पुँजी सञ्चयको वृद्धिसँगसँगै एकातिर मुट्ठीभर मानिसहरूको हातमा सामाजिक धनको एकत्रीकरण र केन्द्रीकरण हुँदै जान्छ भने अर्कोतिर आमजनता गरिबी र अभावको सिकार बन्दै जान्छन् । यो पुँजीवादी आर्थिक व्यवस्थाको स्वाभाविक र अनिवार्य परिणाम हो ।
पुँजीपति वर्गको जन्म एक्लै हुँदैन, उसको जन्मसँगसँगै मजदुर वर्गको पनि जन्म हुन्छ । मजदुर वर्गबिना पुँजीपति वर्ग अस्तित्वमा रहन सक्दैन । जतिजति पुँजीपति वर्गको विकास हुँदै जान्छ, त्यति नै एउटा नयाँ वर्ग वा सर्वहारा वर्गको विकास हुँदै जान्छ । जतिजति पुँजीवादको विकास हुन्छ, त्यतिकै मात्रामा समाज दुई ठूला, परस्पर विरोधी, वैरभावपूर्ण वर्गहरूमा अर्थात् सर्वहारा वर्ग र पुँजीपति वर्गमा स्पष्ट रूपले विभाजन हुँदै जान्छ । यस प्रक्रियामा एकातिर पुँजीपति वर्गको हातमा सारा सामाजिक धन र सत्ता केन्द्रित हुन्छ र त्यसले उत्पादन र जीविकाका साधनहरूको मालिकको हैसियतले सामाजिक श्रमका सारा उपजहरूको अपहरण गर्दछ भने अर्कोतिर विशाल सर्वहारा जनता गरिबी र दुःखकष्टको सिकार रहन्छन् । पुँजीपति वर्गका लागि सम्पूर्ण सम्पदाको सिर्जना गर्ने यो वर्ग आफैँ समाजमा सबभन्दा शोषित, पीडित तथा विपन्न रहन्छ । त्यसैले पुँजीवादी उत्पादन सम्बन्धमा एकातिर प्रचुर मात्रामा धनदौलत पैदा हुन्छ भने अर्कोतिर व्यापक गरिबी र विपन्नता रहन्छ; एकातिर झन्झन् कम मानिसहरूको हातमा धन र शक्ति थुप्रिन्छ भने अर्कोतिर धेरै सङ्ख्यामा मानिसहरू अभाव र दु:खबाट पीडित रहन्छन् । पुँजीवादका यी दुई छेउ पुँजीवादी समाज रहेसम्म अनिवार्य रूपले रहन्छन् ।
पुँजीपति वर्ग र सर्वहारा वर्ग- यी पुँजीवादी समाजका दुई प्रमुख वर्गहरू हुन् । पुँजीवादी समाजमा अन्य वर्ग र मध्यम तहहरू पनि हुन्छन् । तिनमा एउटा किसान वर्ग हो, तर पुँजीवादको विकास हुँदै जाँदा पुँजीपति र भूमालिकहरूको दोहोरो शोषणको मारमा परेर उक्त वर्गको अधिकांश हिस्सा सर्वहारामा परिणत हुन्छ ।
पुँजीवादी समाजमा दुई आधारभूत वर्ग रहेका पुँजीपति वर्ग र सर्वहारा वर्गका स्वार्थहरू एक अर्कोसँग विरोधी हुनाले कहिल्यै मिल्न सक्दैनन् । तिनीहरूका स्वार्थहरूको पारस्परिक, वैरभावपूर्ण विरोध कुनै कृत्रिम सिर्जना होइन, बरु वास्तविक जीवनका आर्थिक अवस्थाहरूको स्वाभाविक उपज हो । पुँजीपतिहरूको मूल स्वार्थ सकेसम्म ज्याला घटाएर बढीभन्दा बढी नाफा कमाउनु रहन्छ भने सकेसम्म बढी ज्याला प्राप्त गर्नु मजदुरहरूको स्वार्थ हुन्छ । नाफा र ज्याला एकदमै विरोधी