१६ फाल्गुन २०८०, बुधबार

  देशका नौजवानहरुबाट अर्को एउटा गंगालालको आवश्यकता छ

0

नेपाली विद्यार्थी आन्दोलनको गौरबपूर्ण दिन जेष्ठ १ गते विद्यार्थी दिवसको कार्यक्रमका अध्यक्ष तथा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष कमरेड, विद्यार्थी उत्साहित गर्नका लागि उपस्थिति कम्युनिष्ट पार्टी र समाजवादी आन्दोलनका आदरणीय नेताहरु :कमरेड माधव कुमार नेपाल,कमरेड अग्नि साप्कोटा र बोल्दै निस्किदै गर्नु हुने विशिष्ट अतिथिहरु उपस्थित हाम्रा विभिन्न पार्टीका नेताहरु,विशेषत:आजको विद्यार्थी आन्दोलनलाई नेतृत्व गर्दै यहाँ सम्म आईपुग्नु भएका जुझारु विद्यार्थी नेताहरु,कलाकार बन्धुहरु,पत्रकार बन्धुहरु, एउटा निरासाको कालो बादल भित्र उज्यालो भविष्यको सपना देख्दै यो विद्यार्थी दिवसमा उपस्थित भएका नौजवान विद्यार्थी कमरेडहरु र मित्रहरुमा हाम्रो नेपाल कम्युनिष्ट पार्टी र मेरो व्यक्तिगत तर्फवाट न्यानो लालसलाम व्यक्त गर्दछु ।
आदरणीय कमरेडहरु र उपस्थित विद्यार्थी साथीहरु!

यो जेठ १ गते आएपछि नेपालका युवा विद्यार्थीहरुमा एउटा उमंग, जोस र गम्भीरता पैदा हुन्छ । हामी इतिहासप्रति गौरब गर्छौ । हामी आफ्ना अग्रजहरुप्रति सम्मान व्यक्त गर्छौ,स्मरण गर्छौ र आजको दिनबाट नेपालको विद्यार्थी आन्दोलन र त्यसबाट नेपाल देश र नेपाली जनताको पक्षमा निभाउनु पर्ने भूमिकाबारे मन्थन, वहस र छलफलहरु चलाउनुपर्ने हुन्छ । त्यस्तो एउटा गौरबपूर्ण दिवस विद्यार्थी दिवसको यस क्षणमा म सवै विद्यार्थी साथीहरु यहाँ उपस्थिति मात्र भएको होइन देशमा आज नब्बे लाख विद्यार्थी पढिरहेका छन र कलेजमा मात्र २० लाख विद्यार्थी पढिरहेका छन म नेपालका जे जति विद्यार्थीहरु छन सवैप्रति एउटा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु ।

  कमरेडहरु!

  हामी पनि विद्यार्थी आन्दोलनवाट काम गर्दै यहाँ सम्म उभिएका हौं । समयले आज एउटा पार्टीको विभिन्न तहमा काम गर्दैछौ । यहाँ सम्म ल्याउनको लागि नेपालको राजनीतिमा,नेपालको विद्यार्थी आन्दोलनमा र शैक्षिक आन्दोलनमा हाम्रा अग्रजहरुको निकै ठुलो योगदान छ । उनीहरुले आफ्नो जीवनलाई दाउमा राखेर जीवनलाई प्रवाह नगरी संघर्ष गरे । राणाहरुका विरुद्ध संघर्ष गरे । थोरै मान्छेले मात्र पढ्न पाउने अध्याँरो शासनको विरुद्धमा विद्यार्थीहरुले विद्रोह गरे । पञ्चायती निरंकुशता लादियो त्यसका विरुद्ध पनि हाम्रा अग्रजहरुले विद्रोह गरे । कलेज र युनिभर्ससिटीहरुमा रगतको खोला बग्यो । संघर्षहरु भए । टाउका फुटे ,जेल, नेल र  यातनामा सयौँ कुराहरु अपनाईयो  तर हाम्रा अग्रजहरुले निरंकुशतालाई अस्वीकार गरे । तानाशाही व्यवस्थाको अस्वीकार गरे । नेपाली नागरिकहरुको मौलिक स्वतन्त्रता र विद्यार्थीहरुको हितको लागि,शैक्षिक क्षेत्रको हितको निम्ति लगातार संघर्ष गरे ।

