ, जसको शक्ति हाल प्रमुख नभए तापनि जो विकासमान छ र जसको भविष्य उज्वल छ ।’ नेपालमा बढ्दो वर्ग-सङ्घर्षतिर यस्तो द्वन्द्वात्मक-भौतिकवादी दृष्टिकोणले मात्र क्रान्तिकारीहरूले सही रणनीतिको तयार गर्न र मार्क्स, एन्गेल्स, लेनिन तथा स्टालिनले बोकेको नहारिने झण्डामुनि यस सङ्घर्षलाई सङ्गठित गरी विजय बनाउन सक्नेछन् ।

भाग चार

धेरै दिनदेखि हाम्रो हृदयमा उब्जेका इच्छाहरुलाई वास्तविकतामा ल्याउन सबैको साझा वैरी सामन्तवादी निरंकुश सत्ताको विरुद्ध जनताको एकता कायम गर्नको निम्ति हामी नेपालका मजदूर, किसान, सिपाही, पसिना चुहाउने मध्यम वर्ग र समस्त प्रजातन्त्रीय-पक्षधरहरुसँग अपिल गर्दछौं । नेपालका समस्त प्रजातान्त्रिक शक्तिहरु तपशीलका प्रजातान्त्रिक कार्यक्रमको आधारमा मेलको डोरीमा बाटिन सक्दछन् भन्ने हामीलाई पूर्ण विश्वास छ ।
१. सामन्तवादी निरंकुश राजसत्ता र विदेशी शोषणको जुआलाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रुपले स्वतन्त्र गराउने ।

२. मजदूर, पसिना चुहाउने किसान, र शोषित तथा दलित निम्न- मध्यम वर्गलाई प्रतिनिधित्व गर्ने एउटा प्रजातान्त्रिक सरकारको जग बसाउने । अंग्रेज-अमेरिकन साम्राज्यवादीहरु र तिनका भारतीय कठपुतलीहरुसँग नाता तोडी सबै जातिको स्वतन्त्रता र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरुसँग नाता जोड्ने । ३. सर्वसाधारण जनतालाई पूर्ण स्वतन्त्रता, प्रजातन्त्र र मूल-आर्थिक अधिकारहरु इत्यादिको सुरक्षा (ग्यारेन्टी) दिने विधान बनाउने । यसो विधान वालिग मताधिकारमा आधारित हुनेछ । विशेष अधिकार, जाति-पाति र साम्प्रदायिक भेदभावहरुलाई ऐन कानूनद्वारा खतम गरिदिने र यस्ता ऐन-कानूहरुको विरुद्ध जानेलाई ऐन कानूनद्वारा सजाय गर्ने ।

४. एक कौढी पनि हर्जाना नदिइकन जमिन्दारी र सामन्तवादी शोषणका सम्पूर्ण प्रथाहरुलाई निर्मूल पारिदिने र (उनीहरुको) जग्गा-जमीन, खेतबारी, हलो, कुटो, कोदालो र फाली चलाउने र मच्चाउने किसानहरुलाई भागबण्डा गरिदिने । गाउँ-देहातका कर्जा र व्याजखोर-प्रथालाई हटाइदिने । खेतालाहरु (खेत-मजदुरहरु) लाई बाँच्नयोग्य ज्याला दिने ।
५. यातायात, बैंक, चियाबगान, खानी, र उद्योगधन्दामा लगाइएका विदेशी – पूँजीहरु राज्यद्वारा जफत गर्ने र यिनीहरुसित सम्बन्धित कुराहरुको राष्ट्रियकरण गर्ने ।
६. ठूला-ठूला उद्योगधन्दाहरू, ठूला बैंकहरू र इन्स्योरेन्स कम्पनीहरूलाई राष्ट्रियकरण गर्ने । संस्थानहरुमा मजदूरहरुद्वारा नियन्त्रण गरिने कुराको ग्यारेन्टी दिने, मजदुरहरुलाई जिउन-योग्य ज्याला दिने । दिनमा आठ घण्टाको कार्यकाल लागु गर्ने । ७. ठूला-ठूला पूँजीपतिहरुलाई उद्योगधन्दाहरुको खास-खास ठाउँबाट हटाउन र देशका आर्थिक स्रोतहरुलाई विकसित तथा समृद्ध तुल्याउनको निम्ति एउटा आर्थिक योजना बनाउने । ८. दमनकारी सम्पूर्ण ऐन, कानून, सनद, सवाल बरखास्त गर्ने । ९. नोकरशाही (भाइ-भारदारशाही) शासन-प्रथा खतम गर्ने र त्यसको सट्टामा जनसमितिहरुको रेखदेखमा रोजिएका प्रतिनिधिहरुलाई हाकिम (अफिसर) नियुक्त गर्ने ।

