१२ बैशाख २०८१, बुधबार

जनताका मुद्दामा नेकपा कञ्चनपुरको सक्रियता

0

कञ्चनपुर : कञ्चनपुरमा विभिन्न विषयमा विभिन्न व्यक्ति र संस्थाबाट पीडितहरूलाई न्याय दिलाउन नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले सक्रियता बढाएको छ । राज्यका न्याय दिने निकायहरुबाटै सर्वसाधरण जनताले उचित न्याय नपाएपछि नेकपाले आफ्नो सक्रियता बढाएको हो ।

शुक्रबार मात्रै नेकपा कञ्चनपुरको जिल्ला कार्यालयमा पीडितहरुका तीन वटा निवेदन आएको नेकपा जिल्ला सचिव दिवार सी बताउँछन् । अहिलेको विद्यामान संसदीय व्यवस्थाको असफलताको कारण राज्य जनताको विषयमा विषयमा बेखर बनेको सचिव दिवार भन्छन् ।

नेकपामा आज आएका तीन वटा मुद्दा मध्ये २ वटा जमिन विवाद र अन्य सार्वजनिक सरोकार सम्बन्धीको विषयमा पार्टीले छलफल गरी समस्या समाधानमा सहजीकरण गरेको नेकपाले जनाएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका ०७ का राजाराम रानाको ६ कट्टा ६ धुर जमीन दलालहरुको एक गिरोहले २०६८ सालमा जालसाजी गरी आफ्नो नाममा गर्यो । कामको सिलसिलामा आफू भारतको हिमाचलमा रहेका उनी सो कुरा थाहा पाएपछि घर आए र फकाई फुलाई जमिन आफ्नो नाममा गर्ने ५ जना शिक्षक विरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दिए । उक्त मुद्दामा जितेका पीडित रानाले अदालतको फैसला पछि गुमेको आफ्नो जमिन फिर्ता पनि पाए । तर सो जमीनको लालपुर्जा आफूले जमिन फिर्ता पाएपनि भोगचलन अरु नै गरिरहेको रानाको गुनासो छ । सोही जमिन फिर्ता माग्न खोज्दा अधिग्रहण गर्ने उक्त न्यू जीनियस बोर्डिङ स्कुलले आफूलाई नदिएको उनको भनाई छ । सोही जमिन फिर्ता गराई पाउँ भनी उनले नेकपालाई निवेदन दिएका छन । आफूले सबैतिर न्यायको लागि धाउँदा पनि न्याय नपाएको र आफूले न्याय पाउने आशाले नेकपालाई गुहारेको राजाराम भन्छन् ।

त्यसैगरी कृष्णपुर नगरपालिका वडा नं. ०२ की पशुपती लुहारको घर नजिकैको जमीनमा वडाले अनावश्यक बाटो निर्माणको गर्ने भएपछि सोही विषयलाई लिएर पशुपतिले नेकपालाई निवेदन दिई न्यायको माग गरेकी छन् । उनले पूर्वाग्रहका आफ्नो मात्रै जमीनलाई नोक्सान हुने गरी सडक आवश्यक नै नभएको ठाउँमा निर्माण गरिन लाग्दा आफूले न्यायको लागि नेकपालाई गुहारेको पशुपति बताउँछिन् । पशुपतिको उक्त विवादित विषयमा वडा अध्यक्ष अर्जुन साउद र पीडितलाई राखेर समस्या समाधानको लागि पहल गरिएको नेकपाले बताएको छ ।

जिल्लाकै कृष्णपुर नगरपालिका वडा २ मछलीघाटको खोलामा अवैधानिक र अनियन्त्रित ढंगले प्राकृतिक स्रोतहरु साधन गिट्टी, बालुवा र ढुङ्गाको दोहन भएको उजुरी नेकपामा आएको पार्टीका जिल्ला सचिव दिवार सीले बताए । आफ्नो पार्टीले खोलाको अनुगमन गरी ठेकेदार कम्पनी बालाजी कन्ट्रक्सनसँग प्राकृतिक स्रोतहरुको दोहन नगर्न र नियमानुसार काम गर्न सचेत गराएको नेकपा केन्द्रीय सदस्य तथा जिल्ला विराटले बताए ।

जिल्लाको भीमदत्त नगरपालिका महाकाली नदीमा निर्माणधिन रहेको महाकाली पुल गुणस्तरहीन , स्थानीयलाई क्षति हुने गरी निर्माण भइरहेको भन्ने पुल प्रभावित क्षेत्र ऐरी, ओदाली र भुजेलाका स्थानीयको गुनासो पश्चात नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सीको टोलीले अनुगमन तथा स्थलगत अध्ययन गरेको नेकपाले बताएको छ । अनुगमनमा नेकपाले गुणस्तरीय निर्माण सामग्रीहरू प्रयोग गरी विकास दिगो हुने गरी काम गर्नुपर्ने र स्थानीयहरुलाई क्षति नपुग्ने गरी कामहरू छिटो छरितो हुनुपर्ने माग समेत गरेको छ ।

आफूहरुले स्थानीय जनताको जोखिमलाई मध्यनजर गरी काम अगाडि बढाइरहेको पुल योजनाको फिल्ड हेर्ने इन्जिनियर किशोर पाण्डेले बताए । मन्त्रालयबाट पुलको परिवर्तित नक्सालाई प्रमाणीकरण नगरिदिँदा समय भएको इन्जिनियर पाण्डेको भनाई थियो ।

नेकपा कञ्चनपुरका इन्चार्ज विराटले पार्टीको नीति अनुसार जनताका मुद्दाहरूलाई आफूहरुले समाधान गर्न भूमिका खेलिरहेको बताए । उनले भने, “ अहिलेको सत्ता र व्यवस्थाको गलत नीतिका कारण जनताले सहज रूपमा न्याय पाउने स्थिति छैन र यो राज्यबाट पीडितलाई हामीले पहल गरेर न्याय दिने गरिरहेका छौं ।”यो वर्तमान व्यवस्थाप्रतिको जनताको विश्वास घट्दै गईरहेको र जनताको जनविश्वास नेकपामाथि बढ्दै गएको नेकपा नेता विराटले भने ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।