२९ मंसिर २०८१, शनिबार

नेपालमा मातृ सत्तात्मक समाज

0

आजसम्म प्रकाशित भएका नेपालका पुराण, वंशावली तथा इतिहासहरूको अध्ययन गर्दा एक पुराणले अर्को पुराणलाई, एक वंशावलीले अर्को वंशावलीलाई र एक इतिहासले अर्को इतिहासलाई खण्डन गरे तापनि उनीहरू सबैले एक बुनियादी कुरामा सामञ्जस्यपूर्ण दृष्टिकोण अपनाएको पाइन्छ । नेपालको इतिहास पितृ सत्तात्मक, त्यसमा पनि राजवंशबाट शुरु भएको भन्ने कुरामा उनीहरूबीच एकमतो पाइन्छ ।

बौद्ध पुराणले आदिबुद्ध तथा मंजुश्री, हिन्दू पुराणले ज्योतिर्मलिङ्ग तथा न- मुनि वंशावलीले गोपालन, र इतिहासले यलम्बरबाट नेपालको इतिहास शुरु भएको औंल्याउँदछ ।

इतिहास पनि आज विज्ञानशास्त्रको कोटिमा सर्वमान्य रुपले दर्ता भइसकेको हुनाले पारलौकिक शक्ति, पौराणिकव्यक्ति, धार्मिक दृष्टिकोण तथा कुनै एक विशिष्ट व्यक्तिलाई केन्द्रविन्दु गरी इतिहासलाई हेर्नु गलत हुनेछ । नेपालको इतिहास अझै पनि यस गलत दृष्टिकोणको जालबाट मुक्त हुन सकेको छैन । यस्ता गलत दृष्टिकोणले गर्दा, अकारणमा नै मानिसको रगतको खोलो बगेको दृष्टान्त इतिहासमा प्रशस्त पाइन्छ । हाम्रो देश पनि यसको अपवाद भएको छैन ।

इतिहासप्रति वैज्ञानिक दृष्टिकोणको प्रतिपादन गर्ने व्यक्तिहरूमा सर्वप्रथम जर्मनीका कार्ल मार्क्स र एङगेल्स हुन् । यो दृष्टिकोण ऐतिहासिक भौतिकवादको नामले प्रसिद्ध छ । यसले समाज विकासको चित्रलाई द्वन्दात्मक रुपले पेश गर्दछ । समाज विभिन्न वर्गमा विभक्त भएको हुन्छ । यसले गर्दा समाजमा वर्ग संघर्ष अनिवार्य हुन्छ । समाज विकासको मूलबाटो नै वर्ग संघर्ष हो । “आजसम्मको मानव समाजको इतिहास वर्ग-संघर्षको इतिहास हो ।” उनीहरूले १८४८ मा आफ्नो विश्व प्रसिद्ध पुस्तक “कम्युनिष्ट घोषणापत्र” प्रकाशित गर्दा यसै वाक्यबाट शुरु गरेका छन् ।

यो कुरा वर्गयुक्त समाजको भयो। त्यसबखतमा वर्गविहीन आदिम साम्यवादी समाज भएको कुरा प्रकाशमा आइसकेको थिएन । सन् १८६१ मा स्वीजरलैण्ड निवासी वाखोफेनले उनको पुस्तक “मातृ-सत्तात्मक समाज” र त्यसपछि अमेरिका निवासी मोर्ग्यानले “आदिम समाज” सन् १८७७ मा प्रकाशित गरेपछि यो कुरा प्रकाशमा आयो । अनि मार्क्स, एङगेल्सले पनि वैज्ञानिक आधार दिन र विश्वका सबै जातिहरू आज जुनसुकै अवस्थामा भए पनि सबैले एक चोटि मातृसत्तात्मक समाजबाट गुज्रर आएका हुन् भनी देखाउन “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति” नामक पुस्तक लेखे । यसै पुस्तकमा उनीहरूले मातृसत्तात्मक समाजको अवस्थामा आदिम समाज हुन्छ भनी अकाट्यरुपले देखाए ।

बाखोफेनले आदिमकालमा मातृसत्तात्मक समाजको अस्तित्वको प्रमाण गर्न प्राचीन कालमा साहित्यको आश्रय लिएका थिए। एकीलसको नाटक ओरेस्तीयामा उनले पतनोन्मुखी मातृसत्ता र विकासोन्मुखी तथा विजयी पितृसत्ताको संघर्षको चित्रण पाए। त्यो चित्रण अर्थात् कथाको सार यस प्रकारको छ – यो कथा वीरकालको हो । आफ्ना पति एगामेम्नोम ट्रोजन युद्धमा गएको बेलामा किलतमेस्त्राले एगिस्थस नामक एक व्यक्तिलाई नाठो खेलाइन् । आफ्नो पति युद्धबाट फर्केपछि तिनले नाठाको निम्ति पतिको हत्या गरिन् । त्यसपछि पहिलो पतिको तर्फबाट जन्मेको छोरो ओरेस्तसले बाबुको हत्याको बदलामा आफ्नी आमालाई मारे । मातृसत्तात्मक एरिन्थेगणले ओरेस्तसलाई मातृ-हत्याको अपराधमा दण्ड दिन चाहे । मातृसत्तात्मक र पितृसत्तात्मक गणहरूको संयुक्त पञ्चायत बस्यो ।

मातृसत्तामक पक्षको गणले आइमाईलाई निर्दोषी सावित गर्न यो तर्क पेश गरे, “तिनले जुन पुरुषको हत्या गरिन्, उसँग तिनको रगतको कुनै सम्बन्ध थिएन ।” पितृसत्तात्मक गणको तर्फबाट ओरेस्तसले आफ्नो कार्यलाई जायज ठहऱ्याउँदै बहस गरे- “किलतेम्रेस्त्राले दुई अपराध गरिन् । एक मेरा पिता र अर्को आफ्नै पतिको हत्या गरिन् ।” पञ्चायतमा दुबै पक्षको मत बराबर हुँदा पञ्चायतका अध्यक्ष एथेनाले ओरेस्तसको तर्कलाई जायज ठानी उनलाई मुक्त गरिदिए । यसैलाई लिएर बाखोफेनलाई सही ठहऱ्याउँदै एङ्गेल्स भन्दछन्- “यो मातृसत्तामाथि पितृसत्ताको विजय हो । “