२०१९साल देखि २०२२ साल सम्म लगातार संघर्ष गरेपछि स्ववियूको क्षेत्रमा पनि हामीले अधिकार प्राप्त गर्यौ । त्यसपछि नेपालमा पार्टीहरु पुरै प्रतिवन्धमा परेपनि विद्यार्थीहरु गोलबन्ध गर्ने र विद्यार्थीहरु मार्फत नेपालमा राजनीतिक स्वतन्त्रताको संघर्ष अगाडि वढाउन हाम्रा अग्रजहरु सफल भएका छन । त्यही सफलताको सम्झनामा विद्यार्थी संगठनहरु बनेर हामीले जेठ १ गते यो दिवस मनाउने कुरा स्थापित भयो ।

 आज हामी जेठ १ गतेलाई सम्झिदाखेरी निरंकुशता विरुद्धको संघर्ष,तानाशाही सत्ता विरुद्धको संघर्ष,दलालहरु विरुद्धको संघर्ष,राष्ट्रिय स्वाधीनताको संघर्ष तपाईले जताबाट फर्किएर हेर्नुहोस् हामीले गौरब गर्न सक्छौ । गंगालाल श्रेष्ठले जीवन अर्पण गर्नु भयो तर जहाँनिया सत्तासंग झुक्नु भएन, चिनियाँमान काजीले दिल्ली सम्झौता अस्वीकार गर्नु भयो गोली खाएर भुवनपार्कमा सहिद बन्नु भयो तर उहाँ झुक्नु भएन । त्यस लगत्तै पञ्चायत विरुद्ध विद्रोह भयो । त्यसमा खगेन्द्र पौडेल,मित्रमणी आर्चायले योगदान गरे । तपाई हामीले जित्दै ,भोग्दै पछिल्लो समयमा बेनोज अधिकारी,पूर्ण पौडेल,विपिन भण्डारी , दिल वहादुर रम्तेल लगायत दर्जनौ सहिद हुँदै प्रज्वल शाही सम्मको रगत बगेको छ । उनिहरुले  हामी नेपाली जनताकै हितमा रगत बगाएका हुन । हाम्रा विद्यार्थीहरु नेपाल देशको स्वाधीनताका लागि लडेका छन । त्यसैले हामीले हाम्रा अग्रजहरुलाई सम्मान गर्नुपर्छ र सम्झिनु पर्छ । आजको यो क्षणमा म तपाईहरु संग उभिएर नेपालको लागि जीवन दिने सबै विद्यार्थी अग्रज,विद्यार्थी नेताहरुप्रति म सम्मान व्यक्त गर्न चाहान्छु ।

 कमरेडहरु!

 यहाँ अघि नेताहरुले थुप्रै कुरा राख्नु भयो एकदमै खुसी पनि लागेको छ । यो अखिलको आन्दोलन तपाई हामीले हेर्यौ भने यो सामान्य आन्दोलन होइन । यो आन्दोलन  नशामा पानी बग्नेहरुको आन्दोलन होइन । यो आन्दोलन दिल्ली र वासिङ्गटनले शिर निहुराउन भन्दाखेरी कान समातेर निहुरीनेहरुको आन्दोलन होइन । यो आन्दोलन दुई पैसाको लोभमा नेपाली जनतालाई धोका दिने भ्रष्ट मान्छेहरुसंग जोडिएको आन्दोलन होइन । अखिलको आन्दोलन भनेको फाँसीमा लट्किदा पनि नझुक्ने गौरबपूर्ण र रक्तरञ्जित आन्दोलन हो । जसले नेपालका हजारौं- लाखौ जनतालाई प्रभावित गरेको छ र क्रान्तिको बाटोमा लामवद्ध हुनको निम्ति प्रेरित गरेको छ ।

यो हाम्रो मालिकहरुले नेपाललाई उपनिवेश बनाउनको लागि अर्धउपनिवेश बनाउनको लागि षड्यन्त्र गर्दा सम्झौता गर्दा झुक्ने आन्दोलन होईन ।  यो उनीहरुका विरुद्ध जवर्जस्त स्वाधीनताको झण्डा फराउने नेपाली जनताको पक्षमा जीवन समर्पित गर्न सक्ने वीरहरुको त्यो खालको आन्दोलन हो । गौरबपूर्ण आन्दोलनसंग विद्यार्थी जोडिएको छ । यतिमात्र होइन पञ्चायतको विरुद्धमा या हरेक राष्ट्रघाती सम्झौता हुन लाग्दा मैदानमा उत्रिएर टाउका फुट्दा ,गोली चल्दा पनि नझुक्ने युवा विद्यार्थीहरुको साहसी र एउटा प्रगतिशील वामपन्थी क्रान्तिकारीहरुको  आन्दोलन हो ।  

