११ श्रावण २०८१, शनिबार

भारतद्वारा सीमा अतिक्रमण र प्रतिरोध :भरत सी

0

भारतीय साम्राज्यवादले नेपालको पूर्व, पश्चिम र दक्षिण नेपाल-भारत सीमामा लगातार अतिक्रमण गर्दै आएको छ । सीमाविदहरूका अनुसार महाकालीको पूनर्वास क्षेत्र, महाकाली नदी वारीपारी, कालापाली, लिम्पियाधुरा र लिखुलेकमा सीमा मिचेको छ । सन् १९६२मा भारत-चीन युद्धमा चीनसँग पराजित भएको भारतीय सेना तिब्बत-नेपाल सीमाबाट फर्किंदै गर्दा कालापालीमा बास बस्यो र कालान्तरमा सो भूभाग कब्जा गरेर बसिरहेको छ । महाकाली क्षेत्र, कालापानी र उता भारतले सबैभन्दा धेरै नेपाली भूमि अतिक्रमण गरेको क्षेत्र हो । यो लेखमा दार्चुला जिल्लामा भएको भारतीय अतिक्रमणको चर्चा गरिने छ ।

दार्चुलामा अतिक्रमण

भारतले नेपालको ७१ स्थानमा सीमा अतिक्रमण गरेको छ । नेपाल र भारतको बिचमा सीमा- सन्धि हालसम्म भएको छैन । भारतले सुस्ता र कालापानीको विवादलाई थाती राखेर सीमा- सन्धि गर्न राखेको प्रस्तावलाई नेपालले अस्विकार
गरेको छ । यसैबिच लिम्पियाधुरा र लिपुलेक थपिएका छन् । भारतले दार्चुला जिल्लामा दुई प्रकारले हस्तक्षेप गरिरहेको छ- पहिलो, अर्धसैन्य बलको बल मिच्याईबाट र दोस्रो, फकाउने, लोभ-लालच देखाउने । यी बाहेक उसले भित्रभित्र देशभक्त जनता र नेताहरूको हत्या गर्ने षड्यन्त्र पनि गरिरहेको छ भन्ने सूचना आइरहेको छ ।

सीमा क्षेत्रमा सडक, भवन, आकस्मिक वाहन, नगर- बस, विद्यालय-वाहन, सस्तो र पत्रु सामानको बाढी र अदक्ष रोजगारी दिएर नेपाली समाजको आत्मनिर्भर चरित्रको विघटन गर्ने, पराश्रित बनाउने र मनोवैज्ञानिक रूपले दास मनोवृति सृजना गरिरहेको छ । देशभक्त र प्रतिरोधी भावना नष्ट गराइरहेको छ । नेपालको दलाल सरकारले त्यसैलाई मलजल दिइरहेको छ । भारतले आफ्नो दूतावासमार्फत यो काम गर्दछ । भारत नेपालको समृद्धि चाहन्थ्यो भने नेपाल सरकार वा उसका स्थानीय निकायलाई सहयोग गर्न सक्थ्यो । तर उसले सहयोगको बहानामा नेपालमा समानान्तर सरकार चलाइरहेको छ । हाम्रो पार्टी नेकपाले त्यसप्रकारका हस्तक्षेपको विरोध गर्दै आएको छ ।

त्यसका लागि स्थानीय निकायसँग छलफल गरिरहेको छ । जिल्ला प्रशासनसँग वार्ता गरिरहेको छ र जनताबिच राष्ट्रिय जागरणका अभियान चलाइरहेको छ ।

नयाँ नक्सा र जनता

सरकारले चुच्चे नक्सा निकाले पनि सो अतिक्रमित भूभागका जनतालाई आफूहरू नेपाली भएको घोषणा गर्न सजिलो छैन । जसमा दुईवटा कारण छन्- यहाँ नेपाल सरकारले आफ्ना नागरिकको लागि गास-वास, शिक्षा, स्वास्थ्य, रोजगार, यातायातको व्यवस्था गरेको छैन । आधारभूत आवश्यकताबाट वञ्चित जनता पराश्रित र निरीह छन् । सुरक्षाको व्यवस्था पनि कमजोर छ । नेपाल सरकारको त्यही कमजोरीको फाइदा भारतले उठाइरहेको छ ।

भारतले अस्पताल, विद्यालय, यातायात, अधिकृत कोटा, फौजमा कोटा, साँस्कृतिक महोत्सव, नृत्य कला केन्द्रको व्यवस्था गरेको छ । जहाँ उसकै कानुन व्यवस्था लागू हुन्छ । जहाँ ८० प्रतिशत जनतालाई भारतीयकरण गरिसकेको छ । रहस्यको कुरा त्यहाँ भारतले स्तरीय शिक्षा दिएको छैन । उनीहरूले जनगणना गरेका छैनन् । नेपाल कम्युनिस्ट पार्टीले सङ्घर्ष गरेपछि भूउपग्रहबाट जनगणना गरिएको बुझिएको छ ।