स्वरूपका छन्- ज्याला बढे नाफा घट्छ र नाफा बढे ज्याला घट्छ । यी दुई वर्गका स्वार्थको परस्पर विरोधी स्वरूप पुँजीवादको सुरुको अवस्थामा अविकसित र अस्पष्ट थियो भने पुँजीवादको विकाससँगै यो स्वरूप अधिक स्पष्ट हुँदै आएको छ । पुँजीवादले समाजको जनसङ्ख्याको अधिकांश हिस्सालाई सर्वहारामा परिणत गरेर त्यसमाथि पुँजीको आधिपत्य कायम गर्छ र मजदुरहरूको एउटा साझा स्थिति, साझा स्वार्थ बनाइदिन्छ ।
पुँजीपतिविरुद्ध मजदुरहरूको सङ्घर्ष विभिन्न चरणबाट गुज्रन्छ । सुरुसुरुमा मजदुरहरू छुट्टाछुट्टै रूपमा कुनै खास पुँजीपतिको विरोधमा सङ्घर्ष गर्ने गर्दथे । पछि एउटा कारखाना वा एउटा खास ठाउँका मजदुरहरूले मिलेर पुँजीपतिविरुद्ध लड्ने गरे । त्यस बेला उनीहरूको सङ्घर्ष पुँजीवादी व्यवस्थाविरुद्ध नभई कुनै व्यक्तिविशेष, मेसिन, उत्पादनका साधन आदिको विरोधमा हुने गर्दथ्यो, मजदुरहरू ज्यादै छितरिएको स्थितिमा रहेका थिए ।
पुँजीवादको विकासक्रमसँगै मजदुर वर्गको पनि विकास हुन्छ र एकै ठाउँमा धेरै सङ्ख्यामा मजदुरहरूको एकत्रीकरण हुन्छ । त्यसले गर्दा उनीहरूको तागत बढ्छ र एउटै साझा स्वार्थले उनीहरूलाई सङ्गठनमा आबद्ध गर्दछ । नयाँनयाँ मेसिन र प्रविधिको आविष्कारसँगसँगै मजदुरहरूको स्थिति झन्झन् खराब हुँदै जान्छ । आफ्नो स्थितिमा सुधार, ज्यालाको उचित दर कायम गराउन र निश्चित कार्यदिनका लागि उनीहरू मजदुर सङ्घ बनाएर पुँजीपति वर्गविरुद्ध सङ्घर्ष चलाउँछन् ।
जतिजति पुँजीवादको विस्तार हुन्छ, त्यतिकै मात्रामा मजदुरहरूको सङ्घर्ष सङ्गठित र व्यापक बन्दै जान्छ । निरन्तर चल्ने यस्ता सङ्घर्षहरूमा कहिले मजदुर विजयी हुन्छन् भने कहिले पुँजीपति वर्गले सङ्घर्ष दबाएर मजदुरहरूलाई पछि हट्न लगाउँछन् । साथै मजदुरहरूले आफ्नो सङ्घर्षको विजयस्वरूप प्राप्त गरेका कतिपय उपलब्धिहरू पछि विस्तारै पुँजीपतिहरूले खोसेर लिने गर्छन् । मजदुर र पुँजीपतिबीच कुनै न कुनै रूपमा निरन्तर सङ्घर्ष चल्दै आएको छ । सङ्घर्षहरूको वास्तविक फलको रूपमा मजदुरहरूको एकबद्धता र सङ्गठन बढ्छ र उनीहरूको जुझारु नैतिकता सुदृढ बन्दै जान्छ । आखिर मजदुर र पुँजीपतिबीचको वर्गसङ्घर्ष जब निर्णायक अवस्था वा चरम बिन्दुमा पुग्छ अर्थात् जब सामाजिक विज्ञानको अन्तिम शब्दावली- “लड या मर, हिंसात्मक सङ्घर्ष गर वा अस्तित्वविहिन होऊ”७१ को समय आउँछ, तब क्रान्ति हुन्छ, जुन क्रान्तिले पुँजीवादी व्यवस्थालाई विध्वंस्त पार्छ र त्यसको विध्वंश र लासमा एउटा नयाँ सामाजिक व्यवस्था, समाजवादी समाजको स्थापना हुन्छ ।