यो ठाउँमा आज तपाईहरु हुनुहुन्छ । हाम्रा अग्रजहरुलाई हेर्दै गर्दा हाम्रो इतिहासलाई हेर्दैगर्दा खेरी हामी के बाट प्रेरणा लिन सक्छौ ? आजको नेपालमा जस्तो वेथिति छ हामी के वाट प्रेरणा लिने ? हामीले तीनै मान्छेबाट प्रेरणा लिनु पर्छ गंगालाल श्रेठ,चिनियाँमान काजी र जनयुद्धमा कलजे छोडेर हाम फाल्ने विद्यार्थीहरुबाट प्रेरणा लिनु पर्छ । आज पनि नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारको निम्ति विभिन्न खालका विचलनका विरुद्ध संघर्ष गर्ने विद्यार्थी नेता तथा योद्धाहरुबाट प्रेरणा लिनु पर्छ । यो ठाउँमा तपाईहरु युवा साथीहरु हुनुहुन्छ । त्यो बाटोमा तपाईहरु अवश्य लामवद्ध हुनुहुनेछ । त्यसमा मेरो शुभकामना पनि छ ।

कमरेड तथा युवा विद्याथीहरु !

 अव नेपालको स्थितिको कुरा गरौं,हामीले हेरिरहेका छौ देशमा हामीले धेरै  शासनहरु खेप्यौ, संघर्ष गर्यौ, पञ्चायतलाई खेप्यौ, हामी भन्दा अगाडि लड्ने अग्रज कमरेडहरु यहाँ हुनुहुन्छ । उहाँहरुले राणा शासन विरुद्ध पनि कुनै न कुनै भूमिका पुरा गर्नु भयो । हामीले आफै प्रत्यक्ष युवा हुदा देखि पञ्चायतका विरुद्धमा सहभागी भयौ । हामी जेल पुग्यौ, नेल खायौं,हाम्रा साथीहरुले थुप्रै खालको यातनाहरु पनि पाए । तर पनि हामी झुकेनौ ,लडिरहयौं । हामीले लड्दा लड्दै यहाँ सम्म आयौ । थुप्रैखालका शासनहरु भोग्यौ र आज हामी संसदीय व्यवस्था भोगिरहेका छौ । यद्यपि यो परम्परागत पुरानै खालको मात्र छैन ।

यो व्यवस्था आउनुको पछाडि नेपालका लाखौ लाख न्यायप्रेमी जनताको रगत ,पसिना ,श्रम र दुख मिसिएको छ । घरवारहरु उठ्ठिवास भएका छन ।  आगलागी भएका छन । यहाँ हजारौ हजार योद्धाहरुको रगत छ । मलाई अहिले पनि याद छ कमरेड माधव कुमार नेपाललाई पनि जेल हालिएको थियो । त्यतिवेला कांग्रेसका नेताहरुलाई पनि जेल हालिएको थियो । हामी एकाकार भएर लडेका थियौ । हाम्रा सबै लाखौ लाख नेपाली जनता ,युवा विद्यार्थीहरु काठमाडौंका गल्लीहरु, चोकहरु, जुझारु र विद्रोही विद्यार्थीहरुको शक्तिको आडले भरिएका थिए ।

त्यसकारण अलिकति परिवर्तन भएकै छ । केही परिवर्तन भएन भन्ने होइन, परिवर्तन भएको छ । बोल्न नसक्ने मान्छे बोल्न सक्ने भएका छन । अधिकारविहिन नागरिकहरुले पनि  एकहद सम्म अधिकार प्राप्त गरेका छन । केही न केही राजनीति परिवर्तन पनि भएको छ । तर हामीले संसदीय व्यवस्था भोगिरहेका छौ । नेपालमा संसदीय व्यवस्था कुनै नौलो व्यवस्था होइन । यो नेपालमा फेल भईसकेको व्यवस्था हो । विस २००७ साल देखि ०१७ साल सम्म भोगेकै हौ । २०४६ साल देखि ०६४ साल सम्म पनि भोगेकै व्यवस्था हो । यद्यपि यसमा प्रगतिशील शक्तिहरु पनि हुन्छन नै  यसलाई हामीले संगसंगै लिए जाने आट गर्नु पर्छ ।

