२२ भाद्र २०८१, शनिबार

देशको समस्या समाधान नहुनु भनेको ज्ञानको अभाव हो : नेता भरत सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग इन्चार्ज भरत सीले देशको समस्या समाधान नहुनु ज्ञानको अभाव भएको बताएका छन् । नेकपा उपत्यका व्युरोले आयोजना गरेको स्कुलिङ कार्यक्रमको समापन समारोहमा बोल्दै उनले नेपालको दलाल संसदीय व्यवस्था नै अज्ञानताको व्यवस्था भएकाले देशको समस्या समाधान नभएको बताएका हुन् ।

ज्ञानको राज्य स्थापना नभएसम्म देशका तमाम समस्याहरुको समाधन नहुने भन्दै ज्ञानको राज्य स्थापना गर्न संघर्ष गर्नुपरेको बताए । ‘गरिब र धनीको भेदभाव हल भएको छैन, विद्यार्थीले राम्रोसँग अध्ययन गर्न पाएको छैन, युवाले रोजगारी पाएको छैन, किसानले मल र बिउ पाएको छैन ।’, समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘यो सबै अज्ञानताका कारणले भएको हो । हामी यो अज्ञानताको राज्य हटाउन चाहन्छौं । ज्ञानको राज्य स्थापना गर्न चाहन्छौं । त्यो भनेको वैज्ञानिक समाजवाद हो ।’

अज्ञानताका कारण मानिसहरुले अदृश्य शक्तिमाथि विश्वास गरिरहेको भन्दै यसले झन् समस्या निम्त्याएको बताए । ‘डाक्टरले अप्रेसन गर्दा अप्रेसन सामाग्रीलाई ढोग्छ, पाइलटले जहाज चलाउँदा जहाजलाई ढोग्छ । यो भनेको आफूलाई विश्वास नगरेर अदृश्य शक्तिलाई विश्वास गरेको हो ।’, उनले भने, ‘यो भनेको अज्ञानता हो । ज्ञानको अभाव हो । भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई अदालतले पूर्पक्षका लागि थुनामा पठायो । उनीहरु पनि रुदै थिए । सायद, उनीहरुले पनि भगवान पुँजेको हुनुपर्छ । हे ! भगवान के दशा आइलाग्यो, कुन बेला बुद्धि विगारियो भन्दै थिए होलान् । यो सबै अज्ञानताका कारणले भएको हो ।’

विश्वभर तीन किसिमको ज्ञान भएको भन्दै सामाज्यवादी बुर्जुवाहरुले यसको दुरुपयोग गरिरहेको बताए । ‘ज्ञान तीन प्रकारका हुन्छन् । पहिलो सूचना प्रविधिको ज्ञान, दोश्रो विषयगत ज्ञान तर तेश्रो दृष्टिकोणको ज्ञान ।’, उनले भने, ‘बुर्जुवाहरुले दुई वटा ज्ञानलाई मात्र प्रयोगमा ल्याएका छन् । सबैभन्दा शक्तिशाली दृष्टिकोणको ज्ञान हो । यसलाई उनीहरुले प्रयोगमा ल्याउन चाहेका छैनन् । यो पनि ज्ञानको अभाव हो । नेपालमा सबैभन्दा धेरै पढ्ने नेताको परिचय बनाएका बुद्धिजीवी  पनि विषयगत ज्ञानको प्रभावले पछि पर्नुभएको छ । उहाँमा दृष्टिकोणको ज्ञानको अभाव छ ।’

मान्छे भएर जन्मिएपछि सिक्नलायक मान्छे बन्नुपर्ने भन्दै उनले त्यसका लागि ज्ञानको भण्डार बढाउनुपर्ने बताए । ‘मान्छे जन्मिएपछि सिक्न लायक मान्छे बन्नुपर्छ । नेपाल कम्युनिस्ट पार्टीले त्यसको व्यवस्था गरिदिएको छ ।’, उनले भने, ‘यो पार्टी ज्ञानले भरिएको पार्टी हो । यसमा लाग्नु भनेको नमूनाकृत मान्छे बन्नु हो । त्यही भएर ज्ञानलाई बढाउनुहोस् । दृष्टिकोणको ज्ञानलाई अझ तिखार्नुहोस् । यही ज्ञान मार्फत हामी वैज्ञानिक समाजवादमा जान्छौं ।’

स्कुलिङ पार्टीको उपत्यका व्युरो कार्यलयमा बुधबारदेखि चलेको थियो । स्कुलिङको समापन कार्यक्रमको अध्यक्षता नेकपा पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले गरेका थिए भने नेकपा स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पोलिट व्युुरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख धुब्र सी, केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग सदस्य प्रयास सीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भृकुटी सीले गरेकी थिइन् ।   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।