१४ बैशाख २०८१, शुक्रबार

नयाँ कुराको खोज र आविष्कार नै एकीकृत जनक्रान्ति हो : रणवीर सी 

0

धनगढी : नेपाल कम्युनिस्ट पार्टी महाकाली र सेती ब्युरोको संयुक्त आयोजनामा धनगढीमा भएको प्रशिक्षणका एक वक्ता थिए नेकपा स्थायी समिति सदस्य तथा प्रभावशाली नेता भरत सी (रणवीर) । नेता तथा कार्यकर्ताको बाक्लो सहभागिताले भिडभाड देखिएको धनगढीको ओम पार्टी प्यालेसको हलमा बुधबार दिउँसो करिब साढे एक बजेबाट कार्यक्रम सुरु भयो ।

कार्यक्रममा अथितिका रूपमा उपस्थिति नेता रणवीरले नेकपा नयाँ उचाई र थप जिम्मेवारीसहित अधुरो क्रान्तिको कार्यभार पूरा गर्ने गरी नयाँ ढंगले अघि बढिरहेको बताएका छन् ।
हामीले दुई पार्टीसँग एकता प्रक्रिया सम्पन्न गरेका छौँ, नवौं केन्द्रीय समितिको एकताको विशेष बैठक सकिएको छ र एकताको प्रभाव सबैतिर पुगेको छ, स्थायी समिति सदस्य रणवीरले भने । 

क्रान्तिको बारेमा महान विद्वान ग्राम्सीले गरेको व्याख्यालाई उद्दत गर्दै उनले भने“क्रान्ति भनेको नयाँ कुराको खोज र आविष्कार हो । ठीक त्यसैगरी नयाँ कुराको खोज र आविष्कार नै एकीकृत जनक्रान्ति हो , यो हाम्रो पार्टीको व्याख्या हो।” 

स्थायी समिति सदस्य रणवीर भन्छन्, आजको विकसित विश्वले क्रान्तिकारी आन्दोलनमा नयाँ कुरा माग गरिरहेको बेला त्यो नयाँ कुरा कसैले दिन सक्छ भने एकीकृत जनक्रान्तिले दिन्छ, नेकपाले दिन्छ त्यसकारण पनि क्रान्ति सम्भव छ । 

सम्बोधनका क्रममा पुरानो तरिकाले सोच्ने र हेर्ने नेपाली प्रवृत्तिले समस्या पैदा गरेको उनले बताए । पूँजीवादले आफूलाई दिनानुदिन नवीकरण गरिरहेको स्थितिमा पुरानै कुरालाई समात्ने प्रवृत्तिले नै राजनीतिक सत्ता टिक्न नसक्ने परिस्थिति आएको र अर्कोतर्फ सत्ता परिवर्तनका लागि हिँडेका राजनीतिक पार्टीहरु पनि विसर्जन गएको उनी बताउँछन् । त्यसकारण नेपाल कम्युनिस्ट पार्टीलाई हामीले नयाँ शिराबाट उभ्याएका छौं , चाहे त्यो उत्पादन प्रणालीका हिसाबले होस्, चाहे त्यो विचार दृष्टिकोणका हिसाबले होस्,चाहे त्यो सांस्कृतिक, आर्थिक, सांगठनिक वा अन्य क्षेत्रमा होस् हामीले नवीनता पैदा गरेका छौं , नेता रणवीरले भने ।

उनले भने,“विचार र व्यवहारलाई एकीकृत गर्ने अभ्यास हामीले गरिरहेका छौं ।”

संकटग्रस्त रहेको राष्ट्रिय राजनीतिमा नयाँ उदाएका पार्टीहरुप्रति जनताको आकर्षण त बढ्यो तर तिनीहरू संकटको निकास नरहेको उनको जिकिर छ । वैचारिक शुन्यताबाट जन्मिएका नयाँ दलहरु झन् विदेशीबाट परिचालित छन् ।

अहिलेको राजनीतिमा वैकल्पिक शक्तिको रूपमा नेकपा छ, हामीले एकताका श्रृङ्खला तीव्र बनाउने र सत्ता विरुद्धको शक्तिलाई बृहत बनाउने गरी मिहिनेत गर्नुपर्छ । महान क्रान्तिलाई पूरा गरी जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यभार नेकपामा छ, नेता रणवीर सीले प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका क्रममा भने ।

उक्त प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विप्लव सी लगायत अन्य थुप्रै नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।