 आज हामीले अर्को खालको एउटा परिस्थिति र व्यवस्था भोग्दैछौ । यो व्यवस्थामा थुप्रै विकृति र विचलनहरु देखापरेका छन । यो कुरामा सवै नेपाली नागरिकहरु प्रष्ट छन । यो कुनै- कसैलाई व्याख्या गर्नु पर्ने,सम्झाउनु पर्ने र कन्भिन्स गर्नु पर्ने विषय होइन । एउटा सामान्य मजदुर र सुकुम्वासीको घर,एउटा दिदी वहिनी,एउटा विदेश पलायन भएको युवा,बेचिदै गरेको नारी, यातनाको कठघेरामा लड्दै गरेको विद्यार्थी,लड्दै गरेको सिपाही, वा विभिन्न जागीरमा बसेका कर्मचारी वा विद्यार्थी आन्दोलनमा खटिएको नौजवान विद्यार्थी जुनसुकै मान्छे पनि नेपालको प्रणालीबाट सन्तुष्ट छैन ।

हामीले देखेको सपना पुरा हुन सकेका छैनन । सपनाहरु थिच्चियो,सपनाहरु तुहिने खतरा बढ्यो । सपनाहरुमा एउटा ठुलो भ्रुणहत्या गर्ने हमला भईरहेको छ । हामी त एउटा सुन्दर नेपाल बनाउन चाहान्छौ । यसमा थुप्रै खालका समस्याहरु देखापरेका छन । पछिल्लो विकृत र भद्दा नमुना यो व्यवस्थाको शासनमा पुगेका हिजो सम्म गृहमन्त्री भएर देशलाई नेतृत्व गरेको,हिजो सम्म उपप्रधानमन्त्री भएको मान्छेहरु आज दुई कौडिको भाउ नहुने एउटा लिलामी बस्तुको रुपमा फ्याकिएका छन र उनीहरु आज जेलको चिसो छिडीमा रुदै वस्नुपर्ने स्थिति वनेको छ । तर हामीले खोतल्दै गयौ भने कुनै सीमा छैन । संसदीय व्यवस्था नै एउटा यस्तो खालको मेशिन वनेको छ, जुन मेशिनमा हाल्लो भने असल मान्छे पनि सिंग पुच्छर उमारेर निस्किन्छ । यो खालको व्यवस्था रहेको छ ।

जनयुद्धमा या नेपालको क्रान्तिमा या १९ दिने जनआन्दोलनमा जीवनलाई दाउमा राखि लड्ने नेताहरुको के भयो ? किन उनीहरु आज  दुई कौडीको भाउमा लिलाम भइरहेका छन ? किन मालिकको अगाडि यसरी समर्पित भएका छन ? किन उनीहरु टिक्न सक्दैनन् ? किन नेपाली जनतालाई देख्न सक्दैनन् ? किन बुझ्दैनन् नेपाललाई यस्तो जो खालको परिस्थिति आएको छ । यो भनेको हामीले के देख्छौ भने दलालपूँजीवादी सत्ताको समस्या हो ।

 हामीले सामान्तवाद परास्त गरेका छौ । सवैले बुझेका छौ । सामान्तवाद मात्रै नेपालको उत्पीडनको कारण हैन, सामान्तवाद मात्रै नेपालको दुर्दशा हैन, सामान्तवाद मात्रै गरिबी र आजको पछौट्यपन र आजको नेपालको जो अन्धकारपुर्ण स्थिति बन्न खोज्दै छ ,त्यसको कारण हैन । यसको पछाडि साम्राज्यवादी तत्व र हस्तक्षेप, छिमेकीहरुको साम्राज्यवादी हस्तक्षेप एउटा महत्वपूर्ण कारण छ । हामी मान्छे बन्न चाहान्छौं । तर उनीहरुले हामीलाई दास बनाउन चाहान्छन । उनीहरु आफ्नो गुलाम भएको हेर्न चाहान्छन ।

