७ बैशाख २०८१, शुक्रबार

दश वर्षे जनयुद्ध फिल्मी शैलीमा टुङ्गिएपछि विप्लवको नेतृत्वमा नयाँ पर्दा खुल्यो : विषम सी

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा जनसरकार प्रमुख विषम सीले दश वर्षे जनयुद्ध फिल्मी शैलीमा टुङ्गिएको बताएका छन् । १ सय ३४ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै विषमले फिल्मी शैलीमा नेपालको जनयुद्ध टुंगिएको बताएका हुन् ।

माओवादी आन्दोलन कमजोर हुनुको मुख्य कारण जनयुद्धको नेतृत्व दलाल संसदीय पुँजीवादमा लिप्त भएर नवसामन्तमा परिणत भएको उनको भनाई थियो । ‘जनयुद्धमा भएको हजारौं बलिदानी र संघर्षबाट आएको गणतन्त्रले जनताको अपेक्षालाई पूरा गर्न सकेन ।’, उनले भने, ‘यसको मुख्य कारण त्यतिबेलाको नेतृत्वले नाटकिय शैलीमा जनयुद्धको अन्त्य गर्नु हो । नव सामन्तमा परिणत हुनु हो । फलस्वरुप आज माओवादी कमजोर भएको छ । जनयुद्धका उपलब्धिमाथि चौतर्फी प्रहार हुन थालेको छ ।’

उनले देशमा वृहत कम्युनिस्ट एकता आवश्यक परेको भन्दै त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने जिकिर गरे । ‘आजको यो एकता वृहत कम्युनिस्ट एकताको जग हो, यसको सुरुवात नेकपा स्थापना दिवसका दिन नेकपा माओवादी समाजवादीसँग भएको एकताले गरेको थियो ।’, उनले भने, ‘यो देशको नेतृत्व कम्युनिस्ट क्रान्तिकारी धारले नै गर्ने छ । क्रान्तिको नेतृत्व नेकपाले गर्छ । महासचिव विप्लवको नेतृत्वमा नेपालमा नयाँ शिराबाट वैज्ञानिक सनाजवादको स्थापना हुने निश्चित छ । वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटो भनेको एकीकृत जनक्रान्ति हो ।’

राणा विरुद्धको संघर्ष, नेकपाको स्थापना, विपी कोइरालाको शासन र महेन्द्रको कु लगायतका विषयहरुलाई कथाको रुपमा प्रस्तुत गर्दै उनले जनयुद्धलाई पनि फिल्मको मध्यान्तरका रुपमा टुंग्याएको बताए । ‘नेपालको जनयुद्ध चलचित्रको जस्तै मध्यान्तर बनाएर फिल्मी शैलीमा प्रचण्ड बाबुरामले टुंग्याएपछि किरणको नेतृत्वमा नयाँ पर्दा खुल्यो ।’, उनले भने, ‘त्यहाँ भएको स्वार्थी तत्वहरुले अगाडि बढाउन नचाहेपछि विप्लवको नेतृत्वमा नयाँ पर्दा खुल्यो । यसले क्रान्तिका बाँकी कार्यभारहरुलाई पुरा गर्ने छ ।’

एकीकृत जनक्रान्ति नेपालको मौलिकतामा आधारित माक्सवाद, लेनिलवाद र माओवादीको विस्तारित रुप भएको भन्दै यसले नै क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने उनको विश्वास थियो । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबीच पार्टी एकता भएको हो । पार्टी एकता कार्यक्रममा महासचिव विप्लवले अध्यक्षता गरेका थिए भने कार्यक्रमको संचालन नेकपा प्रवक्ता प्रकाण्ड सीले गरेका थिए । कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टीबाट नेताहरुले पार्टी प्रवेश गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।