यस कुराले कुनै पनि देशको आदिम इतिहासको खोज गर्ने निर्देशन दिन्छ । गनिपल राइटद्वारा सम्पादित “नेपालको इतिहास”मा एउटा कथा उल्लेख छ, जसले नेपालमा मातृसत्तात्मक समाजको ह्रास र पितृसत्तात्मक समाजको विजयको चित्र प्रस्तुत गर्दछ । कथाको सार यस प्रकारको छ-विरुपाक्ष नामक एक व्यक्तिले आफ्नो १२ वर्षको उमेरमा आफ्नो चीना पढ्दा उनको आफ्नै आमासँग यौनक्रिया हने भविष्यवाणी देखे । यो कुरा थाहा पाएपछि आमा-छोरा दुवैलाई पश्चात्ताप भयो । दुवै अज्ञात दिशातिर लागे। कालान्तरमा उनीहरूको भेट भयो । अज्ञानतामा उनीहरूकोबीचमा यौनक्रिया भयो । त्यसपछि उनीहरूले एक अर्कोलाई चिने । यस पापको के गर्दा प्रायश्चित हुन्छ भनी विरुपाक्षले शिवसँग अनुरोध गर्दा तिमीले तामो पगाली पिउन पर्दछ भने । यसो गर्दा आफ्नो आत्महत्या हुनेदेखि विरुपाक्ष एक बौद्धभिक्षुकहाँ गई उनको सल्लाह मागे। भिक्षुले उनलाई एक जपमाला दिएर भने कि त्यो मालाको धागोनखिइन्ज्यालसम्म जप गर्नु । उनको सल्लाह अनुसार जप गर्न थाले । जप गर्दा अत्यन्त उराठ लागेको हुँदा उनले सो छोडी यात्रातिर लागे । यात्रामा उनले कहिले एउटा मानिसले एउटा सियोले रुख काटेको, कहिले चराले चुच्चाले पानी ओसारी सुखा पोखरी भरेको र कहिले मुट्ठीले माटो ओसार्दै मैदानमा पहाड बनाएको देखे । यसले गर्दा उनलाई पनि माला जप्ने धैर्य आयो । आखिरमा उनी आफ्नो काममा सफल भए । अर्थात् पापको प्रायश्चित गर्न विरुपाक्ष सफल भए ।

यो कथा ने मुनिभन्दा धेरै वर्षपछिको हो भनी इतिहासकारले नै यस कथाको शुरुमा नै भनेका छन् । अतः नेमुनिको पालासम्म सुदृढ पितृसत्ता कायम भएको रहेनछ भन्ने कुरा यसबाट सिद्ध हुन्छ । यसले मातृसत्ताको ह्रास र पितृसत्ताको बढ्दो विजयको कुरा लाई नै चित्रण गर्दछ ।

नेमुनिको आश्रम बागमती र विष्णुमतीको संगम अर्थात् टेकू दोभान भएको हुँदा विरूपाक्षको कालमा ताल समाप्त भई पूर्णरुपले उपत्यका भई सकेको कुरा जनाउँदछ । नेपालको इतिहासमा नेमुनिभन्दा धेरै शताब्दीपहिले एक व्यक्तिको नाम उल्लेख भएको छ । अहिले सम्मका इतिहासकारले नेपालमा बसोबास गराउने व्यक्तिमा उनैलाई पहिलो व्यक्ति मानेका छन् । उनी महाचीनबाट आफ्ना शिष्यको दलबलका साथ आई आफ्नो खड्गका एकै प्रहारले चोभारको डाँडो काटी तालको निकाश बनाई त्यहाँ बस्ती बसाई धर्माकर नाम गरेका एक शिष्यलाई राजा (!) बनाई उनी आफ्नै देश फर्केर गएको कथा छ ।

मेरो विचारमा मंजुश्रीबाट नेपालको आदिम इतिहास शुरु हुँदैन । आज तथ्य तथा खोजको अभावमा धेरै कुरा भन्न सकिन्न । केवल एक कुरा भन्न सकिन्छ- मातृसत्तात्मक र पितृसत्तात्मक तत्त्वहरूको बीचमा नेपालमा जुन संघर्ष चलिरहेको थियो, त्यसको सयौ वर्षपछि नेमनि र उनको पनि धेरै वर्षपछि विरुपाक्षको कथा आएको हुँदा नेपालमा मातृसत्तात्मक र पितृसत्तात्मक तत्त्वहरूको बीचमा धेरै शताब्दीसम्म संघर्ष चलेको बोध हुन्छ। विरुपाक्षको समयसम्म पनि मातृसत्तात्मक समाज पूर्णरुपले लोप भइसकेको बुझिदैन । दुई विचारधाराहरू त्यसबखत पनि मौजूद भएको बुझिन्छ। एक आमासँग यौनक्रियाको दण्ड मृत्यु र अर्को प्रायश्चित । पहिलो विचारधाराको प्रतिनिधि शिवजी र दोस्रोको प्रतिनिधि बुद्ध । जे भए तापनि मातृसत्तात्मक समाज त्यसवखत अत्यन्त क्षीण भएको बुझिन्छ ।..