“हामी यो विश्वमा २१ औं सताब्दीमा नेपाली भएर बाँच्न चाहान्छौं । उनीहरु १८/१९ औं शताब्दीको परिवेशमा हेर्न चाहान्छन । लडाई चलिरहेको छ । यो लडाईमा युवा विद्यार्थीहरुले कुन बाटो लिने ? कता पट्टी जाने ? यहाँ एउटा संगठन, दुई वटा संगठन वा यहाँ जम्मा भएका संगठनको मात्र कुरा होइन, यो नब्बे लाख विद्यार्थीको भविष्यसंग जोडिएको कुरा हो । आज कलेज पढिरहेका तर शिक्षाको गुणस्तरको अभावले गर्दाखेरी,शिक्षाको अवैज्ञानिकताको कारणले गर्दा कलेज र युनिभर्ससिटीहरु वेरोजगार जन्माउने थलो जस्तो भएका छन ।  वेरोजगार अराजकको केन्द्र पनि हो । जव वेरोजगार पैदा हुन्छ त्यसपछि विचलनता पैदा हन्छ ।”
आज देशमा पचास हजार मान्छे मात्र रोजगारी पाउँछन । साढे चार लाख विद्यार्थीहरु हरेक वर्ष पासआउट हुन्छन । पचास हजारले पनि राम्रो जागिर पाउन सक्दैनन् भने अनि युवा वेरोजगार भएर भौतारिनु पर्ने स्थिति छ । या त विग्रिनु पर्ने या विदेश गएर गुलामी गर्नु पर्ने परिस्थिति नेपालमा जो छ यो कसैको कारणले,एउटा कुनै नेताको कारणले होइन  यो केवल एउटा पार्टीका कारणले पनि होइन । हाम्रो दुष्टिकोण के छ भने यो दलाल संसदीय पूँजीवादी वर्ग र उनीहरुका कारणले हो ।

सत्ता बर्गीय हुन्छ नै , नेताहरुलाई थाहै नभएर यस्ता खालका समस्याहरु हुन्छन । त्यही भएर माक्र्सवाद जन्मियो, त्यही भएर समाजवाद जन्मियो, त्यही भएर साम्यवाद जन्मियो , यीनिहरुबिच लडाई चलिरहेको छ । मान्छेहरु हामीलाई के भन्छन भने कम्युनिष्टहरु असफल भए, नेपालमा कम्युनिष्ट असफल भयो, माओवादीहरु असफल भए । हामीले चुनौती दिएका छौ पूँजीवादीहरु केही समय जित्छन र जितेका छन । रुसमा हामीले जितेका थियौ त्यहाँ हार्यौ, पूर्वीयुरोपमा पनि हामीले जितेका थियौ र त्यहाँ पनि हार्यौ । विश्वका विभिन्न देशहरुमा कम्युनिष्टहरु लडे हारे, नेपालमा पनि हामी अलि ओझेल परिएला जस्तो भएको छ । तर हामी दाबाका साथ भन्छौ एक्काईसौं शताब्दी वैज्ञानिक समाजवादी व्यवस्थाको शताब्दी हो ।

यो लुटेराहरुको व्यवस्था हुन सक्दैन । यो हाम्रो चुनौती छ ।  आज नेपालमा पनि थुप्रै हैरानीहरु छन । अलिकति निरास,कतिकति वितृष्णा,राजनीतिकप्रति नै के हो ? के हो ? भौतारिएको जस्तो, मेलोमेसो नभएका तिर हाम फाल्ने, त्यतातिर उर्लिराखेको जस्तो छ । मान्छेमा आवेग छ । १५ वर्ष सम्म हामीले हेर्यौ ,नेपालको जनताको जीवनमा खासै ठुलो रुपान्तरण ल्याउन सकेन । त्यहाँ त्रुटीहरु भए ,आर्थिक क्षेत्रमा त्रुटीहरु भए । शैक्षिक क्षेत्रमा हेर्नुहुन्छ भने पञ्चायतका बेला दुईचार वटा बोर्डिङ्ग मात्र थिए । सायद तपाईलाई थाहा छैन होला । युवा विद्यार्थी साथीहरु अहिले पढिरहनु भएको छ । हामीले पढदाखेरी निजीकरणका विरुद्ध लडेका थियौ । वहुदल आयो, वहुदलले स्वतन्त्रता दिनुपर्छ भन्ने कुरा  ठिक छ तर शिक्षालाई वजारीकरणको  बस्तु बनाइयो ।  शिक्षा हरेक नागरिकको नैसर्गिक अधिकार हो । नेपालको धर्तिमा जति विद्यार्थीहरु,नागरिकहरु जन्मिन्छन हरेक जन्मिने नागरिकको समान अधिकार शिक्षामा हुनुपर्छ । तर यो व्यवस्थाले शिक्षालाई वजारको वस्तु बनाईदियो । बजारमा पुर्याईदियो । बजारमा पुगेको शिक्षाले नाम र दाम मात्र हेर्छ । समानता र अधिकार हेर्दैन ।