मार्क्स भन्नुहुन्छ- “पुँजीपति वर्गको अस्तित्व र आधिपत्यका लागि चाहिने प्रमुख सर्त पुँजीको निर्माण र वृद्धि हो; पुँजीका लागि आवश्यक सर्त ज्यालादारी श्रम हो । पुँजीपति वर्गले अनिच्छापूर्वक गरेको उद्योगको प्रगतिस्वरूप होडबाजीको कारणले छरिएर बसेका मजदुरहरू आपसी सम्पर्कमा आई क्रान्तिकारी सङ्गठन बनाउँछन् । तसर्थ आधुनिक उद्योगको विकासले पुँजीवादी उत्पादन र शोषणको आधार नै तहसनहस पारिदिन्छ । त्यसैले मुख्य कुरा के भने पुँजीपति वर्ग आफ्नो चिहान खन्नेहरू जन्माउँछ । त्यसको पतन र सर्वहारा वर्गको विजय त्यतिकै अनिवार्य छ ।”७२
पुँजी सञ्चयमा वृद्धि र पुँजीवादी उत्पादनको विकाससँगसँगै झन् बढी मात्रामा उत्पादनको सामाजिकीकरण हुँदै जान्छ । ठूलठूला कारखानामा झन् बढी सङ्ख्यामा मजदुर एकत्रित पारेर र श्रम विभाजनलाई अधिकतम विशेषीकृत गरेर पुँजीवादी उत्पादनको विकासले वैयक्तिक उत्पादनलाई एकदमै महत्त्वहीन अवस्थामा पुऱ्याउँछ अर्थात् उत्पादन वस्तुत: सामाजिक स्वरूपको रहेको हुन्छ । यसरी एकातिर श्रमको सामाजिकीकरण बढ्दै जान्छ भने अर्कोतिर सामाजिक श्रमका उपजहरू पुँजीपतिको अधिकारमा रहन्छन् । पुँजीवादको विकाससँगसँगै सामाजिक उत्पादन र पुँजीवादी अपहरणबीचको बैमेल अधिक बढ्दो र स्पष्ट छ । उत्पादनको सामाजिक स्वरूप र मालिकत्वको व्यक्तिगत स्वरूपमाझको उक्त अन्तर्विरोध नै पुँजीवादको आधारभूत अन्तर्विरोध हो ।
पुँजीवादमा निहित अर्को अन्तर्विरोध उत्पादन र उपभोगबीचको अन्तर्विरोध । आफ्नो व्यवसाय विस्तार गरी उत्पादनको मात्रा बढाएर अधिकतम नाफा कमाउने पुँजीपतिको इच्छा र प्रयासको फलस्वरूप उद्योगको असीमित विस्तार हुन्छ र बजारमा वस्तुहरूको थुप्रो लाग्छ ।
यो पुँजीवादी उत्पादनको एउटा पक्ष हो भने अर्को पक्ष त्यसले बहुसङ्ख्यक जनतालाई न्यूनतम उपभोगको स्थितिमा पुऱ्याउने गर्छ अर्थात् उद्योगको विस्तारसँगसँगै श्रमजीवी जनताको क्रयशक्ति घट्न जाने हुन्छ । बढी नाफा र बढी सञ्चयका लागि पुँजीपतिले मजदुरलाई सकेसम्म कम ज्याला दिने गर्छ, जसको अर्थ मजदुरहरूको क्रयशक्ति कम हुनु हो । एकातिर वस्तुको आपूर्ति बढ्छ भने अर्कोतिर जनताको प्रभावकारी माग सापेक्ष रूपले घटेको हुन्छ अर्थात् बजार साँघुरो हुन्छ । विना योजना जनताका वास्तविक आवश्यकताहरू र तिनीहरूको क्रयशक्तिप्रति ध्यान नदिई नाफा मात्र दृष्टिगत गरी पुँजीपतिहरू वस्तुहरूको उत्पादन असीमित रूपले बढाउँछन्, तर अर्कोतिर …मजदुर