मंजुश्रीको आगमनभन्दा पहिले, काठमाडौं उपत्यका ताल भएको हुनाले उनीभन्दा पहिले त्यहाँ बस्ती असम्भव थियो भन्ने कुरा उठ्नु स्वाभाविक हो । यो कुरा साँच्चै जस्तो भए तापनि, वास्तवमा साँचो होइन। मंजुश्री नेपाल आउँदा केरुङ पारगरी नुवाकोटको बाटो हुँदै आएको बोध हुन्छ । नुवाकोटमा उनको पादुका अद्यापि सुरक्षित छ । यो पादुका सरस्वती स्थान काठमाडौंको भन्दा पुरानो हो भनी श्री सत्यमोहन जोशीले “नेपालको लोक संस्कृति” मा लेख्नुभएको छ । यसबाट अर्कोतर्फ यो तर्क उठ्दछ कि नगरकोटको आवादी काठमाडौंको भन्दा पुरानो हो । यस तर्कको सत्यासत्यमा पर्नुभन्दा एक तथ्यमा जानु हाम्रो निम्ति उपयोगीसिद्ध हुनेछ ।

हाम्रो देश पहाडी भएको हुँदा विभिन्न नदीहरूका व्याँसीहरूमा बसोबास भएको कुरा इन्कार गर्न सकिन्न । तर विश्वको सभ्यतामा पनि आँखा दौडाउँदा नदीकिनारको फराकिलो ठाउँहरूमा विभिन्न सभ्यताको जन्म भएको पाउँदछौं । यसै कुरालाई ध्यानमा राखी नेपालको सभ्यताको विचार गर्दा, काठमाडौं उपत्यका छोडी नेपालभरमा यस्तो फराकिलो ठाउँ हामी अन्यत्र कहीं पनि पाउँदैनौ । यसले सावित गर्दछ कि काठमाडौं उपत्यका नै हाम्रो सभ्यताको उद्गमस्थान हो । पानी टम्म भएको ठाउँमा बस्ती कसरी बस्न सक्दछ भन्ने तर्कले यस कुरामा शंका उठाइदिन्छ । त्यसमा शंका गर्नुपर्ने वास्तवमा कुनै कारण छैन। यसको निम्ति हाम्रो दिमागमा आजसम्म परेर आएको मंजुश्रीको कथाको गलत व्याख्या तथा धारणालाई हटाउनु पर्दछ ।

मंजुश्री आएर खड्गका एकै प्रहारले चोभारको डाँडो काटी पानी निकास बनाई बस्ती बसाए भन्ने करो सत्य हुन सक्दैन । यसको धार्मिक आवरण अर्थात् मंजुश्रीलाई पारलौकिक शक्तिप्राप्त धार्मिक रुपमा नलिई हामी सरहको नै एक व्यक्तिको रुपमा मानेको खण्डमा, वास्तवमा मान्नु पनि पर्दछ, खड्गको एक प्रहारले डाँडो काटियो भन्ने कुरा पत्याउन सकिन्न । पिंढी दर पिढीले चोभारको डाँडो काट्ने जुन काम नेपालमा शुरु भएको थियो, त्यसमा मंजुश्रीको पनि योगदान रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्दछ । नेपाल उपत्यकाको बस्तीको इतिहासलाई हेर्दा यो कुरा सिद्ध हुन आउँदछ ।

नेपालका पुराना बस्तीहरू काठमाडौं, पाटन, भक्तपुर होइनन् । काठमाडौं त सबभन्दा कान्छो बस्ती हो । नेपालमा सबभन्दा पुराना बस्तीहरू, तालको वरिपरि पहाडको काखमा थिए । थानकोट इचंगु भुइँजसी, मनोपुर, साँखु, फरपिङ, मातातीर्थ आदि चोभारको डाँडाले, छेक्न सक्दो पानी छेकिंदा पनि यी स्थानहरूमा बस्ती बस्न सक्ने कुरा चोभारको डाँडाको भन्दा ती बस्तीहरूको उँचाइ अग्लो भएको कुराले सिद्ध गर्दछ । वास्तवमा ती बस्तीहरूको उक्तलेख नेपालका बंशावली तथा पुराना कुरामा पाइन्छ । जसै जसै तालको वरिपरि वस्ती बढ्दै गयो । उनीहरूलाई बढी जमीनको आवश्यकता पर्न भयो । अनि क्रमशः उनीहरूले तालको सबभन्दा होचो र पानी जाने ठाउँमा खोदल्न थाले होलान् । यसले गर्दा तालमा पानीको घेरा कम हुन थाल्यो होला । अनि बस्तीहरू पनि पहाडको काखबाट तलतलतिर सर्न थाले होलान । मैले साँखुका मानिसहरूबाट दन्त्यकथा सुनेको छु । त्यो कथाको सार हो- बज्रयोगिनीका सन्तानहरूले तालको निकास बनाएका हुन्। यस कुराको ऐतिहासिक पुष्टि एक अंग्रेजी इतिहासकारको भनाइबाट सावित हुन्छ । ती लेखकको नाम अहिले मेरो समझमा आइरहेको छैन, सम्भवतः डा. बोल फिल्ड हुन सक्दछन् । उनले भनेको अंग्रेजी वाक्य जहाँसम्म लाग्दछ यही हो- ” The ancient races of Nepal were the descen- dents of Bajra Yogini” अर्थात नेपालका आदि शासकहरू बज्रयोगिनीका सन्तान थिए ।

इतिहासकारको उक्त भनाइले दुई कुरा स्पष्ट गर्दछ । नेपाल उपत्यकामा मानव जातिको बसोवासको शुरुआत क्रमशः चीन अथवा भारतबाट मंजुश्री तथा ने-मुनिहरू आई बसालिएको हो भन्ने भन्ने कुरा गलत सावित गर्दछ । हाम्रा पूर्वज मंजुश्री तथा नेमुनि नभई अब बज्रयोगिनी हुन आउँदछ । बज्रयोगिनीका सन्तान भन्नाले हाम्रो पूर्वजको रेखा पितृसत्तात्मक समाज नभई मातृसत्तात्मक समाजमा जान्छ । बज्रयोगिनी महिलादेवी हुन । अद्यपि तिनको मन्दिर मनिचुर-साँखुभन्दा अन्दाजी ५०० फिटमाथि डाँडामा पर्दछ । बाखोफेनको भनाइमा एङ्गेल्सले लेखेका निम्नलिखित उद्धरणलाई राम्ररी मनन गरेको खण्डमा बज्रयोगिनीलाई आधार मानी नेपालमा मातृसत्तात्मक समाजलाई प्रमाणित गर्न सकिन्छ ।