१०. सर्वसाधारण जनतालाई हात-हतियार दिने र जनताको प्रजातन्त्रीय फौजको गठन गर्ने ।
११. बिना फिसमा सबैलाई पढ्ने अधिकार दिने र प्राथमिक शिक्षा अनिवार्य रुपले चालु गर्ने ।
१२. महिलाहरूलाई समान प्रजातन्त्रीय अधिकार वा हक दिने । यस कार्यक्रम बमोजित काम गर्दा यो प्रजातन्त्रीय मोर्चा र नेपाल कम्युनिष्ट पार्टी दुवै मिली नेपालका विश्वासघाती संस्था (नेताहरुसँग) कम्मर कसी टक्कर लिनु पर्दछ । उनीहरुले देश र जनताप्रति गरेको विश्वासघातको पोल निर्दयतापूर्वक खोल्नुपर्दछ । जति मात्रामा हामी यी बेइमानहरुसँग टिक्कर लिने छौं, जति मात्रामा यिनीहरुलाई जनताबाट हटाउन (अलग्याउन-सं.) सक्दछौं, उति नै मात्रामा जनताको सङ्घर्ष क्रान्तिकारी बाटोमा अगाडि बढ्नेछ ।

नेपाली राष्ट्रिय कांग्रेसका रेग्मी र कोइराला दुवै दलहरु र तथाकथित नेपाल प्रजातन्त्र कांग्रेसले नेपाली जनताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थहरूप्रति मात्र विश्वासघात गरेका होइनन्, लाज-सर्म पचाएर नेपालको अत्याचारी सामन्तवादसँग, भारतको प्रतिक्रियावादी नेहरू सरकारसँग र अंग्रेज अमेरिकन युद्धवादीहरूसँगा मेलमिलाप गर्न लगातार कोशिस गरिरहेका छन् । सोभियत सङ्घ, चिनी कम्युनिष्ट पार्टीको नेतृत्वमा भइरहेको चिनी जनताको तुफानी विजय र बर्मा मलाया, भियतनाम, श्याम तथा इण्डोनेशियामा चलिरहको औपानिवेशिक मुक्ति आन्दोलनको विरुद्ध उनीहरु आफ्ना भाषण र मुखपत्रहरुमा विषैला छेडखानाहरु प्रचार गर्दैछन् । उनीहरूको भनाइ अनुसार, त्यो घृणित राणा- सरकार नेपालको श्रमजीवी जनताको साझा बैरी होइन ।

उनीहरूको प्रचारअनुसार, ‘कम्युनिज्म’ र कम्युनिष्टहरू नेपालको निम्ति ठूलो खतरा हुन् । यहाँसम्म कि कम्युनिज्मको विरुद्ध उनीहरुको लडाई’ को ‘पवित्र लडाईं’ को दौरानमा नेपाली जनताको रगतले रङ्गिएको राणाको हातसित आफ्ना हात मिलाउन उनीहरु राजी छन् । कम्युनिज्मप्रति उनीहरूको यस ब्वाँसे -घृणामा कुनै नयाँ चिज छैन यो नीति विश्वभरिका जनताका वैरीहरुको एकदम प्रख्यात गए- बितेको नीति हो । कम्युनिज्मको विरुछ लड्ने बहाना गरेर अनुचित तरिकाले कमाइएको पूँजीको रक्षाको निम्ति उनीहरु शोषित जनतासँग नै लड्दछन् ।

