२३ भाद्र २०८१, आईतवार

वैदेशिक हस्तक्षेप रोक्न मोर्चाबन्दी जरुरी छ : विप्लव

0

सुनसरी । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पुर्वको सुनसरी स्थित धरानमा नेताकार्यकर्तालाई प्रशिक्षण दिएका छन्,। आज सुनसरीको धरानमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले पछिल्लो विश्व राजनीतिक घटनाक्रम र नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गएकोबारे नेताकार्यकर्तालाई प्रशिक्षण दिएका हुन्,।

उक्त कार्यक्रममा बोल्दै महासचिव विप्लवले वैदेशिक हस्तक्षेप रोक्नका लागि कम्युनिस्ट शक्तिबिच एकता र मोर्चाबन्दी आवश्यक रहेको बताएका छन्, ।

नेपालका कम्युनिस्ट र प्रगतिशील शक्तिहरुबीच एकता गरेर मात्रै वैदेशिक हस्तक्षेपका विरुद्ध लड्न सकिने धारणा राख्दै विप्लवले भने,- “अमेरिकाले नेपालको उत्तरी ७ वटा जिल्लामा क्याम्प राख्नका लागि औपचारिक प्रस्ताव राख्न खोजेकोले एकता र संघर्षको विकल्प नरहेको र देश गम्भीर मोडमा धकेलिएकोले सबै शक्तिहरु मिल्न जरुरी छ।

विशेष गरी नेपाल कम्युनिस्ट पार्टी दलाल संसदीय व्यवस्थाको विरुद्ध नै रहेपनि यतिबेला अमेरिकी साम्राज्यवादले नेपालमा हस्तक्षेप बढाएको अवस्थामा दलाल बनेका नेताहरू देउवा, केपी, प्रचण्ड भन्दा साम्राज्यवाद अहिलेको मुख्य समस्या हुने र देश बचाउनका लागि सबै एकै ठाउँमा उभिनु परेको विप्लवले बताए ।

वैदेशिक हस्तक्षेपको अन्त्यका लागि समाजवाद स्थापना गर्नुपर्ने र त्यसका लागि समाजवादी मोर्चा बनाउन आवश्यक रहेकोले त्यसतर्फ प्रयत्न गरिरहेको र छिट्टै समाजवादी मोर्चा घोषणा हुने विप्लवले बताए ।

पछिल्लो समय विप्लव संसदवादी व्यवस्थामा गएको मिथ्या भ्रम केही अनलाइन मिडियाहरुले फैलाइरहेको बताउँदै विप्लवले त्यस्तो कल्पना नगर्न र समाजवाद नै पार्टीको लक्ष्य रहेको प्रष्ट पारे।

कार्यक्रमका अतिथि तथा नेकपा पोलिट ब्युरो सदस्य सुमन सी ले आफ्नो मन्तव्य राख्दै आजको २१औं सताब्दीमा दास युगमा जस्तै मानव तस्कर नेपालमा चल्नु निकै लाजमर्दो कुरा रहेको बताए । सहरमा वित्तीय संस्थाको किस्ता तिर्न नसकेर आत्महत्या गर्नुपर्ने, महिलाहरुले यौन व्यवसाय गर्न बाध्य हुनुपर्ने अवस्था आएकोले त्यसका विरुद्ध पार्टी सशक्त तरिकाले लड्नुपर्ने समेत उनले बताए ।

कार्यक्रमका सञ्चालक मेची ब्युरो इन्चार्ज सुमनसिंह सी ले पार्टी नेता – कार्यकर्ताले असाधारण काम गर्नुपर्ने अवस्था आएको बताए । पछिल्लो समय वैदेशिक हस्तक्षेप सँगै देशभित्र गुन्डाराज मौलाइरहेकाले त्यसलाई निस्तेज पार्न नेपाल कम्युनिस्ट पार्टीले विशेष भुमिका खेल्नुपर्ने जोड दिए। कार्यक्रममा सगरमाथा ब्युरो इन्चार्ज शैलेश सी ले नेकपाले दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि एकता र मोर्चाबन्दीलाई तीव्रतामा अगाडि बढाइरहेको बताए।

सल्लाहकार समितिका सदस्य होम सी. ले मोहनचन्द्र अधिकारी गेरु वस्त्र लगाएर सकिएको र प्रचण्डले पनि सोही बाटो अपनाएको बताए । कार्यक्रममा प्रतिबन्ध कालदेखि जेलमा रहेर रिहा भइ आएका उदयपुरका पूर्व इन्चार्ज बाबुराम सी र जिल्ला सदस्य नन्द सी. लाई सम्मान गरिएको थियो ।

पूर्वी नेपालमा अवस्थित नेकपाको ४ वटा संयुक्त ब्युरोको राजनैतिक प्रशिक्षण कार्यक्रम धरानमा आयोजना गरिएको थियोे । उत्तर मेची – कोशी ब्युरो इन्चार्ज देव सी. ले कार्यक्रममा सहभागीलाई स्वागत गरेका थिए भने कार्यक्रमको अध्यक्षता कोशी ब्युरो इन्चार्ज दिपेश सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।