“(१) मानव जातिको आरम्भमा यौन स्वच्छन्दता Promiscuity पाइन्छ । (२) यस स्वच्छन्दताको कारणले गर्दा कसैको बारेमा यो निश्चितपूर्वक भन्न सकिन्न कि उसको बाबु को थियो ? यसै निम्ति वंश केवल आमाको नाममा मात्र चल्न सक्थ्यो । प्राचीनकालमा सबै जातिहरूमा यो चलन पाइन्छ। (३) सन्तानहरूले केवल आफ्नी आमाको विषयमा मात्र निश्चय गर्न सक्ने हुँदा, त्यस बखत आइमाईहरूको ठूलो आदर र सम्मान गरिन्थ्यो । यो सम्मान यति ठूलो थियो कि बाखेफेनको विचार अनुसार पूरा शासन नै आइमाईहरूको हातमा थियो ( स्त्रीराज थियो) (जोड लेखकको) एङ्गेल्सको माथि उल्लेखित पुस्तकको भूमिकाबाट ।

“प्राचीनकालमा सबै जातिहरूमा यो चलन पाइन्छ” भन्ने उक्ति नेपालमा पनि लागू हुन्छ त्यस वखत यौन स्वच्छन्दताको कारणले गर्दा आफ्ना बाबुको विषयमा हाम्रा पूर्वजलाई केही ज्ञान नहुनु स्वाभाविक थियो । आमाको विषयमा उनीहरूलाई निश्चित थियो । त्यसैले बज्रयोगिनीका सन्तानको कुरा उक्त अंग्रेज इतिहासकारले उठाएका होलान् । अफसोस, उनले त्यसभन्दाबढी त्यस विषयमा अरु केही लेखेका छैनन् न त त्यसको स्रोतको विषयमा नै केही लेखेका छन् । नेपालमा बहुपति राख्ने समाजको विषयमा हडसनले पनि उल्लेख गरेका छन् ।

हालै डा. गोपाल सिंह नेपालीले “नेवार जाति” नामक उनको आफ्नो पुस्तकमा नेवार समाज मातृ-सत्तात्मक थियो भन्ने कुराको पनि उल्लेख गरेका छन् । तर कुनै इतिहासकारले आजसम्म अध्ययन गरी मातृसत्तात्मक समाजको विषयमा पूरा खाका पेश गरेका छैनन् । त्यसैले गर्दा आज आमरुपमा नेपालको इतिहास पितृसत्तात्मक, त्यसमा पनि राजतन्त्रबाट शुरु हुन्छ भन्ने गलत धारणा सबैमा विद्यमान छ । राजतन्त्रको अभ्युदय समाज विकासको दौरानमा धेरैपछि आएको सन्तान हो । यसरी एकाएक नेपालको इतिहासलाई राजतन्त्रबाट शुरु भएको मान्दा नेपालको बस्ती चीन या भारतले बसाएका औपनिवेशिक बस्ती हुन आउँछ । हाम्रो आफ्नै आदिम इतिहास लोप भएर जान्छ । यसले गर्दा आफ्नो राष्ट्रिय परम्पराको लोप हुन्छ । पितृसत्तात्मक समाजभन्दा, हाम्रो पिढीं नै लोप हुन्छ । फेरि विश्वका सबै जातिहरु मातृ-सत्तात्मक समाज पार गरेर आएका छन् भने हामी नेपाली मात्र त्यसको अपवाद हुन
सक्दैनौं ।

आजसम्मका इतिहासकारहरूलाई झूटा सावित गर्ने हेतुले साक्षी बक्नको निम्ति नै होला कि अद्यापि नेपालमा यस्ता धेरै रीति-रिवाजहरू धार्मिक, आर्थिक, राजनैतिक, सांस्कृतिक तथा उखान टुक्काको रुपमा जीवित छन्, जुनलाई बाखोफेन, मोर्गन तथा एङ्गेल्सहरूको कृतिलाई ध्यानमा राखी विचार गरेमा नेपालमा मातृसत्तात्मक समाज आदिकालमा भएको प्रमाणित हुन्छ ।

नेपालमा मातृसत्तात्मक समाजका अवशेषहरूलाई साक्षी बकाउनुभन्दापहिले परिवारको विकासको सम्बन्धमा उपयुक्त विद्वानहरूको के विचार थियो भन्ने कुरा बुझाउनु अति आवश्यक छ । उनीहरूको विचार अनुसार पद्धति अर्थात् परिवारको विकास यस प्रकार छ- (१) सकुल परिवार (Consanguine family). (२) सखा परिवार (Punatuan family). (३) युग्म परिवार (Pairing family) (४) एकनिष्ठ विवाह (Monagamy) आज विश्वमा सर्वमान्य परिवार एकनिष्ट विवाह भएको छ । सकुल परिवारबाट एकनिष्ठको स्थितिमा पुग्नुलाई मानव समाजलाई हजारौं वर्ष लागेको छ । यसको इतिहासलाई हेर्दा हामीलाई स्वयं मानव समाजको इतिहासको बोध हुन्छ । समाज विकासको साथसाथै परिवारको पनि विकास भएर आएको पाउँदछौं ।

