९ बैशाख २०८१, आईतवार

बृहत समाजवादी शिविर निर्माणको बहस

0

गत वैशाख ९ गते नेपालका कम्युनिष्ट पार्टीहरुले कम्युनिष्ट पार्टी स्थापना दिवसको ७५ औं वर्षगाँठ मनाएको छ । यो अबसरमा कम्युनिष्ट पार्टीहरुले आ—आफ्नो सापेक्षतामा अन्तरक्रिया, गोष्ठि, भेला, आन्दोलनको चर्चापरिचर्चा, खुलामञ्चमा जनप्रदर्शन सहित आम सभा र खुला बहस, पार्टी स्थापना दिवसको अवसरमा शुभकामना आदनप्रदान जस्ता कार्यक्रमहरु सम्पन्न गरे । जे होस २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न आरोहअवरोहका बीच ७४ वर्ष पार गरेको छ । चार जनाले गठन गरेको पार्टीको प्रभाव र आकारलाई ७४ वर्ष पछि आजको दिनमा हेर्ने हो भने यसको लोकप्रियता ठूलो जनमतसहित लोभ लाग्दो नै छ । तर कम्युनिष्ट पार्टीहरु ठूलो सङ्ख्यामा विभिन्न धारामा विभाजित भएर अगाडि बढिरहेका छन् भने सबै पार्टीका आ—आफ्नै दृष्टिकोण र अनुभवहरु पनि छन् ।

यो अवधिमा ठुलाठुला सशस्त्र वर्ग सङ्घर्ष, शान्तिपुर्ण सहकार्य र सङ्घर्ष, एकता र प्रतिस्पर्धा जस्ता सङ्घर्षका तरिकाहरु कम्युनिष्टहरुले प्रयोग गर्दै आइरहेका छन् । विचारमा, कार्यनीति र कार्यदिशामा, नेपाली समाजलाई बुझ्ने सवालमा र विश्व परिवेशलाई बुझ्ने सन्दर्भमा अझैपनि पार्टीहरुबीच मतैक्यता छैन तर यो कुरा सत्य हो कि आजको समाज रुपान्तरणको सन्दर्भमा अथवा वर्तमान राजनीतिक सङ्कटको अग्रगामी निकासमा सबै कम्युनिष्टहरुको मत एक ठाउँमा छ । सबै पार्टीहरुका महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनहरुले पनि नेपाली समाजलाई समाजवादतिर लैजानु पर्दछ भन्ने मान्यता राखेको छ । दलाल पुँजीवादको विकल्प समाजवाद÷वैज्ञानिक समाजवाद नै हो भन्ने विषयमा कम्युनिष्ट पार्टीहरु बीचमा ठूलै मतभेद देखिदैन । तर फेरी पनि कम्युनिष्टहरु किन एकै ठाउँमा अटाउन सक्दैन भन्ने प्रश्नको जवाफ दिने जिम्मा भने पार्टीहरुले इतिहासलाई नै सुम्पदै आइरहेका छन् ।

