२५ माघ २०८१, शुक्रबार

स्याङजाको दोस्रो पूर्ण बैठक सम्पन्न, नेकपाकै नेतृत्वमा समाजवाद आउनेछ : शिलु सी

0

स्याङजा/ नेपाल कम्युनिष्ट पार्टी स्याङजा जिल्लाको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । स्याङ्जाको वालिङ १४ लन्काकोटमा सम्पन्न बैठकले महत्वपूर्ण छलफल तथा निर्णयहरु गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज शिलु सीले अब देशको जिम्मा लिने अभिभारा नेकपामा आएको भन्दै यसको सबै कमरेडहरुमा बोध हुनुपर्ने बताइन् । इन्चार्ज शिलुले हेर्दा सामान्य भएपनि अहिले असामान्य जिम्मेवारी हाम्रो काँधमा आएको बताइन् । नेकपाको नेतृत्वमा समाजवाद आउने बताउँदै शिलुले महासचिव विप्लवलाई हेरेरै पनि पार्टीभित्रका नेता कार्यकर्ता जागरिला हुनुपर्ने बताइन् । नेताहरुले पार्टीको काममा भन्दा व्यक्तिगत काममा जोड दिदा पार्टी सङ्गठन बन्न नसक्ने भन्दै नेता शिलुले अरुको आलोचना मात्रै गरेर नभई आफूले आफ्नो जिम्मेवारी पूरा गर्न जरुरी रहेको बताइन् । पार्टीले अहिले नयाँ ढङ्गले क्रान्ति गर्न खोजेको भन्दै समय सापेक्ष विचारको विकास गरेको बताइन् । विप्लव नेपालको लागि ब्राण्ड बनिसकेको भन्दै पार्टीले लिएको नयाँ आर्थिक मार्ग उत्पादनसहितको राजनीतिले थप जनताको बिचमा थप लोकप्रिय बनेको नेता शिलुले बताइन् । पोखरामा प्रदेशस्तरीय विशाल जनसभा गर्न लागेको भन्दै सबैले पहल गरेर जनसभालाई सफल पार्नुपर्ने बताइन् ।
नेकपाका केन्द्रीय सदस्य एवम् स्याङजा जिल्ला इन्चार्ज उभार सीले पार्टीका योजनामा गम्भीरतापूर्वक लागेमा स्याङजा जिल्लामा पार्टीलाई प्रभावकारी उपस्थित बनाउन सकिने बताए । जुन स्तरमा परिणाम आउने गरी पार्टी बन्नुपर्थ्यो बनेन, तर अब भने परिणाम ल्याउने गरी सबै कमरेडहरु काममा लाग्नुपर्ने बताए । पार्टी बैठकले तोकेको कुराहरु लागू गर्न निर्देशन समेत नेता उभारले दिए ।
युवा नेता एवम् जनपत्रकार सङ्गठन का संस्थापक केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले स्याङ्जाको लंकाकोट ग्रामिण पर्यटकीय क्षेत्र भएकोले यसको थप विकासलाई सहयोग पुगोस् भनी यहाँ बैठक राखेकोमा आयोजक नेकपालाई धन्यवाद दिए । उनले राष्ट्रिय रुपमा स्याङ्जाको उपस्थिति निकै प्रभावशाली भएकोले नेकपाले स्याङ्जामा हस्तक्षेपकारी उपस्थिति जनाउन जरुरी रहेको बताए । नेता डुम्रेले जिम्मेवारीको हिसाबले केन्द्रमा रहेपनि स्याङ्जाको प्रशासनिक कामदेखि यहाँका विकृतिका बारेमा सधै विषय उठान गर्ने र खबरदारी गर्ने र आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
बैठकले युवा, विद्यार्थी, मजदुर, महिला लगायत जनवर्गीय सङ्गठन निर्माण गर्ने निर्णय गरेको छ भने पार्टीले भ्रष्ट्राचार, मिटरब्याजी, सहकारी ठगी लगायतका विषयमा जिल्लाको अनुकूलतामा सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ । आगामी स्ववियु निर्वाचनलाई केन्द्रमा राखेका स्याङ्जामा निर्वाचन हुने कलेजहरुमा सङ्गठन निर्माणलाई जोड दिने निर्णय पनि भएको छ । पार्टीले पालिकास्तरीय अन्तरक्रिया कार्यक्रमहरु गर्नेपनि जनाएको छ । पार्टीले स्याङ्जा जिल्लामा रहेका स्थानीय ग्रामिण पर्यटकीय क्षेत्र विकासको लागी आवश्यक पहलकदमी लिनेबारे पनि छलफल गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी दुर्गा सीको अध्यक्षतामा सम्पन्न भएको बैठकले उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।