पहिले मानिसहरू जंगली अवस्थामा थिए । त्यसबखत समाज शासक र शासितमा विभक्त भएको थिएन । मानिसहरू सानो, सकुल समूहमा बस्दथे । अन्नपानी र जलवायुको प्रबन्ध मिलेर गरिन् पर्दथ्यो । त्यस बखत आधुनिक परिवारको कल्पना गर्न सकिंदैन । अतः यौन स्वच्छन्दता थियो । आफ्नै कुलभित्र स्त्री र पुरुषको बीचमा यौनक्रिया स्वतन्त्र थियो । त्यसमा बन्देज थिएन । आगोको आविष्कारपछि मानिसहरू जलवायुबाट स्वतन्त्र भए । ताल तथा नदीको किनारमा बस्ती बसाउन थाले । जनसंख्याको वृद्धि हुन गयो । यसले गर्दा यौन स्वतन्त्रता स्त्रीहरुको निमित्त बोझ हुन गयो । त्यसपछि यौन प्रतिबन्ध लगाउने काम शुरु भयो । यो प्रतिबन्ध सब भन्दा पहिले एक-एक पिंडी अर्थात् पुस्तामा लाग्न थाल्यो । अर्थात् बज्यैको पुस्ताका स्त्री-पुरुष, आमाको पुस्ताका स्त्री-पुरुष तथा छोराको पुस्ताका स्त्री-पुरुष अर्थात आ-आफ्नो पुस्तामा मात्र यौनक्रियाको स्वतन्त्रता दिइयो । यसको मतलब हन सक्छ आमा र छोराको बीचमा यौनक्रियामा प्रतिबन्ध लाग्नु । यी दुबै परिस्थितिमा जुन विवाह हुन्थ्यो, त्यसकै रूप युथ (Group) थियो । अर्थात् सकुल र सखा परिवार दुवैको रूप युथ (Group) विवाह थियो । यो जंगली अवस्थाको कुरा हो । कुलमा विवाह भए तापनि आमा र छोराको बीचमा यौन प्रतिबन्ध जंगली अवस्थाको अन्तिम समयतिर अर्थात् आगोको आविष्कारपछि हुन आउँदछ । मातृसत्तात्मक समाज यही बखतको कुरा हो । आदिम साम्यवादी समाजको युग यही हो ।

मानिसहरू रैथाने हुन थालेपछि पिंडी दर पिंडीको अनुभव समाजमा शिक्षाको रुपमा थिग्रिनथाल्दछ । यो अनुभव प्रतिदिन बढ्दै जान्छ । यसै दौरानमा मानिसले जंगली जनावरहरूलाई पाल्न थाल्दछन् । गोठको विकास हुन्छ । अनि खेतीपातीको पनि आविष्कार हुन्छ । गोठ र खेतीको आविष्कारले खानाको निमित्त जंगल चहार्ने पुरुषलाई त्यस कामबाट मुक्त गरिदिन्छ । रैथाने वस्ती (Sedeutary) फल्न फुल्न थाल्दछ । यस कुराले व्यक्तिगत सम्पत्तिको समाजमा प्रादुर्भाव हुन्छ । पहिले गोठ र पछि खेती पनि पुरुषको अधिकारमा गएको हुँदा प्रारम्भमा व्यक्तिगत सम्पत्ति पुरुष समुदायको निजी सम्पत्तिको रूपमा देखापर्दछ । यसैबाट पछि गई पुरुषको सामुहिक सम्पत्तिको सट्टा व्यक्तिगत सम्पत्तिको विकास हुन्छ । त्यसपछि यो व्यक्तिगत सम्पत्तिको हकदारको प्रश्न उठ्दछ । सम्पत्ति पुरुष समुदायको हुँदा, कुनै पनि पुरुष मर्दा उसको सम्पत्ति समाजमा नै अर्थात् उसैको कविलामा राखिन्थ्यो । तर पछि समुदायको सम्पत्ति नभई व्यक्तिगत सम्पत्तिको रुपमा हुँदा उसको हकदार खोज्नुपर्दा युग्म परिवार (Qiring Family) को विकास हुन्छ । यसले मातृसत्तात्मक समाजको साथै आदिम साम्यवादी समाजमाथि प्रहार गरी पितृसत्तात्मक समाजको युग शुरु गर्दछ । यो युग्म-परिवारको सम्बन्ध अति नै खुकुलो हुन्थ्यो । जे भए तापनि वंश आमाको सट्टा बाबुको नामबाट हुने भयो । यो अर्द्धसभ्य अर्थात् (Barbarism) को अवस्थाको कुरा हो ।

यस युग्ममा परिवारबाट (Monagamy) एकनिष्ठमा आइपुग्दा समाज सभ्यताको द्वारमा आइपुग्दछ । यो दास समाजको कुरा भयो । यो एकनिष्ठ विवाहको चलन आएको आज हजारौं वर्ष बित्दा पनि दुई पक्षको निम्ति मात्र लागू नभई केवल एक पक्षको निम्ति नै रहेको छ । यो कुरा आज विशेषगरी आइमाईप्रति मात्र लागू छ । पुरुषहरूलाई कानूनमा नभए तापनि व्यवहारमा सबै प्रकारले खुला छूट छ । यसो हुनाको मुख्य कारण सामाजिक उत्पादनबाट महिलालाई अगल राख्नाले हो । आर्थिक विषमता खतम हुनाको साथसाथै एकनिष्ठ विवाहको नियम | समानरुपले दुबैमा लागू हुनेछ । यसका साक्षी समाजवादी राष्ट्रहरू छन् ।लगाउँदा निम्नलिखित अवशेषहरूबाट नेपालमा मातृसत्तात्मक समाज अर्थात् आदिम साम्यवादी समाज थियो भन्ने कुराको ठहर हुन आउँदछ ।