रेग्मी र कोइराला दुवै दल, जो मध्यमवर्गको पाताले तहलाई मात्र प्रतिनिधित्व गर्दछन्, प्रतिक्रियावादी र असन्तुष्ट भएका ती राणाहरुपट्टि लागेका छन्, जो स्वयम् सामन्ती ‘प्रभु’ हुन् र जो पसिना चुहाउने जनतामा हुने शोषणलाई खतम गर्ने पक्षमा छैनन् । नेपाली जनताको रगत चुस्ने काममा यथोचित हिस्सा पाउनको निम्ति उनीहरु वर्तमान राज्य शक्तिसँग टक्कर लिन आएका हुन् । उनीहरु आफ्नो मतलब हासिल गर्नको निम्ति जनताको असन्तोषलाई हत्याउँदछन् । विरोध पनि गरिपोटल्दछन् । दिल्ली हँकाइमा बहादुर पनि बनिहाल्दछन् । तर हर – हमेशा क्रान्तिकारी ताकत र जनताको उत्तरदायित्वलाई बन्दी गर्न खोज्दछन् । जनताको बढ्दो अशान्तिको भेलले जब यस्ता बाँधहरुलाई भत्काउन खोजदछ, तब यी दिल्ली हाँक्नेहरु बिना हानीको सत्याग्रह आन्दोलन मच्चाउँदछन् । तर यसै आन्दोलनले पनि जब क्रान्तिकारी रुप अपनाउन थाल्दछ, अनि यी कुरौटेहरु जनतालाई धोखा दिई लाज- शर्म सबै पचाएर आफ्नो आन्दोलन बन्द गर्दछन् र राणासँग हात मिलाउन पुग्दछन् । पहिले पनि उनीहरुले यस्तै चाल चले र हालै पनि ।

तर कम्युनिष्टहरु मेलमिलापको बाटोतिर विल्कुलै नलाग्ने र पसिना चुहाउने जनताकै सङ्घर्षलाई अगाडि बढाउने भएका हुनाले यी विश्वासघातीहरुले कम्युनिष्टहरुको विरुद्ध आफ्नो सबै बल लगाउनु त स्वाभाविकै हो । शोषित जनताको अगाडि आफ्नो विश्वासघाती काममा पर्दा हाल्न र शोषकहरुको दलाली गर्नको निम्ति उनीहरुले ‘तेस्रो बाटो’ को जाली नारा उठाएका हुन् । तर आज ‘तेस्रो बाटो’ हुनै सक्दैन । ‘बाटोको बीच’को नीति हुनै सक्दैन । किन कि, आज संसार अन्यन्त तिब्र गतिले दुई गुटमा बाँडिदैछ । एउटा गुट हो-पूँजीवादी गुट, जसको थाप्लोमा अंग्रेज अमेरिकन एकाधिकार पूँजी छ । अर्को गुट हो-समाजवादी गुट । यस गुटको नेतृत्व समाजवादी सोभियत प्रजातन्त्र सङ्घ र अन्तर्राष्ट्रिय मजदुर वर्ग हुन् ।

हरेकले यी दुई गुटमध्ये एउटा भित्र पस्नु नै पर्दछ, एउटा बाटोमा लम्कनु नै पर्दछ । आफ्ना विश्वासघाती अनुहारहरुलाई ढाक्न र प्रतिक्रियवादीहरुसँगको आफ्नो मेलमिलापलाई लुकाउन यी नकच्चराहरुले ‘तेस्रो बाटो’को नारा लगाएका हुन् । यसो गर्नु नक्कली राजनीति गर्नु हो । नेतहरुको ‘तेस्रो बाटो’को नमूना नै यसको मनग्गे प्रमाण हो । नेहरु पहिले त ‘तेस्रो बाटो’ भनेर कड्के, तर केही महिनापछि नै उनी सामन्तवाद – पूँजीवाद – साम्राज्यवादको संयुक्त आएर उत्रे, अंग्रेज अमेरिकन युद्धवादी गुटमा हाजिर भए । ‘तेनो बाटो’ को अनिवार्य नतिजा यही हो । अन्तर्राष्ट्रिय सामाजिक- प्रजातन्त्र (क्यअ म्भयअचबअथ) को यो केवल जाली निशान हो-मजदूर- वर्गप्रतिको विश्वासघातको झण्डा हो !
यस्ता झूठा साथी र नक्कली प्रजातन्त्रवादीहरूसँग एकदमै होसियार हुनुहोस्, जनताको जनतन्त्रको आन्दोलनबाट सुलहनामा (मेल- मिलाप) को बाटो त्यागी यसलाई अगाडि बढाउनको निम्ति सोभियत सङ्घको नेतृत्वमा खडा भएको विश्व साम्राज्यवाद – विरोधी गुटमा हाजिर हुनु होस् । यिनै र्दु कुरा हामी नेपालका सम्पूर्ण प्रजातन्त्रीय पक्षधरहरुलाई अपील गर्दछौं ।

