२५ माघ २०८१, शुक्रबार

नेकपा तुलसीपुरले ‘जनताको सुख दुःखको साथी, घरघरमा नेकपा’ अभियान चलाउने

0

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उपमहानगर कमिटीले ‘जनताको सुख दुःखको साथी, घरघरमा नेकपा’ अभियान चलाउने निर्णय गरेको छ ।
बुधबार पार्टीको तुलसीपुरमा बसेको उपमहानगर समितिको प्रथम बैठकले उक्त निर्णय गरेको हो ।

तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीको अध्यक्षता एवम सञ्चालनमा बसेको चौथो आवधिक योजनाको प्रथम बैठकले नेपाली विशेषताको समाजवादका लागि अभियान चलाइने पार्टीले जनाएको छ ।

बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य प्रदिप सीले पार्टीले संसदीय चुनावलाई हेर्ने दृष्टिकोण बदलेको बताए ।

उनले भने – ‘संसदीय चुनावलाई प्रयोग र बहिस्कारको अतिबाट हेर्ने चरित्रलाई पार्टीले बदलेको छ । हामीले ०८४ को चुनाव प्रयोग गर्छौँ भन्दा संसदवादी भएको आरोप लगाइरहेका छन् त्यो कुरा सत्य होइन । चुनावलाई पार्टीले संघर्षको मोर्चा बनाएर समाजवाद प्राप्तिको लागि समग्र मोर्चा बनाएर लड्ने सोचेको छ । हामी संसदवादी होइनौं, हामी संसदवादी हुनै सक्दैनौं । हामी जुझारु क्रान्तिकारी योद्धा हौं, यो मुलुकमा बलिदानको मूल्य चुकाएर भएपनि समाजवाद ल्याएरै छोड्छौँ । चुनावलाई एकीकृत जनक्रान्तिको मोर्चा बनाएर लड्ने हो ।’

‘नेकपा नेपालको वैकल्पिक पार्टी हो । धेरै मान्छेहरुले आ-आफ्नो पार्टी विकल्प भएको ठोकुवा गरिरहेका छन्, ती कुरा हावादारी गफ हुन् । नेपालको वैकल्पिक पार्टी हाम्रो पार्टी हो, नेकपा हो । यो पार्टीसंग मात्रै नेपाललाई वास्तविक शान्ति, समृद्ध र स्वाधीन बनाउने विकल्प छ । यो धान फलाउने पार्टी हो । हामीले भन्न खोजेको हाम्रो पार्टीसंग संसदीय व्यवस्थाको विकल्प छ त्यो हो नेपाली विशेषताको समाजवाद हो । हामीले नयाँ आर्थिक नीति बनाएका छौं । उत्पादन, नयाँ संस्कृति लगाएत सबै संरचनाको विकल्प हामीसंग छ । हामी नेपाललाई साँच्चिकै बदल्न चाहेका छौँ । एकपटक जनतालाई खुल्ला अपिल गर्दै जानुपर्छ त्यसका लागि समाजवादको प्रस्तावमा व्यापक रुपमा जनतामा पुग्नुपर्दछ । अब नेताकार्यकर्ताको सामान्य भूमिकाले मात्रै पुग्दैन यसलाई जुझारु बनाउनुपर्दछ । हामी जुझारु ढंगले संगठनलाई सुदृढ गर्दै गयौं भने नेपालको दलाल पुजीवादी सत्तालाई ढाल्न सकिन्छ,’ उनले भने ।

नेता प्रदिपले पार्टीको आत्मनिर्भर उत्पादन नीतिलाई अझ व्यापक बनाउदै जानुपर्ने समेत बताए ।

उनले मुलुकको दलाल पुजीवादी सत्ताले नागरिकलाई दिनानुदिन चरम सास्ती दिइरहेकाले यो सत्ताको चरित्रबारे जनतालाई प्रशिक्षित गर्दै जानुपर्ने सुझाव व्यक्त गरेका थिए ।

यस्तै बैठकमा पार्टीका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले पार्टीका नेताकार्यकर्तालाई महत्वपूर्ण सल्लाह सुझाव दिँदै पार्टीका नेताकार्यकर्ताहरु चलायमान हुन आवश्यक रहेको बताएका थिए ।

बैठकमा पार्टीको चौथो आवधिक योजनाको समग्र कार्ययोजना बारेमा पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला सचिव तिलक सीले योजनागत प्रशिक्षण दिएका थिए ।

नेता तिलक सीले चौथो आवधिक योजनामा पार्टीलाई नयाँ परिस्थितिमा उभ्याउनुपर्ने जिम्मेवारी नेताकार्यकर्ताको काँधमा आएकाले संगठन निर्माणमा जुट्न निर्देशन दिए ।
उनले नेपालमा समाजवादको नेतृत्व नेकपाले गर्ने सुनिश्चित भइसकेको समेत बताएका हुन् ।

यस्तै नेकपा तुलसीपुर उपमहानगर कमिटीको चौथो आवधिक योजनाको प्रथम बैठकले पार्टी तुलसीपुर उपमहानगर समितिको इन्चार्जमा प्रदिप सी र सेक्रेटरीको जिम्मेवारी रुद्र सीलाई प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकले जनतामाथि लुट मच्चाइरहेका मिटरव्याजी, लघुवित्त, चरम व्याज असुलीका विरुद्ध जनसंघर्ष गर्ने निर्णय गरेको सेक्रेटरी रुद्र सीले जानकारी दिएका छन् ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य जिवनी सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्यहरु धर्ती सी, भुवन सी, प्रतिरोध सी लगाएतको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।