१२ श्रावण २०८१, शनिबार

भ्रष्टाचार उत्पादन गर्ने संसदीय व्यवस्थाको कारखाना नै ध्वस्त पारिदिनुपर्छ : नेता सविन

0

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले भ्रष्टाचार उत्पादन गर्ने संसदीय व्यवस्थाको कारखाना नै ध्वस्त पारिदिनुपर्ने बताएका छन् ।
शनिबार तुलसीपुरमा पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता सविनले यस्तो बताएका हुन् ।

युवा संगठन नेपाल पश्चिम दाङको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने- ‘कोरोनाको बेलामा औषधि र कात्रोमा समेत भ्रष्टाचार गर्ने यो व्यवस्था संसदीय व्यवस्था हो । त्यसैले हामीले के भनिरहेका छौँ भने भ्रष्टाचारको कारखाना यो व्यवस्थालाई ध्वस्त पारिदिनुपर्छ । शान्तिपुर्ण ढंगले भनेका छौँ यो कारखाना बन्द गर्नुस् होइन भने हामी यो कारखाना ध्वस्त पारिदिन्छौँ । यो कारखाना भत्काउन एकीकृत जनक्रान्तिको हतियार प्रयोग हुन्छ । यो कारखाना भत्काएर यसको ठाउमा वैज्ञानिक समाजवाद ल्याउनुपर्छ । वैज्ञानिक समाजवादमा शिक्षा , स्वास्थ्य , रोजगार , गाँस , बास , कपास लगाएत जनताका आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले गर्छ । वैज्ञानिक समाजवादमा कोहि धनी कोहि गरिव हुनुपर्दैन । यो व्यवस्था मानव सभ्यताको उत्कृष्ट व्यवस्था हो ।’

एक अर्को प्रसंगमा बोल्दै नेता सविनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिका जोडिएको खुलासा गरे । उनले भने ‘संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धि नियमले नेपालको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणको फाइल अगाडि बढाएको छ । यदि त्यो प्रमाणित भएमा संसदवादीहरु अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्ने भएकाले अहिले यो प्रकरणमा सत्ताले केही गर्नैपर्ने बाध्यता आइलागेको हो ।’
यो घोटालाले अन्तर्राष्ट्रिय जगतमा नेपाली छवि नराम्रोसंग बिगारेको उनको चिन्ता थियो ।

एक फरक प्रसंगमा बोल्दै नेता सविनले महान जनयुद्धलाई सबै युवाहरुले पढ्नुपर्ने बताए । नेपालको महान दसबर्से महान जनयुद्धलाई सबैले अध्ययन गर्नुपर्छ , ‘नेपालको सामन्ती सत्तालाई विघटन गर्ने जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको छ । जनयुद्ध एकचोटि सबै युवाले पढ्नैपर्ने हुन्छ । जनयुद्द सामान्य क्रान्ति थिएन त्यो नेपालको सामन्ती सत्तालाई धुलोमा मिल्काउने गौरवपुर्ण इतिहास हो ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।