आज नेपालमा मुठ्ठीभर मान्छेका छोरा छोरीहरुले लाखौ खर्चेर पढ्नुपर्ने,  जनताको छोराछोरीले स्कुलमा पनि पढन नपाउने, भौतारिनु पर्ने, जिन्दगी नै बर्वाद हुने, निरासा तिर धकेलिने यो स्थिति शिक्षा क्षेत्रमा देखिएको छ । आज तपाईले सुन्नु भएको छ १८ देखि २० प्रतिशत निजी क्षेत्रमा शिक्षाले ढाकेको छ । ८० प्रतिशत शिक्षा सरकारको नियन्त्रणमा छ । विद्यार्थीहरु क्षमताको हिसावले हेर्नुभयो भने सरकारतर्फ पनि मान्छे आशावादी छ तर कतै सरकारले जिम्मा लिन सकेको छैन र समाल्न सकिरहेको छैन । मान्छेहरु मर्नु पर्ने,जल्नुपर्ने, परिस्थिति बनेको छ ।

 हामीले के भनेका छौ भने यो कुनै  व्यक्ति विशेषको कुरा होइन, नेपालको सत्ता जनतामा बदलिएको छैन । नेपालका श्रमिकहरुले यो सत्तालाई आफ्नो ठान्दैनन् । भोट पनि पैसामा विक्री गर्नुपर्ने बाध्यता छ । सुकुम्वासीले आफ्नो अधिकारका लागि लड्दैन  लड्न चाहदैन । उसले दुई चार हजार कसले दिन्छ ? त्यसमा भोट हाल्छ । आज तपाईले हेर्नुहोस् समानुपातिक सभासदहरु करोडौ करोडका व्यापारका वस्तु बनिरहेका छन । त्यहाँ कुनै जनताको कुरा छैन ।

तपाईले स्वाधीनताको कुरा गर्नुहोस् रातारात १२ वजे राती आएर नेपालका नेताहरुको कान वटारेर देशको स्वाधीनता र अस्मिता माथि हस्तक्षेप गर्ने परिस्थिति बनिरहेको छ । यो सब के हो ? जनताको सत्ता बनाउने हाम्रो चाहाना जो हो त्यो पुरा भएको छैन । म कुनै पार्टीलाई भन्न पनि चाहादैन म एउटा सत्य कुरा भन्न चाहेको कुरा के हो भने जहिले सम्म नेपालको सत्ता श्रमिक जनताको हातमा आउदैन वास्तवमा आफ्नै प्रतिनिधि चुन्ने परिपाटी बन्दैन, साच्चै निषपक्ष ढंगले नेपालका नौ जवानहरुको सपनालाई संरक्षित गर्ने एउटा वैज्ञानिक समाजवादी व्यवस्था या समाजवादबाट साम्यवाद तर्फ जाने महान आदर्शको व्यवस्था जहिले सम्म आउदैन, नेपाली जनताले मुक्ति पाउन सक्दैन । नेपाल देशले पनि स्वाधीनता प्राप्त गर्न सक्दैन । त्यसकारण हाम्रो दुष्टिकोण के छ भने यसमा हामी वहस गरौं र गर्नुपर्छ ।

आज छलफल चलिरहेको छ । हामीले हेरिरहेका छौ ।  जतावाट हेर्नुहोस्, आर्थिक क्षेत्रमा हेर्नुहोस् त ४०० परिवारको हातमा नेपालको आधा सम्पति  गईसक्यो । एकातिर जनता दुईछाक खान नपाउने  अवस्थामा छन । नेपालको उत्पादनले तीन महिना पनि खान पुग्दैन अर्कोतिरवाट हेर्नुहोस् बैङ्कहरु दिनप्रतिदिन अर्बपति भइरहेका छन । वैङ्कहरुले विदेशमा समेत बैङ्क खोलिरहेका छन । नेपालका पूँजीपतिहरुले विदेशमा समेत उद्योग खोलिरहेका छन । तर यहाँ व्यापार टाट पल्टाइएको छ । यस्तो परिपाटी हामीले हस्तक्षेप नगर्ने हो भने बेहाल हुने अवस्था छ र देशको अर्थतन्त्र  बेजोग हुनेछ ।