थिचिएका, मिचिएका, किचिएका र रगत चुसिएका भाइ-बहिनी र दाज्यू दिदी हो ! हाम्रो पवित्र जन्मभूमि नेपालमा विश्वका लडाकू जनताको अगुवा समाजवादी सोभियत युनियनको विरुद्ध साम्राज्यवादी फौजी अड्डाको जग बसाउने जुन कालो योजना बनाइँदैछ, त्यसको विरुछ हामीले शानदार सङ्घर्ष गर्नुपर्दछ । नेपालका पसिना चुहाउने जनता सोभियत सङ्घको विरुद्ध कहिल्यै पनि लड्ने छैनन् । आफ्ना वर्गीय भाइहरुको विरुद्ध कहिल्यै पनि हतियार उठाउने छैनन् ।

विदेशमा साम्राज्यवादी – डकैतीको रक्षाको निम्ति आफ्नो रगतको खोला बगाउन नामञ्जुर गर ! हामी नेपालका गरीब जनताले अरू मुलुकमा गरीब जनताको रगत किन चुस्ने ? साम्राज्यवादी, रगत- चुसुवा उपनिवेशवादीहरुलाई मद्दत किन दिने ? हामी, नेपालका गरीब जनताले अंग्रेज-अमेरिकन साम्राज्यवादीहरूलाई, जसले हाम्रो देश र हाम्रा जनतालाई शोषणको जुआमा लगाएका छन्, बलियो पार्नको निम्ति किन हाम्रो जीवनको बलिदान किन गर्ने ? बर्मा मलाया र दक्षिण-पूर्वी एसियाका मुलुकहरूमा चलिरहेको जनमुक्ति आन्दोलनको विरुद्ध लड्न नामञ्जुर गर ! किनभने यी देशका जनता तिनै मागहरू लिएर तिनै एकवर्गीय शोषकहरूको विरुद्ध लडिरहेका छन्, जसको निम्ति हामी आफ्नो घरमा लडिरहेका छौं । शोषकहरुको विरुद्ध लड्न अग्रसर होऊ ! शोषितहरुको विरुद्ध होइन, जनताका साझा बैरीको विरुद्ध हाम्रो बन्दुकको मोहरी फर्काऊ- तिम्रा आफ्नै दाजु-भाइहरुको विरुद्ध होइन ! आफ्ना दाजु-भाइहरूसँग लड्नु आफ्नै कमारागिरीलाई बलियो तुल्याउनु हो !

दृष्ट महाराजा साहेब र उनका भाइभारदारहरुका हुकुम र मर्जी पाएर घरमा आफ्ना दाजु-भाइहरुलाई सताउने काम नगर। महाराजा साहेब र उनको राजकाजमा साथ दिने नोकरशाहीहरु तिमीलाई तिम्रो मानृतभूमिको अधिकारबाट वञ्चित गराई तिमी र तिम्रा नाता कुटुम्बहरुलाई भोकको मुखमा राखिदिएका छन् । तिम्रो यस गरिबी र कंगाल अवस्थाबाट फाइदा उठाएर आफ्नो रक्षा गर्न तिमीलाई उनीहरुले सशस्त्र नोकरको रुपमा भरना गरेका छन् । फेरि भेडा-बाखा बेचेझैं पैसा लिएर तिमीलाई विदेशी साम्राज्यवादीहरूको हातमा बेचिदिएका छन् । तिमीले आफ्नो फौजी जीवनमा दिनहुँ अपमान सिवाय अरु केही पनि पाउदैनौं । तिम्रा भोका र कंगाल भाइ-बहिनी तथा दाजु-दिदीको विरुद्ध गोली चलाउन नामञ्जुर गर ! आफ्नो सङ्गिन अत्याचारी शासकपट्टि फर्काऊ ! यही हो जीवनमुक्ति इजजतको बाटो ।

नेपालका मजदूर-वर्ग हो ! तिमीहरूले आफ्नो रातो झण्डालाई तिम्रो सबैभन्दा पहिलो कामबन्दी – विरोधमा, जुन सन् १९४७ मार्च महिनामा भएको थियो, उठाइसकेका छौं । तिम्रो वर्गीय बैरीसँगको तिम्रो पहिलो लडाइँमा धपाईएका- राणा र भारतीय सोसलिष्ट नेताहरुको सहायता र समर्थन पाएका कांग्रेसका नेताहरूले विश्वासघत र गद्दारी गरे तापनि त्यो कामबन्दी – विरोधको लहर सारा नेपालमा फैलियो । विश्वासघात र नकचरा कांग्रेसीहरुले वैधानिक (कानूनी) तवरले आफ्नो आन्दोलन बन्द गरिसकेपछि पनि राजधानी काठमाडौंका विभिन्न सरकारी विभागका कामदारहरूले जिउनयोग्य तलब र कामको राम्रो प्रबन्धको निम्ति मागहरु राखेर कामबन्दी-विरोध गरे । अब एकताको बलद्वारा तिम्रो आन्दोलन अगाडि बढाउनको निम्ति आफ्नो स्वतन्त्र मजदूर – सङ्गठनको जगल हाल । मजदुर सङ्गठनमा जिल्ला-जिल्लाबाट मजदूरहरुका प्रतिनिधि समावेश गर । उनीहरुद्वारा नै मजदुर सङ्गठन बनाऊ । यी सबै मागहरु र आफ्नो सुरक्षा हासिल गर्नको निम्ति आफ्ना शक्तिहरुलाई एकताको बलियो डोरीमा बाँध :-