उपयुक्त कुरालाई ध्यानमा राखी हामीले आफ्नो आदिम इतिहासप्रति दृष्टि“नेपालका आदिशासकहरू बज्रयोगिनीका सन्तान थिए।” यस वाक्यले नेपालको आदि समाज मातृसत्तात्मक थियो भन्ने स्पष्ट गरे तापनि आदिम साम्यवादी समाजको अस्तित्वको कुरालाई इन्कार गर्दछ । कारण उनले “शासक” शब्दको प्रयोग गरेका छन् । वास्तवमा मातृसत्तात्मक समाजको त के, धेरै समय सम्म पितृसत्तात्मक समाजमा पनि “शासक” वर्ग पाइन्न । त्यसबखत समाज शासक र शासितको बीचमा विभक्त भएको थिएन । जे भए तापनि एक चिजको एक पहलूलाई स्वीकार गरेपछि अर्कोलाई इन्कार गर्न सकिन्न ।

बज्रयोगिनीमा अद्यापि यो प्रचलन छंदैछ । त्यहाँका अंगेनामा आगोलाई कहिल्यै पनि निभ्न दिइन्न । यस तथ्यले हामीलाई हाम्रो समाजको जंगली अवस्थाको अन्तिम स्वरूपतिर पुऱ्याउँदछ । काठमाडौं उपत्यका ताल हुँदा पनि मनिचुरमा बज्रयोगिनीको नायकत्वमा आदिम साम्यवादी समाज निर्माण भइसकेको थियो । आगोले हामीलाई रैथाने बनायो भने, त्यसबखत तालको पानीले माछोको रुपमा हामीलाई खाना प्रदान गयो होला ।

त्यसपछि बस्ती बढ्नु स्वाभाविकै कुरा भयो । फेरि चारैतिरबाट त्यस ठाउँमा विभिन्न कबिलाहरू आउन थाले होलान् । अनि तालको घेराक्रम हुन थालेपछि जमिनको फाँट बढ्न थाल्यो । यस बढ्दो फाँटले गोठको व्यवस्था ल्यायो होला । अनि मंजुश्रीले अन्तिम रूपमा ताल समाप्त गरेहोलान् र ने मुनिबाट गोपाल बंशको शुरु भयो होला । अर्थात् गौ पालपति इति गोपाल भयो होला । इतिहासकारहरूले नेपालमा शुरुदेखि राजाको अस्तित्व थियो भन्ने देखाउनलाई गाईगोरु पाल्ने गोपाललाई राजा भन्ने संज्ञा दिए तापनि वास्तवमा यो कुरा सत्य हो 1 नभई पितृसत्तात्मक कबिलाको कुरा यहाँनिर Northey W. Brook र Morris CJ को “The Gorkha” नामक पुस्तकका केही हरफहरू (पेज ९) उद्धृत गर्नु उचितै होला “Ne Mune…. by common conaeent, seleted a pious cowherd to be the first long line of the kings known as the gopala or cow-herd dynesty” arafa “ने-निले गोपाल वंशका लामो राजपिंडीमा पहिलो राजाको रुपमा सबैको स्वीकृतिले राजा छाने ।” यहाँ “राजा” शब्दको प्रयोगले आधुनिक राजतन्त्र सम्झनु हुँदैन । “सबैको स्वीकृतिले” भन्ने वाक्यांशले त्यस बखतको समाजको स्थितिलाई बोध गराउँदछ, त्यसैले त्यो महत्त्वपूर्ण छ । फेरि राजा मान्ने आजको रूपमा नभई कविलाको नेताको रुपमा शुरुमा प्रयोग भएको हो भन्ने कुरा एगेल्सका निम्नलिखित वाक्यले दिन्छ ।

उनको माथि भनिएको पुस्तकमा एगेल्स लेख्दछन्- “शब्द रचनाशास्त्रको दृष्टिले येसिलियस (सेनापति) को अर्थ राजा हुनु विलकुल सही छ। कारण, अंग्रेजीको किंग शब्द जसको अर्थ राजा हुन्छ (या कनिंग) कुनि या कुन्नेबाट उत्पन्न भएको हो । त्यसको मतलव गणको मुखिया (Gen) हुन्छ ।” फेरि संस्कृतमा विचार गर्ने हो भने पनि रज्जयति अनेन इतिराजन अर्थात् राजा हुन्छ । यसको माने हुन्छ खुसी तुल्याउन सक्ने क्षमता भएका । अतः राजा शब्दको प्रयोगले आजको युगको अर्थ नदिई गणको मखियाको अर्थ दिन्छ र “सबैको स्वीकृति” भन्ने वाक्यांशले त कविला समाज नै हो भन्ने लालमोहर ठोक्दछ ।

तर त्यसो भए तापनि नेमुनिले धेरै वर्षपछिसम्म मातृसत्तात्मक समाज नेपालमा थियो भन्ने कुरा माथि दिएको विरुपाक्षको कथाबाट सावित हुन आउँदछ ।नेपालमा मातृसत्तात्मक समाज पश्चिमउत्तर नेपालको दुल्लु, दैलेखको जंगलमा अझै पनि बसोवास गर्ने कुसुन्डा, राउटेको बीचमा पाउन सकिन्छ । अचेल पनि जंगलमा बस्ने हुँदा धेरै सम्भव छ, उनीहरूमा यो प्रथा अद्यापि होस् । तर यसको अवशेष केही धार्मिक, सामाजिक, आर्थिक, राजनैतिक रीतिरिवाज र उखान टुक्काहरूमा प्रशस्त पाइन्छन् ।

