६ जेष्ठ २०८१, आईतवार

समाजवादी मोर्चा भनेको पार्टी एकता होइन

0

(नेपाल कम्युनिस्ट पार्टीले नेपालमा अमेरिकी प्रभाव बढेको भन्दै यसलाई रोक्न समाजवादी मोर्चा बनाउने निर्णय गरेको छ । सोही निर्णय अनुसार प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीसँग मिलेर समाजवादी मोर्चा बनाउने निश्चित भएको छ । नेकपा समाजवादी मोर्चा बनाउने निश्कर्षमा कसरी पुग्यो ?, यसले क्रान्तिकारी आन्दोलनमा कस्तो खालको सहयोग पुर्‍याउला, संसदवादीहरुसँगको सहकार्यले कतै नेकपा पनि संसदवादी पार्टी बन्न पुगेको त होइन? लगायतमा विषयमा रहेर नेकपा पोलिटब्युरो सदस्य तथा नारायणी व्युरो इन्चार्ज एटम सीसँग पत्रकार शोभराज बरालले गरेको कुराकानीको संपादित अंश )

नेपाल कम्युनिस्ट पार्टीको ९औं केन्द्रीय समितिको ‘एकताको विशेष बैठक’ सम्पन्न भएको छ । यो बैठकले समाजवादी मोर्चा बनाउने निर्णय गरेको छ ? तपाईंहरुका लागि समाजवादी मोर्चा किन आवश्यक पर्‍यो ?

हाम्रो पार्टीको ९औं केन्द्रीय समितिको पुरक बैठक बस्यो । बैठकले नेपालमा तीन चार वटा चुनौतिहरु देखा परेको निश्कर्ष निकालेको छ । पहिलो चाँहि वैदेशिक हस्तक्षेपका आयामहरु नयाँ तरिकाले आए भन्ने छ । खास गरी अमेरिकी साम्रज्यवाद नेपालमा नयाँ ढंगले एमसीसी, एसपीपी र आईपीएस कार्यान्वयनको सन्दर्भमा फैजी शक्तिलाई उपस्थित गराएर नेपालको सार्वभौमिकतामाथि ठाडो च्यालेन्ज गर्ने गरी प्रवेश गरेको छ । दोश्रो, संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका संचालकहरुले सामाज्यवादीहरुको दलाली गरिरहेका छन् । तेश्रो, यो देशको स्वाधिनताको रक्षा गर्न, समृद्धि र विकास गर्न, सुशासन कायम गर्न राज्य असफल छ, पार्टीहरु असफल छन् । यी कारणहरुले गर्दा जनता संकटमा छन्, राज्य संकटग्रस्त अवस्थामा छ । यसको विकल्प के हुन सक्छ, अहिलेको चुनौति र संकटको समाधान के हुनसक्छ भनेर छलफल गर्दा पार्टीले विचार मिल्नेसँग पार्टी एकता गर्ने, रणनीति मिल्नेहरुसँग रणनीतिक मोर्चा कायम राख्ने र कार्यनीति मिल्नेसँग मोर्चा बनाउने नीति लिएको छ । यो निर्णय राष्ट्रसँग सम्बन्धीत छ, यो विषय जनतासँग सम्बन्धित छ, परिवर्तनसँग सम्बन्धित छ । अधुरो क्रान्ति पुरा गर्नेसँग सम्बन्धित छ ।

नेपालमा अमेरिकी सेनाहरु एमसीसी, एसपीपी र आईपीएस कार्यान्वयन गराउन आइसकेको भन्नुभयो । यसका केही ठोष प्रमाणहरु भेट्नुभएको छ ?