१) जिउनयोग्य तलब (ज्याला ) ।

२) दिनमा आठ घण्टाको कार्यकाल ।
३) कामको राम्रो प्रबन्ध ।
४) नोकरीको सुरक्षा |
५) बुढ्याइँमा भत्ता (निवृत्तिभरण) ।
६) केटाकेटीहरूको निम्ति बिना – फिस ( निःशुल्क ) शिक्षा ।
७) मजदुर सङ्गठनका सम्पूर्ण अधिकारहरुको उपभोग ।
सहयोगद्धा मजदूर साथीहरू हो ! हामीहरुको एकता, सङ्गठन र सङ्घर्षले हाम्रो बल बढाउने छ । नयाँ नेपाल र प्रजातान्त्रीय जीवनको सिर्जना गर्नका निम्ति रातो झण्डामुनि भेला भएर नयाँ सङ्घर्षतिर अगाडि बढ !

नेपालका पसिना चुहाउने किसानहरू हो ! तिम्रो मुक्ति सामन्ती-प्रथाको विरुद्ध बिना सुलहनामा (सम्झौता) को तीब्र सङ्घर्षमा छ। तिम्रो यस वशाल सङ्घर्षमा तिमी न निर्धा छौ न त एक्लै नै छौ । देशमा तिम्रो सङ्ख्या सबभन्दा बढ्ता छ । नेपाल, भारत, पाकिस्तान र संसारका वीरज मजदूर-वर्ग तिम्रो साथमा छन् । देशव्यापी रुपमा आफ्नो स्वतन्त्र जन-सङ्गठन रातो झण्डाको नेतृत्वमा खडा गर । तपसीलका मागहरू हासिल गर्नको निम्ति बेजोड सङ्घर्ष गर !
१) जमीन, जोत्नेलाई ।
२) बाँझो र पर्ती जमीन खेतलाहरुलाई ।
३) गैर-कानूनी कोसेली-प्रथा र बेगारी चलनको समाप्ति ।
४) तिभागा-प्रथा तुरुन्त चालु गर्ने (बालीको तीन खण्डको एक खण्ड तलसिंहलाई दिने, दुई खण्ड मोहीले लिने) ।
५) खेतालाहरुलाई जिउनयोग्य तलब (ज्याला) ।
६) पूर्ण नागरिक स्वतन्त्रता ।
नेपालका प्रजातन्त्रवादी युवकहरू हो ! नेपालको पहिलो राष्ट्रिय आन्दोलनमा तिमीले महत्वपूर्ण काम गरेका छौ । प्रशस्त मात्रामा रगतको भेट चढाएका छौ । युवक गंगालालको अमर शहीद-प्राप्तिले तिमीलाई नयाँ सङ्घर्ष र बलिदानको निम्ति उत्साहित तुल्याएको छ ।