आजको नेपाली राजनीतिको यथार्थ धरातल के हो भने कम्युनिष्ट जनमत झण्डै दुईतिहाई नजिक छ, नेपाली माटो कम्युनिष्टमय छ, जनताले पार्टी र नेतालाई कम्युनिष्ट भएको हेर्न चाहान्छ तर परिणामले अर्कैतिर डोहो¥याइरहेको छ । यो अवधिमा कम्युनिष्टले २०५१ सालमा ९ महिना र २०७४ देखि २०७७ सम्म गरी जम्माजम्मी ४ वर्ष एकमना सरकार चलाएको छ भने पटकपटक गठबन्धन सरकारको नेतृत्व गरेको छ । संसदमा कम्युनिष्टहरु ठुलो शक्ति हुँदै बहुमतमात्र होइन दुई तिहाई बहुमतसम्म पुग्ने, सडकमा कम्युनिष्टहरु नै हुने तर सत्ता आफ्नो नहुने, यो नै नेपाली कम्युनिष्टहरुको बिडम्बना बनेको छ । टुटफुट र विभाजनको शृङखलाले भरिएको कम्युनिष्ट इतिहासलाई एकता र रुपान्तरणले विस्थापित गर्नु नै आजको प्रमुख सवाल बनेको छ । किनकि कम्युनिष्टहरु जति सजिलोसँग विभाजित हुने गरेको छ त्यति सजिलोसँग एकता हुन सकेकोे छैन । तर आज नेपालको परिस्थिति यसरी फेरिएको छ कि पश्चगामी शक्तिहरु चिहानबाट जाग्न खोज्दैछन्, दक्षिणपन्थी शक्तिहरु नयाँनयाँ कलेबरमा स्थापित हुँदैछन भने यो परिस्थतिमा कम्युनिष्टहरुले नयाँ सहकार्यको ढोका नखोल्ने हो भने वातावरण बिस्तारै प्रतिकुल बन्दै जानेछ, जनताको निराशाले सीमा नाघ्नेछ, कम्युनिष्टहरुको घर झगडालाई प्रयोग गरेर दलाल पुँजीवादी शक्तिहरुले शासन गरिरहनेछन् ।

विभिन्न धारामा विभाजित भएपनि कम्युनिष्ट पार्टीहरुले आ—आफ्नै सङ्गठन निर्माण गरेर कम्युनिष्ट जनमतलाई बलियो बनाउनेमा भने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यो उल्लेख्य  कम्युनिष्ट मनोविज्ञानलाई केन्द्रीत गर्न मात्र सक्ने हो पनि रक्षात्मक अवस्थामा रहेको विश्व कम्युनिष्ट आन्दोलनलाई नेपालबाट नयाँ सन्देश दिन सकिन्छ । नेपाललाई सामाजिक न्याय सहित स्थायी शान्ति, समृद्धि र विकासको दिशामा तीब्रतामा लैजान सकिन्छ । स्थापना कालदेखि भन्दै आएको साम्राज्यवादी शक्तिको राष्ट्रिय स्वाधिनता माथिको हस्तक्षेप र नोकरशाही दलाल पुँजीवादीको दासत्व र एकतर्फी शासकीय मनोवृत्तिलाई परास्त गर्न सकिन्छ ।

आज नै रातारात कम्युनिष्ट पार्टीहरुबीच एकता भैहाल्छ र बलियो कम्युनिष्ट केन्द्रको निर्माण हुन्छ भन्ने कुरा तत्काल सम्भव नहोला तर यो अवस्यम्भावी विषय हो । किनकि सबै पार्टीहरुले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट र आफ्नो ऐतिहासिक अनुभवहरुबाट शिक्षा लिनुको विकल्प छैन । विभिन्न भङ्गालोमा रहेका वामपन्थि कम्युनिष्टहरुलाई तत्काल एकताको सुत्रमा बाँध्ने भनेको समाजवादको नाराले हो । समाजवाद यादि सबैले भन्नु नै छ भने पार्टी आ—आफ्नै चलाएपनि समाजवाद प्राप्तिको लागि सुसंगठित र बलियो नयाँ सङ्घर्षको मोर्चा किन नखोल्ने ? त्यो संयुक्त मोर्चा भनेको नयाँ समाजवादी शिविरको निर्माण हो । सबै समाजवादीहरुको साझा चौतारी हो । किनकि एक्लाएक्लै दौडेर समाजवादी गन्तव्यमा पुग्न नसकिने तथ्य अनुभसिद्ध बन्न पुगेको छ ।

अहिले नेपाली राजनीतिमा वर्तमान सत्ता सङ्कटलाई समाधान दिनको लागि पछिल्लो समयमा समाजवादी मोर्चा निर्माणको बहस हुँदै आएको छ । र कम्युनिष्ट पार्टीको समर्थकहरुमा यो विश्वास पैदा गर्न जरुरी छ कि समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरुको साझा मञ्च जसले समाजवाद प्राप्तिको लागि वैचारिक राजनीतिक सङ्घर्ष गर्नेछ । पार्टीहरुको आ—आफ्नै संगठन र परिचालनको मूल्य मान्यता त छदैँछ र पनि साझा मोर्चाद्वारा नयाँ सहकार्यसहित प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा खडा गर्नेछ र नेपाललाई कस्तो समाजवाद चाहिएको हो सार्थक बहस गर्दै देशलाई सबै खाले सङ्कटबाट मुक्त गर्ने दिशामा अगाडि बढाउनेछ ।