कमरेडहरु!
 एउटा नेपालीको चाहान स्वाधीन हुने र आत्मनिर्भर हुने थियो । यस्तै हाम्रो चाहाना पनि के थियो भने नेपाल आफ्नै खुट्टामा उभिएको स्वाधीन नेपाल जरुरी छ ।  एक्काईसौं शताब्दीमा नेपाली भएर वाँच्ने चाहाना थियो । हामी अमेरिकीहरु र युरोपियनहरुको गुलाम बन्न चाहादैनौ । हामी भारतीयहरुको पनि गुलाम बन्न चाहादैनौ । यो देशमा स्वाधीन भएर बाँच्न चाहान्छौ र विश्वलाई सन्देश दिन चाहान्छौ । यो नेपाल भन्ने देश आफ्नै खुट्टामा उभिनसक्छ । नेपालका युवाहरुले पनि आफ्नो भविष्यको बाटो आफै कोर्न सक्छन भन्ने यो नेपालीहरुको सपना हो । यो सपनालाई हामीले पुरा गर्न चाहान्छौ ।

तर आज जुन गाउँमा गएपनि रुवावासी,घर भग्नावशेष जस्तो, देश भग्नावशेष जस्तो, रेमिट्यान्सले देश चल्ने जस्तो भएको छ । रेमिट्यान्सले चल्ने देश दुई कौडीको हुदैन । रेमिट्यान्सले बाँच्ने पार्टी,रेमिट्यान्समा रमाउने सरकार कुनै पनि बेला यत्ति कमजोर हुन्छ कि मकैको डाँट लगाएको खुट्टा जस्तो पनि हुदैन । यो एक दनकमै ढल्छ । यो स्थिति हामीले देखेका छौ। म के भन्छु भने सायद सुन्नु भएकै होला हामीले एउटा अभियान थालेका छौ । त्यो साँच्चै हामी गर्छौ । हामी भित्र केही गर्ने चाहाना छ ।  हामी उद्योग खोल्ने तयारीमा छौ ।

हामीले भनेका छौ की हाम्रो हरेक नेता उत्पादनमा जोडिनुपर्छ । कृषि गर्नु पर्छ भनेका छौ, गरिरहेका पनि छौ । खानका लागि मालिकहरुलाई हेर्नु पर्दैन।  हेर्नुहोस ६/७ करोड मानिसहरुलाई खान पुग्ने नेपालको जमिन छ, त्यो बाँझो छ । गाउँमा बाटो देखाउने मान्छे छैन । गाउँमा  जनतालाई सहयोग गर्ने मान्छे छैन ।  सवै विदेशको लाईनमा लागेका छन । कयौ मन्त्रीहरु र पार्टीको मान्छेहरु गाउँमा मेनपावर खोलेर बसेका छन । युवाहरुलाई विदेश पठाउँछन । तिनीहरुको उद्देश्य के हो भने नेपालमा केही हुदैन, विदेशतिर जाउ भन्दै युवाहरुलाई विदेश पलायन गरिरहेका छन । कलेजको टिचरले राम्रो विद्यार्थीलाई नेपालमै वस भन्न सक्दैन । उसले भन्छ ,कि तिमी विदेश जाउ, विदेश जाउ, के हो यो ?  यो भनेको देशलाई असफल बनाउने,ध्वस्त पार्ने कुरा हो ।  यो विषयमा हामीले साझा वहस गर्न जरुरी छ । कुनै पार्टीप्रति मात्र लक्षित गरेर हुँदैन  । कुनै अमुक व्यक्तिप्रति लक्षित गरेर हुदैन । यो सवैको साझा समस्या हो ।

मैले कांग्रेसको साथीहरुलाई भन्ने गरेको छु । नेपालमा समाजवाद आयो भने समाजवाद ल्याउने मान्छेले मात्र उपभोग गर्ने होइन,यो तीन करोड नेपालीले उपभोग गर्ने कुरा हो । समाजवाद विना नेपालको भविष्य बन्छ भन्ने कुरा कसैले सोचेको छ भने त्यो अझ झन डुव्ने कुरा हो । अझै ध्वस्तै हुने कुरा हो । अझै सकिने हो । त्यसैले नेपालमा समाजवादको आवश्यकता छ । कांग्रेसले पनि लोकतान्त्रिक समाजवाद भन्छ, कम्युनिष्टहरुले त भन्ने नै भइहाल्य । अहिले त के छ भने लोकतन्त्रको चपेटामा परेर कम्युनिष्ट नेताहरुको घाँटीबाट लोकतन्त्र भन्दाभन्दै  समाजवाद भन्ने शब्द आउन नसक्ने भयो ।