सीमा सम्झौताको विषय

नदीले सीमा छुट्याएको स्थानमा तटबन्ध गर्दा वा कुनै भौतिक संरचना निर्माण गर्दा आपसी सहमती अनिवार्य हुन्छ । यो अन्तर्राष्ट्रिय कानुन नै हो । यो विषयमा नेपाल र भारतबिच सम्झौता भएको छ । तर भारतले अरू स्थानमा जसरी नै दार्चुला, सदरमुकाम खलङ्गा बजारको पश्चिम महाकालीमा एकपक्षीय रूपमा तटबन्ध गरेको छ । दार्चुला सदरमुकाम, महाकाली नपा-४ को महाकाली नदी पारी भारतको, धार्चुला जिल्ला तथा धार्चुला बजार रहेको छ । सोही बजारको सुरक्षार्थ भारतले महाकालीको धार परिवर्तन गरेर नेपालतिर धकेल्दा खलङ्गा बजार जोखिममा परेको छ ।

त्यसबाट चिन्तित नेपालीहरू भारतीय अतिक्रमण विरूद्ध लडिरहेका छन् । सोही क्रममा भारतीय सीमा सुरक्षा बलले सडक निर्माणको लागि बिनासूचना विष्फोटक पदार्थ प्रयोग (Blasting) गर्दा उछिटिएको ढुङ्गा लागेर महाकाली-२ का ९ वर्षीय बालक पवन महरा घाइते भएका थिए । घाइतेको स्थानीय अस्पतालमा २०७९ कार्तिक १७ गते उपचार गरिएको थियो । यस्तो भारतीय अतिक्रमणको विरूद्ध स्थानीय जनता लडिरहेका छन् र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गर्दै आएको छ ।

सीमामा निर्माणकार्य

भारतीय पक्षले सीमा क्षेत्रमा सडक बनाउँदा, तटबन्ध गर्दा, ढुङ्गा खानी चलाउँदा नेपालसँग परामर्श र सहमती नगरी एकपक्षीय ढङ्गले गर्दै आएको छ । जसको कारण दुई पक्षीय सम्झौताको उल्लंघन र नेपालतर्फ धनजनको क्षति भएको छ । नेपाली जनतामा भारत विरोधी जनमत बढाउने कार्य उसकै कारण भइरहेको छ ।

केहि समय अगाडि भारतले सडक खन्ने क्रममा विस्फोट गर्दा उछिटिएको ढुङ्गा लागेर सीमा वारी नेपालका पवन महराको मृत्यु भएको थियो । भारतको धार्चुला जिल्लास्थित गार्वा तम्बाकुमा भएको सो भारतीय ज्यादतीमा नेपालको व्यास गापा-२, तम्बाकु निवासी ११ वर्षीय पवन सिंह महरा सदरमुकाम खलङ्गा आउँदै थिए । त्यस क्रममा बालकको मृत्यु भयो । महराकै सहोदर दिदी घाइते भएकी थिइन् । भारतको गास्तु खोलामा सडक निर्माण गर्दा महाकाली नदी थुनिएर नदीको बहाव अवरोध भएर नेपाली सडक एक महिनाभन्दा बढी अवरूद्ध भयो । सडकको माथिपट्टी भीर, तल नदी भएको कारण स्थानीयहरू महिनौं आउजाउ गर्न पाएनन् । तर नेपाल सरकारलाई आफ्ना नागरिकको समस्या चासोको विषय बनेन । काठमाडौंलाई दार्चुला पनि नेपाल नै हो भन्ने थाहा छैन । काठमाडौंलाई दार्चुला नेपालजस्तो लाग्दै लाग्दैन ।

हवाई अवरोध

पक्कि पुलको व्यवस्था नहुँदा बेलाबेलामा महाकाली नदीले स्थानीयलाई बगाउँछ । बेपत्ता भएका नागरिक खोज्न नेपालले ड्रोनको प्रयोग गर्नुपर्ने हुन्छ । तर भारतले व्यस्तो मानवीय सम्वेदनाको काममा पनि अवरोध गर्छ । उसको भूमिमा ड्रोन उडाउन अनुमती दिँदैन । नेपाली सीमानामा समेत उसको निगरानी हुने गर्छ ।

एसएसविको दादागिरी

भारतको अर्धसैन्य बलका अधिकृत र जवान सबै नेपालप्रति असहिष्णु र हेपाहा व्यवहार गर्छन् । यो भारत सरकारकै सोचको प्रतिबिम्व हो । नेपाली पुरूषलाई कामदार र महिलालाई यौनदासीको दृष्टिले हेर्छन् र व्यवहार गर्छन् । उनीहरूले अश्लिल व्यवहार गर्छन्, हेपेर बोल्छन् । १ सय भारतीय मुद्रा सटही गर्दा स्थानीय व्यापारीलाई ८ रूपैयाँ घुस दिनुपर्छ । अन्यथा सामानहरू लुटने, पिट्ने, नदीमा फालिदिने गर्दै आएका छन् । भारतका यस्ता हर्कत हेर्दा नेपालको कुनै न कुनै पुस्ता भारत विरूद्ध देशभक्तिको लडाइँ लड्नै पर्ने देखिन्छ । ‘जसरी हाम्रा पुर्खाले अंग्रेजको विरूद्ध लडेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।