र अन्य श्रमिक जनताको आम्दानी कम हुनाले वस्तुको माग कम हुन गएको हुन्छ । जनताको क्रयशक्तिको दाँजोमा वस्तु उत्पादन बढी हुन्छ । जनतालाई चाहिएका ती वस्तुहरू बजारमा पाइन्छन्, तर न्यून क्रयशक्तिका कारण जनता किन्न सक्दैनन् । यसरी विशाल परिमाणमा वस्तुहरूको उत्पादन र जनताको प्रभावकारी मागबीचमा ठूलो खाडल रहन जान्छ, जुन स्थिति पुँजीवादअन्तर्गत हुने आर्थिक सङ्कटहरूको प्रत्यक्ष कारण बन्दछ ।
मार्क्स भन्नुहुन्छ- “यस पछिल्लो शक्ति (समाजको उपभोग शक्ति) को निर्धारण न निरपेक्ष उत्पादन शक्तिले गर्छ न निरपेक्ष उपभोग शक्तिले, बरु त्यसको निर्धारण वितरणका त्यस्ता विपरीत स्थितिहरूमा आधारित उपभोग शक्तिले गर्छ, जुन स्थितिहरूले जनताको विशाल समूहको उपभोग घेरथोर सङ्कीर्ण सीमाअन्तर्गत अस्थिर न्यूनतामा पुयाइदिन्छन् । त्यसमा पनि सञ्चय गर्ने प्रवृत्ति र पुँजीको विस्तार गर्ने लोभले उपभोग शक्ति झन् सीमित हुन जान्छ जति बढी मात्रामा उत्पादक शक्तिहरूको विकास हुन्छ, त्यतिकै बढी त्यसले आफूलाई उपभोगका अवस्थाहरू आधारित उक्त सङ्कीर्ण आधारसित बाझिएको पाउँछ ।७३
पुँजीवादी व्यवस्थामा उत्पादन शक्ति र उपभोग शक्तिबीच बेमेलको फलस्वरूप सङ्कटहरू पैदा हुन्छन् अर्थात् ‘बढी उत्पादनको महामारी’ फैलिन्छ । यस्तो सङ्कटको बेला जनताको कम क्रयशक्तिको कारणबाट बिक्री नभएका वस्तुहरू गोदाममा सड्छन् वा समुद्रमा फालिन्छन् भने अर्कोतर्फ आमश्रमजीवी जनता अभावको सिकार भएर ठूलो दुःख भोग्छन् । सङ्कटको बेला समाजका उत्पादक शक्तिहरूलाई बाहियात ढङ्गबाट विनष्ट गरिन्छ, कलकारखानाहरू बन्द हुन्छन्, लाखौं मजदुरहरू बेकार बन्छन् । तब संसार ‘बहुला मानिसको संसार’ बन्न पुग्छ । पुँजीवादी विकासको इतिहासमा यस्ता सङ्कटहरू समयसमयमा देखा परेका छन् । यस्तो बेलामा मार्क्सको यो भनाइको सत्यता अरू समयभन्दा बढी स्पष्ट हुन्छ- “समाजमा शासक वर्ग बन्न र समाजमाथि आफ्नो व्यवस्था थोपर्नका लागि पुँजीपति वर्ग नालायक भइसकेको छ । त्यो वर्ग शासन गर्न लायक छैन, किनभने कमारागिरीभित्र आफ्नो कमारालाई बाँच्न दिने व्यवस्थासमेत मिलाउन त्यसले सकेको छैन…. पुँजीपति वर्गको अधीनमा अब समाज रहन सक्दैन अर्थात् अब समाजसित त्यसको अस्तित्वको मेल खाँदैन ।७४