धार्मिक रूपमा विचार गर्दा यी कुराहरू पाइन्छन् । बज्रयोगिनीको पूजा अझै चलन चल्तीमा छ । नेपालमा देवी र कुमारीको पूजा-आजा प्रशस्त मात्रामा पाइन्छ । नेपालका धेरै जातिहरूको, यहाँसम्म कि ब्राम्हणहरूसमेतको कुलपूजामा देवीको पूजा गर्दछन् । तलेजु भवानी मल्ल राजाहरूकी कूलदेवी हुन् । काठमाडौंमा विभिन्न अजिमा अर्थात बूढीबज्यै देवीको रुपमा पूज्य हुन्छन् । अद्यापि कुमारी यात्राको चलन छँदैछ । मातृसत्तात्मक समाजको वखतमा आइमाईहरूको जुन आदर सत्कार थियो, सो काल निस्कँदै गएपछि श्रद्धा र भक्तिले गर्दा उनीहरू पूजनीय भएर देवीको रुपमा देखिन आएका कुराहरूका यी द्योतक हुन् ।

राजनैतिक दृष्टिकोणबाट विचार गर्दा राजाको राज्याभिषेक रानीबिना हुन सक्दैन, फेरि नेपालमा राजाले राज्य गर्ने अख्तियार वर्षेनी कुमारीबाट प्राप्त गर्नु पर्दछ । यो कार्य, कुमारी यात्रामा वर्षेनी कुमारीले आफ्नो खड्ग राजालाई प्रदान गरी राज्य गर्ने अधिकार दिन्छिन् । आर्थिक दृष्टिकोणबाट विचार गर्दा पूर्वी नेपालको किपट प्रथा, गौचर, वन-जंगल तथा नदीमाथि सामूहिक मालिक्याइँ आदि र हालसालै समाप्त गरिएको कुमारी चोकको प्रथा याद आउँदछ । केहीवर्ष पहिलेसम्म सरकारी बाँकी-वक्यौता भएमा सातपुस्तासम्मलाई पनि धडपकड गर्ने अधिकार कुमारी चोकलाई थियो । पहिले देशको आम्दानी कुमारीको हुँदो हो । पछि, मातृसत्तात्मक समाज समाप्त भएपछि यो चलन क्रमशः सरकारमा सारिंदै गएको हुनाले अड्डा कुमारीको चौकैमा रही धडपकड गर्ने काम शुरु गरेको होला । पूर्व नेपालमा अद्यापि किपट प्रथा छँदैछ । यो किपट प्रथाअनुसार जमीन किराँती परिवारहरूको सामूहिक सम्पत्तिको रुपमा आज पनि देखिन आएको छ । शुरुमा यो प्रथा गण वा कविलाको सामूहिक सम्पत्तिको रुपमा थियो होला । त्यही प्रथा पछि, समाज विकासको दौरानमा पारिवारिक सम्पत्तिको रुपमा विकास हुन्छ । आज पनि किराँतीहरू छुटिंदा किपट भाइमा अंश वण्डा हुन्छ र प्रत्येक वण्डापछि ५८९१,२० वा ७१९१,२० सरकारमा कर लाग्ने हुँदा भाइहरु छुट्टिनाको सट्टा धुरी जोड्दै जान्छन् । पूर्वी नेपालमा ५० धुरी जोडिएको घर स्वयं यस लेखकले देखेको छ ।

नेपालको वन-जंगल र नदी-नाला आदिले राष्ट्रिय सम्पत्तिको रुप धारण गरेको ०७ साल पछि मात्र हो । त्यसभन्दाअघि गाउँ ठाउँका जनताको सामूहिक सम्पत्तिका रूपमा थिए । त्यसको रेखदेख वरवन्दोवस्त गाउँ-गाउँले नै गर्दथे । यस सामूहिक सम्पत्तिमाथि, मलाई लाग्दछ, सवभन्दा पहिले सरकारले जिल्ला जिल्लामा रानी वन पालेर गयो । आजसम्म पनि हाम्रो गाउँ-घरमा दुआली फर्काई माछा मार्ने चलन छ । यसमा सम्पूर्ण गाउँ नै भिड्दछन् र मारेका माछा सम्पूर्ण गाउँमा वितरण हुन्छ । फेरि गाउँ घरमा शिकार गर्दा सो शिकारको गाउँमा वितरण गर्ने चलन पनि छँदैछ ।

नेपालमा सर्वत्र गौचरको व्यवस्था छ । आजभन्दा ५०/६० वर्ष अगाडिसम्म गौचर मिचेको मुद्दा नै अदालत तथा गाउँपञ्चायतहरूमा बढ्ता पर्दथ्यो । यस गौचरको प्रथाले पहिले सामूहिक गोठ व्यापक रूपमा भएको बोध गराउँदछ र अद्यापि गौचर सामूहिक सम्पत्तिको रूपमा मानिन्छ । सामाजिक दृष्टिकोणबाट विचार गर्दा अद्यापि धेरै अवेशषहरू पाइन्छन् । मातृसत्तात्मक समाजमा आफ्नो पिडीमा मात्र होइन माथिल्लो पिडीमा पनि यौनसम्बन्धमा प्रतिबन्ध थिएन ।

आज नेपलमा सानी आमाको त कुरा छोडौं, भाउज्यूले आमाको र भाइ बुहारीले छोरीको स्थान पाइ सकेका छन् । तर डेढसय वर्षअगाडिसम्म नेपालमा सानी आमा तथा भाउज्यू स्याहार्ने चलन थियो । भीमसेन थापाको पालामा यो चलन समाप्त गरियो । अहिले पनि ठकुरी लगायत कतिपय जातिको विवाह मामा-चेली र फप-चेलामा हुन्छ । यी चलनहरूले नेपालमा यौन प्रतिबन्ध क्रमशः हुँदै आएको कुरा बोध गराउँदछ । (-चित्त रज्जनको भीमसेन थापा र तात्कालीन नेपाल हेर्नुहोस ।)

