१३ बैशाख २०८१, बिहीबार

विप्लवकै नेतृत्वमा क्रान्ति सम्भव भएकाले पार्टी एकता गरेका हौं : जीवन्त

0

काठमाडौं – श्रमिक जनता पार्टीका अध्यक्ष लक्ष्मण वर्देवा (जीवन्त)ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको नेतृत्वमा नेपालमा क्रान्ति सम्भव देखेर एकता गरेको बताएका छन् । १ सय ३४ औं अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आयोजित पार्टी एकता सभालाई सम्बोधन गर्दै जीवन्तले क्रान्तिको बाँकी कार्यभार एकीकृत जनक्रान्तिमार्फत पुरा हुने देखेपछि नेकपासँग पार्टी एकता गरेको बताएका हुन् ।

उनले नेकपा महासचिव विप्लवमा क्रान्तिका बाँकी कार्भभार पुरा गर्ने हुटहुटी देखेर आफ्नो पार्टी एकताका लागि तयार भएको बताए । ‘नेकपा महासचिव विप्लवसँग वैज्ञानिक दृश्टिकोण छ, श्रमजिवी वर्गको चिन्ता छ, युवा नौजवानहरुको चिन्ता छ, सबै वर्ग, क्षेत्रको चिन्ता छ, श्रमिक बुझेको छ, जनताको दुःख पीडा बुझेको छ, उहाँमा स्वार्थ छैन्, उहाँले समुन्नत देश बनाउने सपना देख्नुभएको छ, जनताको आकाँक्षा बुझ्नुभएको छ, विश्व परिवेश बुझ्नुभएको छ, नेपालको समग्र वस्तुस्थिती बुझ्नुभएको छ ।’, उनले भने, ‘हो त्यसैले योग्य नेतृत्व नेकपामा छ । त्यो हामीले देखेका छौं । विप्लवकै नेतृत्वमा एकीकृत जनक्रान्तीमार्फत वैज्ञानिक समाजवाद प्राप्ति हुने निश्चित छ । त्यसैले यो आन्दोलनमा हामी बिना स्वार्थ समाहित भएका छौं ।’

जीवन्तले संघर्ष र बलिदानबाट स्थापित आन्दोलन धोकामा परिणत भएपछि देशमा नयाँ नेतृत्वको आवश्यकता भएको बताए । ‘जनयुद्धको नेतृवले धोका दियो । क्रान्तिको झन्डा दलालहरुको हातमा बुझायो ।’, उनले भने, ‘जनयुद्धको नेतृत्वले जनताको वलीदानी र उनीहरुको सपनाको हत्या गर्यो । अनि पुरानै संसदीय भासमा भासियो भन्ने निश्चित भएपछि विप्लवले प्रचण्डका विरुद्ध सचेत बिद्रोह गर्ने हिम्मत गर्नु भयो । विप्लवको नेतृत्व युगको माग हो ।’

विप्लवकै नेतृत्वमा क्रान्ति सम्पन्न हुने भन्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी यात्रामा आफूहरु समाहित भएको बताए । ‘हामी क्रान्तिले मागेको कार्यभार एकीकृत जनक्रान्तिमार्फत पुरा गर्न तयार छौं । त्यसका लागि यो पार्टीमा समाहित भएका छौं ।’, उनले भने, ‘विभिन्न खेमामा विभाजित क्रान्तिकारी कम्युनिस्टहरुलाई आन्दोलनको मुलप्रवाहमा समाहित हुन अपिल गर्छु ।’

उनले विप्लव नेतृत्वको नेकपाले टुटफुट र विभाजनमा रहेको नेपाली कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्ने क्षमता राख्ने बताए ।  अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी र श्रमिक जनता पार्टीबीच पार्टी एकता भएको हो । पार्टी एकता कार्याक्रममा महासचिव विप्लवले अध्यक्षता गरेका थिए भने कार्यक्रमको संचालन नेकपा प्रवक्ता प्रकाण्ड सीले गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र पर्सा जिल्ला पूर्वसेक्रेटरी शिरोमणी सापकोटा (जनक), जिल्ला कमिटी सदस्य रमेश राउत र भक्तपुरबाट बालकृष्ण श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।