पुँजीवाद आफ्ना अन्तर्निहित अन्तर्विरोधहरूको बीचबाट विकसित हुँदै आएको छ । विकासको सिलसिलामा त्यसले कति विशाल उत्पादक शक्तिहरूको विकास गरेको छ भने अब तिनको विकासको स्थितिसित पुँजीवादी उत्पादन सम्बन्ध मेल खाँदैन । उत्पादक शक्ति र उत्पादन सम्बन्धहरूमाझ उक्त बेमेल कुन वास्तविकताको प्रमुख सूचक हो भने पुँजीवादको ऐतिहासिक भूमिका पूरा भएको छ र पुँजीवादी उत्पादन सम्बन्धको ठाउँमा समाजवादी उत्पादन सम्बन्ध स्थापना गर्नु ऐतिहासिक आवश्यकता बनेको छ । पुँजीवादअन्तर्गत भएको उत्पादन र श्रमको उच्च सामाजिकीकरण तथा विशाल उत्पादक शक्तिहरूको विकासले नयाँ सामाजिक व्यवस्था स्थापनार्थ भौतिक अवस्थाहरू तयार पारेका छन् । पुँजीवादबाट समाजवादतर्फ सङ्क्रमणका लागि वस्तुगत, भौतिक अवस्थाहरू परिपक्व रहेका छन् ।
तर उक्त सङ्क्रमणका लागि भौतिक अवस्थाहरू परिपक्व हुनु मात्र पर्याप्त हुँदैन, त्यसका लागि मनोगत पूर्वाधारहरू पनि परिपक्व हुनु जरुरी छ । पुँजीवादअन्तर्गत भएको ऐतिहासिक विकासक्रमले उक्त पूर्वाधार पनि तयार पारेको छ । त्यसले समाजवादी क्रान्तिका लागि चाहिने भौतिक स्थिति मात्र होइन, क्रान्तिको ऐतिहासिक खाँचो पूरा गर्ने शक्ति वा औद्योगिक मजदुर वर्ग पनि तयार पारेको छ । उक्त विकासक्रमले पुँजीवादी व्यवस्थाको चिहान खन्ने र नयाँ सामाजिक व्यवस्थाको निर्माताको रूपमा सर्वहारा वर्गलाई त्यो ऐतिहासिक भूमिका पूरा गर्न समर्थ पारेको छ । पुँजीवादी शोषण र पुँजीपति वर्गविरुद्ध अनवरत सङ्घर्षको क्रममा मजदुर वर्ग कतिसम्म सङ्गठित, सशक्त, सजग, अनुशासित र खारिएको छ भने त्यसले महान् समाजवादी क्रान्तिको सफलतापूर्वक नेतृत्व र सञ्चालन गर्ने योग्यता हासिल गरेको छ ।
यसरी पुँजीवादको विध्वंश र नयाँ समाजवादी व्यवस्थाको निर्माणका लागि आवश्यक वस्तुगत तथा मनोगत पूर्वाधारहरूको तयारी गर्नु पुँजीवादी सञ्चयको मूल ऐतिहासिक प्रवृत्ति हो । पुँजीवादी सञ्चयको सोही प्रवृत्तिलाई मार्क्सले बडो उत्कृष्ट र सारभूत रूपमा यसरी उल्लेख गर्नुभएको छ- “रूपान्तरणको यस प्रक्रियाले पुरानो समाजलाई माथिदेखि तलसम्म पर्याप्त मात्रामा भत्काइसक्नेबित्तिकै, श्रमजीवीहरूलाई सर्वहारामा, उनीहरूको श्रम साधनलाई पुँजीमा फेर्नेबित्तिकै, पुँजीवादी उत्पादन प्रणाली आफ्नै खुट्टामा उभिनेबित्तिकै, श्रमको अरू सामाजिकीकरण र जमिन तथा उत्पादनका अन्य साधनहरूको सामाजिक रूपले प्रयुक्त र त्यसैले साझा उत्पादन साधनमा रूपान्तरण साथै निजी सम्पत्तिवानहरूको अरू सम्पत्तिहरणले नयाँ रूप लिन्छ । सम्पत्तिवानहरू पुँजीपतिका लागि काम गर्ने कामदार नभएर धेरै जना मजदुरहरूको शोषण गर्ने पुँजीपति हुन्छन् । अपहरणको यस कामलाई पुँजीवादी उत्पादनका अन्तर्निहित