नेपालमा ‘आमा कि मामा’ भन्ने उखान अहिले पनि सबैको मुखमा छँदैछ । यसमा बाबुको उल्लेख नहुनुको अर्थ मातृसत्तात्मक समाजको नियम अनुसार आमाको भाइ नजिकको नाता मानिन्छ । यसको साथै ‘जेठो छोरो, कान्छो नानी, माइला-साँहिला आनामानी’ भन्ने उखान पनि प्रसिद्ध नै छ । बाबुको काजक्रियाको निम्ति जेठो छोरो, आमाको निम्ति कान्छो छोरो चाहिन्छ । आखिर यसको अर्थ के हो ? यसले नेपालमा युग्म परिवार भएको बोध गराउँदछ। यस्तो समाजमा स्त्री र पुरुष दुबै एक समयसम्म निश्चित वैवाहिक बन्धनमा रहन सक्दछन् चाहेको खण्डमा दुईमध्ये कुनैले पनि सम्बन्ध त्यागी अर्कोसङ्ग वैवाहिक सम्बन्ध कायम गरी नयाँ सम्बन्ध स्थापना गर्न सक्दछन् । त्यसो हुँदा बाबुको निम्ति जेठो छोरो र आमोको निम्ति कान्छो छोरो चाहियो ।

हाम्रो पहाडको कुना काप्चामा स्त्री र पुरुष आ-आफ्नो मण्डलीको साथ बसी जुहारी खेल्ने चलन अझै छँदै छ । यसरी जुहारी खेल्दा पुरुषले जिते स्त्रीलाई लैजाने र पुरुषले हारे स्त्रीको कमारा हुने भन्ने कुरा सबैले सुनेकै होलान् । वास्तवमा यो कमारा हुने चलन नभई पहिलोको युथ (Group) विवाहको अवशेष हुन सक्छ । पहाडतिर यो चलन छ भने काठमाडौंको समाजमा अहिले पनि एक कुरा सुनिन्छ । काठमाडौंमा “भात पिनिगु छें वेनेगु” अर्थात “लोग्नेहरूको घर जानु” भन्छन् । यहाँ लोग्नेका निम्ति एक वचनको प्रयोग नभई बहुबचनको प्रयोग भएको छ । ‘छे’ को मतलब घरको समूह अर्थात् टोललाई जनाउँदछ । यसको साक्षी अहिले पनि ‘झोंचे, चोखाछें, इखाछें आदिले दिन्छ । फेरि आइमाईहरू माइतलाई ‘थछें’ अर्थात् ‘आफ्नो घर’ भन्दछन् । यसबाट पनि यही सिद्ध हुन्छ कि पहिले नेपालमा युथ (Group) विवाह हुँदोरहेछ ।

संसारमा विरलै पाइने एउटा चलन नेपालमा देखिन्छ । त्यो हो मातातीर्थ । जसको आमा मरेकी छ, उसका छोरा छोरीहरू वर्षेनी मातातीर्थमा जान्छन् । फेरि आमाको मुख हने चलन पनि छँदैछ । यो तीर्थको स्थापना नेमुनिको पालामा भएको हो भन्ने कुरा इतिहासमा पाइन्छ । आमरुपले सबैको मुखबाट ‘ऐया आमा’ भन्ने ‘शब्द निक्लन्छ । ‘ऐयाबाबा’ भन्ने चलन पछि जोडिएको हो । पहिले समाजमा आमाको महत्व भएको हुँदा यो चलन आएको हुन सक्दछ ।

यी सबै कुराबाट अकाट्यरुपमा यो साबित हुन्छ कि नेपालमा आदिम युगमा मातृसत्तात्मक समाज थियो । मातृसत्तात्मक समाजको अस्तित्वलाई मान्नुको मतलव आदिम साम्यवादी समाजको अस्तित्वलाई मान्नु हुन्छ । यो सिद्ध भएपछि आजसम्म हामीमा रहेको यो गलत धारणा समाप्त हुन्छ कि नेपालको इतिहास मंजुश्री अथवा नेमुनिबाट भएको हो । सबभन्दा ठूलो कुरो त नेपालको इतिहासलाई पारलौकिक शक्ति-पुराण तथा धार्मिक दृष्टिकोणबाट मुक्त गरी ऐतिहासिक भौतिकवादको स्तरमा बढाउँदछ । यसै दृष्टिकोण अनुसार नेपालको इतिहासको खोज गरेमा हामी आफ्नो वास्तविक राष्ट्रिय परम्परा पत्ता लगाउन सक्ने छौं र नेपालमा देखिएका प्रत्येक संस्थानहरूको भौतिकवादी व्याख्या दिन सक्नेछौं र राष्ट्रिय एकतालाई बलियो पार्ने खँदिलो आधार तयार गर्न सक्ने छौं ।

यो लेख त यस दिशाप्रति शुरुआत मात्र हो । नेपालमा मातृसत्तात्मक अर्थात् आदिम साम्यवादी समाज थियो भनेर मात्र पुग्दैन । त्यो थियो त कुन रुपमा थियो ? त्यसमा परिवर्तन आउनाको कारण के थियो ? कुन-कुन स्वरुपमा के के परिवर्तन आए ? आज के के परिवर्तन हुँदै छ ? इत्यादि कुरा बाँकी नै छ, क्रमशः पछि पछि गरिने नै छ ।
आदिम नेपालमा मातृसत्तात्मक समाज थियो भने आज आईकन एकनिष्ठ विवाहले कानूनी मान्यता प्राप्त गरिसकेको छ । यस्तो वखतमा हामी कता लाग्ने ? भन्ने प्रश्न उठन सक्दछ, पछाडि फर्कने हो या अगाडि बढ्ने हो ? यसमा कुनै शंका छैन, अगाडि बढ्नु पर्दछ । पछाडि फर्कने कुरै छैन । त्यसको निम्ति हामीले एउटा कुरा याद गर्नु पर्दछ-आर्थिक असमानता समाप्त नभै एकनिष्ठ विवाहले पूर्णता प्राप्त गर्न सक्दैन ।
(पुष्पलाल छनिएका रचनाहरु)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।