![](https://janapatrika.com/wp-content/uploads/2025/02/received_3851621005152009.jpeg)
कञ्चनपुर । नेकपा कञ्चनपुरले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली भूमि दिनप्रतिदिन अतिक्रमण गरी समस्याहरु पैदा गरिरहेको भन्दै समस्याको दिगो समाधानका लागि पहल गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट र सचिव दिवार सीद्वारा संयुक्त रूपमा हस्ताक्षरित १५ बुँदे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी नारायण सापकोटालाई बुझाइएको हो ।
ज्ञापनपत्रमा भारत र नेपाल दुबै देशको विज्ञ टोली बनाई सो टोलीमार्फत कुटनैतिक तरिकाले दिगो रुपमा सीमा समस्या समाधान गर्न नेकपाले जोडदार माग गरेको छ ।
नेकपाले २०८१ माघ २० गते कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा न. ८ धामीटोल र केहि समय अगाडि बेल्डाडी गाउँपालिकाको झिल्मिला लगायत ठाउँमा भारतले दशगजा खाली गर्ने निहुँमा नेपाली भूमि अतिक्रमण गरेको जनाएको छ ।
नेकपाले नागरिकलाई भन्सारमा चेकजाँचको नाममा आतंक मच्चाउने र दुर्व्यहार हुने गरेको, भारतबाट निर्वाध रुपमा आयात हुने लागुऔषधको दुव्र्यसनीको सिकार नेपाली युवायुवती हुने गरेको भन्दै यस्ता खालका समस्याहरु समेत यथाशिघ्र समाधानको पहल गर्न माग गरेको छ ।
नेकपाले सीमा समस्या समाधानसंगै सुकुम्बासी, आरक्ष पीडित, बाढी पीडित, लघुवित्त, मिटर ब्याज र बैंक पीडितहरुको समस्या समाधान गरिनु पर्ने,जग्गा हडप्नेहरुलाई कानुनी कारबाही गरिनुपर्ने, भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, गुणस्तरहिन सामनसहित भैरहेको कालोबजारी रोकिनुपर्ने र निर्माणाधिन भौतिक संरचनाको ढिलोसुस्ति, गुणस्तरहिन र मापदण्ड विपरित काम भइरहेको ठाउँमा कारबाही गरिनुपर्ने पनि माग गरेको छ ।
नेकपाले नियम बिपरित सञ्चालित क्रसर उद्योग माथि कार्वाही गरिनु पर्ने, इटाभट्टाले वातावरणीय प्रदुषण फैलाइरहेको हुँदा अनुगमन गरि नियन्त्रण गर्नुपर्ने, महाकाली नदिमा नदिजन्य पदार्थ, गिट्टी बालुवाको सहि सदुपयोग गरिनु पर्ने, माछामार्न जनतालाई सहज गरिनुपर्ने, चुरेक्षेत्रको काठ तस्करी र ढुड्गा गिट्टी तस्करी रोक्नुपर्ने र नेपाल सरकार र नेकपाबिच भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न गराउन पहल गरिनुपर्ने लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
ज्ञापनपत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सापकोटाले मागहरूप्रति सकारात्मक रहेको भन्दै सीमा क्षेत्रमा तत्काल अनुगमन गरि समस्या समाधान गर्न बार्ता र कुटनैतिक पहल गरिने आश्वासन दिए ।