अट्किएर,अल्झिएर भित्र भित्रै छिरे जस्तो छ । समाजवाद हाम्रो आदर्श हो । समाजवादबाट हामी कसरी विमुख हुन सक्छौ ? समाजवाद हाम्रो मौलिक सिद्धान्त हो ।यो मानव जातिले आर्जन गरेको श्रेष्ठ सिद्धान्त हो । यो सिद्धान्तमा हामी जानुपर्छ । बरु असफलतावाट पाठ सिक्नुपर्छ । असफलतालाई सफलतामा वदल्नुपर्छ ।

अन्तमा म के भन्न चाहान्छु भने  विद्यार्थी साथीहरु आज नेपाललाई जस्तो अफ्ठ्यारो परेको छ यसको समाधान पनि युवा विद्यार्थीहरुले खोज्न आवश्यक छ । जुन आज  भ्रष्टाचारको कुरा गर्नुृहोस कि, पलायनको कुरा गर्नुहोस्, विचलनको कुरा गर्नुहोस्, या राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेपको कुरा गर्नुहोस्, यो निकै अफ्ठ्यारो अवस्था हो । यसको एउटै समाधानको कुरा छ सारा नौ जवान विद्याथीहरुबाट अर्को एउटा  गंगालालको आवश्यक छ ।

हामीलाई फेरी चिनियाँमानकाजीको आवश्यक छ । फेरी देशको लागि अन्तिम सम्म लड्ने बेनोज अधिकारी र पूर्ण पौडेलको आवश्यक परेको छ । यत्ति भन्दा हामी मात्र बन्ने तपाई नबन्ने यो पनि आउन सक्छ अवश्य हामी बन्ने !  हामीले भनेका छौ तपाईहरु आउनुहोस देशलाई काँध थाप्ने जिम्मा तपाईको हो । देशलाई निरासा तिर जान दिनु हुदैन ।  हामीले हैरानीको मात्र कुरा गर्नु हुदैन । सुन्दर भविष्यको कुरा गर्नु पर्छ । हामीले वैज्ञानिकहरु यो  देशमा जन्माउनु पर्छ ।

हामीले उद्योग यहि खोल्न सक्छौ । यो सम्भव भएको कुरा हो । कुन चाहि विश्वको देश छ ,जहाँ आकाशबाट उद्योग जन्मिएको ? कुन चाहि देश छ जहाँ युद्ध र क्रान्ति नगरी परिवर्तन पाएको ? अमेरिकीहरुले अहिले विश्वलाई डेमोक्रेसीको पाठ सिकाउछन त्यही पाँच लाख अमेरिकीहरुले रगत बगाएपछि मात्र विट्रेनको चङगुलवाट मुक्त भएका हुन । हामीले के भनेका छौ भने जनता तपाई युवा साथीहरुले के बुझनु पर्छ भने देशको जिम्मा लिन तयार हुनुपर्छ र आगाडि वढ्नुपर्छ । नेपालको विद्यार्थी आन्दोलनमा जेठ १ गतेको सन्देश यही हो । यहि कुरा तपाई हामीले मनन गरौं ।

तपाईले भन्नु होस् हामी पनि भिमदत्त पन्त बन्न तयार छौ । कुनै दिन इतिहासले माग गरेछ भने हामी पनि कमरेड वासु बन्न तयार, हामी होनहार कमाण्डर कमरेड सुनिल देखि कुमार पौडेल सम्म वन्न तयार छौ । कुनै पनि योद्धा जनतालाई मुटुमा राखेर,देशलाई मुटुमा राखेर आफ्नो जीवन सहजै त्याग गर्न तयार हुनु भयो हामी त्यो बन्न तयार छौ । हामी अखिल एक हुनुपर्छ ।  कम्युनिष्टहरु एक हुनुपर्छ । माओवादीहरु एक हुुुनु पर्छ । देशका अग्रगामी शक्तिहरु एक हुुुनुपर्छ । हामीलाई कसैले हराउन सक्दैन । हामी समाजवाद सम्म जान सक्छौ । हामी नेपाललाई रुपान्तरण गर्न सक्छौ । हामी एकतावद्ध भएर एक्काईसौं शताब्दीको स्वाधीन नेपाल बनाउछौ । यो सन्देश लिएर तपाईहरु जानुहोस् भन्ने कुरा गर्दै तपाईहरु संग संगै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दै विदाहुन्छ । धन्यवाद लालसलाम ! 

(५९ औं विद्यार्थी दिवसको अवसरमा  २०८० जेठ १ गते काठमाडौको राष्ट्रिय नाचघरमा संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ष्ट पार्टीका महासचिव विप्लव सी ले सम्वोधन गरेको भाषणको संम्पादीत अंश ।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।