एउटा बलियो समाजवादी शिविर मात्र निर्माण गरेर नेता र पार्टीहरु जनतातिर फर्कने हो भने नेपाली भुगोलमा समाजवादी झण्डा फहराउन कसैले रोक्न सक्दैन । हर क्षेत्रमा सबै प्रकारका प्रतिस्पर्धाद्वारा नै दलाल पुँजीवादी शक्तिमाथि विजय हाँसिल गर्न सकिन्छ ।  वर्तमान समाजवादी मोर्चाको बहसले जनतामा एउटा सकारात्मक आशा र सन्देश प्रवाह अवश्य गरेको छ । छलफल बहसले परिणाम दिन केही समय त जरुर लिन्छ तर यो शक्तिले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्न ःजागरण ल्याउने ताकत राख्नुपर्दछ ।

नेपाली कम्युनिष्ट नेताहरुले रुस, सोभियत संघ, चीन, कोरिया, क्युवा, भियतनाम र  लाओसहरुलाई राम्रोसँग पढेका छन् र पेरु, चिली, कोम्बोडिया, इन्डोनेसिया र भारतलाई पनि राम्रोसँग अध्ययन गरेका छन् र नेपाललाई पढेका मात्र होइन नजिकबाट अनुभव नै गरेका छन् । यी सबै अनुभव र ज्ञानहरुलाई सहि संश्लेषण गर्ने समय आएको छ । यो संश्लेषणलाई विचारमा र विचारलाई प्रयोगद्वारा पुष्टि गर्नुपर्ने समय आएको छ । यति काम कम्युनिष्ट पार्टीहरुले गर्न सक्यो भने समाजवादको यात्रा धेरै टाढा हुनेछैन ।

यसका लागि अब बहसहरुलाई असिजिलो र पुर्वाग्राही बनाएर होइन कि स्वस्थ र दूरी कम गर्ने शैलीबाट सञ्चालन गर्नुपर्दछ । पार्टी निर्माण र संगठन परिचालनको पृष्ठभूमि र अनुभवहरुमा विविधता पक्कै छन् तर समाजवादको यात्रा संगै गर्नपर्ने छ । तसर्थ तत्कालका लागि साझा धारणा र न्युनतम साझा कार्यक्रमको आवश्यकता पर्दछ । नेपालको विशिष्टताको समाजवाद कस्तो हुने, मोर्चाको संरचना कस्तो हुने, नेतृत्व प्रणाली कस्तो हुने, न्युनतम लक्ष्य र अधिकतम लक्ष्य के हुने, सहकार्य र प्रतिस्पर्धालाई कसरी हेर्न, मोर्चालाई कार्यनीतिक बनाउने कि रणनीतिक बनाउने ? उत्तराधिकारी निर्माणको प्रश्नलाई कसरी हल गर्ने ? जस्ता विषयहरुलाई व्यवस्थित विधिद्वारा टुङ्ग्याउनु पर्दछ ।

समाजवादी मोर्चा निर्माण प्रक्रियाले अग्रगामी प्रगतिशील शक्तिहरुको नयाँ ध्रुवीकरण त गर्छ नै यसले नेपाली राजनीतिबाट वाक्क दिक्क भएका नागरिक र युवा पुस्तामा पनि सकारात्मक सोच र आसाको सञ्चार गर्नेछ । लामो समयदेखि टुटेका कडि र भाँचिएका भावनाहरुलाई जोड्ने काम गर्नेछ । विचार विकासको शृङ्खला र सहकार्यको नयाँ अध्यायको प्रारम्भ गर्नेछ भने राजनीतिक वृत्तमा भइरहेको वर्तमान बहसलाई अर्काे उचाईमा पु¥याउनेछ । समाजवादी मोर्चाको गठनले समाजवाद प्राप्तिको आन्दोलनमा नयाँ प्राण भर्नेछ ।