देशमा कतिपय जिल्लाहरुमा सैन्य ड्रेसमै त देखा परेका छैनन् । कतिपय जिल्लाहरुमा ड्रेसमै देखिएको छ, कतिपय ठाउँमा शिक्षाको कभरमा यो देखिएको छ । कतिपय ठाउँमा स्वास्थ्यको कुरा उठाएर आएको छ, कतिपय ठाउँमा विकासको नाममा आएको छ । कतिपय ठाउँमा कुटनीतिक नियोगका नाममा विभिन्न क्षेत्रमा काम गरिरहेको छ । यी अमेरिकाका बर्दीविहिन सिपाहीहरु हुन्, कोही कोही त बर्दीमै देखिएका छन् । त्यही भएर हामी निकै चनाखो बन्नुपर्ने बेला आएको छ । यो नेपालको सुरक्षा निकायलाई थाहा छ, राजनीतिक नेतृत्वलाई पनि यो कुरा थाहा छ । यो नेपालका लागि धेरै खतरा छ भनेर जनतामाझ लैजान पर्नेछ । यसका सप्रमाणहरु खोल्ने, सार्वजनिक गर्ने, जनतालाई देखाउने बुझाउने भनेर हामीले सिरियस ढंगबाट छलफल गरेका छौं ।

तपाईंहरुको बैठक सम्पन्न भएको केही दिनपछि केही मिडियाहरुले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने भन्ने खालका समाचारहरु आए । यसमा कतिको सत्यता छ ?

परिस्थिति निश्चित रुपमा नयाँ ठाउँमा छ । किनभने स्वाधिनता संकटमा छ, राज्य संचालन गर्ने शक्ति असफल भएको छ, जनयुद्धका उपलब्धीहरुमाथि बढी नै हमला भइरहेको छ, जनयुद्धमा त्याग, तपस्या, बलिदान गरिरहेको माओवादी फोर्समाथि पनि प्रहार भइरहेको छ । विगतमा त्याग, तपस्या, बलिदान गरेको शक्तिले डिफेन्स गर्नुपर्ने, क्षणिक उपलब्धीहरुको बारेमा पनि सचेत हुनुपर्ने यसको रक्षाका लागि पनि सोच्नुपर्ने छ । माओवादीको वैद्यता र अनरसिपलाई ग्रहण गर्दै कम्युनिस्ट मुभमेन्टलाई हरण गर्न आएको साम्रज्यवादी शक्ति र आत्मसमर्पण गरिरहेका नेपालका दलाल शक्तिका विरुद्धमा संघर्ष गर्नका निम्ति पार्टी एकता, रणनीतिक मोर्चा र कायनीतिक मोर्चा बनाउने निर्णय गरेका हौं । अहिले ठ्याक्कै माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा कुरा भइसकेको स्थिति छैन । समाजवादी मोर्चा बनाउने कुरा भएको हो । समाजवादी मोर्चा भनेको पार्टी एकता होइन । यति सजिलै पार्टी एकता हुँदैन । माओवादी केन्द्र र हाम्रो बिचमा ठूलो वैचारिक भिन्नता छ, पहिलो त्यसलाई हल गर्नुपर्छ । अहिले हामीले भनेको समाजवादी मोर्चा एक कदम अगाडिको कुरा हो । उहाँहरु समाजवाद आवश्यक छ भन्ने ठाउँमा आएपछि हामी पनि मोर्चा बनाउन तयार भएका हौं ।

रवि लामिछानेहरुले जनताको अवस्था बदल्ने भन्दै लाखौं भोट पाए, तपाईंहरु व्यवस्था नबदलेसम्म जनताको अवस्था बदलिदैन भन्दै हुनुहुन्छ । रविहरुले नबुझेको की तपाईंहरुले जनतालाई बुझाउन नसकेको ?

साम्रज्यवादहरुको अगाडि नतमस्तक भएकाहरुले यस्ता कुरा गर्ने हो । कमिसन, भ्रष्टाचार, घुसखोरीमा लिप्त भएको, कुहिएको र मक्किएको व्यवस्थामा प्रवेश गरेर जनताको अवस्था परिवर्तन गर्छु भन्ने कुरा मान्न सकिदैन । स्वीकार्न सकिदैन । कोठामा बसेर जनतालाई रंगिन सपना बाँडेको देखिन्छ । यी कोरा सपनाको पछि लागेर जनताले क्षणिक रुपमा मत दिएका छन् । भारतमा केजरिवाल, युक्रेनमा जेलेस्कीहरु आए, नेपालमा पनि केही त्यस्ता प्रतिनिधि पात्रहरु खडा गरिएको हो । यीनीहरुले स्वाधिनताको समस्या, परिवर्तनको समस्या हल गर्न सक्दैन । यो नेपाली जनताको सबैभन्दा ठूलो च्यालेन्ज हो । अझ बढी सत्तारुढ पार्टी भित्रकै र प्रतिपक्षका पनि केही पात्र नेपालका लागि खतरा हुन् ।

