१४ बैशाख २०८१, शुक्रबार

जीवन शर्माको गीतमा छमछमी नाचे विप्लव र प्रवक्ता प्रकाण्ड

0

काठमाडौं – चर्चित जनवादी गायक जीवन शमाले ‘सिमली छायामा बसी, भरिया लामो सास फेरेको….’ बोलको गीत गाउन सुरु गर्दै थिए । दर्शक दिर्घाबाट चर्को स्वरमा हुटिङ भयो । हुटिङकै बिचमा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मञ्चमा प्रवेश भयो । उनीसँगै थिए नेपाल कम्युनिस्ट पार्टीका प्रवत्ता प्रकाण्ड सी ।

उनीहरु मञ्चमा प्रवेश गरेको केही समयपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, जनवादी श्रजक मणी थापा पनि मञ्चमा उक्लिए । महासचिव विप्लवले नाच्न सुरु गरेपछि फेरी हुँटिङले हल गुञ्जायमान भयो । संगै नाच्न थाले नेकपा प्रवक्ता प्रकाण्ड, झलनाथ खनाल, नेकपा सचिवालय सदस्य विषम सी र मणी थापा । आफ्नो तालमा संगीतको आनन्द लिदैं नाचिरहेका प्रकाण्डलाई पच्छ्याउदै मञ्चमा प्रवेश गरे नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा । सांङ्गीतिक माहोल जमिरहेका बेलामा पछाडिबाट झुल्किए सांस्कृतिक, पर्याटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती । अनि हेर्न पाइयो जनवादी संगीतको शक्तिमा सबै नेताहरुको फुर्तिलो नृत्य ।

माथिको दृश्य हो नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ‘राष्ट्रका लागि संगीत अभियात्रा’ जनसाङ्गीतिक प्रस्तुतिको । गायक जीवन शर्माले आफ्नो अन्तिम प्रस्तुतीमा अतिथिका रुपमा उपस्थित नेताहरुलाई मञ्चमा बोलाए । उनको एक शब्दमा अतिथि तथा दर्शकले मञ्च भरियो । दर्शक दिर्घाबाट निरन्तर हुटिङको बर्षा भइरह्यो ।

जनवादी कलाकारहरुले देशभर चलाएको अभियात्राको अन्तिम दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख कृणबहादुर महरा, नेकपा महासचिव विप्लव सी लगायतलाई एउटै मन्चमा राखेर एकताको सन्देश दिए । कलाकारले टुटफुट भएका कम्युनिस्ट पार्टीहरुलाई एक भएर अपुरो क्रान्तिलाई पुरा गर्न नेताहरुलाई सुझाव दिए ।

कार्यक्रमको सुरुवात सन्देशमूलक गीत ‘आउ मिलाउँ हाम्रा हातहरु…’ बाट भएको थियो । सामूहिक प्रस्तुती रहेको यो गीतले सबै कम्युनिस्टहरुलाई एकतावद्ध भएर लाग्न सन्देश दिएको थियो । गीत प्रस्तुत भइरहदा प्रधानमन्त्री प्रचण्ड प्रफुलित मुद्धमा थिए भने नेकपा महासचिव विप्लवले टाउको हल्लाएर ‘हो–हो’ को इसारा गरिरहेका थिए । समाजवादी मोर्चा बनाउने अभियानमा जुटेका विप्लवले कम्युनिस्ट नेताहरुलाई एउटै मञ्चमा देख्दा प्रफुल्लित थिए । सबैलाई एउटै मञ्चमा देख्न पाउँदा कलाकारहरुमा सकारात्मक उर्जा भरिएको थियो ।

नेपालको ७ दशक बढी लामो कम्युनिस्ट आन्दोलनको इतिहास र करिब दुई तिहाइ नजिक कम्युनिस्ट जनमत हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीहरुको नेतृत्वमा पटकपटक सरकार निर्माण हुदै आईरहेको तर कम्युनिस्ट विचार र राजनीति अनुसारका आर्थिक तथा सामाजिक कार्यक्रमहरु लागु हुन नसकीरहेको बेला कलाकारहरुले आफ्ना गित सङ्गीतबाट एकतावद्ध हुन दवाव दिएका थिए । सरकार र संसद भित्र प्रवेश गरेर मात्रै समाजवाद र साम्यवादको यात्र सफल नहुनेभन्दै कम्युनिस्ट पार्टीहरु एकताबद्ध हुनुको विकल्प नरहेको उनिहरुले सन्देश दिएका थिए ।

ऐतिहासिक चुनवाङ बैठकमा प्रस्तुत भएको ‘टुटफुट र खण्डित कुरा नगर, बरु वीरता, बिजय र एकताको कुरा गर…’ बोलको गीत मोहित श्रेष्ठ र बिद्रोहीले प्रस्तुत गर्दा सबैले एकै स्वरमा हुटिङ् गर्दै समर्थन गरेका थिए । उनीहरुको गीतले नेपालका कम्युनिस्टहरुले बिगतको समिक्षा गर्नुपर्ने र नयाँ आधारमा नयाँ यात्रा तय गर्न प्रेरित गरेको थियो ।

कार्यक्रममा जनबादी कलाकारहरु माधव प्रधान, उदय श्रेष्ठ, जीवन शर्मा, मणी थापा, चिरन सी, मोहित श्रेष्ठ, बिद्रोही, निलिमा पुन, रेश्मी पुन, सरस्वती महरा, अनु शर्मा, नारायण शर्मा, हिमशिखर लगाएतका कलाकारहरुले आ आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । चैत ४ गते कैलालीको धनगढीबाट सुरु भएको साङ्गीतिकअभियात्रा देशका प्रमुख शहर हुदै सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आएर समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।