सन् १९३० का एकजना वीर युवक श्री खड्गमान अझै पनि नेल, हत्कडी र गलफन्दी सहित जेलमा छन् । नेपाली परम्परालाई उच्च टाकुरोमा लैजाने बेला यही हो । यसको निम्ति दिनहुँ पाको सङ्घर्ष गर्नु पर्दछ । आजसम्म तिम्रो स्वतन्त्र लडाकू सङ्गठनको कमी छ । तपसीलका मागहरू हासिल गर्नको निम्ति आफ्नो स्वतन्त्र लडाकु-सङ्गठन कायम गरः-
१) सर्वसाधारण जनताका निम्ति पूरा प्रजातान्त्रिक अधिकार २) प्रजातान्त्रिक ढाँचाको शिक्षा- विना फिस र अनिवार्य प्राथमिक शिक्षा, उच्च शिक्षाको निम्ति कम फिस ।
३) पाठशालाको पूर्ण अधिकार ।
४) सच्चा स्वतन्त्रताको निम्ति प्रजातन्त्र र शान्ति । नेपालका पसिना चुहाउने महिला हो ! हामी तिम्रो बढ्दो सङ्घर्ष र जङ्गीपनालाई स्वागत गर्दछौ । विराटनगरका महिला मजदुरहरु आफ्नो खसमहरुसँग कुममा कुम जोरी सन् १९४७ मार्च महिनाको कामबन्दी- विरोधमा उत्रिसकेका छन् । त्यसै वर्ष राणाशाहीको फौजी त्रासको वास्तै नगरी काठमाडौंका महिलाहरुले सडकहरुमा राजनीतिक नारा लगाउँदै प्रदर्शन गरिसकेका छन् । जनताको रीसको भेल बढ्दो देखेर राणा-सरकार डरायो र जनताको हातमा म्युनिसिपलको शासन दिन उसलाई करै लाग्यो । तर चुनावमा भोट दिने कुरामा महिलाहरु ठगिए ।

नेपालका पसीना-चुहाउने महिलाहरु यस कुरामा हात बाँधेर बसेनन् । उनीहरु प्रधानमन्त्रीको घरमा गए । आफ्नो अधिकारको निम्ति लड्ने र विजय हासिल गर्ने तिमीहरुको दृढता यिनै कुरारुबाट साबित हुन्छ । तिमीहरुको गर्दनमा तेस्याईएका सामाजिक आर्थिक तथा राजनीतिक तीन प्रकारका जुआहरुलाई उठाएर फ्याँक्नको निम्ति आफ्नो महिला सङ्घ कायम गर । तपसीलका मागहरुलाई जोडतोडका साथ प्रचार गर ! तिनीहरुलाई हासिल गर्नका निम्ति बिना -सुलहानामाको सङ्घर्ष छेड ।
१) बराबर कामको निम्ति बराबर ज्याला ।
२) सम्पूर्ण राष्ट्रिय जीवनमा बराबर अधिकार ।
३) सुत्केरीको निम्ति विशेष सुविधा र बालबच्चाहरुको सुरक्षा । ४) बिना फिसमा शिक्षा ।
५) विदेशी साम्राज्यवादी देशहरुको फौजमा रहेका हाम्रा खसमहरु र छोराहरु फिर्ता देऊ ।
नेपाललाई स्वतन्त्र, नेपालमा जनताका प्रजातन्त्र ।
यी सबै कुराहरुमा नेपाल कम्युनिष्ट पार्टीले भाग लिनेछ । सङ्गठन गर्नेछ । पसीना चुहाउने सम्पूर्ण नेपाली जनताको बढ्दो सङ्घर्षको नेतृत्व गर्नेछ र विजयको शिखरसम्म पुऱ्याउनेछ । पूँजीपति र निम्न पूँजीपतिहरुका अरु संस्थाहरुले नेपाली जनतालाई विश्वासघात गरे, अब पछि पनि त्यसै गर्नेछन् । तर नेपाल कम्युनिष्ट पार्टी मजदूर- वर्गको पार्टी, मार्क्सवाद-लेनिनवादको पार्टी-आपद- विपदमा जहिले पनि जनताको लहरमा खडा हुनेछ र साँचो स्वतन्त्रता र जनताको प्रजातन्त्रको निम्ति जन-सङ्घर्षको अगाडि-अगाडि बढ्नेछ, लड्नेछ ।

नेपाल कम्युनिष्ट पार्टी यही प्रतिज्ञा गर्दछ । जनताको दुश्मन अत्याचारी शासनलाई सबैभन्दा पहिले नेपाल कम्युनिष्ट पार्टीले नै ठोक्नेछ । यसकारण हामी मजदूर-वर्गका सच्चा सपुतहरुलाई, जमीन नभएका र गरीब किसानहरुलाई प्रजातन्त्रवादी विद्यार्थी युवक र महिलाहरुलाई नेपाल कम्युनिष्ट पार्टीको लडाकू अगुवा दस्तामा दाखिल होऊ भनी हामी अपिल गर्दछौं । किनभने, जन-सङ्गठनमा बलियो कम्युनिष्ट पार्टीले मात्र जनताको प्रजातान्त्रिक क्रान्तिलाई विजय हासिल गराउन सक्छ।
(१५ सेप्टेम्बर १९४९)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।