नेपालको भूराजनीति हेर्दा कोही न कोही, कसै न कसैले पक्षधर हुनै पर्ने खालको छ । अरु नेताहरु कोही भारत परस्त, कोही चीन परस्त, कोही युरोपियन युनियम परस्त भइरहेका छन् । रविहरु अमेरिका परस्त हुँदा देशलाई कसरी खतरा हुन्छ ?

युक्रेनमा जेलेस्कीलाई अमेरिकाले लामो समयदेखि तयारी गरेर ल्याएको हो । उसमाथि अमेरिकाको ठूलो लगानी छ । जेलेस्की जुन तरिकाले उदाए, नेपालमा पनि त्यस्तै गर्न खोजिदैछ । जेलेस्कीको ठाउँमा अरु कोही भएको भए रसिया युक्रेन युद्ध हुने थिएन् । उनकै कारण युक्रेनका जनताले दुःख पाएका छन्, देश उजाड भएको छ । जहाँ साम्राज्यवादले खुट्टा टेक्यो त्यहाँ धुलो पार्ने चरित्र छ । कैयन कुराहरु अझै खुलेका छैनन्, खुल्दै जालान । नेपाली जनतालाई रंगिन सपना बाँडेर, आडम्बर भित्र्याएको छ । उनीहरुमा विसमा बेरियको चिनीको जस्तो शैली र स्वाभावहरु देखिन थालिएको छ । यसबाट हामी सचेत हुनुपर्छ । एउटा सांसदलाई मन्त्री बनाउन दुई करोड माग्नेसँग जनताले आशा र अपेक्षा गर्न सक्छन् र ! चुनावको बेलामा भोट माग्न जाँदा बोलेका कुरा र संसदमा, सरकारमा गइसकेपछि भिजेको मुसा जस्तो जुन चरित्र देखियो यसैबाट जनताले बुझिसकेका छन् । यो एउटा पाखण्ड हो, संसदीय पार्टीहरुको असफलताको विकल्प हुन सक्छकी भनेर साम्राज्यवादले खडा गरेको प्रतिनिधि पात्र हो । यसबाट हामी क्रान्तिकारीहरु सचेत हुनपर्छ । जनतालाई सचेत बनाउनु पर्छ ।

यहाँ नारायणी व्युरो इन्चार्ज पनि हुनुहुन्छ, यो व्युरोका गतिविधिहरु के छन् ?

भर्खरै केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । हाम्रो पार्टीले अगाडि सारेको कार्ययोजनालाई कडाइका साथ कार्यान्वन गर्ने दिशातिर केन्द्रीय छौं । पार्टीलाई कसरी आत्मनिर्भर बनाउने, संगठनलाई कसरी आत्मनिर्भर बनाउने र पार्टी मार्फत जनतालाई कसरी आत्मनिर्भर बनाउने भन्ने कुरा हामी सोच्दैछौं । पराधिनतालाई चुनौति दिनका निम्ती, पराधिनतालाई तिरस्कार गर्दै आत्मनिर्भरतालाई कसरी अगाडि बढाउने भनेर लागिरहेका छौं । उत्पादनका काममा केन्द्रीत भएका छौं । केन्द्रको १२ विघा हाम्रै व्युरोमा खेति हुँदैछ, व्युरोले गर्ने उत्पादन छुट्टै छ भने विभिन्न जिल्लाहरुले खेतिलाई प्राथमिकता दिएका छन् । हामी असार १० गतेदेखि २० गतेसम्म सबै शक्तिलाई उत्पादनमा केन्द्रीत गर्ने सोचेमा छौं । हामी पार्टीको उत्पादनमा पनि जोडिन्छौं, जनताको काममा पनि सहयोग गछौं र आफ्नो व्यक्तिगत कामलाई पनि निरन्तरता दिने सोचेका छौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।