समाजवादी शिविरको निर्माण वर्तमान व्यतिथि, अस्थिरता र अराजकता तथा सत्ता सङ्कटबाट देशलाई पार लगाउने उद्देश्य सहित मौजुदा व्यवस्था भन्दा उत्तम प्रणाली निर्माणको लागि भएकाले यो कसैको विरुद्ध, प्रतिशोध र पूर्वाग्रहपूर्ण हुनु हुँदैन । न्युनतम समाजवादी मुल्य मान्यतालाई आत्मसाथ गर्ने कुनै पनि राजनीतिक शत्तिलाई कस्तो समाजवाद निर्माण गर्ने भन्ने बहसबाट अलग गराइनु हुँदैन । नेपाली काङ्ग्रेसले भन्दै आएको प्रजातान्त्रिक समाजवाद यही हो कि अर्काे कुनै स्वरुपको हुन्छ ? त्यसमा पनि बहस गरिनु पर्दछ । सार्वजनिक संस्थाहरुलाई बलियो र विस्वासिलो नबनाई समाजवादी व्यवस्था नआउने भएकाले समाजवादको निम्ति सार्वजनिक बहसको आह्वान गरिनुपर्दछ । सार्वजनिक बहसहरुलाई सबै उपलब्ध प्रविधिहरुको प्रयोग गरेर, जनता स्वएम्लाई बहसमा सहभागि गराएर हरेकको मनमनमा पु¥याउनु पर्दछ र सबै जनतालाई समाजवादी आन्दोलनमा आफ्नो पनि अपनत्व भएको महसुुुस गराउनु पर्दछ । राज्य संयन्त्रहरुमा, नीति निर्माण प्रक्रियामा, संरचनामा, सार्वजनिक प्रशासनमा रहेका आम राष्ट्रसेवकहरुमा र नेतृत्वकर्ताहरुमा सबै क्षेत्रका जनताले आफ्नो अनुहार प्रष्ट झल्केको देख्न सक्ने गरी विचार विमर्शको दायरालाई फराकिलो बनाउनु पर्दछ ।

संसदीय व्यवस्थाले अस्थिरता पैदा गरेको, अस्थिरताले अनियमितता जन्माएको, अनियमितताले अराजकता सृजना गरेको, अराजकताले राज्य संयन्त्र र अख्तियारीको दुरुपयोग भएको जसले गर्दा आजको डरलाग्दो नेपालको चित्र देखा परेको वास्तविकता हाम्रो सामु छ । त्यसैले बलियो राजनीतिक ध्रुविकरण त आजको आवश्यकता नै हो ।

आवश्यकताले नयाँनयाँ प्रयोग र अनुसन्धानहरुको माग गर्दछ । हो, यसै सार्वभौम मान्यताअनुसार विभिजित मनोविज्ञानले ग्रसित नेपाली कम्युनिष्ट राजनीतिमा सबै तितामिठा अनुभवहरुलाई एक ठाउँमा राखेर बृहत एकता र सहकायर्को नयाँ प्रयोग गर्नुपर्दछ । यसो गर्दा असिको दशकलाई एकता र समाजवादी अभियानको दशक बनाउन सम्भव छ । अब विभिन्न कोणबाट प्रहार भइरहेको नेपाली कम्युनिष्ट आन्दोलनमा पुनःजागरणको लागि महान बहसको थालनीको जरुरी भएको छ । तसर्थ, आन्दोलनको समिक्षा गर्ने जिम्मा इतिहासलाई सुम्पेर उम्कने होइन कि वर्तमानमा नै गहिरो संकल्प र महान अठोट सहित नयाँ आधारमा नयाँ एकता कायम गरी स्थायी शान्ति, विकास र समृद्धिको लागि बलियो समाजवादी शिविरको निर्माणको विकल्प छैन ।

(लेखक: नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा कास्की जिल्ला सेक्रेटरी, हुन।)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।