नियमहरूको क्रियाशीलता र पुँजीको केन्द्रीकरणद्वारा सम्पन्न गरिन्छ । एक जना पुँजीपतिले धेरै जना पुँजीपति मार्दछ । उक्त केन्द्रीकरण अथवा थोरैद्वारा धेरै पुँजीपतिको अपहरणसँगै श्रम प्रक्रियाको अधिकाधिक व्यापक सहकारी रूप, विज्ञानको सचेत प्राविधिक प्रयोग, जमिनको व्यवस्थित रूपले खनजोत, श्रमका औजारलाई साझा रूपमा मात्र प्रयोग गर्न सकिने औजारमा फेर्ने काम, उत्पादनका सबै साधनहरूलाई संयुक्त, सामाजिकीकृत श्रमका उत्पादन साधनको रूपमा प्रयोग गरी तिनको मितव्ययीकरण, विश्वबजारको जालमा सबै राष्ट्रहरूको फसान र त्यससँगै पुँजीवादी शासनको अन्तर्राष्ट्रिय चरित्र विकसित हुन्छ। रूपान्तरणको उक्त प्रक्रियाबाट हुने सबै फाइदाहरू हडप्ने र एकलौटी बनाउने ठूला पुँजीपतिहरूको सङ्ख्यामा निरन्तर कमीसँगसँगै दु:ख, उत्पीडन, दासता, नीचता, शोषण बढ्छ, तर सङ्ख्यामा निरन्तर बढिरहेको वर्ग र पुँजीवादी उत्पादन प्रक्रियाको यन्त्रद्वारा अनुशासित, एकताबद्ध, सङ्गठित गरिएको वर्ग, मजदुर वर्गको विद्रोह पनि बढ्छ । उत्पादन प्रणालीसँगै त्यसअन्तर्गत उत्पन्न भएर हुर्केको पुँजीको एकाधिकार सो प्रणालीका लागि बाधक बन्छ । उत्पादन साधनहरूको केन्द्रीकरण र श्रमको सामाजिकीकरण आखिरमा त्यस बिन्दुमा पुग्छन् जहाँ पुगेपछि तिनीहरूको आफ्नो पुँजीवादी आवरणसित मेल खाँदैन । यसरी सो आवरण निकालेर फालिन्छ । पुँजीवादी व्यक्तिगत सम्पत्तिको मृत्युघण्टा बज्छ । अपहरणकारीहरू अपहृत हुन्छन् ।
पुँजीवादी उत्पादन प्रणालीको परिणाम रहेको पुँजीवादी अपहरण पद्धतिले पुँजीवादी निजी सम्पत्ति पैदा गर्छ । यो मालिकको श्रममा आधारित व्यक्तिगत निजी सम्पत्तिको पहिलो निषेध हो । तर पुँजीवादी उत्पादनले प्रकृतिको नियमको कठोरताका साथ आफ्नै निषेध पैदा गर्छ। यो निषेधको निषेध हो । यसले उत्पादकका लागि निजी सम्पत्तिको पुनर्स्थापना गर्दैन, बरु उसलाई पुँजीवादी युगका लाभहरूमा आधारित अर्थात् सहकारितामाथि र जमिन तथा उत्पादनका साधनहरूको साझा मालिकत्वमाथि आधारित व्यक्तिगत सम्पत्ति प्रदान गर्छ ।”
सन्दर्भ सामग्री
१.मार्क्सको दर्शनको गरिबीको पृष्ठ १४४ मा उद्धृत जर्ज स्यान्डको भनाइ ।
२.मार्क्स र एङ्गेल्स, कम्युनिस्ट घोषणापत्र, नेपाली संस्करण, अनु. कृष्णदास, पृष्ठ ५४-५
३.जीन रबिन्सन, माक्सीय अर्थशास्त्रबारे एक निबन्ध, अङ्ग्रेजी संस्करण, पृष्ठ ४९-५०
४.मार्क्स र एङ्गेल्स, कम्युनिस्ट घोषणापत्र, नेपाली संस्करण, पृष्ठ ५४
५.मार्क्स, पुँजी, भाग १, पृष्ठ ७६२-६३ ।